हामी किन 'गसिप' गर्छौँ, के हुन् यसका फाइदा

तस्बिर स्रोत, Getty Images
- Author, "ह्वाई डु ह्वी डु द्याट?" कार्यक्रम
- Role, बीबीसी रेडिओ फोर
'गसिप' अर्थात् अरूका बारे कुरा गर्ने बानीले तपाईँको प्रतिष्ठा धमिल्याइदिन सक्छ। यो तपाईँको व्यवहार र व्यक्तिको प्रतिबिम्ब बन्न पनि सक्छ। केही मानिसहरू अरूबारे कुरा काट्दा धेरै रमाउँछन्। तर धेरै मानिस त्यसो गर्नुलाई "पापकर्म" ठान्छन्।
मानवशास्त्रीहरूले अधिकांश समुदायमा गसिप गर्ने प्रवृत्ति फेला पारेका छन्। दुर्गम ग्रामीण भेगदेखि सहरी र मिश्रित परिवेशसम्म सबैतिर मानिसहरू अरूबारे कुरा गर्छन्।
"मौका पाउनासाथ सबै संस्कृतिका सबै मानिसहरू गसिप गर्छन्," वाशिङ्टन स्टेट यूनिभर्सिटीमा ईभलूशनरी एन्थ्रपोलजी विषय प्राध्यापन गर्ने मानवशास्त्री डा निकोल हेगन हेस भन्छिन्।
गसिप भन्नेबित्तिकै हामी अरू मानिसबारे उनीहरूको अनुपस्थितिमा बदनियतपूर्ण ढङ्गले गर्ने कुरा भन्ठान्छौँ। तर डा हेस त्यसबारे फराकिलो दृष्टिकोण राख्छिन्। उनी "प्रतिष्ठासँग जोडिने सूचना" को जस्तोसुकै सूचना आदानप्रदानलाई 'गसिप'को परिभाषामा राख्छिन्।
त्यसको अर्थ साथीभाइ, परिवारजन, सहकर्मी वा प्रतिद्वन्द्वीहरूले हामीबारे गर्ने जस्तोसुकै कुरा हुन सक्छ। उनका अनुसार त्यसबाहेक समाचारमा के भनिएको छ र खेलकुद प्रतियोगिताको नतिजा कस्तो आयो भन्ने कुरा पनि समाविष्ट हुन सक्छ।
"मेरो परिभाषाअनुसार तपाईँबारे गफ हुँदा तपाईँ अनुपस्थित नै हुनुपर्छ भन्ने छैन। तपाईँबारे गफ गर्नेहरू ठिक तपाईँकै सामुन्ने हुन पनि सक्छन्।"
"तपाईँ उनीहरूको विषयमा कुरा गर्दै हुनुहुन्छ भने तपाईँको उनीहरूले लगाएका पोसाक र उनीहरूले गरेको कामबारे जे धारणा राख्नुहुन्छ म त्यसलाई पनि गसिपको वर्गमा राख्छु।"
तर मानिसहरू किन यस्तो व्यवहार गर्न थाले भनेर बुझ्ने प्रयासमा अनुसन्धानकर्ताहरू आज पनि छन्। त्यसबारे यहाँ केही प्रमुख सिद्धान्तहरू प्रस्तुत गरिएको छ।
घनिष्ठता बढाउने उपाय
'गसिप'ले समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्छ भन्ने मान्यतालाई मानवशास्त्री प्राध्यापक रोबिन डन्बारले लोकप्रिय बनाएका थिए। उनको सिद्धान्त अनुसार 'प्राइमेट' अर्थात् बाँदर र बाँदरजस्तै देखिने पुच्छरविहीन जीवहरूको समूहका सदस्यहरूमा 'ग्रूमिङ' सरसफाइ गर्ने उपाय तथा एउटा सामाजिक व्यवहार पनि हो।
प्राइमेटहरूले आफ्नो समूहमा एकअर्काबीच घनिष्ठता बढाउन अनि झगडा परेको छ भने सम्बन्ध सुधार्न, तनाव मत्थर पार्न र सामाजिक मर्यादाक्रममा प्रत्येक सदस्यको ठाउँ स्थापित गर्न समेत प्रयोग गर्न सक्छन्।
यो प्रक्रियालाई "एलोग्रूमिङ" भनिन्छ।
तर मानिसहरूको शरीरमा अरू प्राइमेटहरूमा हुने जस्तो बाक्लो रौँ नहुने नभएकोले 'गसिप' र गफगाफ 'एलोग्रूमिङ'को स्वरूप हुन सक्छ।
यसले अरूसँग सम्बन्ध राम्रो बनाउन, साथीहरूको मर्यादाक्रममा आफूलाई स्थापित गर्न र कसलाई विश्वास गर्ने र कसलाई नगर्ने जस्ता जानकारी आदानप्रदान गर्न सघाउन सक्छ।
डन्बारका अनुसार मानिसहरूलाई 'गसिप' गर्न सक्षम बनाउन पनि भाषा अझ विकसित भएको हो।

