लता मङ्गेशकर: दीर्घायुका लागि पशुपतिमा पूजा तर प्रसाद पुग्न नपाउँदै निधन

लता मङ्गेशकर

तस्बिर स्रोत, Ramkrishna Dhakal

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

गत साता गायक रामकृष्ण ढकाललाई भारतको मुम्बईबाट लता मङ्गेशकरका सहयोगीको फोन आयो।

मङ्गेशकरको स्वास्थ्य जटिल बन्दै गएको जानकारी गराउँदै सहयोगीले प्रख्यात भारतीय गायिकाको दीर्घायुका लागि पशुपतिनाथमा 'पूजा गर्न सकिन्छ कि' भन्ने मनसाय व्यक्त गरे।

ढकालले आग्रहलाई अस्वीकार गर्ने कुरै थिएन। ढकालको टोलीले गत बुधवार पशुपतिनाथ परिसर पुगेर मङ्गेशकरको दीर्घायुको कामना गर्दै पूजा अर्चना गर्‍यो।

"हामीले तत्कालै उहाँका सहयोगीलाई पूजाको तस्बिर पठाइदियौँ," ढकालले बीबीसीसँग भने।

"आइतवार पूजाको प्रसाद पठाउन लागेका थियौँ तर उहाँ नरहनु भएको खबर आयो। प्रसाद पठाउन ढिलो गरिएछ भन्ने लागेर मन साह्रै खिन्न भयो।"

ढकाल-मङ्गेशकर सम्बन्ध

चर्चित नेपाली आधुनिक गायक ढकालका भनाइमा उनको मङ्गेशकरसँग सम्पर्क भएको करिब एक दशकअघि हो।

ढकालले आफ्ना कैयौँ गीतहरू मुम्बईमा गएर रेकर्ड गराएका थिए।

उनको मुम्बई आउजाउ चलिरहन्थ्यो। सङ्गीतकार शिखर सन्तोष मुम्बईमै बसेर काम गरिरहेका थिए।

उनै सन्तोषको सम्पर्क सूत्रमार्फत ढकालले करिब एक दशकअघि मङ्गेशकरसँग गीत गाउने अवसर पाएका थिए।

"आनन्द अधिकारीले लेख्नु भएको गीत थियो, सन्तोषले सङ्गीत गरेर एक पटक प्रयास गरौँ न त भन्ने कुरा भयो," ढकालले भने।

"त्यसपछि मैले रेकर्ड गरेको गीतको डमी उहाँको सहयोगमार्फत मङ्गेशकरकहाँ त्यसलाई पुर्‍याइयो।"

लता मङ्गेशकर

तस्बिर स्रोत, Ramkrishna Dhakal

ढकाल-मङ्गेशकर पहिलो संवाद

मङ्गेशकरले ढकालको गायन मन पराइन्। उनीसँग नेपाली गीत गाउन तत्पर भइन्।

"एक दिन म ड्राइभ गरिरहेको थिएँ, लता मङ्गेशकरका सहयोगीको फोन आयो," ढकालले भने, "दिदी तपाईँसँग कुरा गर्न चाहनुहुन्छ भनेर उहाँले फोन दिनुभयो।"

"म एक छिन त अतालिएँ। के बोल्ने, के बोल्ने भयो।"

कसरी कुरा गर्ने भन्ने असमञ्जसमा परेका ढकाललाई मङ्गेशकरले फोनमा भनिन्, "रामकृष्णजी तपाईँले जुन गीत गाएर पठाउनु भएको थियो त्यस्तो त म गाउन सक्दिन होला, तर म उत्कृष्ट प्रयास गर्छु।"

"उहाँले त्यसो भन्दा उहाँको डाउन टू अर्थ व्यक्तित्व झल्किन्थ्यो," ढकाल भन्छन्।

त्यसपछि ढकाल र सन्तोष मुम्बई गए। उनीहरूले मुम्बई गएको भोलिपल्टै मङ्गेशकरसँग गीत रेकर्ड गराए।

र, त्यो चर्चित गीत हो-

फूल भन्छ फुलिरहूँ जुन भन्छ चम्किरहूँ

मन त भन्छ सबैसँग माया मोह राखिरहूँ

बाचुञ्जेलीलाई…

लता मङ्गेशकर

तस्बिर स्रोत, Ramkrishna Dhakal

पशुपति आउने इच्छा

ढकालले मङ्गेशकरसँग स्टुडियोमै करिब अढाई घण्टा बिताए।

उनले लतालाई नेपाली पस्मिनाको सल, पशुपतिनाथको प्रसाद र पशुपतिनाथ मन्दिरको फ्रेममा हालेको एउटा तस्बिर उपहार दिएका थिए।

