आँखाले बजाउन सकिने सङ्गीतयन्त्र

सङ्गीत

तस्बिर स्रोत, OPEN UP MUSIC

तस्बिरको क्याप्शन, अलेसान्ड्रो भजाना न्याशनल ओपन युथ अर्केस्ट्रामा क्लारिअन बजाउँदै
    • Author, केभिन सलिजाबल क्यारस्कल र बेथ रोज
    • Role, बीबीसी रेडियो थ्री र बीबीसी एक्सेस अल

सङ्गीतलाई त्यस्तो भाषा भनिन्छ जसले जो कसैलाई छुन्छ। तर परम्परागत वाद्ययन्त्र सधैँ त्यस्तै हुन सक्दैनन् जति हुनसक्थे।

अहिले अर्को एउटा वाद्ययन्त्रले सङ्गीतको परिदृष्य फरक प्रकारले बदल्न लागेको जस्तो छ किनभने यसलाई शास्त्रीय सङ्गीतको क्षेत्रले औपचारिक मान्यता दिएको छ।

२६ वर्षीय अलेसान्ड्रो भजानाले पाँच वर्षकै उमेरदेखि वाद्य यन्त्र बजाउन थालेका हुन्। पहिला उनले पियानो बजाए , त्यसपछि गितार र पछि ड्रम।

बच्चैदेखि अपाङ्गता भएका उनी विद्युतीय ह्वीलचियरको प्रयोग गर्छन् र हातको कमै प्रयोग गर्छन्। उनमा भएको 'फ्रजाइल एक्स सिन्ड्रोम'का कारण उनमा सिकाइमा समस्या भए पनि सङ्गीत प्रतिको उनको प्रेमलाई त्यसले असर गरेको छैन।

वाद्यवादन यन्त्र चलाउन शारीरिक रूपमा कठिनाइ भएपछि उनलाई क्लारिअन भनिने वाद्ययन्त्रसँग परिचित गराइयो। त्यसकै कारण सङ्गीतमा उनको पहुँच रहिरहन सकेको छ।

क्लारिअन खासमा एउटा सफ्टवेयर हो जसले तपाईँले चाहेको कुनै पनि यन्त्रको आवाज नक्कल गर्न सक्छ। आइप्याड सहितका कुनै पनि ग्याजेटमा काम गर्न सक्ने यो प्रविधि खासमा अन्य वाद्ययन्त्रमा कुनै हिसाबले कम छैन।

यसको डिजाइनर मध्येका एक 'ओपन अप म्युजिक'का ब्यारी फरिमोन्ड-चुओङ हुन्।

उनले क्लारिअनलाई व्याख्या गर्दै एक्सेस अल पडकास्टसँग भने, "धेरैजसो वाद्यवादन यन्त्र बजाउनका लागि दुईवटा हात र १० वटा निपुण औँलाहरू चाहिन्छ"। तर क्लारिअन बजाउँदा भने शरीरमा आफ्नो सबैभन्दा धेरै नियन्त्रण हुने अङ्गको प्रयोग गर्न सकिन्छ। त्यो अङ्ग भनेको आँखा, हात वा एउटा खुट्टा पनि हुन सक्छ।

"केही युवा सङ्गीतकारका लागि सङ्गीतमाथि नियन्त्रण राख्नु वा केबल निस्क्रिय भएर सङ्गीत सुन्नु - फरक यही हो," उनले भने।

क्लारिअन

तस्बिर स्रोत, OPEN UP MUSIC

अलेसान्ड्रो एउटा ताररहित यन्त्र चलाउनका लागि आफ्नो टाउको चलाउँछन्। उनलाई एकदमै उत्कृष्ट मध्येका एक क्लारिअन वादकका रूपमा लिइन्छ र उनले लन्डनको बार्बिकनमा प्रस्तुति पनि दिइसके।

"म अरूसँग मिलेर राम्रो सङ्गीत बनाउँदा धेरै रमाउँछु," अलेसान्ड्रोले भने। "समूहको एउटा हिस्सा हुन एकदमै मजा हुन्छ।"

