मृत्युनजिक पुग्दा मानिसहरू के ‘देख्छन्’?

तस्बिर स्रोत, Christopher Kerr
- Author, आलेसान्द्रा कोरिया
- Role, बीबीसी न्यूज ब्रजिल
सन् १९९९ को एप्रिलमा अमेरिकी डाक्टर क्रिस्टोफर केरले यस्तो घटना देखे जसले उनको करिअरको दिशा नै बदलिदियो।
मेरी नामकी एक बिरामीको अन्तिम समय आइपुग्दै थियो। अस्पतालको शय्यामा आफ्ना चार जना वयस्क सन्तानले घेरिएको बेला उनले अनौठो व्यवहार गर्न थालिन्।
शय्यामा सुतिरहेकी ती ७० वर्षीया बिरामी जुरुक्क उठिन् र उनको काखमा कुनै बच्चा रहेको जस्तो गरी हातलाई झुला बनाएर हल्लाइन्। उनले मात्रै देखिरहेको उक्त बच्चालाई उनले 'ड्यानी' भन्दै बोलाइन्, अँगालो हालिन् र चुमिन्।
उनका छोराछोरीका निम्ति त्यो दृश्य अनौठो थियो किनभने उनीहरूले ड्यानी नाम गरेको कसैलाई चिनेका थिएनन्।
तर अर्को दिन मेरीकी दिदी अस्पतालमा आइन् र उनले चार सन्तान जन्मनुअघि मेरीले ड्यानी नाम गरेका छोरालाई जन्म दिएकी थिइन्। तर ती शिशुको जन्मँदै निधन भइसकेको थियो।
मेरीका निम्ति त्यो घटना यति पीडादायी बन्यो कि उनले त्यसबारे कहिल्यै बताइनन्।
डा केरले मुटुरोगमा विशेषज्ञता हासिल गरेका छन् र न्यूरोबायोलजीमा विद्यावारिधि गरेका छन्। उनलाई यो घटना यति असाधारण लाग्यो कि उनले आफ्नो विज्ञताको क्षेत्र परिवर्तन गर्दै मर्न लागेका मानिसहरूको अनुभव अध्ययन गर्न थाले।

तस्बिर स्रोत, Plan Shoot / Imazins / Getty Images
‘शान्तिको अनुभूति’
मेरीलाई भेटेको २५ वर्षपछि अहिले डा केर यो विषयको विश्वकै अग्रणी विज्ञ भएका छन्। उनी मर्न लागेका मानिसहरूले देख्ने दृश्य र सपनाहरूको अध्ययन गर्छन्।
मानिसहरूले मृत्यु हुनुभन्दा हप्तौँ अगाडिदेखि फरक अनुभूति गर्ने र मृत्युको दिन नजिकिँदै जाँदा त्यो अझ बढी महसुस हुने उनी बताउँछन्।
केरका अनुसार उनले मानिसहरूले आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरू पुन:स्मरण गर्न थालेका अनि वर्षौँ पहिल्यै मरिसकेका तिनका बुबाआमा, बालबच्चा वा तिनले पालेका जनावरसँग बोलेका दृश्यहरू देखेका छन्।
ती बिरामीहरूका निम्ति ती दृश्य एकदम वास्तविक, सघन हुने गर्छन् र तिनले उनीहरूलाई एक किसिमको ‘शान्तिको अनुभूति’ गराउँछन्।
“ती घटना वा सम्बन्धहरू अर्थपूर्ण तरिकाले पुन:स्मरण हुन्छन् जसले तिनले बाँचेका जीवन अर्थपूर्ण रहेको अनुभव गराउँछन् र मृत्युको त्रास पनि कम गराइदिन्छन्,” केरले बीबीसी न्यूज ब्रजिललाई भने।
त्यस्तो अवस्थाका बिरामीहरू दिग्भ्रमित वा असन्तुलित मनस्थितिमा नहुने भन्दै केरले तिनको शारीरिक स्वास्थ्य अवस्था खस्किए तापनि भावनात्मक रूपले उनीहरू सामान्य रहने गरेको बताए।
तर कतिपय डाक्टरहरूले यस्ता घटनालाई भ्रान्तिको संज्ञा दिएका छन् र बिरामीहरू भ्रमित भएका कारण गलत आभास उत्पन्न हुने बताएका छन्। कुनै निर्क्योलमा पुग्नुअघि यस्ता घटनाका थप वैज्ञानिक अनुसन्धानको आवश्यकता उनीहरूले औँल्याएका छन्।
सन् २०१०मा डाक्टर केरले एउटा नौलो अध्ययन अमेरिकामा सुरु गरे। मृत्युको नजिक पुगेका बिरामीहरूमाझ उनले एउटा सर्वेक्षण नै गरे, जसमा तिनले ती समयमा कस्तो दृश्य देखे भनेर सोधिएको थियो।

