नाकको मद्दतले हाम्रो इतिहासमा फेरि कसरी फर्कने

सत्रौँ शताब्दीको एउटा चित्र

तस्बिर स्रोत, Rijksmuseum

तस्बिरको क्याप्शन, शताब्दियौँ अघि युरोपेली नाकले अनुभव गरेका गन्धहरू पत्ता लगाएर त्यस्तै बनाउने योजनामा अनुसन्धानकर्ताहरू लागेका छन्

मोनालिसाको चित्रले वर्षौँदेखि दशौँ लाख मानिसलाई आकर्षित गरिरहेको छ।

लिओनार्दो दा भिन्चीको उत्कृष्ट चित्रकला हेर्दा आँखाले पाउने आनन्द एक ठाउँमा छ, अब १६औँ शताब्दीमा इटलीमा बनाइएको उक्त चित्रको बास्ना पनि आगन्तुकहरूलाई अनुभूत गराउने प्रयास अघि बढाउन लागिएको छ।

युरोपेली प्राज्ञहरूले सङ्ग्रहालय भ्रमणलाई थप रोमाञ्चक बनाउने उद्देश्यसहित अबको तीन वर्षमा उक्त महादेशमा १६औँदेखि २०औँ शताब्दीसम्मका गन्ध पहिचान गर्दैछन्।

युरोपेली सङ्घले ३३ मिलियन डलर लगानी गरेर अघि बढाएको उक्त परियोजना अन्तर्गत २० जना विज्ञले काम गरिरहेका छन्।

उक्त टोलीमा सुगन्धसम्बन्धी इतिहासकार, अत्तरसम्बन्धी विज्ञ अनि रसायन र कम्प्युटर वैज्ञानिक सहभागी छन्।

उनीहरूले साना सम्पदाहरूको इन्साइक्लोपेडिया बनाउने उद्देश्य लिएका छन्।

उनीहरूले साहित्यिक व्याख्यामा मात्रै सीमित ती सम्पदाहरूको बास्नालाई प्रविधिको सहायताले पुन: सिर्जना गर्नेछन्।

उक्त पुस्तकालयमा मेरी अन्टोनेटको अत्तरदेखि औद्योगिक युगको धातु उद्योगबाट निस्किएको गन्ध पनि समावेश गरिनसक्छ।

सुगन्धको पुरातत्त्व

“यो परियोजना हाम्रो विगतको बास्ना सुँघ्ने क्षमता पत्ता लगाउने विषयसँग जोडिएको छ,” परियोजनाको नेतृत्व गरिरहेका डच संस्कृतिविद् इन्गेर लिमेन्सले भने।

“गन्धले हाम्रो विश्व बारेको अनुभूति तय गर्छ तर विगतमा हामीले हाम्रो इन्द्रीयद्वारा लिएको सूचनाबारे हामीसँग एकदमै कम जानकारी छ।”

उनले गन्ध एकदमै परिवर्तनशील भएको भन्दै त्यसलाई चाँडै बिर्सन सकिने उल्लेख गरे। “त्यहीँ भएर हामीले तिनीहरूको संरक्षणबारे सोच्नुपर्छ।”

ज्यानुअरी महिनामा सुरु हुने अभियान अन्तर्गत विज्ञहरूले गन्धसम्बन्धी जानकारी पुस्तक, ऐतिहासिक अभिलेख र कला एवम् सङ्ग्रहालयबाट सङ्कलन गरिनेछ।

Vintage engraving of Hull, Yorkshire, in the 19th Century

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, औद्योगिक क्रान्तिका बेला ब्रिटिश शहरको हावाको गन्ध कस्तो हुन्थ्यो भन्ने बनाउन सकिन्छ भन्ने आशामा विज्ञहरू छन्

एल्गोरिदममार्फत् सातवटा भाषामा उल्लेख गरिने त्यस्ता जानकारीलाई विश्लेषण गरिनेछ।

परियोजनामा आबद्ध यूकेको एङ्लिया रस्किन युनिभर्सिटीका गन्धसम्बन्धी इतिहासकार विलियम टुलेटले गन्ध थाहा पाउने इन्द्रीय क्षमताको महत्त्व कोभिड-१९ महामारीले प्रस्ट पारेको बताए।

“गन्ध थाहा पाउनु हाम्रो दैनिक जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण छ। हामीले माहामारीको समयमा मानिसहरूले कोभिड-१९ लागेपछि गन्ध थाहा पाउन छोडेको देखेका छौँ।”

“त्यही भएर हामी स्वाद थाहा पाउने मानिसको आधारभूत अनुभवलाई स्वीकार गर्न र कैद गर्न चाहन्छौँ।”

तर विगतका गन्धको जगेर्ना कसरी गर्ने?

