यसअघि 'कसैले नदेखेको रङ्ग' पत्ता लागेको दाबी

मानव आँखा

तस्बिर स्रोत, Getty Images

    • Author, हाफ्सा खलिल
    • Role, बीबीसी न्यूज

वैज्ञानिकहरूको एउटा टोलीले यसअघि मानिसहरूले कहिल्यै नदेखेको एउटा नयाँ रङ्ग पत्ता लगाएको दाबी गरेको छ।

उक्त नयाँ अनुसन्धानमा अमेरिकी अनुसन्धानकर्ताहरूले आफ्ना आँखामा 'लेजर पल्स' पठाएर परीक्षण गरेकेका थिए।

'रेटिना' अर्थात् आँखाको पर्दाका विशेष कोषहरूलाई उत्तेजित पार्दा सहभागीहरूले नयाँ प्रकारको नीलो-हरियोजस्तो रङ्ग देखा परेको अनुभूति गरेका छन्।

उक्त रङ्गलाई वैज्ञानिकहरूले "ओलो" (olo) नामकरण गरेका छन्। यद्यपि केही विज्ञहरूले त्यो रङ्ग नयाँ हो कि हैन भनेर निष्कर्षमा पुग्न अझै "व्यापक छलफल" आवश्यकता भएको औँल्याएका छन्।

उक्त परीक्षणको नतिजा 'साइअन्स एड्भान्सेस्' जर्नलमा प्रकाशित भएको छ।

त्यो शोधपत्रका एक सहलेखक यूनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक रेन एङले उक्त नतिजालाई "असाधारण" भनेका छन्।

प्राध्यापक एङसहित उक्त परीक्षणमा पाँच वैज्ञानिक सहभागी थिए।

उनीहरू 'कलर ब्लाइन्डनस' (रङ्गान्धता)अर्थात् केही रङ्ग छुट्ट्याउन नसक्ने अवस्थाको अध्ययनमा उक्त नतिजा अझ उपयोगी हुन सक्ने ठान्छन्।

"ओलो तपाईँले वास्तविक संसारमा देख्ने रङ्भगन्दा निकै गाढा थियो," बीबीसी रेडिओ फोरको टूडे कार्यक्रममा गत शनिवार बोल्दै प्राध्यापक एङले भने।

"मानौँ तपाईँले आफ्नो जीवनमा केबल पिङ्क (गुलाफी), बेबी पिङ्क, प्यास्टल पिङ्कजस्ता रङ्ग मात्र देख्नुभएको छ," उनले भने।

"एक दिन अफिस जाँदा तपाईँले अरू कसैले एउटा कमिज लगाएको देख्नुभयो तर त्यसको रङ्ग त्यसअघि कहिल्यै नदेखेको अत्यधिक बेबी पिङ्कजस्तो थियो। अनि अरू मानिसहरूले त्यो नयाँ रङ्ग हो र हामी त्यसलाई रातो भन्छौँ भने।"

नयाँ रङ्ग ओलो

तस्बिर स्रोत, Ren Ng

उक्त टोलीको परीक्षणका क्रममा अनुसन्धानकर्ताहरूले सबै सहभागीको एउटा आँखाको नानीमा एउटा लेजर बीम पठाएका थिए।

उक्त परीक्षणमा चार पुरुष र एक महिला गरी पाँच जना सामान्य दृष्टि भएका व्यक्तिहरू सहभागी भएका थिए।

प्राध्यापक एङसहित तीन सहभागीहरू उक्त शोधपत्रका लेखक हुन्।

त्यसमा जनाइएअनुसार सहभागीहरूले ओज (Oz) नामक एउटा उपकरणमा हेरेका थिए। उक्त उपकरणमा ऐनाहरू, लेजर र अप्टिकल साधनहरू जडान गरिएको थियो।

उक्त उपकरणको डिजाइन पहिले परीक्षणमा संलग्न केही अध्ययनकर्ताहरूले गरेका थिए। त्यसमा यूनिभर्सिटी कलेज बर्क्ली र यूनिभर्सिटी अफ वाशिङ्टनका वैज्ञानिकहरूको समूह थियो।

यद्यपि परीक्षणका बेलामा त्यसलाई अद्यावधिक गरिएको थियो।

रेटिना आँखाको पछाडिपट्टि रहने प्रकाशप्रति संवेदनशील तन्तुहरूको तह हो। त्यसले दृश्यसम्बन्धी जानकारी प्राप्त गरेर त्यसलाई मस्तिष्कसम्म पुर्‍याउने भूमिका निर्वाह गर्छ।

रेटिनाले प्रकाशलाई विद्युतीय सङ्केतका रूपमा रूपान्तरण गर्छ। त्यसपछि त्यसलाई 'अप्टिक' स्नायुमार्फत् मस्तिष्कमा पठाउँछ। सोही प्रक्रियाका कारण हामी वस्तुहरू देख्छौँ।

आँखामा एस, एल र एम गरी तीन प्रकारका कोन कोषहरू हुन्छन्। प्रत्येक कोषहरू क्रमशः नीलो, रातो र हरियोको रङ्गका तरङ्गप्रति संवेदनशील बन्छन्।

शोधपत्रका अनुसार सामान्य दृष्टिमा "एम कोन कोषलाई उत्तेजित गर्ने कुनै पनि प्रकाशले यसको छिमेकी एल तथा/अथवा एस कोन कोषहरूलाई पनि उत्तेजित पार्नुपर्छ"।

किनभने एम कोन कोषको काम ती अन्यको कामसँग खप्टिएको हुन्छ।

यद्यपि परीक्षणका क्रममा लेजरले एम कोनहरूलाई मात्र उत्तेजित गर्‍यो।

"त्यसले सिद्धान्तत: मस्तिष्कमा रङ्गको सङ्केत पठाउँछ जुन प्राकृतिक दृष्टिमा कहिल्यै हुँदैन," उक्त शोधपत्रमा लेखिएको छ।

त्यसको अर्थ के हो भने ओलो रङ्गलाई विशिष्ट उत्तेजनात्मक क्रियाबिना वास्तविक संसारमा व्यक्तिले नाङ्गो आँखाले देख्न सक्दैन।

उक्त परीक्षणका क्रममा अवलोकन गरिएको रङ्ग चिन्न र पुष्टि गर्न प्रत्येक सहभागीले ओलोसँग मेल नखाएसम्म नियन्त्रण गर्न मिल्ने 'कलर डायल' प्रयोग गरेका थिए।

यद्यपि केही विज्ञहरू नयाँ रङ्ग फेला परेको विषय "व्याख्यात्मक" मात्र भएको ठान्छन्।

उक्त अध्ययनमा संलग्न नभएका यूनिभर्सिटी अफ लन्डनको सिटी सेन्ट जोर्जमा प्राध्यापनरत दृष्टिवैज्ञानिक जोन बार्बरले यो अनुसन्धान छानिएका कोन कोषहरूलाई उत्तेजित गर्ने "प्राविधिक उपलब्धि" भएको बताए। यद्यपि नयाँ रङ्ग पत्ता लागेको विषयलाई "छलफलका लागि खुला" राखिनुपर्ने उनको धारणा छ।

अनुसन्धान टोलीका प्राध्यापक एङले त्यसलाई प्राविधिक रूपमा देखाउन निकै कठिन भए पनि 'कलर ब्लाइन्ड' भनिने निश्चित रङ्हगरू छुट्ट्याउन नसक्ने व्यक्तिहरूका लागि यसको अर्थ के हो भनेर निश्चित गर्न आफूहरूले थप अध्ययन गरिरहेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।