डिम्बाशयको क्यान्सर भएकी स्कटल्यान्डकी हास्यकलाकार भन्छिन्, ‘जाँच गराउनुहोस्’

तस्बिर स्रोत, Getty Images
- Author, क्यारोलाइन मोर्टाइमर
- Role, बीबीसी वर्ल्ड सर्भिस
स्कटल्यान्डकी हास्यकलाकार जेनी गड्ली सन् २०२१ देखि अन्तिम चरणको डिम्बाशयको क्यान्सरसहित बाँचिरहेकी छन्।
त्रिसट्ठी वर्षीया चर्चित कलाकारले क्यान्सरविरुद्ध आफ्नो सङ्घर्ष र रङ्गमञ्च एवं सामाजिक सञ्जालमार्फत् आफ्नो यात्राबारे जनचेतना जगाउने निर्णयबारे बीबीसीसँग कुराकानी गरेकी छन्।
उनले सामाजिक सञ्जालले आफ्नो जीवनरक्षा गरेको बताइन्। उनका अनुसार त्यसबाट उनलाई डिम्बाशयको क्यान्सरको लक्षण पत्ता लगाउन मद्दत मिलेको थियो।
एक्समा ब्रिटिस टेलिभिजन प्रस्तोता र अभियानकर्ता जुलिया ब्राडबरीले राखेको एउटा पोस्टले सन् २०२१ को नोभेम्बरमा गड्लीलाई चिन्तित तुल्यायो।
ब्राडबरीको पोष्टमा उक्त रोगका सबै लक्षणहरू थिए। “डिम्बाशयको क्यान्सरका चार मुख्य लक्षण हुन्छन्: निरन्तर पेट दुख्छ र फुल्छ, खान गाह्रो हुन्छ र चाँडै पेट भरिएको महसुस हुन्छ,”त्यसमा लेखिएको थियो।
गड्लीले आफूमा ती सबै लक्षण देखिएको महसुस गरिन्।
“म विरलै चिकित्सककोमा जाने गर्थेँ। किनभने म विरलै बिरामी पर्थेँ,” गड्लीले बीबीसीसँग भनिन्। तर सामाजिक सञ्जालको सो पोस्टले उनलाई जाँच गराउन प्रेरित गर्यो।
चिकित्सकहरूले उनलाई अन्तिम चरणको उपचार गर्न नसकिने क्यान्सर रहेको पुष्टि गरे।
उनलाई तेस्रो चरणको डिम्बाशयको क्यान्सर रहेको पुष्टि भयो। गड्लीले अहिले स्कटल्यान्डमा नै उपचार गराइरहेकी छन्।
त्यसयता उनले उक्त रोगबारे जनचेतना जगाउने अभियानलाई आफ्नो लक्ष्य बनाएकी छन्।
प्रारम्भिक अवस्थामा नै पहिचान गर्न गाह्रो हुने र धेरै महिलालाई प्रारम्भमा कुनै लक्षण नदेखिने भएकाले डिम्बाशयको क्यान्सरलाई खतरनाक मान्ने गरिन्छ।
गड्ली उनका दर्शक र अनलाइनमा रहेका समर्थकहरूलाई ‘यदि पेट फुलेको, निरन्तर पिसाब आउने र थोरै खाने बित्तिकै तुरुन्तै पेट भरिएको अवस्थामा’ तत्कालै जाँच गराउन सुझाव दिन्छिन्।
जनचेतना अभियान

