जब डाक्टरले यी भारतीय महिलालाई 'तपाईँको कलेजोमा बच्चा छ' भने

इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी भएपछि शल्यक्रिया गरेर आराम गरिरहेकी सर्वेश र उनका पति परमवीर

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, 'इन्ट्राहेप्याटिक एक्टोपिक' अर्थात् कलेजोमा गर्भ बस्ने अवस्था संसारका सबैभन्दा दुर्लभ गर्भावस्थामध्ये एक मानिन्छ
    • Author, प्रेरणा
    • Role, बीबीसी संवाददाता

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पश्चिमी क्षेत्रस्थित गाउँमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यो मामिला अचम्मको छ किनभने त्यसमा भ्रूण गर्भाशयमा नभएर कलेजोमा विकसित भइरहेको थियो।

यसैकारण बुलन्दशहर जिल्लाको दस्तूरा गाउँमा बस्ने ३५ वर्षीय सर्वेशले यतिबेला कैयौँ वरिष्ठ डाक्टर तथा अनुसन्धानकर्ताको ध्यान तानेकी छन्।

आम सर्वसाधारणसँगै विशेषज्ञहरू पनि त्यस्तो कसरी भयो र सर्वेशको अहिले कस्तो स्थिति छ भन्ने चासो राखिरहेका छन्।

हामी यस्तै प्रश्नको जबाफ खोज्न सर्वेशको घर पुग्दा उनी खाटमा सुतिरहेकी थिइन्। उनको पेटमा एउटा चौडा पेटी बाँधिएको थियो र उनलाई यताउता पल्टिन पनि गाह्रो भइरहेको थियो।

उनले बताएअनुसार पेटको दायाँतर्फ २१ टाँका लगाइएका छन्। डाक्टरले गह्रुङ्गो सामान नउचाल्न भनेका छन्। हल्का खाना खान र सकेसम्म धेरै आराम गर्न सल्लाह दिएका छन्।

खाटमा बसाउनेदेखि शौचालय जान र कपडा फेर्नसम्म सर्वेशलाई उनका पति परमवीरको सहयोग लिनुपर्छ।

सर्वेश र उनका पति परमवीरका अनुसार गत तीन महिना उनीहरूका लागि अत्यन्त कठिन रह्यो।

'तपाईँको कलेजोमा बच्चा छ'

सर्वेशले बीबीसीलाई बताइन्, "मलाई अति नै धेरै बान्ता भइरहेको थियो। जहिले पनि थकाइ लाग्ने र दुख्ने भइरहेको थियो।"

उनको अवस्था बिग्रँदै गएपछि डाक्टरले 'अल्ट्रासाउन्ड' गर्न भने। त्यसमा केही देखिएन। उनले पेटमा सङ्क्रमण भयो भनेर औषधि खाइरहिन्।

एक महिना औषधि खाँदा पनि कुनै सुधार भएन। उनी दोस्रो पटक 'अल्ट्रासाउन्ड' गर्न पुगिन्।

यसपल्ट 'रिपोर्ट'मा देखिएको कुरा यति दुर्लभ थियो कि डाक्टरलाई पनि विश्वास गर्न गाह्रो भइरहेको थियो।

सर्वेशका श्रीमान् परमवीर

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, सर्वेशका श्रीमान् परमवीर आफूहरूलाई डाक्टरले छिटोभन्दा छिटो शल्यक्रिया गर्न सल्लाह दिएको बताउँछन्

अल्ट्रासाउन्ड गरेकी डक्टर सानिया जेहराले सर्वेशलाई उनको कलेजोमा बच्चा रहेको बताइन्। सर्वेश र उनका पति परमवीरका लागि यो असहज स्थिति थियो।

पुष्टि गर्न उनी बुलन्दशहरबाट मेरठ गइन्। फेरि अल्ट्रासाउन्ड र एमआरआई गरियो। रिपोर्टमा उही कुरा आयो।

सर्वेश विश्वास गर्न सकिरहेकी थिइनन् किनभने उनको महिनावारी सामान्य रूपमा भइरहेको थियो।

एमआरआई गरेका रेडिओलजिस्ट डाक्टर केके गुप्ताले बीबीसीलाई आफ्नो २० वर्षको डाक्टरीअनुभवमा यस्तो कहिल्यै नदेखेको बताए।

उनले बारम्बार रिपोर्ट पढे र महिनावारीबारे बारम्बार प्रश्नहरू सोधे।

उनले बीबीसीसँग भने, "सर्वेशको कलेजोको दाहिने भागमा १२ हप्ताको भ्रूण थियो। भ्रूणमा मुटुको धड्कनको सङ्केत स्पष्ट रूपमा देखिन थालिसकेको थियो। यस्तो स्थितिलाई इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी भनिन्छ। यो असाध्यै दुर्लभ स्थिति हो। यस्तोमा महिलाको असाध्यै धेरै रगत बग्छ, जसलाई उनले सामान्य महिनावारी भन्ठान्छिन् र त्यसैले पनि गर्भ रहेको पत्ता लाग्न समय लाग्छ।"

'शल्यक्रियाबाहेक अर्को विकल्प छैन'

रिपोर्ट हेरिरहेका स्वास्थ्यकर्मीहरू

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, रेडिओलजिस्ट डा. केके गुप्ताले आफ्नो २० वर्षे डाक्टरी अनुभवमा यस्तो कहिल्यै नदेखेको बताए

डाक्टरले दम्पतीलाई भ्रूण बढ्दै गएमा कलेजो फुट्ने खतरा रहेको र त्यस्तो अवस्थामा आमा र बच्चा दुवै नबाँच्ने बताए। त्यसैले शल्यक्रियाको विकल्प नभएको पनि उनीहरूले बताए।