परम्परागत सङ्गीत स्कोर प्रयोग गर्नुसट्टा वाद्यवादकले बाहिर देखिने आफ्नो स्वरूप बनाउँछन् त्यसपछि सङ्गीतका ब्लकहरू बनाउँछन्।

त्यो ब्लकको अन्तिमतिरको हिस्सा शान्त हुन सक्छ, सुरुवात चर्को हुन सक्छ त्यसपछि त्यसमा सङ्गीतकारले थरि थरिका साङ्गितिक स्वरूप थप्न सक्छन् जसका लागि दक्षता र अभ्यास आवश्यक पर्छ।

ब्यारी भन्छन्, "क्लारिअन 'प्रिप्रोग्राम्ड' हुनसक्छ। तर क्लारिअन अरू वाद्यवादक यन्त्र जस्तै रियल टाइममा पनि बजाउन मिल्छ। त्यसमा परम्परागत वाद्यवादन यन्त्रमा जस्तै गल्ती हुने डर पनि हुन्छ।"

ब्यारी ओपन अप म्युजिक सञ्चालन गर्छन् जसले ब्रिटेनमा ६० वटा अर्केस्ट्रा र न्याशनल ओपन युथ अर्केस्ट्रा (नोयो) सञ्चालन गर्छ। उक्त अर्केस्ट्रा "त्यस्ता युवा सङ्गीतकारका लागि हो जसको सङ्गीतमा करिअर हुन सक्छ।"

अलेसान्ड्रो नोयोमा बजाउँछन् र सफ्टवेयरले उनको क्लारिअनमा विभिन्न अर्केस्ट्रा मिलाएर नक्कल गर्छ। तर वाद्यवादकहरू त्यो भन्दा बढी चाहन्छन्।

"यो त्यस्तो यन्त्र हो जो आफ्नै स्वरको खोजीमा छ," ब्यारी भन्छन्। फरक फरक धुनहरूले भरिएको कोठामा यसको छुट्टै पहिचानले यो यन्त्रलाई लामो आयु दिने ब्यारीलाई थाहा छ।

उनी क्लारिअन बजाउनेहरू, सङ्गीतकार र व्यावसायिक अर्केस्ट्राहरूसँग काम गरिरहेका छन् ता कि परम्परागत अर्केस्ट्रामा नभएको धुन पाउन सकियोस्।

ब्यारी भन्छन्, "क्लारिअनको आफ्नै स्वर हुन सक्यो भने संयोजकले क्लारिअनको आवश्यकता पर्ने सङ्गीत लेख्न सक्छन्। त्यसपछि अर्केस्ट्रा बजाउनेहरूले पनि त्यो चलाउन खोज्नेछन् र त्यसले रोजगारी सिर्जना गर्छ।"

आर्ट्स काउन्सिल इङ्ग्ल्यान्डका अनुसार अहिले व्यावसायिक सङ्गीतकारमध्ये १.८ प्रतिशत मात्रै अपाङ्गता भएकाहरू छन् जबकि यूकेभरि काम गर्नेहरूमध्ये अपाङ्गता भएकाहरू १९ प्रतिशत छन्।

यो महिना, क्लारिअनलाई कसरी गम्भीर प्रकृतिको यन्त्र हो भनेर वैधानिकता दिने भन्नेबारे छलफल भएको थियो र व्यावसायिक क्षेत्रतिर त्यसले अर्को कदम उठाएको छ।

रोयल स्कूल अफ म्युजिकको एशोसियटेड बोर्डले क्लारिअनलाई आफ्नो परिवारमा स्वागत गरेको छ र सन् २०२४ मा अन्य परम्परागत यन्त्रहरू भायोलिन र बाँसुरीलाई जस्तै क्लारिअन बजाउनेलाई पनि ओपन म्युजिक असेस्मेन्टस्‌को प्रस्ताव गर्नेछ।

