नेपाल सङ्गीत: एउटा गीतले उठाएको बौद्धिक सम्पत्तिबारे बहस

प्रतीकात्मक तस्बिर

तस्बिर स्रोत, Getty Images

अहिले भिडिओ साझा गर्ने एप टिकटक हेर्दै गर्दा एउटै गीत पटकपटक विभिन्न भिडिओहरूमा दोहोरिएको सुन्न सकिन्छ। कसैले प्रेम सम्बन्ध झल्काउने किसिमको दृश्य त केहीले बिछोडको पीडा देखाउने दृश्यलाई पृष्ठभूमिमा राखेर प्रयोग गरिरहेको गीत हो-

मायाको अवधि र सिमाना हुँदैन

प्रिय तिम्रो नाम कहिल्यै बदनाम गर्दिनँ...

अनि उक्त गीतसँगै जोडिएर आएको अर्को नाम हो सभ्या केसी।

केसीले आफ्नो प्रेम सम्बन्धमा आएका उतारचढावबारे लेखेको कथा युट्युबमा सार्वजनिक भएपछि उक्त गीत नेपाली टिकटक प्रयोगकर्ताहरूमाझ चर्चित बनेको हो। विशेषगरी रोश्ना वाइबा नामक टिकटक प्रयोगकर्ताले गत साता गाएको संस्करणमा केही दिनयता थुप्रै भिडिओहरू बनेका छन्।

धेरै नेपाली टिकटक प्रयोगकर्ताले यी शब्दहरूका लागि केसीप्रति आभार व्यक्त गरेका छन् र कतिले उनैलाई श्रेय दिँदै गीतका शब्दहरूलाई क्याप्सन बनाएका छन्।

अनि तिनै भिडिओहरूमा केही प्रयोगकर्ताले प्रतिक्रिया जनाउँदै गीतका शब्दहरू केसीको नभएको बताएका छन्। चण्डिका सुवेदीले भनेकी छन्: "यो पुरानो गीतबाट लिइएको शब्द हो।"

सुस्मिता नामक अर्की प्रयोगकर्ताले भनेकी छन्: "सभ्याको कथामा पात्रले सम्झिएको उक्त गीत उदय र मनिला सोताङको हो।"

शब्दको श्रेय कसलाई?

केसी स्वयंले कथामा आफूले उक्त हरफ "गीतमा सुन्ने गरेको" जनाएकी छिन्। तर, कसको गीत भनेर उल्लेख गरेकी छैनन्।

उदय र मनिला सोताङ

तस्बिर स्रोत, Uday Sotang

वर्षौँअघि सार्वजनिक गीतको कभर संस्करण गाउँदा होस् या अन्य माध्यममा प्रयोग गर्दा सर्जकको नाम उल्लेख नगर्दा, गीत कसको हो भन्नेबारे अन्योल सिर्जना भएको ठान्छन् उक्त गीतका मौलिक गायक उदय सोताङ।

"गीत प्रयोग गर्ने साथीहरूले गीतकार, सङ्गीतकार र गायकको नाम त दिनु पर्ने हो। त्यसो भयो भने सर्जकप्रति न्याय हुन्छ। तर मानिसको स्वभावमा भर पर्छ। धेरैले गाइरहेका हुन्छन् तर क्रेडिट दिँदैनन्," उनले बीबीसीसँग भने।

यद्यपि, आफूले यस्तो विषयमा ध्यान नदिने उनी बताउँछन्। उनी भन्छन्,"प्रविधि र साधनहरूका कारण पुराना रचनाहरूमाथि मान्छेको पहुँच बढेको छ। त्यसैले धेरैले आफ्नो तरिकाले प्रयोग गर्छन् कतिलाई रोक्नु? कतिसँग झगडा गर्नु?"

माया नमार है...

सोताङ र उनकी श्रीमती प्राय सिङ्घापुर बस्थे। त्यहाँ उनीहरू एउटा होटलको रेस्टुराँमा काम गर्थे। गीत गाउँथे। तर उनीहरूका छोराछोरी नेपालमै थिए।

उदय सोताङले भने,"उनीहरूको निकै याद आउँथ्यो। लाग्थ्यो श्रीमती पनि टाढा भए के होला? हामीले एक अर्काको बारे के सोच्थ्यौँ होला भन्ने कुरा निकै कल्पन्थेँ। त्यही कल्पनालाई पछि शब्दमा उतारेँ।"