परमवीरका अनुसार बुलन्दशहरमा कोही पनि डाक्टरले उनीहरूको उपचारको जिम्मा लिन चाहेनन्। उनीहरू मेरठ गए, त्यहाँ पनि निराश हुनुपर्‍यो।

डाक्टरहरूले त्यो जटिल अवस्था भएको अनि आमा र बच्चा दुवैलाई खतरा रहेको भन्दै दिल्ली जाने सल्लाह दिए।

सर्वेशले भनिन्, ''हामी गरिब छौँ, त्यसैले दिल्ली गएर खर्च गर्न सक्ने स्थिति थिएन। कैयौँ डाक्टरलाई भेटेपछि हामीले यहीँ उपचार गर्ने निर्णय गर्‍यौँ।'

अन्त्यमा मेरठको एक निजी अस्पतालमा डाक्टरहरूको एक टोली सर्वेशको शल्यक्रिया गर्न तयार भयो।

त्यो टोलीकी एक सदस्य डा. पारुल दहिया भन्छिन्, ''बिरामी मेरोमा आउँदा उनी तीन महिनादेखि समस्यामा थिइन्। उनीसँग अल्ट्रासोनोग्राफी र एमआरआईको रिपोर्ट थियो। त्यसमा स्पष्ट लेखिएको थियो - यो इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी हो। हामीले वरिष्ठ सर्जन डा. सुनिल कंवलसँग यसबारे कुरा गर्‍यौँ। उनी तयार भए अनि शल्यक्रिया गरियो।''

डक्टरहरूका अनुसार शल्यक्रिया गर्न डेढ घण्टा लाग्यो।

डा. केके गुप्ताले बीबीसीलाई शल्यक्रियाको भिडिओ र भ्रूणको तस्बिर पनि देखाए।

दुर्लभ अवस्था

डा. पारुल दहिया

तस्बिर स्रोत, Prabhat Kumar/BBC

तस्बिरको क्याप्शन, सर्वेशको शल्यक्रिया गरेको डाक्टरको टीमकी एक सदस्य डा. पारुल दहिया

सामान्यतया अण्डाशयबाट निस्केको अण्डा र शुक्राणु एक ठाउँमा आएपछि निषेचन हुन्छ र गर्भ बस्छ।

यो निषेचित अण्डा 'फलोपिअन ट्यूब' हुँदै गर्भाशयमा पुग्छ र गर्भाशयमा नै भ्रूण विकसित हुन्छ।

बीएचयूको इन्स्टिट्यूट अफ मेडिकल साइन्सेजकी प्राध्यापक डा. ममताका अनुसार कुनै बेला निषेचित अण्डा गर्भाशयमा नपुगी फलोपिअन ट्यूबमा बसिरहन्छ वा अन्य अङ्गमा टाँसिन पुग्छ।

जस्तो कि यो घटनामा कलेजोमा टाँसियो। कलेजोमा रगतको राम्रो आपूर्ति हुन्छ त्यसैले सुरुवाती दिनमा भ्रूणका लागि त्यसले राम्रो वातावरणको काम गर्न सक्छ। यसरी कलेजोमा भ्रूण विकास हुने स्थितिलाई 'इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी' भनिन्छ।

तर केही समयपछि आमा र बच्चा दुवैका लागि खतरनाक स्थिति बन्न पुग्छ जहाँ शल्यक्रियाबाहेक अन्य विकल्प बाँकी हुँदैन।

भारतमा अहिलेसम्म यस्ता घटना कति ?

डा. मोनिका अनन्त
तस्बिरको क्याप्शन, डा. मोनिका अनन्तका अनुसार संसारभर इन्ट्राहेप्याटिक प्रेग्नन्सी एक प्रतिशतभन्दा कम हुन्छ

इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नन्सी कति दुर्लभ हो ?

यो बुझ्न हामीले पटना एम्समा प्रसूति एवं स्त्री रोग विभागकी प्राध्यापक डा. मोनिका अनन्तसँग कुराकानी गर्‍यौँ।

डा. मोनिकाका अनुसार दुनियाँभरमा इन्ट्राहेप्याटिक प्रेग्नन्सी औसत एक प्रतिशत हुन्छ।

उनले बताइन् , ''एक अनुमानअनुसार ७०/८० लाख गर्भ रहँदा एउटा केस इन्ट्राहेप्याटिक प्रेग्नन्सीको हुन सक्छ।''

डा. मोनिकाले बताएअनुसार अहिलेसम्मको स्थितिमा संसारभर इन्ट्राहेप्याटिक प्रेग्नन्सीको ४५ वटा घटना मात्र जानकारीमा आएका छन्। त्यसमध्ये तीन घटना भारतका हुन्।

भारतको पहिलो घटना दिल्लीमा सन् २०१२ मा थाहा भएको थियो। फेरि सन् २०२२ मा गोवा मेडिकल कलेज र सन् २०२३ मा एम्समा तेस्रो घटना रिपोर्ट भएको थियो।

तेस्रो घटना पनि डा. मोनिका अनन्त र उनकी टीमले हेरेको थियो। यसमा उनको टीमले औषधिको सहायताबाट महिलाको गर्भथैली निष्क्रिय गर्न कोसिस गरेका थिए। त्यसको एक वर्षसम्म बिरामीलाई निरन्तर निगरानीमा राखिएको उनले बताइन्।

डा. पारुल दहिया र डा. केके गुप्ताले पछिल्लो घटनाको विवरण तयार पारिरहेका छन्। त्यसलाई पूरा गरेर प्रतिष्ठित मेडिकल जर्नलमा प्रकाशन गर्न पठाइने उनीहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।