फ्रान्समा प्राचीन सिकारीहरूले प्रयोग गरेको शङ्ख १७,००० वर्षपछि बज्यो

अडिओ क्याप्शन सुरु हुँदैछ, १७,००० वर्षपछि बजेको शङ्खबाट यस्तो ध्वनि आयो

सत्र हजार वर्षभन्दा पुरानो एउटा वाद्ययन्त्रबाट ध्वनि निकाल्ने पुरातत्त्वविद्हरूको प्रयास सफल भएको छ।

दक्षिण फ्रान्समा प्राचीन घुमन्ते सिकारीहरूले प्रयोग गरेको गुफामा त्यो शङ्ख फेला परेको थियो।

धेरै ठाउँमा हड्डीबाट बनेका प्राचीन वाद्ययन्त्र भेटिने गरेका भए पनि उक्त शङ्ख त्यस किसिमको सबैभन्दा पुरानो वस्तु हो।

यसबारे साइन्स एड्भान्सेज जर्नलमा विवरण प्रकाशित भएको छ।

उक्त शङ्खभित्र कुँदिएका बिन्दुजस्ता चिह्नलाई विशेष मानिएको छ।

ती चिह्नहरू पिरनीज पर्वतीय क्षेत्रमा अवस्थित मार्सूला गुफाको भित्तामा भेटिएका कलाकृतिसँग मिल्दोजुल्दो देखिन्छन्। उक्त शङ्ख सन् १९३१ मा त्यहीँ भेटिएको थियो।

कला र शङ्खबीच कस्तो सम्बन्ध?

"यसबाट यो शङ्खबाट निकालिने सङ्गीत र भित्तामा भएका चित्रहरू, आकृतिहरूबीच बलियो सम्बन्ध भएको देखिन्छ," टूलूज विश्वविद्यालयका जील तोसेलोले भने।

"युरोपेली प्रागितिहासमा सङ्गीत र गुफाको कलाबीच सम्बन्ध भएको प्रमाण देखाउन सकिने यो नै हामीलाई थाहा भएसम्म पहिलो अवसर हो।"

Shell

तस्बिर स्रोत, Carole Fritz

तस्बिरको क्याप्शन, यो शङ्ख ठूलो खालको समुद्री शङ्खेकीराको खबटो हो

यो शङ्ख ३१ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौडा छ।

यो शङ्ख प्रशान्त महासागरमा पाइने एउटा ठूलो खाले शङ्खेकीराको खबटो भएको विश्वास गरिएको छ।

त्यतिबेला शङ्ख विशेष वस्तु भएको अनुमान गरिएको छ किनभने त्यो शङ्ख फेला परेको स्थान समुद्री किनाराबाट २०० किलोमिटर पर छ।

उत्खननकर्ताहरूले सन् १९३० को दशकमा फेला पार्दा त्यो शङ्खलाई एउटा सामान्य भाँडो भन्ठानेका थिए।

यो शङ्ख किन विशेष?

तर फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र सीएनआरएसले गरेको विश्लेषणका आधारमा नयाँ कुरा पत्ता लाग्यो।

फ्रान्सको गुफामा पुरातत्त्वविद्हरू

तस्बिर स्रोत, R. Apajou

ध्वनि निकाल्न शङ्खमा केही परिवर्तन गरिएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

शङ्खको एउटा छेउमा प्वाल पारेर मानिसको मुखमा हाल्न मिल्ने कुनै साधन राख्ने ठाउँ बनाइएको हुनसक्छ। शङ्खको अर्को छेउ काटेर हात राखी स्वर घटबढ गर्न मिलाएको जस्तो देखिन्छ।

वैज्ञानिकहरूको टोलीले एक सङ्गीतकारलाई उक्त शङ्ख बजाउन लगाए।

उनले सी, सी-शार्प र डी नोटसँग मिल्ने स्वर निकालिदिए।

निस्किएको स्वरको प्रबलता एक मिटरमा झन्डै १०० डेसिबेल मापन गरिएको जानकारी दिँदै सोर्बँ विश्वविद्यालयका फिलिप वाल्टर भन्छन्, "ध्वनि शङ्खको प्वालको अक्षमा धेरै केन्द्रित हुन्छ।"

शङ्ख

तस्बिर स्रोत, C. Fritz, G. Tosello

तस्बिरको क्याप्शन, शङ्खका दुवै छेउमा परिवर्तन गरिएको छ

शङ्खको मुखको भित्री भागमा गरिएको चित्राङ्कनको अध्ययन गर्न विशेष विधि अवलम्बन गरिएको थियो।

शङ्खमा कस्तो कला छ?

फलामको यौगिकबाट बनेका चिह्नहरू गेरु रङ्गमा छन् र औँठाछाप जस्ता देखिन्छन्।

गुफाको भित्तामा पनि त्यस्तै शैलीका कलाकृति छन्।

उदाहरणका लागि त्यहाँ ३०० वटा थोप्ला प्रयोग गरी बनाइएको एउटा बाइसन नामक जीवको आकृति पनि छ।

अनुसन्धानकर्ताहरूले उक्त शङ्खको थ्रीडी प्रतिकृति पनि बनाएका छन्। त्यसबाट उक्त शङ्खलाई कुनै हानि नपुर्‍याई त्यसको साङ्गीतिक पक्षबारे थप अनुसन्धान गर्न सकिनेछ।

ऊर्ध्व पुरापाषाणयुगीन अर्थात् ढुङ्गेयुगको उत्तरार्धतिरका मानिसहरू हड्डी, मृगको सिङ र हस्तिहाडबाट आफूले प्रयोग गर्ने सामग्री बनाउन सिपालु भएको पुरातात्त्विक अध्ययनले देखाउँछ।

त्यो युगमा विभिन्न स्थानमा बस्ने मानिसहरूबीच आफ्नो जस्तै समुदायसँग अन्तर्क्रिया हुने गरेको देखिन्छ। यो शङ्खबाट पनि त्यस्तो सम्बन्धलाई प्रमाणित हुने वैज्ञानिकहरू बताउँछन्।

शङ्ख

तस्बिर स्रोत, Jacques Chirac

तस्बिरको क्याप्शन, न्यूजील्यान्डमा फेला परेको शङ्खको मुखमा हड्डी जोडिएको छ