कोलोन क्यान्सर कति खतरनाक छ र कम उमेरका बिरामीको सङ्ख्या किन बढ्दै छ

क्यान्सर

तस्बिर स्रोत, Getty Images

विगतका वर्षहरूको तुलनामा कोलोरेक्टल वा कोलोन (ठूलो आन्द्राको) क्यान्सरका घटनाहरू बढ्दै गएका छन्। कतिपय विज्ञहरूले यसलाई ‘खतरनाक’ र ‘चिन्ताजनक’ भनेका छन् भने अन्य कतिपयले यसबारे विश्वव्यापी चेतावनी जारी गरिनुपर्ने धारणा राखेका छन्।

यो ट्यूमरले कोलोन र मलद्वारलाई असर गर्छ अनि यसले बिरामीको स्वास्थ्य र जीवनको गुणस्तरलाई प्रभावित तुल्याउँछ।

हालैका वर्षहरूमा यो क्यान्सरबारे नयाँ प्रवृत्तिहरू देखा परेका छन्। कतिपय देशमा बढी उमेरका मानिसहरूमा कोलोन क्यान्सरका घटनाहरू लगभग स्थिर देखिएका छन् भने ५० वर्षभन्दा कम उमेरका बिरामीहरूको सङ्ख्या बढ्दै पनि गएको छ।

बीबीसीले केही स्वास्थ्य विज्ञहरूसँग यसबारे कुराकानी गरेको थियो।

पाउलो हफ एक जना क्यान्सर चिकित्सक हुन् र उनी ब्रजिलको ओङ्कोलजी केअर नेटवर्कका प्रमुख हुन्।

उनी भन्छन्, “यदि तपाईँले आजको तथ्याङ्कलाई ३० वर्षको अघिको वृद्धिदरसँग तुलना गर्नुभयो भने आम रूपमा कम उमेरका बिरामीहरूमा कोलोरेक्टल क्यान्सर ७० प्रतिशतसम्म बढेको कतिपय अध्ययनले देखाउँछन्।”

कैयौँ देशहरूले यो नयाँ प्रमाणका आधारमा आफ्ना सार्वजनिक स्वास्थ्यसम्बन्धी नीतिहरूमा फेरबदल गरेका छन्। संयुक्त राज्य अमेरिकाले कोलोरेक्टल ट्यूमरका लागि गरिने प्रारम्भिक परीक्षणको न्यूनतम उमेरलाई ५० वर्षबाट घटाएर ४५ बनाएको छ।

क्यान्सर

तस्बिर स्रोत, Getty Images

तथ्याङ्कले के देखाउँछ?

प्यान-अमेरिकी स्वास्थ्य सङ्गठन (पीएएचओ)का अनुसार कोलोरेक्टल क्यान्सर संसारभरका पुरुषमा सबैभन्दा धेरै देखिने क्यान्सरका प्रकारहरूमध्ये तेस्रो क्रममा आउँछ भने महिलाका हकमा दोस्रो।

पीएएचओको प्रतिवेदनअनुसार संयुक्त राज्य अमेरिकामा आम रूपमा बढी देखा पर्ने चौथो क्यान्सरका रूपमा यसलाई लिने गरिन्छ। प्रत्येक वर्ष त्यहाँ कोलोन क्यान्सरका २ लाख ४६ हजार नयाँ बिरामी देखा पर्छन् भने करिब १ लाख १२ हजार मानिसको यसकै कारण मृत्यु हुने गर्छ।

अध्ययनहरूले हालैका दशकहरूमा कोलोरेक्टल क्यान्सरका घटनाहरू ल्याटिन अमेरिका र क्यारिबीअनमा बढेको देखाउँछन्। औसत आयु, जीवनशैलीमा देखिएको फेरबदल र पोषणलाई त्यसको प्रमुख कारण मान्ने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको ग्लोबल क्यान्सर अब्जर्भेटरीका अनुसार नौ वटा ल्याटिन अमेरिकी देशहरूमा सन् १९९० यता यो क्यान्सरका घटना र यसले निम्त्याउने मृत्युहरूमा वृद्धि भएको पाइएको छ।

यी देशमा आर्जेन्टिना, ब्रजिल, चिली, कोलम्बिया, कोस्टारिका, क्यूबा, एक्वडोर र मेक्सिको छन्।

