केहीको मृत्यु भएपछि चल्न थाल्ने 'घडी'

बाँसको लाठीमा भ्यागुतो

तस्बिर स्रोत, Getty Images/BBC

    • Author, क्रिस बारान्यूक
    • Role, बीबीसी विश्व सेवा

ढलभित्र त्यो सामानको थुप्रो हुनेछ। विलार्ड लिबी त्यसबारे ढुक्क थिए।

यो सन् १९४० को दशकको मध्यतिरको कुरा हो र प्रकृतिमा पाइने कार्बनको एउटा रेडिओधर्मी प्रकार कार्बन-१४ फेला पार्नु अमेरिकी रसायनशास्त्री लिबीको उद्देश्य थियो।

उनले महसुस गरेका थिए कि यदि त्यो त्यहाँ छ भने त्यसले मृत बिरुवा र जनावरहरूमा बिस्तारै कुहिएको छाप छोड्ने छ- तिनको अवशेषमा रहेको कार्बनको मात्राले तिनीहरूको मृत्यु भएको समयबारे रहस्योद्‌घाटन गर्ने छ।

तर लिबीले कार्बन-१४ आफूले अनुमान गरेकै मात्रामा पाइन्छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने थियो।

अरू वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम रूपमा बनाएर मात्रै कार्बन-१४ देखेका थिए।

सजीव प्राणीहरूले मलमूत्रमार्फत्‌ त्यो निष्काशन गर्छन् भन्ने तर्क गरेकाले उनी ढलमा केन्द्रित भए। ठ्याक्कै भन्दाखेरी उनले बाल्टिमोरको ढलबारे अध्ययन थाले र त्यसमा उनले खोजिरहेको कुरा पाए पनि।

रेडिओकार्बन पनि भनिने रेडिओधर्मी कार्बनको प्रयोगबाट बस्तुको उमेर थाहा पाउने आफ्नो सोच विभिन्न क्षेत्रहरूमा काम लाग्छ भन्ने कुरा त्यति बेला लिबीलाई थाहा थिएन।

बीसौँ शताब्दीको मध्यदेखि 'रेडिओकार्बन डेटिङ' ले हजारौँ पुरातन वस्तुहरूको उमेर पत्ता लगाउन, हराइरहेका मानिसहरूका 'केस' हल गर्न र हात्तीका दाह्रा ओसारपसार गर्ने तस्करहरूलाई जेलसम्म पुर्‍याउनमा मद्दत गरेको छ।

रेडिओकार्बन डेटिङ हाम्रो जगत्‌ बुझ्ने साँचोमध्ये एउटा हो।

निरन्तर कुहिने अवस्था

तर कार्बन-१४ अस्तित्वमा कसरी आउँछ त? लिबीको बुझाइमा पृथ्वीको वायुमण्डलमा रहेका नाइट्रोजन परमाणुहरूमा 'कस्मिक रे'ले प्रहार गर्दा त्यो लगातार उत्पन्न भइरहेको हुन्छ। यसबाट बनेको कार्बन-१४ तुरुन्तै अक्सिजनसँग मिलेर रेडिओधर्मी कार्बनडाइअक्साइड बन्छ।

फेरि पृथ्वीमा बोटबिरुवाहरू सप्रिँदा तिनले वायुमण्डलमा रहेका केही रेडिओधर्मी कार्बनडाइअक्साइडलाई सोस्छन् र ती बोटबिरुवालाई खाने जनावर तथा मानिसहरूले पनि कार्बनडाइअक्साइड लिन्छन्।

बोटबिरुवा र जनावरहरू बाँचुन्जेल कार्बन-१४ पूर्ति गरिहन्छन्, तर मरेपछि त्यो प्रक्रिया बन्द हुन्छ।

