डाइनसोर: जोडीलाई आकर्षित गर्न सिङ?

तस्बिर स्रोत, Getty Images
जोडीलाई आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनसोरका टाउकामा सिङ र झल्लर विकसित भएको हुनसक्ने एउटा अनुसन्धानले देखाएको छ।
पहिला सेराटोप्सिएन भनिने एकसिङ्गे डाइनोसोरहरूमा ती शृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन विकसित भएको भन्ठानिएको थियो।
तर रोयल सोसाइटी जर्नलमा प्रकाशित एउटा शोधले त्यो मान्यताको खण्डन गरेको छ।
आक्रामक देखिने ती रक्षात्मक अवयवहरू वास्तवमा डाइनसोरमा आफूलाई उपयुक्त जोडीका रूपमा चिनाउन विकसित भएको हुनसक्छ। यसलाई सामाजिक-यौनिक छनोट भनिन्छ।
"सबैले आफ्नो गुण र आनुवंशिक संरचनाको विज्ञापन गर्छन्," शोधका मुख्य लेखक एन्ड्रू न्यापले बताए।
"हामी यो मयूरको प्वाँखमा पनि देख्छौँ।"
भिन्नता

तस्बिर स्रोत, Andrey Atuchin
दुई प्रजातिलाई छुट्याउन सक्ने लक्षणहरू भाले र पोथीलाई चिन्न सकिने लक्षणभन्दा त्यति स्पष्ट हुँदैनन्।
अरू प्रजातिसँगको समागम रोक्न केही मिहीन लक्षणहरू आवश्यक हुन्छन्।
यदि आकर्षित हैन विकर्षित गराउने उद्देश्य छ भने उद्विकासका लागि थप प्रयास आवश्यक हुँदैन।
प्रारम्भमा सो शोधले सेराटोप्सिएन डाइनसोरहरूमा भएका विशिष्ट सिङ र झल्लरहरू अन्तर्प्रजातीय भेदका हुन् कि हैनन् भनेर निर्क्योल गर्ने उद्देश्य राखेको थियो।
यसअघि गरिएका अनुसन्धानहरूले ती अवयवहरू प्रतिरक्षा र शरीरको तापक्रम नियन्त्रण गर्न उपयोग नहुने गरेको निष्कर्ष निकालेका थिए।
"तिनको पुराजीवविज्ञान बुझ्न डाइनसोरका जीवाश्महरूको अझ विस्तृत रूपमा अध्ययन हुनु उत्साहप्रद छ," क्यानडास्थित क्याल्गरी विश्वविद्यालयका पुराजीवविज्ञानका प्राध्यापक डा. डार्ला जेलेनित्स्कीले भनिन्।
थाहा भएका सबै सेराटोप्सिएन प्रजातिका डाइनसोरका जीवाश्मका प्रमाणहरूको स्थान र कालखण्डको विश्लेषण गरिएको थियो।
"यीमध्ये केही अवयवहरू सम्भवत: केही समय केही हदसम्म सिकारीसँग आफ्नो प्रतिरक्षा गर्न, पृथक् प्रजातिका सदस्यहरूलाई चिनाउन प्रयोग हुन्थे," उनले भनिन्।

तस्बिर स्रोत, Royal Tyrrell Museum of Paleontology
"तर तिनको क्रमविकासका लागि यी मूल कारण थिएनन्।"
जेलेनित्स्की उक्त शोधमा संलग्न थिइनन्।
अब यी शृङ्गारिक अवयवहरू क्रमिक रूपमा सामाजिक-यौनिक छनोटका लागि विकसित भएका हुन् कि हैन भनेर थप अनुसन्धान गरिनेछ।