तस्बिर स्रोत, Christopher Kerr
सर्वेक्षणमा सामेल गराउनुअघि कतै उनीहरूको मानसिक सन्तुलन खलबलिएको छ कि भनेर सबै बिरामीहरूको जाँच गरिएको थियो।
यो अध्ययनभन्दा अगाडि यस्ता विषयका प्रतिवेदनहरूमा बिरामीहरूको अनुभवबारे तेस्रो व्यक्तिका भनाइमात्र समेटिएका थिए।
केरको अध्ययनका नतिजाहरू स्वीडनको 'न्याश्नल लाइब्रेरी अफ मेडिसिन'सहित कैयौँ वैज्ञानिक जर्नलहरूमा प्रकाशित भएका छन्।
यस्ता अनुभूतिहरूको वास्तविक वर्णन गर्नसक्ने गरी डाक्टर केरले कुनै ठोस जबाफ अझै पाइसकेका छैनन्। ती अनुभूतिका कारण पत्ता लगाउने विषय उनको अध्ययनको मुख्य प्राथमिकता पनि नभएको उनी बताउँछन्।
“मैले कारण वा प्रक्रिया वर्णन गर्न नसक्दैमा बिरामीहरूको अनुभूति नै नकार्न मिल्दैन,” उनले भने।
अचेल डा केर न्यूयोर्क राज्यको बफालोमास्थित एक पालिएटिभ उपचार केन्द्रका प्रमुख कार्यकारी हुन्।
उनको पुस्तक ‘डेथ इज बट अ ड्रीम : फाइन्डिङ होप एन्ड मिनिङ एट लाइफ्स एन्ड’ सन् २०२० मा प्रकाशित भएको थियो र १० विभिन्न भाषामा अनुवाद गरिएको थियो।

तस्बिर स्रोत, Getty Images
आफ्ना अध्ययन अनि त्यस्ता अनुभूतिका अर्थबारे उनले बीबीसी न्यूज ब्रजिलसँग कुराकानी गरेका छन्।
यत्तिका वर्षपछि यस्ता अनुभूतिहरूबारे तपाईँले के थाहा पाउनुभयो?
“मलाई लाग्छ मर्नु भनेको भौतिक रूपमा खस्कँदै जानु मात्र होइन, जुन हामी देख्छौँ। यसमा त तपाईँको अवस्थामा आएका फेरबदल, तपाईँका धारणा, अनि जीवनको सार्थकता सम्झाउने अन्य तत्त्व पनि पर्छन्।”
“मृत्युले तपाईँलाई जीवन नियाल्ने एउटा बिन्दुमा पुर्याउँछ। मानिसहरूले उनीहरूका निम्ति सबैभन्दा महत्त्वपूर्ण विषयमा ध्यान केन्द्रित गर्छन् - उनीहरूका सबैभन्दा ठूला उपलब्धिहरू अर्थात् उनीहरूका सम्बन्धहरू।”
“रोचक के छ भने त्यस्ता सम्झनाहरू एकदमै अर्थपूर्ण र मनलाई शान्ति दिने किसिमले आउने गर्छन् जसले उनीहरूले बाँचेको जीवनको सार्थकता पुष्टि गर्छ र जसबाट मृत्युको त्रास पनि कम हुन्छ।”
“जीवनको अन्त्य सामना गर्दै गर्दा मानिसहरूले मानसिक तनाव वा कष्ट बेहोर्छन् होला भन्ने हामी ठान्छौँ। तर धेरै जसो घटनामा त्यसो भएको देखिँदैन।”
“हामीले त बरु उनीहरू एक किसिमले माया र अर्थले घेरिएको अवस्थामा रहेको पाउँछौँ।”

