प्राचीन मानवको औँठाको छाप जसले दर्शाउँछ नियान्डर्टालको कलाकारिता

उक्त ढुङ्गाको पूर्ण उत्खखनअघिको र पछिको तस्बिर जसको मध्यभागमा एउटा रातो थोप्लो देखिन्छ

तस्बिर स्रोत, Álvarez-Alonso et al

तस्बिरको क्याप्शन, उक्त ढुङ्गाको उत्खननअघिको (बायाँ) र उत्खननपछिको (दायाँ) तस्बिर
    • Author, मालु कर्सिनो
    • Role, बीबीसी न्यूज

स्पेनका वैज्ञानिकहरूले उत्खखनका क्रममा प्राप्त मानवको अनुहारजस्तो देखिने एउटा ढुङ्गामा मानव औँलाको प्राचीन पूर्ण निसान भेटिएको बताएका छन्। त्यसले नियान्डर्टालहरू कलात्मक अभिव्यक्तिका निम्ति सक्षम रहेको दर्शाउने उनीहरूले बताएका छन्।

कुनै नियान्डर्टाल मानवले लगभग ४३ हजार वर्षअघि रातो रङ्गमा आफ्नो औँला चोपेर नाकको एउटा आकृति बनाएको ठानिएको छ। स्पेनको सेगोभिआस्थित सन लजारोमा गरिएको उत्खननका क्रममा उक्त ढुङ्गा भेटिएको हो।

"युक्तिसङ्गत स्थान"मा अङ्कित एउटा थोप्लोले वैज्ञानिकहरूलाई नियान्डर्टालहरूको "साङ्केतिक व्यवहार" को प्रमाणका रूपमा त्यसलाई हेर्न र उनीहरू कलात्मक तरिकाले सोच्न सक्षम भएका ठान्नेतर्फ डोर्‍याएको हो।

उक्त अध्ययनका सहलेखिका मारिआ डे आन्द्रेस एरेरो यो निष्कर्षले नियान्डर्टालको कलात्मक अभिव्यक्ति क्षमताबारे चलिरहेको बहसमा योगदान गर्ने बताउँछिन्।

रातो थोप्लोका नमूना क्षेत्रहरू

तस्बिर स्रोत, Pedro A. Saura Ramos

तस्बिरको क्याप्शन, रातो थोप्लोका नमूना क्षेत्रहरू

बीबीसीको 'न्यूज–डे' सँगको अन्तर्वार्तामा मड्रिडस्थित 'युनिभर्सिटी अफ कम्प्लटेन्स'की प्राध्यापक एरेरोले उक्त उत्खनन पाँच वर्षअघि सुरु भएको र सन् २०२२ मा सतहभन्दा १.५ मिटरमुनि उक्त ढुङ्गो भेटिएको जानकारी दिइन्।

"सुरुमा त हामीलाई उक्त वस्तुबारे विश्वासै भएन, किनकि त्यहाँका अन्य ढुङ्गाभन्दा यो ठूलो हुनुका साथै यसको मध्यभागमा रातो थोप्लो थियो र यो मान्छेको अनुहारको आकृतिको थियो।"

उक्त थोप्लो गेरु (माटोको प्राकृतिक रङ्ग) बाट बने नबनेको प्रस्ट थिएन। अनुसन्धाता समूह त्यो रङ्ग नै भएको पक्का गर्न सक्षम भएपछि आफूहरूले अनुसन्धानमा सहायता माग्न विज्ञानसम्बन्धी मामिला हेर्ने स्पेनको प्रहरीलाई सम्पर्क गरेको प्राध्यापक एरेरोले बताइन्।

यो समूह 'मल्टी–स्पेक्ट्रम' भनिने जटिल प्रविधिक विश्लेषणमार्फत् गहिरो अनुसन्धान गर्न सक्षम थियो र उनीहरूले पछि औँलाको छापको पहिचान गरे।

उक्त अनुसन्धान समूहले ढुङ्गाको जाँचबाट औँलाको उक्त निसान वयस्क पुरुषको भएको पाइएको जनाएको छ।