लिमेन्सले त्यसका लागि विभिन्न विधिहरू रहेको बताए। रसायनशास्त्रका विज्ञहरूले ऐतिहासिक वस्तुबाट तिनीहरूका कण निकालेर त्यसको रासायनिक संरचना विश्लेषण गरेर सूचना निकाल्न सक्छन्।

अर्को व्याख्यात्मक विधि पनि छ जसमा कुनै ठाउँको ऐतिहसिक अवस्थालाई ध्यान दिइन्छ र विज्ञहरूलाई कुन समयमा त्यहाँ कस्तो गन्ध थियो भन्ने निर्धारण गर्न दिइन्छ।

गन्ध सम्बन्धी अनुसन्धान गर्न ऐतिहासिक दस्ताबेजको पनि अध्ययन भइरहेको छ

तस्बिर स्रोत, Amsterdam Archive

तस्बिरको क्याप्शन, गन्ध सम्बन्धी अनुसन्धान गर्न ऐतिहासिक दस्ताबेजको पनि अध्ययन भइरहेको छ

डच प्राज्ञका अनुसार मीठो बास्ना दिने फूल र पात भएको बिरुवादेखि शहरमा रहेको हावाको स्वादसम्म ध्यान दिएर गन्ध निर्धारण गर्न सकिन्छ।

उक्त ज्ञान परियोजनाको अन्तिम चरणमा प्रयोग गरिने छ जुनबेला रसायन र प्रविधिसम्बन्धी विज्ञले पुरानो सुवास र गन्धलाई जागृत बनाउनेछन्।

त्यसरी फेरि सिर्जना गरिएको बास्नालाई युरोपका सङ्ग्रहालयमा शृङ्खलाबद्ध रूपमा विशेष प्रदर्शनीमा राखिने बताइएको छ।

Caro Verbeek
तस्बिरको क्याप्शन, कारो भर्बिकले अत्तरवाला लठ्ठीहरूमा अनुसन्धान गरेकी छन्

यो परियोजनामा काम गरिरहेकी डच इतिहासकार कारो भर्बिकले दुई दशकदेखि पुराना गन्धलाई पुनर्जीवित तुल्याउने परियोजनाहरूमा काम गरिरहेकी छन्।

सन् २०१५ मा एम्सटर्डमको प्रसिद्ध राइक्स सङ्ग्रहालयमा भएको त्यस्तो प्रदर्शनीको चाँजोपाँजो मिलाएकी उनले अत्तरसम्बन्धी दुई विज्ञसँग मिलेर त्यहाँका केही चर्चित सङ्ग्रहहरू जस्तै सन् १८२४ को ‘द ब्याटल अफ वाटरलू’ चित्रको गन्ध तयार पारेकी थिइन्।

उनले द ब्याटल अफ वाटरलूका लागि बारुदलाई माटोसँग मिसाएको गन्ध, घोडा र छालाको गन्धको प्रयोग गरेको तथा मानिसहरूले अगरबत्तीका मद्दतले त्यसलाई महसुस गरेको बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दृष्टिविहीन कलापारखीले यसरी मोनालिसाको मजा लिन्छन्

त्यसले कलालाई हेर्ने मानिसको दृष्टिकोणमा परिवर्तन ल्याएको भन्दै उनले दृष्टिविहीनसहित कतिपय समूहलाई यो खालको प्रयोग समावेशी हुने बताइन्।

अहिले अघि बढ्न लागेको नयाँ परियोजनाले त्यो अनुभवलाई अझ बढाउने भन्दै उनी भन्छिन्, “अब धेरैभन्दा धेरै मानिसले इतिहासलाई सुँघ्न पाउनेछन्।"

उनले थपिन्, "स्वाद परिवर्तनले हामीलाई कमजोर सम्पदा सुम्पिएको छ। हामी ती सम्पदालाई कल्पना गर्न सक्दैनौँ। अब तिनीहरूलाई कैद गर्ने र पुनः उत्पादन गर्नुपर्छ।”