डार्विनभन्दा हजार वर्ष पहिले ‘क्रमिक विकास’को अवधारणा ल्याउने मुस्लिम चिन्तक

डार्विन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अल-जहिजले जनावरबारे पुस्तक लेखेका थिए। उनले लेखेको उक्त पुस्तकका दुई पृष्ठ।

सन् १८५९ मा प्रकाशित पुस्तक 'अन् द ओरिजिन् अफ स्पिसिज'मा रहेको ब्रिटिश वैज्ञानिक चार्ल्स डार्विनको 'विकासवादको सिद्धान्त' आधुनिक विज्ञानको एउटा आधारशीला हो।

'प्राकृतिक छनोट' भनिने एउटा प्रक्रियामार्फत् जीवहरू समय अनुसार क्रमश: परिवर्तन हुँदै जान्छन् भन्ने उक्त चिन्तनले जीवित विश्व बारेको हाम्रो बुझाइमा क्रान्ति नै ल्याइदियो।

डार्विनले कसरी विभिन्न जीवहरू साझा पुर्खाहरूबाट विकास हुँदै आए भन्ने देखाउँदै क्रमिक विकासलाई 'संसोधनसहितको वंश' भनेका छन्।

तर इस्लामिक विश्वमा क्रमिक विकाससम्बन्धी सिद्धान्तकै पुर्खा समेत रहेको पाइएको छ।

प्राकृतिक छनौट

चार्ल्स डार्विनभन्दा १ हजार वर्षअघि अल-जहिजका नामले चिनिने एक इराकी मुस्लिम दार्शनिकले 'प्राकृतिक छनौट' भनिएको एउटा प्रक्रियाबाट कसरी जनावरहरू परिवर्तन हुन्छन् भन्नेबारे किताब लेखिरहेका थिए।

उनको वास्तविक नाम अबु उस्मान आम्र बहर अल्कामनी अल-बस्री थियो।

तर इतिहासले भने उनको उपनाम अल-जहिजको परिचित छ। अल-जहिजको अर्थ हुन्छ, 'आँखाको नानी बाहिर निस्किएको मान्छे।'

उनको नाम कसैलाई सम्मानपूर्वक भनिने खालको नभए पनि अल-जहिजको प्रसिद्धि उनको प्रभावशाली पुस्तक 'किताब अल-हेवान' अर्थात् 'जीवहरूबारेको पुस्तक'का कारण कायम भएको हो।

उनको जन्म सन् ७७६ मा दक्षिणी इराकको बास्रा शहरमा भएको थियो। त्यसबेला उक्त क्षेत्रमा मुताजिलह नामक एउटा धार्मिक अभियान चलिरहको थियो।

त्यो अब्बास इद शासनको उत्कर्ष थियो।

त्यसबेला ग्रिकबाट अरबिक भाषामा रूपान्तरण गरिएका प्राज्ञीक कार्यहरू र धर्म, विज्ञान एवम् दर्शनबारे बास्रामा हुने प्रभावशाली बहसहरूले अल-जहिजलाई विभिन्न विषयवस्तुबारे मनन गर्न र आफ्नो चिन्तन विकास गर्न मद्दत पुगेको थियो।

चिनियाँ व्यापारीहरूद्वारा इराकमा पुर्‍याएको कागजले विभिन्न खाले चिन्तन र विचारहरूलाई थप फैलाउने काम गर्‍यो भने युवा अल-जहिजले पनि विविध विषयमा लेख्न शुरू गरे।

उनको रूचि विज्ञान, भूगोल, दर्शन अरेबिक व्याकरण र साहित्यजस्ता धेरै प्राज्ञिक क्षेत्रमा रहेको देखिन्छ। उनले आफ्नो जीवनकालमा २०० किताब लेखेको ठानिन्छ। तर अहिले भने त्यसको एक तिहाइ मात्र किताब बचेका छन्।

डार्विन

तस्बिर स्रोत, State of Qatar

तस्बिरको क्याप्शन, कतारले अल-जहिजको हुलाक टिकट बनाएको छ।

जनावरहरू बारेको पुस्तक

अल-जहिजको सबैभन्दा चर्चित पुस्तक 'द बुक अफ एनिमल्स'मा ३ सय ५० जनावरहरूको परिचय समेटिएको छ र एउटा विश्वकोषका रूपमा तयार पारिएको छ।

त्यसमा उनले प्रस्तुत गरेको चिन्तन डार्विनको विकासवादी सिद्धान्तसँग निकै मिल्दोजुल्दो देखिन्छ।

"जनावरहरू मारिनबाट बच्न र वंश परम्परा धान्नकका निम्ति अस्तित्व रक्षा र स्रोतहरूका लागि सङ्घर्षमा सहभागी हुन्छन्," अल-जहिज लेख्छन्।

