१ सय वर्ष नाघेका मानिसका ८ साझा विशेषता

फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

    • Author, फर्नान्डा पल
    • Role, बीबीसी विश्व सेवा

मार्गरिटा फ्लोरेस प्रत्येक बिहान सबेरै उठ्छिन्। नास्ता गर्छिन्, हिँड्न निस्किन्छिन् अनि पढ्छिन्।

उनी अझै धेरै गर्न चाहने बताउँछिन्, जस्तै कि जीमखाना जान। तर १०७ वर्षमा उनका गोडाले त्यो गर्न दिँदैनन्।

“म यिनीहरूलाई अभ्यस्त नै हुने गरी हिँड्न जोड दिन पनि सक्छु,” चिलेको स्यान्टियागो सहरस्थित आफ्नो घरबाट उनले बीबीसीका फर्नान्डा पलसँग ठट्टा गर्दै भनिन्।

मार्गरिटा फ्लोरेस

तस्बिर स्रोत, Flores family

तस्बिरको क्याप्शन, 'उनीहरू मलाई आराम गर्न भन्छन्, तर मलाई आराम गर्न मन लाग्दैन। मलाई व्यस्त रहन मन लाग्छ,' मार्गरिटा फ्लोरेसले भनिन्

मसँग कुराकानी गर्दा उनी स्पष्टतासहित धाराप्रवाह बोलिन्।

उनका साथीहरू छन् र एक छोरी पनि जो उनीसँग हरेक दिन सँगै हुन्छिन्।

“यो उमेरमा पनि म अझै धेरै कुरा गर्न चाहन्छु,” उनले निकै उत्साहपूर्वक भनिन्।

मार्गरिटाको अझै स्वस्थ रहने यो विशेषता एक सय वर्ष पार गरेका थुप्रै मानिसहरूमा हुने साझा विशेषताको एउटा राम्रो उदाहरण हो। उनीहरूमा जीवन शक्ति, प्रतिकूलतासँग जुध्ने क्षमता र अन्तर्क्रिया गर्ने इच्छा हुन्छ।

सय वर्ष उमेर पार गरेका महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सय वर्ष पार गरेका मानिसहरूमा निकट साथी हुने र विभिन्न खेलमार्फत आफ्नो मस्तिष्क सक्रिय राख्ने प्रवृत्ति हुन्छ

मार्गरिटा बढ्दो यो प्रवृत्तिको एक हिस्सा हुन्।

संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या विभागका अनुसार आफ्नो जन्मदिनमा काटिने केकमा १ सय वटा भन्दा बढी मैनबत्ती बाल्नेहरूको सङ्ख्या बढिरहेको छ। सन् १९९० मा ९२ हजार मानिसहरूले त्यो अवसर पाएका थिए भने सन् २०२१ सम्ममा त्यो सङ्ख्या बढेर ६,२१,००० पुगेको थियो।

जेनेटिक कारण र जीवनशैली यसमा महत्त्वपूर्ण हुने भए पनि मनोवैज्ञानिक पक्षले आयुका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरू बताउँछन्।

ती विश्लेषकमध्ये एक हुन् स्पेनको युनिभर्सिटी अफ मड्रिडकी एक प्राज्ञ र मनोवैज्ञानिक मरिया डोलोरेस मेरिनो। उनले एक सय वर्ष उमेर पार गरेका मानिसहरूमा थुप्रै वर्ष काम गरेकी छन्।

द जर्नल अफ ह्यापीनेस स्टडिजमा प्रकाशित उनको हालसालैको एउटा अध्ययनमा उनले यो उमेर समूहका मानिसहरूमा विभिन्न १९ वटा साझा मनोवैज्ञानिक स्रोतहरू रहेको पत्ता लगाएकी थिइन्।

उनले ती स्रोतहरूलाई आठ वर्गमा समेटेकी छन् जुन तल उल्लेख गरिएको छ।

सय वर्ष बाँच्ने उर्जा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उमेर बढेसँगै स्वस्थ रहँदा त्यसले तपाईँलाई एक सय वर्षभन्दा बढी बाँच्ने उर्जा दिन्छ

१. जीवनशक्ति

एक सय वर्ष पार गरेका मानिसहरूमा हुने एउटा साझा विशेषता भनेको जीवन शक्ति हो जसलाई जीवित महसुस गर्ने इच्छा, सजगता र ऊर्जा भनी व्याख्या गरिन्छ।

“यो एकदमै आश्चर्यलाग्दो कुरा हो: हामीले अन्तर्वार्ता गरेका मानिसहरूमा बाँचिरहने प्रस्ट इच्छा थियो,” बीबीसीसँग मरिया डोलोरेस मेरिनोले भनिन्।