पीएएचओका क्यान्सर रोकथाम र नियन्त्रणसम्बन्धी सल्लाहकार डाक्टर माउरिसिओ माज्जा भन्छन्, “हामी सङ्क्रामक रोगको युगबाट दीर्घरोगको युगमा प्रवेश गरेका छौँ र यसको मुख्य कारण मानिसहरूको जीवनशैली हो।”

विज्ञहरूका अनुसार मोटोपन, धूमपान, मदिरा सेवन र खानपिनमा परिवर्तनले यस प्रकारको क्यान्सरका घटना वृद्धिमा योगदान पुर्‍याइरहेका छन्।

कोलोन क्यान्सर सचेतना अभियान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय संस्थाहरूले अमेरिकासहितका देशमा कोलोन क्यासरबारे सचेतना अभियान चलाइरहेका छन्

अघिल्लो वर्ष 'आर्जेन्टाइन कङ्ग्रेस अफ ग्यास्ट्रोएन्टर्लजी एन्ड डाइजेस्टिभ एन्डस्कोपी'मा प्रस्तुत गरिएको तथ्याङ्कमा कोलन क्यान्सरका कारण आर्जेन्टिनामा ज्यान गुमाउने २० देखि ५४ वर्षको उमेर समूहका मानिसहरूको सङ्ख्या बढिरहेको पाइएको थियो। सन् १९९७ देखि २०२० सम्म उक्त सङ्ख्या करिब २५ प्रतिशतले बढेको थियो।

यसैबीच अमेरिकन क्यान्सर सोसाइटीले सन् २०२३ को प्रारम्भमा प्रकाशित गरेको एउटा प्रतिवेदनले सन् २०१९ मा पहिचान गरिएका कोलोरेक्टल ट्यूमरका २० प्रतिशत नयाँ बिरामी ५५ वर्ष भन्दा कम उमेरका भएको देखाएको थियो।

उक्त आँकडा सन् १९९५ को तुलनामा दोब्बर हो। अनुसन्धानकर्ताहरूले ५० वर्षभन्दा कम उमेरका बिरामीहरूको सङ्ख्या प्रतिवर्ष तीन प्रतिशतले वृद्धि भइरहेको ठानेका छन्।

सन् २०२२ मा 'नेइचर रिभ्यूज क्लिनिकल ओङ्कोलजी'मा प्रकाशित एउटा अध्ययनमा ४४ वटा देशको तथ्याङ्क लिइएको थियो।

सो अध्ययनले अमेरिकामा वयस्कहरूमा सन् १९९० यता कोलोरेक्टल क्यान्सरको दर औसतमा दुई प्रतिशतले बढेको सङ्केत दिएको थियो।

तर अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान र यूकेमा यो दर तीन प्रतिशत पुगेको छ। कोरिया र एक्वडोरमा झन्डै ५ प्रतिशत रहेको छ।

दर बढ्नुको कारण के हो?

स्यामुएल अगुइरे जूनिअर सा पाउलोस्थित कोलोरेक्टल ट्यूमर रेफ्रन्स सेन्टरका प्रमुख हुन्। उनका लागि यो आँकडा विश्वव्यापी खतराको सूचक हो।

उनले ’३५ वा ४० वर्षका मानिस’ ट्यूमर जाँच गराउन आउनु अचेल सामान्य दृश्य भएको बताए।

उक्त सेन्टरले मानिसहरूलाई क्यान्सरका सम्भावित लक्षणहरूप्रति चनाखो हुन सुझाव दिएको छ। उमेर जति भए पनि समस्या महसुस गर्ने जोकोहीले तत्कालै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उने बताए।

कोलोनोस्कपी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोलोनोस्कपीका विधिबाट यो क्यान्सर पत्ता लाग्न सक्छ

यदि तपाईँको दिशामा रगत देखिए वा पाचन प्रणालीमा केही परिवर्तन देखिए वा पेट दुखेको खण्डमा तत्कालै चिकित्सकबाट जाँच गराउनुपर्छ।

उनले तपाईँ कम उमेरकै भएपनि यी लक्षणहरूमा ध्यान दिनुपर्ने बताए।

विज्ञहरूले कलोरेक्टल ट्यूमरहरू कम उमेरका मानिसहरूमा बढिरहनुका कारणबारे विभिन्न अनुमानहरू गरे पनि ती कुनै पुष्टि भएका छैनन्।