रेडिओकार्बन एउटा निश्चित दरमा क्षय हुने भएकोले जैविक सामग्रीमा त्यो कति बाँकी छ भनी मापन गरी सम्बन्धित सामग्रीको आयु पत्ता लगाइन्छ। एउटा यस्तो घडी जो केही कुरा मृत्यु भएको क्षणपछि चल्न सुरु गर्छ।

प्राचिन हिब्रु अक्षरहरू रहेको डेड सि स्क्रोल भनिने पाण्डुलिपिको अंश

तस्बिर स्रोत, Getty Images/BBC

बाल्टिमोरको ढलबाट निस्किएको मिथेन ग्यासमा कार्बन-१४ भेटेपछि लिबीले अरू धेरै सामग्रीमा पनि त्यो विद्यमान रहेको पत्ता लगाए, जसबाट उनले ती सामग्री कति पुराना छन् भनी थाहा पाए।

उदाहरणका लागि डेड सी स्क्रोल्सको कपडामा प्रयोग भएको लिनेनदेखि झन्डै चार हजार वर्ष पहिलाका प्राचीन इजिप्टका राजा सेसोस्ट्रिस तृतीयको चिहानमा भेटिएको एउटा जहाजको टुक्रासम्ममा रेडिओ कार्बन रहेको उनले पत्ता लगाए।

"यो एउटा यस्तो समस्या थियो कि तपाईँले गरिरहेको कामबारे कसैलाई भन्न सक्नुहुन्न। यो एकदमै अनौठो कुरा थियो। ब्रह्माण्डबाछटआउने प्रकाशले मानव इतिहास लेख्न सक्छ भन्ने कुरा तपाईँले कसैलाई भन्न सक्नुहुन्न थियो। उनीहरूलाई भन्न मिल्दैन थियो। अहँ। त्यही भएर हामीले त्यसलाई गोप्य राख्यौँ।"

तर त्यसले काम गरेको प्रमाणित गरेपछि उनले संसारलाई त्यसबारे जानकारी दिए। सन् १९६० मा लिबीले रसायनशास्त्रतर्फ नोबेल पुरस्कार जिते।

उनको विधिले ५० हजार वर्ष पुराना अर्गानिक सामानमाथि काम गर्छ। त्योभन्दा पुराना वस्तुमा कार्बन-१४ एकदमै कम मात्रामा बाँकी हुन्छ।

कार्बन-१४ को क्रमिक क्षयले रेडिओकार्बन डेटिङलाई सम्भव तुल्याउँछ, तर त्यसको अर्थ यो पनि हो कि तपाईँ त्यतिसम्म मात्र जान सक्नुहुन्छ।

इतिहास बुझाइको हाम्रो केन्द्रमा अहिले कार्बन डेटिङ रहेको छ।

"वस्तुहरूलाई ठीक क्रममा राख्ने सन्दर्भमा, फरक क्षेत्रबीच तुलना गर्ने सन्दर्भमा र परिवर्तनको गति बुझ्ने सन्दर्भमा यो साँच्चिकै महत्त्वपूर्ण छ," विश्वका प्रतिष्ठित रेडिओकार्बन डेटिङ प्रयोगशालामध्ये एक अक्सफर्ड रेडिओकार्बन एक्सिलरेटर युनिटमा कार्यरत रेचल वूड भन्छिन्।

विलार्ड लिबी

तस्बिर स्रोत, Getty Images/BBC

तस्बिरको क्याप्शन, विलार्ड लिबी

रेडिओकार्बन डेटिङले लामो समयदेखि रहेका कतिपय विवादहरूलाई सुल्झाइदिएको छ।

धर्मशास्त्री तथा भूगर्भशास्त्री विलियम बकल्यान्डले सन् १८२३ मा वेल्समा फेला पारेको मानव कङ्कालको उदाहरण लिऊँ।

उनले त्यो २,००० वर्षभन्दा पुरानो नभएको बताएका थिए र एक शताब्दीसम्म उनलाई कसैले गलत प्रमाणित गर्न सकेनन्।