“जब तपाईँ उनीहरूसँग कुरा गर्नुहुन्छ तपाईँलाई लाग्दैन कि उनीहरू एक सय वर्ष उमेर नाघिसकेका मानिस हुन्। उनीहरू वास्तविकभन्दा कम उमेरकै मानिसजस्तै देखिन्छन्,” उनले थपिन्।

जीवन ऊर्जा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उमेर बढिरहँदा स्वस्थ रहनका लागि जीवन ऊर्जा एउटा महत्त्वपूर्ण विशेषता हो

मेरिनोको अनुसन्धानमा भाग लिने महिला र पुरुषहरूमा रहेको अर्को समानता भनेको उनीहरू ९८ वर्षको उमेरसम्म काम गरिरहेका थिए। उनीहरू शारीरिक र मानसिक दुवै गतिविधिमा सक्रिय थिए चाहे त्यो घरको भर्‍याङमा तलमाथि गर्ने गरेर होस् वा तास वा सुडोकु खेलेर नै किन नहोस्।

अमेरिकाको बोस्टन सहरमा रहेको द न्यू इङ्ग्ल्याण्ड सेन्टेनेरियन स्टडीले एक सय वर्ष उमेर पुगेका मानिसहरूको अध्ययन गर्छ। स्टेसी एन्डरसन त्यहाँकी सह निर्देशक हुन्।

उनी पनि जीवन जिउने इच्छा एउटा महत्त्वपूर्ण मनोवैज्ञानिक विशेषता भएकोमा सहमति जनाउँछिन्।

“धेरैले आफूले जीवन रमाइलो मानिरहेको बताउँछन् र त्यो कुरा मलाई एकदमै गज्जब लाग्यो,” उनले बीबीसीसँग भनिन्।

स्वस्थ मानिसहरू साथी र परिवारसँग निकट रहन्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्वस्थ मानिसहरू साथी र परिवारसँग निकट रहन्छन्

२. अन्तर्क्रिया गर्ने इच्छा

मरिया डोलोरेस मेरिनोले गरेको अध्ययन अनुसार १०० वर्ष उमेर पार गरेका मानिसहरू प्रायः सामाजिक हुन्छन्।

“परिवार र साथीहरूसँग उनीहरूको न्यानो सम्बन्ध हुन्छ। उनीहरू सकेको बेला अरूलाई मद्दत गर्छन् र आफूले माया पाएको महसुस गर्छन् जुन एकदमै महत्त्वपूर्ण छ,” विशेषज्ञ भन्छन्।

स्टेसी एन्डरसनले आफ्नो कामबाट आफूले एक सय वर्ष उमेर पार गरेका मानिसहरू "बहिर्मुखी हुने र नयाँ मानिस भेट्न रुचाउने" देखिएको बताएकी छन्।

“दुर्भाग्य, १०० वर्ष पुग्नुको नराम्रो भनेको चाहिँ आफ्ना धेरै परिवार र साथी गुमिसक्छन्। त्यसैले नयाँ मान्छे भेट्ने र उनीहरूसँग मित्रता स्थापित गर्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ,” उनले भनिन्।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मरिया डोलोरेस मेरिनोले गरेको अध्ययन अनुसार १०० वर्ष उमेर पार गरेका मानिसहरू प्रायः सामाजिक हुन्छन्

मार्गरिटा फ्लोरेसले साथीहरू हुनु "एकदमै महत्त्वपूर्ण" हुने बताइन्।

“किनभने त्यसो गर्दा म एक्लो महसुस गर्दिनँ,” उनले भनिन्।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एक सय वर्ष पार गरेका मानिसहरूको परिवार र साथीहरूसँग न्यानो सम्बन्ध हुन्छ

३. प्रतिबद्धता

अध्ययनहरूका अनुसार एक सय वर्ष पार गरेका मानिसहरूमा हुने अर्को साझा विशेषता भनेको कुनै पनि कुराप्रति प्रतिबद्ध हुनु हो।

“प्राय: उनीहरू जिम्मेवार, प्रतिस्पर्धी र परिश्रमी हुन्छन्। उनीहरू आफ्नो लक्ष्य हासिल गर्नमा दृढ हुन्छन्,” मरिया डोलोरेस मेरिनोले भनिन्।

स्टेसी एन्डरसनको संस्था द न्यू इङ्ग्ल्यान्ड सेन्टेनेरियन स्टडीले एक सय वर्ष उमेर पुगेका मानिसहरूका सन्तानको व्यवहारबारे पनि वर्षौँदेखि अध्ययन गर्दै आएको छ। उनका अनुसार ती सन्तानले आफ्नै आमाबुवालाई पच्छ्याएका हुन्छन्।

