नीयान्डर्टालबिना मानव जाति हजारौँ वर्षअघि नै 'मासिने सम्भावना थियो'

प्राचीन डीएनए विश्लेषण: प्रयोगशालामा डीएनएको नमुना सङ्कलन गर्न पुरातात्त्विक महत्त्वको खप्पर हातमा लिँदै एक वैज्ञानिक

तस्बिर स्रोत, SPL

तस्बिरको क्याप्शन, डीएनए विश्लेषण गरेर वैज्ञानिकहरू प्राचीन मानव जातिको क्रमविकास कसरी भएको थियो भन्ने पत्ता लगाउन सक्छन्
    • Author, पल्लब घोष
    • Role, विज्ञान संवाददाता

नयाँ अध्ययनहरूले आधुनिक मानवको प्रजाति (होमो सेपिअन्स) विश्वमा फैलिनुअघि धेरै पटक लोप हुने अवस्थामा पुगेको देखाएका छन्।

डीएनएमा आधारित नयाँ अनुसन्धानले मानवहरूको अस्तित्व स्थापित गर्न र सफलताका निम्ति नीयान्डर्टाल आदिमानवको भूमिकाबारे नयाँ तथ्यहरू उजागर गरेको छ।

उक्त प्राचीन युरोपेली मानवमाथि हाम्रा पुर्खाले अफ्रिका छाडेपछि प्रभुत्व कायम गरेको ठानिन्थ्यो। तर नयाँ अध्ययनहरूका अनुसार मानव र नीयान्डर्टालको समागम भई जन्मिएको वर्णसङ्कर जात मात्र मौलायो तर अरू प्रजाति मासिए।

वास्तवमा नीयान्डर्टालको जीनले हाम्रो सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्छ र त्यसले पहिले हामीले कहिल्यै सामना नगरेका रोगहरूबाट प्रतिरक्षा गरेको हुन सक्छ।

उक्त अनुसन्धानले पहिलो पटक अफ्रिका छाडेपछि ४८,००० वर्षअघि होमो सेपिअन्स र नीयन्डर्टालबीच समागम भएको एउटा छोटो समयलाई सङ्केत गर्छ। त्यसपछि उनीहरू विश्वभरि फैलिएका थिए।

होमो सेपिअन्स मानवहरू त्यसअघि पनि अफ्रिकाबाट बाहिर निस्किएका थिए। नयाँ अध्ययनका अनुसार उक्त अन्तरप्रजातीय समागमअघि उनीहरूले अन्यत्र आफ्नो अस्तित्व जोगाउन सकेका थिएनन्।

मानव इतिहासको पुनर्लेखन

आधुनिक मानव जातिको विकासक्रम देखाउने चित्र

तस्बिर स्रोत, DAVID GIFFORD / SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन, वैज्ञानिकहरूका अनुसार हाम्रो मानव प्रजातिको विकासक्रम सहज किसिमले नभएको औल्याएका छन्

जर्मनीस्थित म्याक्स प्लाङ्क इन्स्टिट्यूट अफ ईभलूशनरी बायोलजीका प्राध्यापक योहानेस क्राउजले बीबीसी न्यूजलाई बताएअनुसार अब मानव जातिको इतिहास पुन: लेख्नुपर्ने हुन्छ।

"हामीले आधुनिक मानवलाई ६०,००० वर्षअघि अफ्रिकाबाट निस्किएर विश्वभरि फैलिएको सफल स्तनधारी प्रजातिका रूपमा हेर्ने गर्छौँ। तर सुरुमा त्यस्तो मात्र भएको होइन रहेछ र हामी पटकपटक लोप भएका रहेछौँ।"

लामो समयसम्म मानिसको एउटा मात्र अस्तित्वमा रहन सफल प्रजाति कसरी विकसित हुँदै गयो भन्ने जान्नका लागि हाम्रा पुर्खाको जीवाश्म र उनीहरूको शारीरिक संरचना कसरी बनेको थियो र समयक्रमसँगै त्यसमा कसरी परिवर्तन आयो भनेर हेर्ने गरिन्थ्यो।

मानवहरूका प्राचीन अवशेषहरू विरलै प्राप्त हुन्छन्। जे भेटिन्छ त्यो सग्लो अवस्थामा हुँदैन। तर हजारौँ वर्षअघिका पुराना हाडहरूबाट डीएनए कोडहरू निकाल्न र तिननको विश्लेषण गर्न सकिने क्षमताले हाम्रो रहस्यमय विगतबारे पर्दा खोलिदिएको छ।

जीवाश्महरूको डीएनएले व्यक्तिहरूको जानकारी दिन्छ। त्यसले ती मानिसहरू एकअर्कासँग जोडिएका थिए र उनीहरूको बसाइसराइको प्रवृत्ति कस्तो थियो भनेर जानकारी दिन्छ।

