प्राचीन युगको खाल्डोमा भ्यागुताको सामूहिक चिहान फेला पर्दा विज्ञहरू चकित

भ्यागुता

तस्बिर स्रोत, Mola/Andy Chopping

तस्बिरको क्याप्शन, एउटा खाल्डोमा झन्डै ३५० वटा भ्यागुताको हाड फेला परेको थियो

यूकेमा एउटा पुरातात्त्विक स्थलनजिकै नयाँ बाटो खन्ने क्रममा भ्यागुताका ८,००० वटाभन्दा बढी प्राचीन हाडखोड भेटिएपछि विज्ञहरू अचम्ममा परेका छन्।

केम्ब्रिजनजिकै लौहयुगीन एउटा गोलघरको छेउमा फेला परेको एउटा खाल्डोमा झन्डै ३५० वटा भ्यागुताका अवशेषहरू थिए।

लन्डन पुरातत्त्वातिक सङ्ग्रहालय (मोला) मा कार्यरत वैज्ञानिकहरूले "अवशेषहरू त्यति परिमाणमा एउटै ठाउँमा" फेला पर्नु "असामान्य" भएको बताएका छन्।

उनीहरूलाई ती हड्डीहरू कसरी त्यहाँ थुप्रिए भन्ने थाहा हुन सकेको छैन।

लौहयुगको मध्यम र अन्तिम चरणमा प्रयोगमा रहेको एक गोलघरको पश्चिमपट्टि अवस्थित एक १४ मिटर लामो खाल्डोमा अधिकांश हड्डीहरू फेला परेका थिए।

सङ्ग्रहालयका विज्ञहरूका अनुसार उक्त क्षेत्रमा रहेका अरू पुरातात्त्विक स्थलमा भ्यागुताजस्ता उभयचरका निकै कम अवशेष फेला पर्ने गरेको छ।

वैज्ञानिकहरूले फेला परेका हड्डीको अनुसन्धान गरिरहेका छन्

तस्बिर स्रोत, Mola/Andy Chopping

तस्बिरको क्याप्शन, वैज्ञानिकहरूले फेला परेका हड्डीको अनुसन्धान गरिरहेका छन्

मोलाका अनुसार पुरातात्त्विक अध्ययन गरिने क्षेत्रमा भ्यागुताको हड्डी नभेटिने हैन तर अहिले भेटिएको परिमाण असाधारण छ।

यो "आश्चर्यजनक र अनौठो खोजले मोलाका प्राणीपुरातत्त्वशास्त्रीहरूलाई जासुसी अनुसन्धान गर्न अग्रसर" गराएको मोलाको भनाइ छ।

अनुमान

अहिलेसम्म ती हड्डीका थुप्रोबारे केही अनुमानहरू गरिएका छन्।

हड्डीमा पोलेको, काटेको वा टोकेको कुनै सङ्केत छैन। त्यसैले मानिस वा अन्य प्राणी वा चराले ती भ्यागुता खाएर हड्डी फालेको सम्भावना न्यून छ।

डा. भिकी यूअन्स

तस्बिर स्रोत, Mola/Andy Chopping

तस्बिरको क्याप्शन, डा. भिकी यूअन्स

बरु भ्यागुताहरू आहाराको लोभमा त्यहाँ पुगेका हुन सक्छन्।

उक्त स्थाननजिकै खाद्यान्न प्रशोधन गर्ने गरिएको प्रमाण फेला परेको छ। त्यसैले विभिन्न खालका खबटे र लाईकीरा खान भ्यागुता गएको अनुमान छ।

सहवासका लागि ठाउँ खोज्दै जाँदा भ्यागुताहरू खाल्डोमा खसेको तर पछि बाहिर निस्किन नसकेको पनि हुनसक्छ।

अथवा जाडोयाममा शीतनिद्रामा बस्दा वा कुनै रोगका कारण तिनको मृत्यु भएको हुनसक्ने सम्भावना पनि छ।

केम्ब्रिजशरस्थित यो स्थानमा उत्खनन गरिएको हो

तस्बिर स्रोत, Mola Headland Infrastructure

तस्बिरको क्याप्शन, केम्ब्रिजशरस्थित यो स्थानमा उत्खनन गरिएको हो

मोलामा कार्यरत वरिष्ठ वैज्ञानिक डा. भिकी यूअन्स भन्छिन्, "यो अचम्मलाग्दो र अनपेक्षित खोज हो। हामी अझ यो कुरा बुझ्ने प्रयास गर्दै छौँ।"

उनका अनुसार सम्भवतः लामो अवधिसम्म विभिन्न कारणले भ्यागुताको अवशेष जम्मा भएको हुनसक्छ।

"तर ती के हुन् भन्ने हामी अझै निश्चित छैनौँ," उनले भनिन्।

उक्त स्थानमा फेला परेका विभिन्न वस्तुबारे अनुसन्धान भइरहेको छ।

"त्यतिबेलासम्म यो प्रागैतिहासिक कालदेखिको भ्यागुतो-रहस्य कै रूपमा रहनेछ," पुरातत्त्वविद्हरूले भने।

presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, गोही किन समुद्रबाट जमिनतिर बसाइँ सर्‍यो
भिडिओ क्याप्शन सुरु हुँदैछ, बच्चा मार्न गएको भालु भीरबाट यसरी खस्यो