क्यान्सर पीडित महिलाको अन्तिम इच्छा पूरा गर्न अरूलाई लागेको २ अर्ब रुपैयाँभन्दा बढी ऋण मिनाहा

तस्बिर स्रोत, INSTAGRAM/ MCINTYRE FAMILY
डिम्बाशयको क्यान्सरका कारण ज्यान गुमाएकी न्यूयोर्ककी एक महिलाले अरू व्यक्तिहरूलाई उपचार गराउँदा लागेको ऋण मिनाहा गराइदिने गरी दशौँ लाख डलर सङ्कलन गरिदिएकी छन्।
आफ्नो मृत्युपछि राख्न अनुमति दिइएको एउटा सामाजिक मिडिया पोस्टमा ३८ वर्षीया केसी म्याकइन्टायरले आफूलाई फलो गर्ने व्यक्तिहरूलाई चन्दा दिन अनुरोध गरेकी थिइन्।
उनले आफ्नो जीवनको उत्सव मनाउन अरू मानिसका स्वास्थ्य ऋण तिर्ने योजना बनाएको जनाएकी थिइन्।
उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “तपाईँले यो पढ्ने बेला मेरो निधन भइसकेको हुनेछ।”
“म तपाईँहरूमध्ये प्रत्येकलाई मेरो पूर्ण हृदयबाट माया गर्थेँ र म वाचा गर्छु, मलाई थाह थियो तपाईँहरूले कति गहिरो माया गर्नुहुन्थ्यो…. मेरो जीवनको उत्सवका रूपमा मैले अरू मानिसको स्वास्थ्य ऋण तिरेर त्यसलाई टुङ्ग्याइदिने व्यवस्था मिलाएकी छु।”
ऋण मिनाहा अभियान कस्तो हो?
उनले चौथो चरणको डिम्बाशयको क्यान्सरसँग जुझिरहँदा उच्चगुणस्तरको स्वास्थ्य सेवामा पहुँच पाउँदा आफूले भाग्यमानी महसुस गरेको उल्लेख गरेकी छन् र अरूले पनि त्यस्तै सुविधा पाएको हेर्न चाहेको भनेकी छन्।
गत शुक्रवार रातिसम्ममा म्याकइन्टायर र उनको परिवारले १६० हजार डलर्भन्दा धेरै सङ्कलन गरिसकेको छ। त्यो भनेको २ अर्ब १२ करोडभन्दा बढी नेपाली रुपैयाँ हो।
गैरनाफामूलक संस्था आरआईपी मेडिकल डेटसँग मिलेर चलाइएको उक्त अभियानअन्तर्गत सङ्कलित प्रत्येक पेनी बराबर १ डलरको स्वास्थ्य ऋण मिनाहा गर्ने गरिन्छ।
यसको अर्थ म्याकइन्टायरको अभियानले हालसम्म नतिरिएका १६ मिलियन डलर अर्थात् २ अर्ब १२ करोड रुपैयाँ ऋण मिनाहा भएको छ।
अमेरिकामा १० करोड जति मानिस उपचार गर्दा लिएको ऋणसँग सङ्घर्ष गरिरहेका एउटा अनुसन्धानमूलक गैरसरकारी संस्था केएफएफले जनाएको छ।

तस्बिर स्रोत, INSTAGRAM/ MCINTYRE FAMILY
अब के गरिन्छ?
मृत्युको घोषणा गर्दै राखिएको पोस्टमा म्याकइन्टायरको परिवारले एउटा नोट राखेको छ जसमा डिसेम्बर महिनामा न्यूयोर्कको प्रोस्पेक्ट पार्कमा एउटा स्मृतिसभा गरिने र उपचार गर्दा लागेको अरूको ऋण नाम नखुलाईकन तिरिदिने जनाइएको छ।
म्याकइन्टायर एक पुस्तक प्रकाशक थिइन् र उनले सन् २०१९ मा डिम्बाशयको क्यान्सरको उपचार सुरु गराएकी थिइन्।
उनको मृत्यु अघिल्लो आइतवार भएको थियो। उनका श्रीमान् र १८ महिनाकी छोरी छन्।
उनको पोस्टका अनुसार उनले आफ्नो जीवनका पाँच महिना साथीहरू र परिवारका साथ भर्जिनिया, रोड आइलेन्ड र न्यूयोर्कका जीवनको अन्तिम क्षणमा रहेका मानिसहरूलाई स्याहार गर्ने केन्द्रहरूमा बिताइन्।
विगतमा ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा राखिएको पोस्टमा उनका श्रीमान् एन्ड्रयु रोज ग्रेगोरीले भनेका छन्, “केसी, हामी तिमीलाई माया गर्छौँ, सम्झिरहन्छौँ, तिमी गयौ, तिमी हामीसँगै छौँ, हामी तिमीलाई सबैतिर हेरिरहन्छौँ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