तस्बिर स्रोत, Getty Images
तपाईँको अध्ययनअनुसार मृत्युनजिक हुँदा हुने यस्ता अनुभूति कतिलाई हुन्छ?
“हाम्रा अध्ययनमा करिब ८८ प्रतिशत मानिसहरूले कम्तीमा एउटा त्यस्ता अनुभूति गरेको बताए।”
“सामान्य रूपमा बताइने गरेको भन्दा सायद् यो २० प्रतिशत धेरै हो। यस्तो किन भएको होला भनेर हाम्रो अध्ययनमा हामीले मानिसहरूलाई हरेक दिन सोध्ने गर्थ्यौँ।”
“मृत्यु भनेको एउटा प्रक्रिया हो। त्यसैले सोमवार सोध्दा उनीहरूले दिने जबाफभन्दा शुक्रवार दिने जबाफ बिल्कुल फरक हुन सक्छ।”
“मृत्युको जति नजिक पुग्दै गयो बिरामीहरूले गर्ने अनुभूति पनि बढ्दै जान्छ।”
यात्रा
उनीहरूको अनुभूतिका मुख्य विषयवस्तु के हुन्?
“करिब एक तिहाइ बिरामीहरूले यात्राबारे दृश्य देखेको बताए। धेरैजसोले तिनले गुमाएका वा प्रेम गरेका मानिसहरू सम्झने गरेको बताए।”
“तिनले कसको सपना देखे भन्ने पनि रोचक छ। उनीहरूलाई धेरै माया र सहयोग गर्ने वा उनीहरूले धेरै भर गर्ने मानिसहरू हुने गर्छन्। त्यो भनेको एकमात्र अभिभावक, वा कुनै एक दाजुभाइ वा दिदीबहिनी हुन सक्छन्।”
“करिब १२ प्रतिशतले चाहिँ तटस्थ प्रकारको वा असहज गराउने सपना देखेको जबाफ दिए। असहज गराउने सपना पनि एकदम अर्थपूर्ण थिए।”
“त्यसैले तपाईँले पाएका घाउहरू सायद् यस्तै अनुभूतिबाट सम्बोधन हुन्छन्।”
“कुनै घटना यस्ता पनि थिए जसमा बिरामी विगतमा कुनै युद्धमा सामेल थिए र तिनको मनमा त्यससम्बन्धी अपराधबोध थियो। तर अन्त्यमा आफ्ना दिवङ्गत साथीहरूलाई देख्दा तिनले सहज अनुभव गरे।”
त्यस्ता मानिस भ्रान्तिमा छन् कि भन्ने सामान्य गल्ती हुने गरेको तपाईँले बताउनुभयो। यी अनुभूति (भ्रान्तिभन्दा) कसरी फरक छन्?
“जीवनको अन्तिमतिर भ्रान्ति हुनु वा मानसिक असन्तुलित अवस्था हुनु स्वाभाविक हो। तर ती फरक हुन्।”
“मानिसहरू कुनै भ्रान्तिबाट मुक्त हुँदा सहज महसुस गर्दैनन्। त्यस्तो अवस्थामा त मानिसहरूलाई त्रास उत्पन्न गराउने अनुभव हुन्छ र भ्रान्तिमा परेका बिरामीहरू थप उत्तेजित हुन्छन्….”
“तर मर्न लागेका बिरामीहरूको अनुभूति भनेको वास्तविक मानिस तथा घटनासँग जोडिएका हुन्छन्। तिनको स्मरण स्पष्ट खालको हुन्छ र यसले बिरामीलाई शान्ति तथा आराम दिन्छ।”

तस्बिर स्रोत, Getty Images
सपना
कहिलेकाहीँ बिरामीहरूले सपना देख्छन् तर अरू बेला जागा नै हुन्छन्। यी दुई प्रकारका अनुभवबीच फरकहरू छन्?
“हामीले मानिसहरूलाई उनीहरू निदाएका थिए वा जागा थिए भनेर सोधेका थियौँ – जसको नतिजा बराबर जस्तो निस्कियो।”
“मर्ने अवस्थामा दिनरात मिसिन्छन्, समयको ख्याल हुँदैन।”
“हामीलाई यकिन भने छैन।”