"त्यस बेला उहाँले नेपाल आउने र पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्नु भएको थियो। तर उहाँको स्वास्थ्यले साथ दिएन। सायद त्यसैले आउन पाउनु भएन," ढकालले भने।

उक्त गीत रेकर्ड गराइसकेपछि स्टुडियोमै नेपाली टोलीले लिएको एउटा अन्तर्वार्तामा मङ्गेशकरले ढकालको गायकीको प्रशंसा गरेकी छन्।

म्युजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलमा उक्त अन्तर्वार्ताको भिडिओ राखेको छ।

त्यसमा मङ्गेशकरले भनेकी छन्, "उनी (ढकाल) एकदमै राम्रो गाउँछन्। मलाई उनको आवाज र गाउने तरिका एकदमै मन पर्‍यो।"

"जयदेवजी (सङ्गीतकार) को (सङ्गीतमा) नेपाली गीत मैले धेरै वर्ष पहिले गाएकी थिए । त्यसका शब्दहरू (नेपालका) महाराजाका थिए।"

लता मङ्गेशकर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, लता मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतवार निधन भएको हो

मङ्गेशकरसँग गीत गाउन पाउँदाको क्षण आफ्नो जीवनकै सबैभन्दा अमूल्य भएको ढकाल बताउँछन्।

उनी आफूले नेपाललाई प्रतिनिधित्व गर्दै मङ्गेशकरसँग गीत गाउन पाएकोमा भाग्यमानी ठान्छन्।

"उहाँले गाउनु भएको अन्तिम आधुनिक र व्यावसायिक गीत नै त्यो गीत भयो," ढकालले दाबी गरे।

"त्यसपछि उहाँले हिन्दीमा भजनहरू त गाउनु भयो तर आधुनिक गीत र व्यावसायिक गीत गाउनु भएन। त्यसैले पनि म उहाँको निधनमा निकै भावुक बनेँ।"

गीत रेकर्ड गरेपछि ढकालको मङ्गेशकरसँग त खासै कुराकानी भएन तर उनका सहयोगीहरूसँग ढकालको सम्पर्क कायम थियो।

"दिदीले पशुपतिनाथमा प्रार्थना गरिदिनु भन्नु भएको छ भनेर बेलाबेला उहाँले भन्नुहुन्थ्यो," ढकाल भन्छन्।

तर अन्तिम प्रार्थनाको प्रसाद पठाउन नपाएको चाहिँ आफूलाई खल्लो महसुस भएको ढकालले बताए।

लता मङ्गेशकर

तस्बिर स्रोत, EPA

नेपाली सङ्गीतकर्मीसँग मङ्गेशकरको सम्बन्ध

चलचित्र निर्देशक, लेखक तथा नेपाली गीतसङ्गीत क्षेत्रका जानकार प्रकाश सायमीका भनाइमा मङ्गेशकरको नेपाली सङ्गीतकर्मीसँगको सङ्गत निकै पुरानो हो।

सन् १९५५ ताका उनले एकजना नेपाली सङ्गीतकार भोला श्रेष्ठको सङ्गीतमा 'ए बस्ती ए लोग' नामक चलचित्रको हिन्दी गाएको उनको भनाइ छ।

उक्त गीतको बोल "दिल जलेगा तो जमाने…" रहेको सायमीको भनाइ छ।

युट्युबमा रहेको उक्त गीतको भिडिओमा पनि भोला श्रेष्ठको सङ्गीत र प्रेम युद्धरतनीको शब्द रहेको उल्लेख छ।

सायमीका भनाइमा धेरै वर्षपछि मङ्गेशकरले श्रेष्ठकी छोरी सुस्मासँग युगल हिन्दी गीत पनि गाएकी छन्।

राजा महेन्द्रका दुई गीत

राजा महेन्द्र
तस्बिरको क्याप्शन, राजा महेन्द्रले लेखेका दुईवटा गीत लता मङ्गेशकरले गाएकी थिइन्

मङ्गेशकरले गाएको पहिलो नेपाली गीत चाहिँ माइतीघर चलचित्रको "जुन माटोमा मेरो…" बोलको गीत हो।

उक्त चलचित्रमा अधिकांश गीतहरू किरण खरेलले लेखेका थिए।

तर उक्त गीत चाहिँ मबीबी शाह (राजा महेन्द्र) ले लेखेका थिए।

त्यो गीत सङ्गीतकार जयदेवको हो।

उक्त कुरा उनले ढकालसँग गीत गाएपछि दिएको अन्तर्वार्तामा पनि उल्लेख गरेकी छन्।

सायमीका भनाइमा त्यसपछि मबीबी शाहकै शब्दमा रहेको अर्को गीत पनि उनले गाएकी छन्।

"आकाशका तिरमिरे तारा म गन्न सक्दिन…" बोलको उक्त गीतमा हेमन्तकुमार मुखर्जीको सङ्गीत रहेको छ।