तर पुरातत्त्वविद् तथा उक्त अध्ययनका सहलेखक डेभिड अल्वरे अलोन्जोले उक्त औँठाको निसानको तुलना गर्न अन्य पुराना सन्दर्भ सामग्री उपलब्ध नभएकाले किटानका साथ भन्न मुस्किल परेको बताए।

उक्त वैज्ञानिक घटनाक्रमको प्रगतिबारे सर्वसाधारणलाई जानकारी दिन आयोजित प्रेस सम्मेलनमा स्पेनी अधिकारी गोन्जालो स्यान्टोन्खाले उक्त पत्थर युरोपीय महाद्विपकै चित्रकलायुक्त प्राचीन 'पोर्टेबल' वा छरितो वस्तु हुनुका साथै र "नियान्डर्टालद्वारा चित्रित एकमात्र छरितो किसिमको चित्रकला" भएको बताए।

मल्टिस्पेक्ट्रम भनिने जटिल किसिमको विश्लेषणका माध्यमबाट उक्त रातो घेरामा औँठाको छापको पहिचान गर्न सकियो

तस्बिर स्रोत, Álvarez-Alonso et al

तस्बिरको क्याप्शन, मल्टिस्पेक्ट्रम भनिने जटिल किसिमको विश्लेषणका माध्यमबाट उक्त रातो घेरामा औँठाको छापको पहिचान गर्न सकियो

प्राध्यापक एरेरो उनको अनुसन्धान समूहको निष्कर्षले "नियान्डर्टालको सङ्केतहरूको प्रयोगसम्बन्धी क्षमताबारे चलिरहेको बहसमा महत्त्वपूर्ण योगदान पुर्‍याएको" बताउँछिन्। यसले "पुरातात्त्विक सन्दर्भमा रङ्ग–अङ्कित पहिले ज्ञात वस्तुको प्रतिनिधित्व गर्ने" उनको भनाइ छ।

त्यसबाहेक ढुङ्गामा पाइएको उक्त थोप्लोले त्यसको कुनै विशेष उपयोगभन्दा पनि कलात्मक उद्देश्य दर्शाउने विशेषज्ञहरू बताउँछन्।

प्राध्यापक एरेरो कुनै पुरातात्त्विक स्थलमा वैज्ञानिकहरूले पहिलोपटक रातो गेरुको थोप्लोसहितको ढुङ्गा भेटेको र त्यसको अर्थ नियान्डर्टालहरूले उक्त ढुङ्गालाई आफ्नो बासस्थानसम्म ल्याएका थिए भन्ने देखाएको बताउँछिन्।

स्पेनको समाचार संस्था युरोपा प्रेसले प्राध्यापक अलोन्सोलाई उद्धृत गरेअनुसार नियान्डर्टालमध्ये कोही एकले उक्त ढुङ्गा भेट्टाएको, "ढुङ्गामा परेका चिराहरूले उसलाई आकर्षित गरेको र उसले जानीबुझी रङ्गले उक्त वस्तुको मध्यभागमा निसान बनाएको" ठानिएको छ।

उक्त स्थानमा प्राकृतिक रूपमा उक्त रङ्ग नपाइने भनी निकालिएको निष्कर्षले "त्यसलाई जानीबुझी अन्तैबाट उक्त स्थानमा ल्याइएको" अर्थ्याउने भएकाले उक्त निसान दुर्घटनावश् बनेको हुन नसक्ने अनुसन्धाताहरूको ठम्याइ छ।

'आर्किओलजिकल एन्ड एन्थ्रोपोलजिकल साइन्सेज' जर्नलमा छापिएको आफ्नो शोधपत्रमा अनुसन्धाताहरूले लेखेका छन्, "सान लजारोमा भेटिएको उक्त ढुङ्गामा त्यसलाई असाधारण बनाउने कैयौँ विशेषताहरू छन् जसका आधारमा यसलाई एउटा अर्थपूर्ण दृष्यात्मक प्रतीक र केही सन्दर्भमा छरितो चित्रकलाको नमूनाका रूपमा हेर्न सकिन्छ। "

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।