"वातावरणीय तत्त्वहरूले जीवहरूलाई आफ्नो अस्तित्त्व सुनिश्चित गर्न नयाँ विशेषताहरू विकास गर्न प्रभावित गर्छन्, जसले गर्दा उनीहरू नयाँ प्रजातिमा परिवर्तन हुन्छन्।"

अल-जहिजलाई जीवहरूको संसारमा अस्तित्त्वका लागि निरन्तर सङ्घर्ष चलेको थियो र एउटा जीवभन्दा अर्को जीव सधैँ बलियो बनेको थियो भन्ने प्रष्ट थियो।

उनी थप व्यख्या गर्दै भन्छन्, "वंश परम्पराका लागि जीवित रहने जीवहरूले उनीहरूका सन्तानहरूमा सफल विशेषताहरूलाई हस्तान्तरण गर्ने गर्छन्।"

अस्तित्व रक्षाका लागि पनि जनावरहरूमा खानेकुरा खोज्ने, आफैँ अरूको खानेकुरा बन्नसक्ने खतराबाट बच्ने र सन्तान उत्पादन गर्ने विषयमा प्रतिस्पर्धी विशेषताहरू हुनैपर्थ्यो।

त्यसले उनीहरूलाई पुस्तैपिच्छे परिवर्तन हुन बाध्य बनायो।

अल-जहिजको चिन्तनले उनीपछि आएका अन्य मुस्लिम विचारकहरूलाई समेत प्रभाव पारेको थियो। उनको कामलाई अल-फाराबी, अल-अराबी, अल-बिरुनी र इब्न खाल्दुनलगायतले अध्ययन गरेका थिए।

अलामा इक्बाल भनेर चिनिने पाकिस्तानका 'आध्यात्मिक पिता' मोहम्मद इक्बालले सन् १९३० मा प्रकाशित गरेको उनको साहित्यिक सङ्ग्रहमा अल-जहिजको महत्त्वलाई हेरेको देखिन्छ।

उनले लेखेका छन्, "बसाइसराइ र वातावरणका कारण जनावरहरूको जीवनमा आउने परिवर्तनलाई औंल्याउने व्यक्ति अल-जहिज थिए।"

डार्विन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एउटा फ्रान्सेली पत्रिकामा छापिएको डार्विनको सिद्धान्त झल्काउने तस्विर।

मोहमेदान सिद्धान्त

विकासवादी चिन्तनमा मुस्लिम विश्वको योगदान १९औँ शताब्दीका युरोपेली विद्वान्‌हरूका लागि गोप्य थिएन।

खासमा चार्ल्स डार्विनका समकालीन वैज्ञानिक विलियम ड्रापरले सन् १८७८ मा 'क्रमिक विकासको महमेदान सिद्धान्त'बारे बोलेका थिए।

तर डार्विन अल-जहिजको कामबारे जानकार थिए वा उनी अरबिक भाषा जान्दथे भन्ने कुनै प्रमाण पाइएको छैन।

ब्रिटिश प्रकृतिवादी डार्विन एक वैज्ञानिकका रूपमा प्रतिष्ठित हुने हक राख्छन्। उनले प्राकृतिक संसार हेर्न र अध्ययन गर्नका लागि वर्षौँ घुमेर बिताए।

र, उनले विश्वबारे सोच्ने तरिकामा बदलाव ल्याउनका लागि पहिले कहिल्यै नभएको विस्तृत र स्पष्ट व्याख्यासहितको सिद्धान्तको शुरुवात गरे।

डार्विन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चाल्र्स डार्विन

तर बीबीसी रेडियोका लागि इस्लाम र विज्ञान भनिने डकुमेन्ट्री शृङ्खलाहरू बनाएका विज्ञान सम्वाददाता इह्सान मसूद क्रमिक विकाससम्बन्धी सोचहरू विकास गर्न योगदान गर्ने अरूहरूलाई पनि सम्झनु महत्त्वपूर्ण रहेको बताउँछन्।

सृष्टि-रचना सिद्धान्त

उनी ९औँ शताब्दीको इराकमा भएको एउटा महत्त्वपूर्ण आन्दोलनमा सृष्टि-रचना सिद्धान्त अस्तित्वमा रहेको नदेखिएको बताउँछन्।

त्यसबेला बग्दाद र बास्रा इस्लामिक सभ्यता विकासको केन्द्रमा थिए।

ब्रिटिश अखबार द गार्डियनमा अल-जाहिजबारे प्रकाशित एक लेखमा मसूद लेख्छन्, "यदी हामीले त्यसलाई प्राकृतिक विश्वलाई हेरेर प्राप्त गरिएको ज्ञानसँग तुलना गर्ने हो भने वैज्ञानिकहरूले रहस्योद्घाटनको मार्गबारे जान्नका लागि घण्टौँ बिताएका थिएनन्।"