तर चिकित्सकहरू हालैका दशकहरूमा ग्रामीण परिवेश हराउँदै गएको र त्यसले नाटकीय शैलीमा जीवनशैलीलाई बदलेको ठान्छन्।

मानिसहरूले प्रशोधित खानेकुराको सेवन बढाएका छन् भने प्राकृतिक खानेकुरा खाने प्रवृत्ति घटेको छ। मानिसहरू हिँड्नुको सट्टा लामो समय बस्न थालेका छन्। त्यसबाहेक जथाभाबी एन्टिबाइओटिकको प्रयोग पनि बढेको छ।

क्यान्सरको पहिचान

यस प्रकारको ट्यूमरको पहिचानका लागि चिकित्सकहरूले ‘दिसामा रगत देखा परे या नपरेको परीक्षण गराउने’ र कोलोनस्कपी गर्नुपर्ने सुझाव दिएका छन्।

दिसामा रातो तरल पदार्थ देखिनु क्यान्सरको प्रत्यक्ष लक्षण होइन, त्यो अल्सर पनि हुन सक्छ र त्यसका लागि थप जाँच गरिनुपर्छ।

कोलोनोस्कपी गर्दा मलद्वारबाट एउटा क्यामेरालाई भित्र प्रवेश गराइन्छ। चिकित्सकहरूलाई त्यसले कोलोनभित्र हेर्ने मौका दिन्छ र आन्द्राहरूमा कुनै समस्या रहेको या नरहेको पनि उनीहरूले हेर्न सक्छन्।

आराम गरिरहेको मानिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कम शारीरिक गतिविधिले पनि यो रोग निम्त्याउन सक्छ

स्रोतहरूका अभावले प्रत्येक बिरामीमा यस्तो जाँच गर्न नसकिने र कोलोरेक्टल क्यान्सर पत्ता लगाउन कोलोनस्कपी गर्न सबैका लागि सम्भव नहुने ब्रजिलस्थित ओङ्कोलजिस्ट एलेक्सेन्डर ज्याकोमले बताए।

उनले प्रत्येक वर्ष दिसा जाँच गराउँदा प्रारम्भिक लक्षणहरू देखा पर्न सक्ने बताउँदै २० प्रतिशत मानिसहरूले मात्रै नियमित रूपमा त्यस्तो जाँच गर्ने गरेको जनाए।

त्यस्तो जाँचमा दिसामा रगत देखिए थप उपचार र परीक्षण सुझाउने गरिएको भए पनि चिकित्सकहरूका अनुसार दिसामा रगत देखिनु मात्रै क्यान्सरको लक्षण होइन। पाँच प्रतिशत क्यान्सरमा मात्रै त्यसरी रगत देखिने विज्ञहरू बताउँछन्।

तर त्यस्तो परीक्षण थोरै लागतमा प्रभावकारी नतिजा हासिल गर्न सकिने विधि भएको बताइन्छ।

आशाको किरण

कम उमेरका मानिसहरूमा कोलोन क्यान्सर बढ्दै गएको चिन्तामाझ कोलोरेक्टल क्यान्सरको उपचारबाट कस्तो सुधार ल्याउन सकिन्छ भन्ने विधिमा सुधार हुँदै गएको छ।

शल्य उपचारमा देखिएको अत्याधुनिकीकरणका कारण अहिले यो क्यान्सरको प्रारम्भिक चरणमा उपचार नै सम्भव छ।

त्यसबाहेक औषधि दिएर पनि सर्जरी गर्न सकिन्छ। कीमोथेरपी र रोगसँग लड्ने क्षमता वृद्धि पनि प्रभावकारी उपचार विधि हुन्।

यदि ट्यूमर प्रारम्भिक अवस्थामा छ भने उपचारको सम्भावना ९५ प्रतिशत छ तर रोग शरीरका अन्य भागमा पनि फैलिसकेको छ भने उपचार कठिन हुने र सफलताको दर कम रहने विज्ञहरू बताउँछन्।

निको पार्न सम्भव नहुने अवस्थामा पनि ट्यूमर रहेका बिरामीहरूमा जीवितै रहने सम्भावना २० वर्षअघिको तुलनामा तीनदेखि चार गुना बढी रहेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।