बीस लाख वर्षअघि बच्चा जन्माउन 'अहिलेभन्दा सजिलो थियो'

नवजात शिशु

तस्बिर स्रोत, Getty Images

मानवजातिका लागि बच्चालाई जन्म दिनु निकै लामो र पीडादायी प्रकिया हुन सक्छ। महिलालाई सुत्केरी हुन अरूको सहयोग चाहिन्छ र कहिलेकाहीँ सुत्केरीव्यथा धेरै दिनसम्म लम्बिन सक्छ।

तर मानवजातिसँग निकट सम्बन्ध भएका चिम्पान्जीजस्ता जीवमा किन उक्त प्रक्रिया छोटो हुन्छ र उनीहरू कसरी केही घण्टामै एक्लै बच्चा जन्माउन सक्छन्?

क्रमिक विकाससँग सम्बन्धित यो प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले मानवजातिसँग नाता भएका प्राचीन प्रजातिहरूले कसरी बच्चा जन्माउँथे भन्ने अध्ययन गरिरहेका छन्।

प्राचीन जीवावशेषको अध्ययनमा लाखौँ वर्षअघि मानवजस्तै जीवलाई बच्चा जन्माउन "धेरै सजिलो" भएको देखिएको छ।

आजभन्दा झन्डै साढे १९ लाख वर्षअघि दक्षिण अफ्रिकामा विचरण गर्ने अस्ट्रेलोपिथेकस सेडिबा नामक प्रजातिमा "बच्चा जन्मिने प्रक्रिया तुलनात्मक रूपमा सहज" भएको अनुसन्धानकर्ता डा. न्याटली लौडिसिना बताउँछिन्।

"भ्रूणको टाउको र काँधलाई आमाको कोखको सबैभन्दा साँघुरो भाग हुँदै बाहिर निस्किन पर्याप्त ठाउँ पुग्थ्यो," उनी भन्छिन्।

तर वर्तमान समयमा परिस्थिति भिन्न छ। अहिले भ्रूणको टाउको ठूलो हुने भएकाले तथा आमाको कटिको आकार र आकृतिका कारण बच्चा जन्मिन गाह्रो हुन्छ।

महिलालाई सुत्केरीव्यथा लागेपछि बच्चा गर्भबाट सोझै बाहिर ननिस्किएर केही चोटि घुम्छ।

मानवजातिका प्राचीन नातेदारका केही पोथीको कटिको थप अध्ययन गरेपछि अनुसन्धानकर्ताहरूले मानव वंशवृक्षमा जन्म कसरी हुन्थ्यो भनेर अझ बुझ्न सक्छन्। ती नातेदारमध्ये छवटाको क्रमिक विकासको अवधि ३० लाख वर्षको छ।

अस्ट्रेलोपिथेकस सेडिबाका पोथीले यसरी बच्चा जन्माउथे

तस्बिर स्रोत, Laudicina et al, 2019

तस्बिरको क्याप्शन, अस्ट्रेलोपिथेकस सेडिबाको पोथीको कटि: यसरी बच्चा जन्मिन्थ्यो

तर मानवजातिको विकासको क्रममा मात्रै जन्मको प्रक्रिया जटिल भएको हैन।

बस्टन विश्वविद्यालयमा कार्यरत मानवशास्त्री लौडिसिनाका अनुसार लुसी नाम दिएकी पोथी अस्ट्रेलोपिथेकस अफारेन्सिसमा बच्चा जन्माउने प्रक्रिया अस्ट्रेलोपिथेकस सेडिबामा भन्दा जटिल थियो। भ्रूणको आकारको तुलनामा गर्भबाट बाहिर निस्किने मार्ग साँघुरो भएकाले त्यसो भएको मानिएको छ।

उक्त पोथी अस्ट्रेलोपिथेकस अफारेन्सिस उपर्युक्त प्रजातिभन्दा झन्डै १० लाख वर्षअघि अस्तित्वमा थिई।

आधुनिक कालमा कहिलेदेखि बच्चा जन्मिने प्रक्रिया जटिल भयो भन्ने प्रश्नको उत्तर दिँदै लौडिसिना मानव वंशवृक्षका प्रत्येक जीवावशेषमा छुट्टै प्रसूतिजन्य चुनौतीहरू देखा परेको बताउँछिन्।

यो अध्ययन प्लस वन नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ।

हामी अहिले पनि महिलाले बच्चा जन्माउने प्रक्रियामा फरक देख्छौँ। केही महिला सजिलै सुत्केरी हुन्छन् भने केही महिलालाई २० घण्टाभन्दा बढी व्यथा लाग्छ तथा एकदमै पीडा हुन्छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, २,५०० वर्ष पुरानो कङ्काल