धेरै मानिसले सङ्गीत ग्रेडलाई हेरेर, पढेर वा स्केलहरूबाट सम्झिन सक्छन्, ओपन म्युजिक असेस्मेन्टस भने धेरै हदसम्म आफैँ बग्ने खालको हो। सङ्गीतकारहरूले आफ्नै छनोटको प्रस्तुतिको सूची प्रस्तुत गर्छन् र सफल वा विफल हुने भन्दा पनि रचनात्मक प्रतिक्रिया पाउँछन्।

एबीआरएसएमका जेम्स रिस्डनले ओपन म्युजिक असेस्मेन्टस्‌हरू "एक असाध्यै सकारात्मक, उत्थानकारी, सकारात्मक अनुभवका लागि बनाइएको हो" र सङ्गीतकारले पनि सुधार गर्दै जाऊन् भनेर रचनात्मक प्रतिक्रिया दिन्छन्।

क्लारिअन

तस्बिर स्रोत, OPEN UP MUSIC

एबीआरएसएममा क्लारिअन पनि थप्ने प्रस्तावबारे सोध्न उनी आफ्ना ६ सय परीक्षणकर्ताकहाँ पुगे ताकि कोही त्यसलाई समावेश गर्न इच्छुक छन् कि भनेर थाहा पाउन सकियो। त्यसमा धेरैले सकारात्मक प्रतिक्रिया जनाए।

असेसर्सहरूलाई तालिम दिँदा परीक्षणकर्ताहरूले क्लारिअन बजाउने अवसर पाऊन् भन्ने प्रत्याभूत गरियो र रचनात्मक हुनका लागि सुझाव र टिप्पणीहरू बुझ्न सकियोस् र सङ्गीतकार निरन्तर रूपमा सिक्दै जाओस् भन्ने होस्।

जेम्स भन्छन्, "संवेदनशील र उचित प्रतिक्रियाका साथै अपाङ्गता भएका व्यक्तिले नयाँ यन्त्रबाट प्रस्तुति दिएको देखेर उक्त क्षणमा भावनामा नबगून् भनेर परीक्षणकर्ताहरूको रक्षा होस् भन्ने पनि हामी चाहन्छौँ।"

ओपन अप म्युजिक र एबीआरएसएम दुवै अन्तत: क्लारिअन परम्परागत प्रणालीमा जानेमा विश्वस्त छन्। तर पहिला यसको आफ्नै सङ्गीत हुन आवश्यक छ।

अहिले देखाउनका लागि प्रदर्शनको कुनै सूची छैन तर एबीआरएसएमले आफ्नो कम्पोजर मेन्टोरिङ प्रोग्राममा रहेकालाई लेख्न प्रोत्साहित गरिरहेको छ।

अलेसान्ड्रो र नोयोका लागि माइकल बिटरिजले यस्तो हालैमात्रै गरेका हुन्। माइकलले उक्त यन्त्र "कति अभिव्यक्तिपूर्ण र राम्रो छ भनेर आफू प्रभावित भएको" र यसले "वाक्यांश र बनावटको सन्दर्भमा नयाँ अवसर" दिने बताएका छन्।

यो एउटा "उत्साहप्रद यात्राको सुरुवात" हो भन्नेमा जेम्स पक्का छन्। क्लारिअनले उसको आत्मा र आवाज फेला पारेको र त्यसकारण यो अझै राम्रो हुँदै जानेमा ‍निश्चित छन्।

अहिलेका लागि क्लारिअन ओपन अप म्युजिक कार्यक्रममार्फत् उपलब्ध छ तर सन् २०२४ बाट सङ्गीत संयोजन गर्न चाहने जो कसैका लागि उपलब्ध हुनेछ। ब्यारी त्यसपछि के हुनेछ भनेर एकदमै कौतुहलमा छन्।

"म अर्केस्ट्राबाहिर यो बेजोडले हेरियोस् भन्ने हेर्न चाहिरहेको छु। म स्का ब्यान्ड वा डिजेले यो प्रयोग गरेको हेर्न चाहन्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।