उनले 'माया नमार' बोलको स्थायी रचना गरे। र, आफ्नो कल्पना अनुरूप परदेशी श्रीमान् र गाउँमा रहेकी श्रीमतीबीचको संवाद झल्काउने गीत लेखिदिन गीतकार सान्तेश प्रधानलाई आग्रह गरे ।

सन् २००५ मा उदय सोताङ र मनिला सोताङको आवाजमा गीत रेकर्ड भयो। त्यसको केही वर्षपछि सार्वजनिक मुस्कान नामक एल्बममा समाविष्ट गीत सफल ठहरियो।

"हाम्रो काम सिर्जना गर्ने हो र बजारमा निस्किएपछि त्यो श्रोताको पनि हुन्छ। त्यसैले उहाँहरूले मन पराउनु, चर्चामा ल्याउनु स्वाभाविक हो," सोताङले भने।

यद्यपि, सङ्गीतकार सङ्घका पूर्व अध्यक्ष एवं संरक्षक लक्ष्मण शेष भने पुराना सर्जकलाई श्रेय नदिइ गीत, सङ्गीतको प्रयोग हुनुलाई बौद्धिक सम्पत्तिको दुरुपयोग ठान्छन्। र, सर्जकहरू चुप लागेर बसेकै कारण यस्तो प्रवृत्ति मौलाएको उनको दाबी छ।

कानुनको प्रयोग आवश्यक

साहित्य, कला, ज्ञान-विज्ञान तथा अन्य क्षेत्रमा भएका मौलिक रचनाहरूको प्रतिलिपि अधिकारको संरक्षणका निम्ति प्रतिलिपि अधिकार ऐन २०५९ छ। यस ऐनले कुनै पनि रचनाको मौलिक रचयितालाई आर्थिक साथै नैतिक अधिकार प्रदान गरेको छ।

प्रतिलिपि अधिकार ऐन

तस्बिर स्रोत, नेपाल कानुन आयोग

कुनै पनि सिर्जना रचना गर्ने व्यक्तिले आफ्ना रचना सार्वजनिक रूपमा प्रयोग हुँदा त्यसमा आफ्नो नाम उल्लेख गर्न, छद्म नाम प्रयोग भएको छ भने त्यसलाई हटाउन, रचनाको विकृत रूपमा प्रयोग गरे वा रचना संशोधन वा परिमार्जन गरे रचयिताले नैतिक अधिकार प्रयोग गर्न पाउँछन्।

तर, पुराना सर्जकहरू यस विषयमा मौन रहेको सङ्गीतकर्मी शेष बताउँछन्। उनले भने,"सर्जकहरूलाई आफ्नो रचनामार्फत संसारभरिबाट रोयल्टी आउँछ भन्ने नै थाहा छैन। त्यसैले उहाँहरूको रचना श्रेय समेत नदिइ अरूले प्रयोग गरिरहेका छन्।"

पुराना गीत/सङ्गीत छद्म नामबाट विभिन्न माध्यमहरूमा राख्न र त्यसबाट आउने रकम प्रयोग गर्न "बिचौलियाहरू सक्रिय रहेको" उनको दाबी छ।

"सर्जकले आफूलाई प्राप्त कानुनी अधिकार समेत प्रयोग नगरी चुप बसेपछि रचनाहरूको मनोमानी प्रयोग भइरहेको छ। स्रष्टाहरू कानुनी झमेलामा पर्न चाहँदैनन् तर प्रतिलिपि अधिकार सम्बन्धी मुद्दाहरू सरकारवादी हुने भएकाले प्रक्रिया सहज छ," उनले प्रस्ट्याए।

मौलिक रचयितालाई सिर्जनाबाटै प्राप्त हुने पहिचान र आम्दानीको बाटो खोल्न रचना दुरुपयोग गर्ने विरुद्ध नजिर स्थापित हुनुपर्ने शेषको तर्क छ।

पटकपटक विवाद

सङ्गीत वा गीतको गलत प्रयोग भएको भन्दै विभिन्न समयमा विवादहरू भएका छन्।

सन् २०१६ मा गायक अविनाश घिसिङको 'चुइँचुइँ चुइँकने जुत्ता' बोलको गीत युट्युब च्यानलबाट हटाइएपछि विवाद सिर्जना भएको थियो।

जयनन्द लामाको शब्द, सङ्गीत तथा स्वर रहेको उक्त गीतको अडिओ म्युजिक नेपालले खरिद् गरेको थियो। घिसिङको भिडिओसहितको गीत पुरानो अडिओसँग मिलेको भन्दै युट्युबले नै हटाएको म्युजिक नेपालले जनाएको थियो।