राजा महेन्द्रले आफूले लेखेको गीतका शब्द सुनाउँदै आफूले मन पराउने सङ्गीतकार हेमन्तकुमारलाई कसले गाउन सक्छ भनेर सोधेको र उनै हेमन्तकुमारले लताको नाम लिएको सायमी बताउँछन्।

त्यस बेला मबीबी शाहकै अर्को एउटा गीत पनि हेमन्तप्रकाशकै सङ्गीतमा मङ्गेशकरले गाएको तर त्यो हाल उपलब्ध नभएको सायमीको भनाइ छ।

म्युजिक नेपालका अनुसार मबीबी शाहको "आकाशका तिरमिरे तारा म गन्न सक्दिन…" गीत 'उसैका लागि-२' एल्बममा समेटिएको थियो।

लता मङ्गेशकर

तस्बिर स्रोत, NIYOGI BOOKS

नेपाली गीतसँग जोडिएका अन्य प्रसङ्ग

सङ्गीतका जानकार सायमीका भनाइमा २०५८ सालतिर तत्कालीन नेपाली राजा ज्ञानेन्द्र शाहले रचना गरेको एउटा गीत पनि मङ्गेशकरले गाउने तय भएको थियो।

ज्ञानेन्द्रले जी शाहका नाममा गीत र कविता लेख्दै आएका छन्।

जीवन प्रधानको सङ्गीतमा गाउने तय भएको उक्त गीतको बोल "जीवन फूल हो भने…" भन्ने रहेको थियो।

तर तयार हुँदाहुँदै पनि अस्वस्थताका कारण मङ्गेशकरले उक्त गीत गाउन नसकेको प्रधानले आफूलाई जानकारी दिएको सायमीले बताए।

अमर गुरुङको सङ्गीतमा मङ्गेशकरको स्वर

नेपाली राष्ट्र गानका सङ्गीतकार अमर गुरुङको सङ्गीतमा पनि मङ्गेशकरको स्वरमा एउटा गीत रेकर्ड भएको तर त्यो पछि सार्वजनिक हुन नसकेको गुरुङले बारम्बार बताएको सायमीको भनाइ छ।

उनका अनुसार 'मेरो देश' नामक नेपाली चलचित्रका लागि मङ्गेशकरले उक्त गीत गाएकी थिइन्।

त्यो गीतका लागि उनले अभ्यास गरेको र मुम्बईकै एउटा स्टुडियोमा रेकर्डिङ पनि भएको थियो।

तर चलचित्रका निर्माताबीच झगडा भएर उक्त चलचित्र बनेन। त्यसले गर्दा गीतको पनि खोजी नभएको गुरुङले आफूलाई बताएको सायमीको दाबी छ।

लता मङ्गेशकरको अन्तिम संस्कार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लता मङ्गेशकरलाई अन्तिम बिदाइ गर्दै भारतीय नायक शाहरुख खान

"अमर गुरुङले पछिसम्म त्यो गीत खोज्न पाए हुन्थ्यो भनिरहनु हुन्थ्यो," उनले भने।

त्यस्तै आफू पनि साक्षी भएको 'पिरती' नामक चलचित्रको एउटा गीत रञ्जित गजमेरको सङ्गीतमा मङ्गेशकरले गाउने तय भएको सायमीले बताए।

उनका भनाइमा उक्त गीतको बोल "मेरो आसले, मेरो भाग्यले परपर झन् पर छोडिरहेछ मलाई…" रहेको थियो।

उक्त गीतका लागि मङ्गेशकरले तयारी समेत गरेर समय पनि छुट्टाएकी थिइन्।

"तर खै के कारणले हो त्यो गीत पनि त्यत्तिकै भयो," सायमी भन्छन्।

मङ्गेशकरको नेपाल कार्यक्रम रद्द

सायमीका भनाइमा मङ्गेशकरले नेपाल आउन चाहे पनि उनी विभिन्न कारणले आउन पाइनन्।

उनलाई नेपाल आउने पहिलो अवसर २०३९/४० सालतिर जुरेको थियो।

त्यस बेला लता, हेमलता, रविन्द्र जैन, दीलिप कुमार लगायतको नेपालमा कार्यक्रम गर्ने तय भएको थियो।

त्यसका लागि मञ्च समेत तयार भइसकेको अवस्थामा ठूलो वर्षाले त्यसलाई रोकिदिएको सायमी बताउँछन्।

"ठूलो वर्षा भएपछि रङ्गशालामा खुला स्थानमा कार्यक्रम गर्न सक्ने अवस्था भएन," उनले भने।

"नेपाल आइसकेका कलाकार पनि होटलमा एकाध दिन बसेर फर्कनु परेको थियो।"