तस्बिर स्रोत, Getty Images
पेट फुल्नु, पेट सुन्निएको र गिलो भएको जस्तो महसुस हुनु डिम्बाशयको क्यान्सरका लक्षण हुन्।
“मैले पर्याप्त खानेकुरा पनि खान सकिरहेकी थिइनँ। खाने बित्तिकै मेरो पेट भरिएको जस्तो महसुस हुन्थ्यो। मेरो भुँडी पानीले भरिएको थियो र त्यसले मेरो पेटमा दबाव निम्त्याएको थियो।”
“यदि तपाईँले खाना खान सकिरहनुभएको छैन भने चिकित्सककहाँ गएर जँचाउनुहोस्। मलाई यस्तो लक्षण छ, मलाई डिम्बाशयको क्यान्सर पो भयो कि भनेर सोध्नुहोस्।”
आफूलाई क्यान्सर पत्ता लाग्दा त्यो तेस्रो चरणमा पत्ता लागेको भन्दै उनले यदि सो ट्वीट नदेखेको भए आफ्नो ज्यान गइसकेको हुने बताइन्।
स्कटल्यान्डकी यी हास्य कलाकारले आफ्नो अनुभवले जनचेतना जगाउन थप काम गर्न प्रोत्साहित गरेको पनि बताइन्।
उनलाई कम्तीमा ६० जना महिलाले सम्पर्क गरेका छन् जसले उनकै कारणले परीक्षण गराउन गएको बताएका थिए।
अधिकांश अवस्थामा ती महिलाहरूको उपचार गर्न सकिने पहिलो वा दोस्रो चरणमा नै क्यान्सर पत्ता लाग्यो।
‘मलाई काम गर्न मन पर्छ’
गड्लीले यूकेमा यात्रा (टुर गएकी छन्), नयाँ संस्मरण प्रकाशन गरेकी छन् र आफ्नी छोरी एस्ली स्टोरीको नयाँ टेलिभिजन शृङ्खला प्रवर्द्धन गर्दै आएकी छन्।
उनले ‘तीन महिना थप जीवन आफूले बाँचिरहेको’ भन्दै उपचार गर्न सकिने भन्दा क्यान्सर व्यवस्थापन गर्न सकिने अवस्थामा आफू रहेको बताइन्।
यस्तो परिस्थितिबीच रोगसँग बाँचिरहँदा आफूले असजिलो महसुस नगरेको उनले बताइन्।
“यसमा तनाव छैन। मलाई काम गर्न मन पर्छ,” उनले भनिन्।
“हँसाउनु एकदमै कठिन काम होइन। मैले भन्न खोजेको त्यो अप्ठेरो काम होइन। अस्पताल गएर चिकित्सकलाई भेट्नु र केहीबेर चुप लागेर बस्ने विशेषज्ञको अगाडि उभिनु चाहिँ कठिन हो।”
किमोथेरामीको पहिलो चक्रमा आफू ‘काम गर्न योग्य नभएको’ भन्दै केही पनि गर्न नसक्ने अवस्थामा पुगेको उनले बताइन्। त्यसबेला आफूले शक्ति प्राप्त गर्न केही समय लागेको उनको भनाइ छ।
“प्रत्येक व्यक्तिका लागि यो व्यक्तिगत अनुभव हो। दशौँ लाख मानिस ब्रिटेनमा बस्छन् जो अझै पनि जीवनलाई जोखिम पुर्याउने रोग लागे पनि काम गरिरहेका छन्।”
“तपाईँ किमोमा रहनुहोस् या मिर्गाौलाको डायलसीसमा रहनुभएको होस् या मधुमेहको औषधि सेवन गर्नुहोस्, हर्मोन रिप्लेसमेन्ट थेरापीको औषधि लिइरहेको होस्, कति मानिसले त्यसलाई सहजै लिन्छन् र कतिले त्यसलाई थेग्न सक्दैनन् र त्यसले तपाईँलाई बलियो या कमजोर बनाउँदैन।”
“म खुसी छु कि मेरो अन्तिम दिन आउँदै छ”
उनको एक्सरेले अहिलेसम्म ट्युमरको लक्षणहरू देखाएको छैन।
क्यान्सर पहिचानका निम्ति गरिने रगतको जाँचले शरीरमा कतै क्यान्सर हुनसक्ने देखाएको भए पनि चिकित्सकहरूले त्यसलाई पहिचान गर्न सकिरहेका छैनन्।
गड्लीले आफू ‘बोझ’ बन्न नचाहेकाले यथार्थवादी भएको बताइन्।
उनले भनिन्, “मभित्र एउटा हिस्सा छ जो वास्तवमै मेरो अन्तिम समयलाई लिएर खुसी छ। म शतप्रतिशत स्वास्थ्य नरहने परिस्थितिमा एकदमै बूढो उमेरमा मर्न चाहन्नँ।”
“अहिले मलाई बिदा हुन केही समय छ र यसका लागि म वास्तवमै खुसी छु।”

डिम्बाशयको क्यान्सरका लक्षण के हुन्?
यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस) का अनुसार डिम्बाशयको क्यान्सरका लक्षण निरन्तर (महिनामा १२ पटक वा सोभन्दा बढी)
- पेट सुनिनु वा फुलेको महसुस हुनु
- पेट दुख्नु वा गिलो हुनु वा नितम्बबीचको क्षेत्र दुख्नु
- भोक नलाग्ने वा खान थाल्ने बित्तिकै चाँडै पेट भरिने
- तुरुन्तै पिसाब आउने वा बारम्बार पिसाब गर्नुपर्ने
अन्य लक्षण यस्ता छन्:
- पाचनमा समस्या
- कब्जियत वा झाडापखाला
- डाढ दुख्नु
- जुनसुकै बेला गलेको महसुस गर्नु
- प्रयास नगरीकनै तौल घट्नु
- योनिबाट मेनोपजपछि रगत बग्नु

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