“हामीले यो ख्याल गर्‍यौँ कि २० वर्षअगाडि पनि जीवनमा एउटा उद्देश्य बनाउनु लामो आयुसँग सम्बन्धित हुन्थ्यो। उनीहरूसँग हासिल गर्न चाहेको लक्ष्य हुन्थ्यो। प्रत्येक दिनको उद्देश्य भएको उनीहरू ठान्थे,” उनले भनिन्।

“यी मनोवैज्ञानिक पक्षबारे निकट रूपमा जापानको एउटा समूहमाथि अनुसन्धान गरिएको छ। उनीहरूको सिद्धान्तलाई 'इकिगाइ' भनिन्छ, जुन भनेको जीवनमा उद्देश्य भएजस्तै प्रत्येक बिहान उठ्ने कारण हुनुपर्छ भन्ने हो।

"मलाई लाग्छ १०० वर्षसम्म बाँच्न त्यसको ठूलो भूमिका हुन्छ," एन्डरसनले थपिन्।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रतिकूल अवस्थासँग जुधेर अगाडि बढ्न सक्ने विषय दीर्घ जीवनसँग जोडिएको अध्ययनहरूले बताएका छन्

४. परिस्थितिसँग जुझ्ने क्षमता

अनुसन्धान समूहहरूका अनुसार सहनशीलता १०० वर्ष पार गर्नका लागि चाहिने एउटा महत्त्वपूर्ण लक्षण हो।

प्रतिकूल अवस्थासँग जुध्न सक्ने र त्यो अनुभवबाट अझै बलियो हुन सक्ने क्षमताको दीर्घ जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको छ।

“यो एकदमै शक्तिशाली स्रोत हो किनभने यसले मनोवैज्ञानिक क्षति नपुर्‍याई प्रतिकूलतासँग जुध्न र अगाडि बढ्न सघाउँछ,” मेरिनोले भनिन्।

“त्यति लामो जीवन जिउँदा पाका मानिसहरूले पक्कै पनि धेरै कठिन अवस्था अनुभव गरेका हुन्छन्। युद्ध वा महामारीजस्ता ऐतिहासिक घटनाहरूदेखि आफन्त गुमाउनेसम्म उनीहरूले धेरै अनुभव गरेका हुन्छन्।”

स्टेसी एन्डरसन त्यसमा सहमति जनाउँछिन्।

“जीवनमा घटेका नकारात्मक घटनाहरूले पक्कै पनि उनीहरू दुःखी हुन्छन् तर ती सबै कुरा छोडेर उनीहरू अगाडि बढ्छन्,” उनले भनिन्।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घका अनुसार १०० वर्षको जन्मदिन मनाउन केक काट्ने मानिसको सङ्ख्या बढ्दै गएको छ

५. नियन्त्रण

अनुसन्धानहरूका अनुसार एक सय वर्ष उमेर पुगेका मानिसहरूमा आफ्नो जीवनको नियन्त्रण आफैले गर्ने गरी आफ्ना लागि आफै निर्णय लिने प्रवृत्ति हुन्छ।

“उनीहरू स्वायत्त हुन्छन् र आफ्नो जीवनलाई चाहे अनुसार दिशानिर्देश गर्छन्,” मेरिनोले भनिन्।

"अवसरहरूको खोजी कसरी गर्ने भन्ने पनि उनीहरूलाई थाहा हुन्छ र त्योमध्ये कुन अवसर कसरी हासिल गर्ने भन्ने पनि उनीहरू निर्णय गर्छन्।"

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बौद्धिक रूपमा चुनौती दिइरहँदा मानसिक रूपमा उनीहरू सक्रिय हुन्छन्

६. बौद्धिक प्रेरणा

मरिया डोलोरेस मेरिनोको हालैको अध्ययनले एक सय वर्ष बढी बाँच्ने मानिसहरू आफूलाई मानसिक रूपमा सक्रिय राख्ने, त्यसका लागि उनीहरू जिज्ञासु हुने, माया गर्न सिक्ने र आफैँले आफूलाई सिकाउने गर्छन् भन्ने देखाएको छ।

अध्ययनका लागि अन्तर्वार्ता गरिएका मानिसहरूले विश्वमा के भइरहेको छ भन्नेबारे चासो देखाएका थिए र आफ्नै लागि सिक्न चाहेका थिए।

“धेरै अवस्थामा उनीहरू असाध्यै पढ्छन्, उनीहरू जुनसुकै सामाजिक वर्गका भए पनि उनीहरूसँग उल्लेखनीय पुस्तक सङ्ग्रह हुन्छ,” मेरिनोले भनिन्।

मार्गरिटा फ्लोरेस तिनै मध्येकी एक हुन्। अहिले उनी पोप फ्रान्सिसको जीवनी पढिरहेकी छन्।

