इजिप्ट: सिंहको जीउ, मानवको शिर भएको प्राचीन मूर्ति फेला

स्फिङ्स

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फेला परेको मूर्ति टोलमी राजवंशको शासनकालको बनेको हुनसक्ने अनुमान छ

इजिप्टमा पुरातत्त्वविद्हरूले दक्षिणी सहर आस्वानस्थित एउटा प्राचीन मन्दिर भएको क्षेत्रमा मानवको शिर र सिंहको शरीर भएको मिथकीय जीव स्फिङ्सको मूर्ति फेला पारेका छन्।

सो मूर्ति कोम ओम्बो मन्दिरभित्र पानीलाई निकास दिन खोज्दा भेटिएको हो।

पुरातत्त्व मन्त्रालयका अनुसार सो मूर्ति बालुकाश्म अर्थात् बालुवा मिसिएको ढुङ्गाबाट बनेको छ।

सो मूर्ति सम्भवत: इसापूर्व ३०५ देखि रोमन आधिपत्यमा पर्नुअघि इसापूर्व ३० सम्म इजिप्टमा शासन गर्ने टोलमी वंशको राज्यकालमा बनेको हो।

प्रतीक

सो मन्दिरमा त्यस्तै ढुङ्गाको सतहमा कुँदिएका राजा टोलमी पञ्चमका दुईवटा आकृतिहरू पनि केही समयअघि भेटिएका थिए।

स्फिङ्सको मूर्ति २८ सेन्टिमिटर चौडा र ३८ सेन्टिमिटर अग्लो छ।

आस्वानस्थित पुरातत्त्व विभागका महानिर्देशकका अनुसार थप अध्ययन गरेर त्यो मूर्ति निर्माणको अर्थ खोजिनेछ।

स्फिङ्स

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भुइँमुनि भएको जमेको पानी हटाउन लाग्दा स्फिङ्सको मूर्ति भेटिएको हो

फेअरो भनिने इजिप्टका प्राचीन राजाहरूले सिंहको जस्तो शारीरिक बल र राजाको जस्तो सांसारिक तेजयुक्त स्फिङ्सलाई आफ्नो राजकीय शक्तिको प्रतीकका रूपमा प्रयोग गर्थे।

गिजामा पिरामिडहरू भएको स्थानमा रहेको स्फिङ्सको एउटा भव्य मूर्ति धेरै नै प्रख्यात छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, २,५०० वर्ष पुरानो कङ्काल