तस्बिर स्रोत, Getty Images
तपाईँले अन्तिम अवस्थाका पुगेका बालबालिकाहरूसँग पनि काम गर्नुभएको छ। उनीहरूले र पाका मानिसले गर्ने अनुभूतिहरू कसरी फरक छन्?
“बालबालिकाहरूले दिने जबाफ अझ राम्रो हुन्छ। उनीहरूले काल्पनिक वा वास्तविकबीच कुनै लाइन पनि खिचेका हुँदैनन्। साथै मृत्युबारे कुनै धारणा पनि तिनको हुँदैन। उनीहरू तत्क्षणमा बाँचिरहेका हुन्छन्।”
“उनीहरूका अनुभूति निकै विविध वा सिर्जनशील भएको पाइन्छ। र, तिनले त्यसको अर्थ पनि आफसेआफ थाहा पाएको जस्तो देखिन्छ।”
“यदि उनीहरूले चिनजानको कसैको मृत्यु भएको थाहा पाएका छैनन् भने पनि कुनै जनावर मरेको पक्कै थाहा पाएका हुन्छन्। र त्यसलाई उनीहरूले उत्तिकै स्पष्टताका साथ देख्छन्।”
परिवार
यस्ता अनुभूतिले परिवार अनि बिरामीका निकटका मानिसहरूमा चाहिँ कस्ता प्रभाव पार्छ?
“यसबारे हामीले दुई वटा शोधपत्र प्रकाशित गरेका छौँ। करिब ७५० अन्तर्वातामा ती आधारित छन्। मुख्य कुरा के भने यदि कुनै कुरा बिरामीका निम्ति राम्रो छ भने तिनका आफन्तका लागि पनि राम्रो हुन्छ।”
“हामीले एउटा निकै रोचक अध्ययन गर्यौँ जसमा हामीले शोकका प्रक्रियाहरूलाई नियाल्यौँ। बिरामीले यस्ता अनुभूति गरेको देखेका मानिसहरूले शोक पनि निकै स्वास्थ्यकर ढङ्गले मनाएको पाइयो किनकि यसले उनीहरूको धारणा र दिवङ्गत बिरामीको सम्झनालाई खास आकार दिन्छ।”
तपाईँले न्यूरोबायोलजीमा पीएचडी गर्नुभएको छ। तर तपाईँ यस्ता अनुभूतिका उत्पत्ति बिन्दु औँल्याउन सकिँदैन अनि यस्ता विषय बुझ्नु खास प्राथमिकता नभएको पनि भन्नुहुन्छ। एक डाक्टरका रूपमा तपाईँका धारणा वा बुझाइहरू कसरी विकसित भएका छन्?
“एकदमै विनम्र बनाउने गरी [भएका छन्]।”
“केही घटनाको म आफैँ साक्षी थिएँ। मैले देखेका कुरा निकै गहिरा थिए।”
“बिरामीले तिनको अनुभूतिको अर्थ यति स्पष्ट रूपमा बताउँथे कि म त त्यहाँ बाहिरियाजस्तो लाग्थ्यो।”

तस्बिर स्रोत, Getty Images
तपाईँले के भन्नुभएको छ भने मानव दर्शनको क्षेत्रमा यो विषयमा समृद्ध छलफल भएका छन्, न कि औषधि विज्ञानको क्षेत्रमा। किन औषधि विज्ञान क्षेत्रले यसलाई धेरै महत्त्व नदिएको? अनि के त्यो सोचमा कुनै परिवर्तन आइरहेको छ?
“छैन। झन् खराब हुँदै गरेको जस्तो मलाई लाग्छ।”
“मलाई लाग्छ मानव दर्शनले हाम्रो अस्तित्व र जीवनको अर्थबारे प्रश्न गर्छन्। त्यहाँ त्यो खुलापन छ।”
अन्य डाक्टरहरूले प्रमाण चाहिन्छ भनेपछि अध्ययन थालेको तपाईँले बताउनुभएको छ। तर तपाईँको कामबारे औषधि विज्ञानको क्षेत्रले भन्दा सञ्चार क्षेत्रले धेरै चासो दियो। यो फरकलाई कसरी लिनुहुन्छ?
“युवा डाक्टरहरूलाई बिरामीहरूले गरिरहेका अनुभवबारे बुझाउन मलाई कठिन भइरहेको थियो। त्यसैले प्रमाण जुटाउन र उनीहरूले बुझ्ने भाषामा त्यसलाई प्रस्तुत गर्न हामी लागिपर्यौँ।”
“तर जब यो विषयले मूलधारको सञ्चारमा प्रवेश पायो, त्यसले विश्वभरि चर्चा पायो।”
“त्यसैले उपचार प्रदान गर्नेहरूलाई यस विषयमा थोरै मात्र चासो छ। तर ती मानिस जसले उपचार पाइरहेका छन् वा जसले हेरचाह गरिरहेका छन् वा जो आफ्नो मृत्युको विषयबारे उत्सुक छन् तिनले [हाम्रा काम]लाई चासोपूर्ण रूपमा अँगालेका छन्। यो फरक निकै रोचक छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