प्रतीकात्मक तस्बिर

तस्बिर स्रोत, Getty Images

पछि घिसिङले लामाले आफ्नो गीत २०६९ चैत १० गते आफूलाई रिमेकका लागि दिएको कानुनी कागज सार्वजनिक गरेका थिए। र, त्यसको केही दिनपछि गीत पुनः युट्युबमा उपलब्ध भयो।

म्युजिक नेपालको युट्युब च्यानलमा थुप्रै पुराना गीतहरू उपलब्ध छन्।

"हामीले अधिकार खरिद् गर्दा उपलब्ध नाम वा एल्बम निस्किँदा उल्लेख भएको आधारमा सर्जकहरूलाई श्रेय दिन्छौँ। त्यही हुँदाहुँदै पनि कहिले काहीँ गल्ती हुन्छ। गलत सर्जकको नाम उल्लेख भएको पुष्टि भएमा त्यसलाई सच्याउँछौँ," म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले भने।

त्यस्तै प्रकाश सपुत र शान्ति श्री परियारको स्वरवद्ध गीतको लय आफूले केही वर्ष अघिनै सार्वजनिक गरेको गीतसँग मिल्न गएको भन्दै गायक शम्भु राईले प्रश्न उठाएपछि मानिसहरू त्यसको पक्ष र विपक्षमा देखिएका थिए।

उनीहरू दुई बीचको विवाद सहमतिमा टुङ्गिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, २० वर्षीया तुलसी बोहराको जन्मँदा नै एउटा हात थिएन

तीन वर्षअघि गायक राजेश पायल राईले एक साङ्गीतिक रियालिटी शोमा 'निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ' बोलको गीत गाए। उनले गाउँदै गर्दा टेलिभिजनको पर्दामा देखिने क्रेडिट लाइनमा मौलिक गायकको नाममा राई कै नाम देखाइयो।

त्यसको केही दिनपछि कलाकार मुरलिधरले फेसबुकमार्फत राईले आफ्नो गीत अनुमति बिना प्रयोग गर्दै आएको बताए।

विभिन्न अन्तर्वार्तामा उनले भनेका छन्- "मैले लेखेर, सङ्गीत रचेर रेडिओ नेपालमा गाएको चर्चित गीत हो यो। उसले गाउँछु भन्यो तर सम्झौता होइन अनुमति समेत नलिइ एल्बममा राख्यो।"

त्यति बेला उनले आफू "परेको खण्डमा कानुनी उपचार खोज्ने" बताएका थिए।

पछि उनीहरू दुई जना सहमतिमा आए र गीतको नयाँ संस्करण निकाले जसमा गीत र सङ्गीतको श्रेय मुरलिधरलाई दिइएको छ भने स्वर राजेशले दिएका छन्।

सचेतना र सतर्कता

नेपालमा गायन सम्बन्धी कार्यक्रमहरू चर्चामा आउन थालेपछि पुराना गीत, सङ्गीतहरू डिजिटल माध्यममा छाउन थाले।

तर, त्यससँगै गीतको श्रेय वा प्रतिलिपि अधिकारबारे प्रश्नहरू समेत उठ्न थालेको बताउँछन् नेपाल आइडलका पूर्व निर्देशक एवं हाल द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्याल।

"रेडिओ नेपालमा गाइएका धेरै गीतहरू कार्यक्रममा प्रतियोगीहरूले गाए तर पछि क्रेडिटको समस्या आयो। सर्जकको परिवारहरू आएर दाबी गर्न थाल्नु भयो र धेरै गीतहरू हामीले हटाउनु पर्‍यो," उनले भने।

उनी विवरणहरू समावेश भएका दस्ताबेज सुरक्षित र व्यवस्थित नहुनुलाई समस्याको प्रमुख कारण मान्छन्।

सही व्यक्तिलाई श्रेय दिनुपर्ने विषयमा सचेत एवं सतर्क रहँदारहँदै पनि कहिले काहीँ गल्ती हुने र त्यस्तो अवस्थामा माफी मागेर सच्याउनुमा आफूहरूले जोड दिएको पौड्यालले जिकिर गरे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म रोमान्टिक मान्छे हुँ र गीत बनाउँदा मलाई सबैभन्दा शब्दको पाटो मन पर्छ।'