नीयन्डर्टालसँग अन्तरप्रजातीय समागम भएपछि पनि युरोपमा हाम्रा पुर्खाहरू बिनाअवरोध बाँचेका थिएनन्। नीयन्डर्टालसँग समागम गरेका र उनीहरूसँगै बाँचेका पहिला आधुनिक मानवहरू युरोपमा ४०,००० वर्षअघि पूर्ण रूपमा समाप्त भएका थिए। तर त्यसो हुनुभन्दा अगाडि नै उनीहरूका सन्तान अन्यत्र फैलिसकेका थिए।

उनीहरू नै विश्वभरि मानव जातिको अस्तित्व फैलाउने पुर्खाहरू थिए र अन्तत: उनीहरू युरोपमै फर्किएर आफ्नो सङ्ख्या बढाउँदै गए।

नीयान्डर्टाल र होमो सेपिअन्स मानव जाति कसरी फैलिए

नयाँ दृष्टिकोण

यो अध्ययनले अफ्रिकाबाट आधुनिक मानवहरू आएलगत्तै नीयान्डर्टालहरू किन मासिए भन्ने विषयमा पनि नयाँ दृष्टिकोण प्रदान गरेको छ।

त्यो कसरी भयो भन्ने कसैलाई पनि थाहा छैन। तर नयाँ प्रमाणहरूले पहिले भनिँदै आएका कतिपय सिद्धान्तभन्दा फरक अवधारणातर्फ लैजान्छन्।

त्यस्ता मान्यतामा हाम्रो प्रजातिले नीयान्डर्टालको अस्तित्व मेटिदियो वा उनीहरूभन्दा हाम्रा पुर्खाहरू शारीरिक र बौद्धिक रूपमा विकसित थिए भन्ने जस्ता कुरा रहेका छन्।

तर प्राध्यापक क्राउजले अध्ययनले पहिलेका त्यस्ता मान्यताभन्दा वातावरणीय प्रभावतर्फ सङ्केत गरेको बताउँछन्। "त्यस बेला मानव र नीयान्डर्टालहरू युरोपमा लोप भएका थिए," उनले भने।

"हाम्रो जस्तो सफल प्रजाति पनि उक्त क्षेत्रमा मारिएको थियो भने नीयन्डर्टालहरू लोप हुनु कुनै आश्चर्यको विषय थिएन किनभने उनीहरूको जनसङ्ख्या सानो थियो।"

नीयान्डर्टाल मानवको खप्पर

तस्बिर स्रोत, SPL

तस्बिरको क्याप्शन, नीयान्डर्टाल मानवको खप्पर। झन्डै ४०,००० वर्षअघि विलुप्त हुनुअघि यो प्रजाति र मानव जाति हजारौँ वर्ष सँगसँगै अस्तित्वमा थिए

जलवायु र रोग

उक्त क्षेत्रमा त्यस बेला जलवायु निकै अस्थिर थियो। त्यस बेला अहिलेको जस्तै न्यानो मौसम पनि हुन्थ्यो भने एकैपल्ट त्यो एकदमै चिसो अवस्थामा पनि पुग्न सक्थ्यो।

लन्डनको नेचरल हिस्ट्री म्यूजीअमका प्राध्यापक क्रिश स्ट्रिङ्गर पनि उक्त अध्ययनमा स्वतन्त्र रूपमा संलग्न थिए। "आफ्नो अन्त्य हुने बेलामा नीयान्डर्टालहरू थोरै सङ्ख्यामा थिए र आधुनिक मानवमा भन्दा उनीहरूमा आनुवंशिक विविधता कम थियो। उनीहरू सँगसँगै अस्तित्वमा थिए। उनीहरूलाई लोप हुनका लागि खासै धेरै समय लागेन।"

'साइन्स जर्नल'मा प्रकाशित एउटा छुट्टै डीएनए अध्ययनले आधुनिक मानवहरूमा नीयन्डर्टालबाट आएका विशिष्ट आनुवंशिक गुणहरू पाइएको छ। त्यसले आधुनिक मानव जातिको विकासमा केही फाइदा पुगेको हुन सक्छ।

त्यसमध्ये एउटा मानव जातिको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ। अफ्रिकाबाट मानवको उत्पत्ति भएसँगै सो जाति आफूले कहिल्यै सामना नगरेका नयाँ रोगहरूप्रति अतिसंवेदनशील थिए।

अन्तरप्रजातीय समागमले उनीहरूका सन्तानलाई त्यस्ता रोगबाट जोगिने क्षमता प्रदान गर्‍यो।

"नीयान्डर्टाल मूलको डीएनए प्राप्त गर्नु सम्भवतः हाम्रो सफलताको एउटा कारण थियो। त्यसले हामीलाई अफ्रिकाबाहिर अनुकूलनको क्षमता विकास गर्न सघायो," प्राध्यापक स्ट्रिङ्गरले भने।

नीयान्डर्टालसँग समागम गरेपछि हाम्रा पुर्खाहरूले आफ्नो प्रतिरक्षा क्षमता थप विकास गरेको उनको तर्क छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।