इटलीमा पुरातत्त्वविद्ले फेला पारे २,००० वर्ष पुरानो रथ

तस्बिर स्रोत, Handout via EPA
पुरातत्त्वविद्ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ सार्वजनिक गरेका छन्।
एउटा तबेलानजिक चारपाङ्ग्रे रथ फेला पारिएको हो जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए।
त्यो रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ।
"अपवाद"को रूपमा र "राम्ररी संरक्षित अवस्था"मा रथ फेला पारिएको उनीहरूको भनाइ छ।
पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो।
उक्त नगरलाई पुरातात्त्विक दृष्टिकोणले एउटा खजानाको रूपमा हेर्ने गरिन्छ।

तस्बिर स्रोत, Handout
ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन्।
"फलामका सामान, सुन्दर कांस्य र टिनका साथै नाम्लो र फूलले सिँगारिएको उक्त रथलाई लगभग सग्लो अवस्था" मा फेला पारिएको एउटा वक्तव्यमार्फत् जनाइएको छ।
पुरातत्त्विद्हरूका अनुसार उत्खननका क्रममा ज्यानुअरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो।
'असाधारण खोज'
अधिकारीहरूले इटलीमा अहिलेसम्म गरिएका खोजभन्दा यो फरक रहेको बताएका छन्।
"यो एउटा खोज असाधारण खोज हो जसले प्राचीन जगत् बारेको हाम्रो ज्ञान थप गरेको छ," खोज गरिएको स्थानका निर्देशक मासिमो ओसानाले प्रेस विज्ञप्तिमा भनेका छन्।

तस्बिर स्रोत, Handout via Reuters
रथमा प्रयोग भएका सजावटका कतिपय सामान वैवाहिक समारोह लगायतका सामुदायिक समारोहहरूमा प्रयोग गरिने रहेको उनले उल्लेख गरेका छन्।
इटलीका संस्कृतिमन्त्री डारिओ फ्रान्चेस्किनले भनेका छन् कि पोम्पेईले आश्चर्यचकित बनाउने क्रम जारी राखेको र अझै २० हेक्टर क्षेत्र उत्खनन गर्न बाँकी रहेकोले धेरै वर्ष त्यसो गरिरहनेछ।

तस्बिर स्रोत, Handout via Reuters
नेपल्सको दक्षिण-पूर्वमा करिब २३ किलोकिलोमिटर फैलिएको उक्त प्राचीन शहर संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सम्पदा क्षेत्रमा सूचीकृत छ।
उक्त स्थान इटलीका अति लोकप्रिय पर्यटकीय क्षेत्रमा पर्छ। तर कोरोनाभाइरस महामारीका कारण अहिले बन्द छ।








