नारायण गोपाल जस्तो सङ्गीतकर्मी अहिलेसम्म जन्मेको छैन: शान्ति ठटाल

- Author, उमाकान्त खनाल
- Role, झापा
शान्ति ठटाल जत्तिकै उमेरका हुनेथिए स्वरसम्राट बाँचिरहेका भए। एक वर्षको मात्र फरक छ दुईजनाको उमेरमा।
नेपाली भाषी भारतीयहरूको बसोबास रहेको भारतको दार्जिलिङकी एक जना वृद्ध गायिका तथा सङ्गीतकार ठटाल नारायण गोपालको बेजोड गायकीबारे भन्छिन्, 'भविष्यमा त्यस्तो सङ्गीतकर्मी जन्मिन्छ/जन्मिँदैन थाहा छैन। तर अहिलेसम्म जन्मेको छैन।'
नारायण गोपालसँग कैयौँ कार्यक्रममा सँगसँगै गीत गाएको सम्झिने उनी भन्छिन्, "नारायण गोपाललाई भारतबाट पनि गीत गाउन 'अफर' आएको थियो। तर त्यसलाई उनले स्वीकार गरेनन्।"

त्यो बेलाको सम्झना गर्दै ठटाल भन्छिन्, 'मुम्बइमा गीत रेकर्ड गर्न गएका बेला त्यस्तो मौका पाएका पनि हुन्। तर उनले सोझै 'नेपाल छोडेर र नेपाली गीत बाहेक म अन्य भाषाको गीत गाउँदिन' भनेका थिए।'
उनको 'म मरे पनि मलाई मेरो देशको माया छ…' भन्ने गीतले पनि उनको स्वाभिमानलाई प्रस्ट पार्ने धेरैको बुझाइ छ।
दार्जिलिङकै अर्का सङ्गीतकार जीवन अधिकारी नारायण गोपाललाई नेपाली सङ्गीतको 'मूल खुट्टी'को संज्ञा दिन्छन्।
उनी भन्छन्, 'सङ्गीतको माध्यमबाट संसारका नेपालीलाई बाँध्ने काम मूल खुट्टीले गर्छ। उनी त्यही मूल खुट्टी हुन्।'
नारायण गोपालले गाएका गीत अधिकांश लोक तथा आधुनिक छन्।
त्यसमा पनि लयका विविधताले उनका गीतलाई अहिलेसम्म जीवन्त राखेको नेपाली सङ्गीतकर्मीको बुझाइ छ।
सङ्गीतकार जीवन अधिकारीको बुझाइमा उनी त्यस्ता गायकमध्येका एक हुन् जसले विविध लय खोज्छन्।
अधिकारी भन्छन्, 'तारादेवीसँग गाएको 'हे कान्छा ठट्टैमा यो बैँस जान लाग्यो…' तथा 'तिमीले भनेका…' गीत सुन्नुस् न। कति धेरै विविधता छ सङ्गीतको खोजाइमा।'
स्वर सम्राट नारायण गोपालको ३१ औँ स्मृति दिवसमा झापाको बिर्तामोडमा हालै आयोजित एक कार्यक्रममा इलामका गायक कुबेर राईले पहिलो गीत गाए, 'म मरे पनि मलाई मेरो देशको माया छ।'
स्वर सम्राट नारायण गोपालले गाएको यो गीतले देशप्रतिको भक्ति भाव झल्किएकाले सुरुमा त्यही गीत गाएको प्रतिक्रिया गायक राईले दिए।
उनले बीबीसीलाई भने, 'नारायण गोपालले सङ्गीतको माध्यमबाट संसारभरका नेपालीलाई जोडे।'
स्वर सम्राट नारायण गोपालको २०४७ साल मङ्सिर १९ गते देहान्त भएको थियो। उनले नेपाली सङ्गीतलाई उचाइमा पुर्याएर गएको प्रतिक्रिया सङ्गीतकर्मीहरू दिन्छन्।