"तर म सक्रिय रहनका लागि धेरै कुराहरू पढ्छु चाहे त्यो फ्यासनसम्बन्धी पत्रिका होस् वा रोमान्टिक उपन्यासहरू नै किन नहोऊन्," उनी गर्व गरेर भन्छिन्।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जीवनप्रति सकारात्मक धारणा हुनु पनि दीर्घ जीवनको एउटा महत्त्वपूर्ण विशेषता हो

७. सकारात्मक हुनु

“१०० वर्ष उमेर पार गरेका मानिसहरू प्राय: धेरै सकारात्मक हुन्छन्,” स्टेसी एन्डरसन भन्छिन्।

"एक सय वर्ष पुगेकाबाट बिरलै सुनिन्छ: 'म जीवित नरहन पाएको भए हुन्थ्यो।' तर यदि ४० वर्षको मानिसलाई तपाईँ १०० वर्षसम्म बाँच्न चाहनुहुन्छ भनेर सोध्नु भयो भने धेरै जसोले 'अहँ' भन्छन्।”

मेरिनोको अनुसन्धान अनुसार एक सय वर्ष पुगेकाहरू "खुसी" रहने अर्थमा सकारात्मक हुने होइन की बरु "प्रत्येक दिन साना कुराहरूमा रमाउने खालका हुन्छन् जुन एकदमै महत्त्वपूर्ण हुन्छ," प्राज्ञले भने।

मार्गरिटा फ्लोरेस आफ्नो मनमा सधैँ राम्रो भावना रहने बताउँछिन्।

"सबैले मलाई तिमीलाई ठिक छ भनेर भन्छन्... त्यसैले म सधैँ ठिक हुन्छु," उनले भनिन्।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एक सय वर्ष पूरा गरेका मानिसहरू बौद्धिक हुन्छन् र उनीहरू समसामयिक विषयमा जानकार हुन्छन् र त्यसबारे धारणा राख्न चाहन्छन्

८. बुद्धिमत्ता

एक सय वर्ष उमेर पूरा गरेका धेरैमा हुने अर्को विशेषता भनेको बुद्धिमत्ता हो (यसले अन्य मनोवैज्ञानिक विशेषताहरूलाई पनि असर गर्छ।)

मेरिनोका अनुसार यी मानिसहरूमा सोचविचार गर्न सक्ने, तर्क गर्न सक्ने , सफलतापूर्वक समस्या समाधान गर्न सक्ने र छिट्टै सिक्न सक्ने क्षमता हुन्छ।

“एक सय वर्ष उमेर पार गरेका मानिसहरू बुद्धिमान हुन्छन्।

"उदाहरणका लागि, उनीहरू प्राज्ञिक र व्यावसायिक रूपमा सफल हुन्छन्, उनीहरू आफैँ सिक्ने र निर्णय लिनसक्ने हुन्छन्, कुनै कुरामा तालिम पाएका नभए पनि चुनौती लिन्छन् र सफल हुन्छन्। उनीहरू सिक्न मन पराउँछन् र जिज्ञासु हुन्छन्। उनीहरू छिटो संवाद गर्छन्, फुर्तिलो हुन्छन् र स्मरण शक्ति पनि राम्रो हुन्छ," उनको अध्ययनमा उल्लेख छ।

१०० वर्ष उमेर पार गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अध्ययनहरूका अनुसार १०० वर्ष उमेर पार गरेका मानिसहरूमा हुने जीवन ऊर्जा एउटा महत्त्वपूर्ण विशेषता हो

-"मार्गरिटा, १०७ वर्षको उमेरसम्म पुग्ने उपाय के हो?" उनलाई मैले फोनमा सोधेँ।

-"मलाई थाहा छैन। मैले सधैँ राम्रो महसुस गरेँ। म सधैँ व्यस्त रहेँ, बुन्ने वा अन्य काम गरेर म व्यस्त भएँ। त्यसो गर्दा दिमाग व्यस्त भइरह्यो। र, त्यसैले मलाई अघि बढीरहन मद्दत गर्‍यो," प्रतिक्रियामा उनले भनिन्।

मार्गरिटा "ला रेइना" नामको स्यान्टियागो समुदायकी सबैभन्दा पाकी महिला हुन्।

उनले आफू "थकित" भएको महसुस गरे पनि उनको समुदायका अधिकारीहरूले उनको उमेर ११० वर्ष पुगेको ठूलो उत्सव मनाउने वचन दिएका छन्।

“हामी पार्टी गर्नेछौँ। त्यसैले आराम गर्ने समय छैन,” उनले उत्साही भएर भनिन्।

सय वर्ष कटेकी महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफ्नो ठूलो परिवारअगाडि बसेर क्यामरामा हाँस्दै एक भारतीय पाको उमेरकी महिला

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।