तर पछि रेडिओकार्बन डेटिङले त्यो कङ्काल झन्डै ३३,०००-३४,००० वर्ष पुरानो भएको देखायो। ब्रिटेनमा भेटिएको त्यो सबैभन्दा पुरानो गाडिएको मानव अवशेष भएको पाइयो।

सोही प्रविधिका कारण पछिल्ला मानव अवशेषहरूबारे राजहरू खुलेका छन्।

सन् १९७५ मा लोरा एन ओ'माली न्यूयोर्कमा हराएको उजुरी पर्यो। सन् १९९० को दशकमा क्यालिफोर्नियाको नदीमा भेटिएका अवशेषलाई कुनै प्राचीन चिहानका अवशेष ठानिएको थियो।

तर सन् २०२५ को शुरूतिर गरिएको रेडिओकार्बन डेटिङले त्यो सन् १९६४ र १९६७ को बीचमा जन्मिएका अनि सम्भवतः सन् १९७७-१९८४ को बीचमा मरेका व्यक्तिको अवशेष हुन सक्ने देखायो।

उक्त समयावधि लोरा एन ओ'माली हराएको समयसँग मिल्दो थियो र डीएनए परीक्षणले ती मानव अवशेषहरू लोराकै भएका देखायो।

'अकाट्य प्रमाण'

युनिभर्सिटी अफ वाशिङ्गटनस्थित साम वासेरले वन्यजन्तुका अवैध कारोबार नियन्त्रण गर्ने प्रयासअन्तर्गत हात्तीका दाह्राहरूको रेडिओकार्बन डेटिङका नतिजाहरूको अध्ययन गरेका छन्।

तस्करहरूले जेसुकै दाबी गर्न सक्ने भए पनि तथ्याङ्कले हात्तीका दाह्रा विक्रीमा सन् १९८९ मा प्रतिबन्ध लगाउनुभन्दा अघि वा त्यसपछि हात्ती मारिएका थिए भन्ने कुरा बताउन सक्छ।

"अरू कुनै विधिले यो तहसम्मको नतिजा दिन सक्छ भन्ने कुरा मलाई चाहिँ थाहा छैन। यो त असाधारण रूपमा उपयोगी छ," वासेर भन्छन्।

हात्तीको दाह्रा

तस्बिर स्रोत, Getty Images/BBC

सोही प्रमाणका आधारमा सन् २०१४ मा टोगोमा एदौद्जी एमिल एन'बुके नाम गरेका व्यक्तिलाई जेल पठाउन सकियो।

उनले तस्करी गरेका हात्तीको भौगोलिक उत्पत्ति डीएनए परीक्षणले देखायो भने रेडिओकार्बन डेटिङले त्यो हात्ती कहिले मारिएको थियो भन्ने निश्चित गर्‍यो।

जलवायु परिवर्तनको बुझाइमा मद्दत

रेडिओकार्बन डेटिङले वैज्ञानिकहरूलाई पृथ्वीको जलवायुमा जीवाश्म इन्धन उत्सर्जनले पुर्‍याएका असरबारे बुझ्न पनि सघाएर जलवायु परिवर्तनमाथि प्रकाश पारेको छ।

रेडिओकार्बन डेटिङ प्रविधिका कारण हिमनदीहरू तथा प्राचीन पारिस्थितिक प्रणालीबारेका अध्ययनलाई अझ सटिक बनाउनमा समेत सघाएको छ।

यो अनुसन्धानले जलवायु परिवर्तनसम्बन्धी सूचना प्रवाहको क्षेत्रमा काम गर्ने अन्तरसरकारी संस्था आईपीसीसीका प्रतिवेदनहरूलाई सहयोग पुर्‍याएका छन्।

यो सामग्री नोबेल प्राइज आउटरीच र बीबीसीको सहकार्यमा तयार पारिएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।