‘छोरालाई क्यान्सर भएपछि माया मार्न नसकेर कलेजो दिएर बचाएँ’
तीन वर्षका रिसभ भट्टलाई उनकी आमा सीताले कलेजो हालै दान गरिन्।
रिसभको कलेजो क्यान्सरका कारण काम नलाग्ने भएको थियो।
यति कम उमेरको बालकमा कलेजो प्रत्यारोपण गरेको यो पहिलो पटक भएको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई बताए।
सो शल्यक्रिया गर्दा ५० जनाको चिकित्सकको टोली संलग्न रहेको पनि श्रेष्ठले बताए।
कलेजोको उपचार
रिसभ भट्टलाई २२ महिनाको उमेरमा कलेजोमा क्यान्सर भएको पत्ता लागेको उनकी आमा सीता बताउँछिन्।
तीन सेसन केमोथेरापि गरेपछि उनको पहिलो शल्यक्रिया गरिएको थियो।
तर पहिलो शल्यक्रिया गरेको चार महिनाभित्रै फेरि ट्यूमर पलाएको सीता बताउँछिन्।
"फेरि केमो दिएर भरतपुरको बीपी कोइराला मेमोरिअल अस्पतालमा शल्यक्रिया गरियो," उनले भनिन्।
दोस्रो शल्यक्रिया गरेको केही महिना भित्रै फेरि ट्यूमर पलाएपछि रिसभको उपचारका लागि भारत रिफर गरियो।
सीता भन्छिन्, "उपचारका लागि दिल्ली लग्यौँ तर धेरै पैसा लाग्ने भएका कारण हामी उपचार बिना नै फर्केर आयौँ र यहीँ अपरेशन गरेको हो।"
“धेरैले अब बाबुको उपचार नगर्न पनि भने तर म आमा हुँ कसरी छोराको माया मार्न सक्छु? मेरो कलेजो दिएँ।”
अहिलेसम्म रिसभको उपचार गर्दा तीस लाख रुपैयाँ जति खर्च भएको उनले बताइन्।
“घर पनि बेचिसक्यौँ । चन्दा उठाएर आर्थिक सहयोग लियौँ। अब थप उपचारका लागि पनि अरूको सहयोग चाहिन्छ” रिसभकी आमा सीता भट्टले भनिन्। बारा जिल्लाका उनीहरू अहिले काठमाण्डूमा छन्।
सङ्घीय सरकारले दीर्घ रोग अन्तर्गत क्यान्सर बिरामीलाई १ लाख रुपैँया दिने गरेको छ।
हेर्नुहोस् शल्यक्रियापश्चात् सीता भट्टसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।