तस्बिर स्रोत, Getty Images
अमेरिकास्थित डार्ट्मथ यूनिभर्सिटीले सन् २०२१ मा गरेको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले सँगै गसिप गर्ने मानिसहरूले एकअर्काका धारणालाई प्रभावित पार्नुका साथै उनीहरू त्यस क्रममा घनिष्ठ भएको पत्ता लगाए।
"सहभागीहरूले एकअर्कासँग समानताको भावना स्थापना गरेको, एकअर्काका व्यवहार र दृष्टिकोणलाई प्रभावित गर्ने गरी 'शेअर्ड रीआलिटी' (साझा वास्तविकता) निर्माण गरेको र सामाजिक सम्पर्क कायम राख्ने आफ्नो अन्तर्निहित इच्छा पूरा गरेको हाम्रो अनुमान छ," अनुसन्धानकर्ताहरूले लेखेका छन्।
उनीहरूका अनुसार मिलेर 'गसिप' गर्नेहरूले आफ्नो समूहमा एकअर्कालाई सहयोग गर्ने गरेको पाइयो। सँगै गफगाफ गर्नेहरूले सामूहिक खेलका लागि बढी खर्च गर्ने तत्परता देखाएका थिए।
"गसिप सधैँ एउटै स्वरूपमा हुँदैन। हाम्रो लोकव्यवहारले सङ्कीर्ण परिभाषा गरेको अरूको कुरा काट्नुभन्दा यो निकै जटिल छ," उनीहरूको निष्कर्ष छ।
केल्सी मक्किनी 'नर्मल गसिप' नामक पड्कास्टका संस्थापक सञ्चालक हुन्। उनको पड्कास्टमा सर्वसाधारण मानिसहरू गसिप गर्न आउँछन्। उनलाई रसिला प्रसङ्गहरूले अपरिचित मानिसहरूलाई निकट बनाउँछ भन्ने थाहा छ।
कोभिड महामारी फैलिएको बेला मानिसहरू एक्लाएक्लै बस्न बाध्य भए। त्यति बेला रोचक कुरा र कथा सुन्ने चाहना र माग निकै बढ्यो।
"हामीलाई कुरा गर्न पुगेको छैन भन्ने महसुस भयो," उनी भन्छिन्।
"हामी धेरैको जीवन र हामीले संसारलाई बुझ्ने तरिका हामीले आफैँलाई भन्ने कथाको माध्यमबाट हुन्छ। गसिप भनेको कथा हो। हामी एकअर्कालाई आफ्नो बारेमा बताउँछौँ। त्यसैले त्यसमा खतरा छ, तर त्यहाँ धेरै राम्रो कुरा पनि छ," उनी भन्छिन्।

तस्बिर स्रोत, Getty Images
अस्तित्वको रक्षा
लाखौँ वर्षदेखि मानिसहरूले आफू र आफू निकटस्थ अरूलाई सम्भावित हानिबाट कसरी जोगाउने भन्ने सिक्दै आएका छन्।
कोही महिलाका लागि जोखिम हुन सक्ने डेटिङबाट जोगिन गसिप उपयोगी हुन सक्छ।
"पुरुषसँग लड्ने कुरामा शारीरिक रूपमा महिलाहरू निकै कमजोर अवस्थामा हुन्छन्। यो महत्त्वपूर्ण जानकारी तपाईँ खास गरी आफ्ना महिला नातेदार र सहयोगीहरूलाई भन्न चाहनुहुन्छ," डा निकोल हेगन हेस भन्छिन्।
अस्तित्वको रक्षा गर्ने र समाजमा हाम्रो स्थान कस्तो बनाउने भन्ने कुरा प्रतिष्ठासँग जोडिएको हुन्छ। प्रतिष्ठा बिग्रिनु निकै घातक हुन सक्ने उनी बताउँछिन्।
यसले तपाईँको सामाजिक स्थानलाई खलबल्याइदिन सक्छ, आर्थिक अवसरहरू खुम्च्याइदिन सक्छ र खाद्यपदार्थजस्ता स्रोतको पहुँचलाई पनि निकै हानि पुर्याइदिन सक्छ।
"मानिसहरूले तपाईँका बारेमा नकारात्मक गसिप गर्न थाले भने त्यसले वास्तवमै ठूलो हानि पुर्याउन सक्छ," उनी भन्छिन्।
डा हेसको तर्कअनुसार गसिप पनि सामाजिक मर्यादाक्रममा आफ्नो स्थान कायम राख्न वा सुधार गर्न प्रयोग गरिने सामाजिक नियन्त्रणको एउटा रूप हो।
मानिसहरू आफ्नो समाजभित्र आफ्नो छवि यस्तो होस् भनेर मिलाउने प्रयास गर्छन्। त्यस क्रममा उनीहरूले गसिपका माध्यमबाट एकअर्कालाई 'कज्याउन' खोज्ने उनको धारणा छ। मानिसहरू आफ्नो छवि वा प्रतिष्ठा राम्रो बनाउन र प्रतिद्वन्द्वीलाई निचो देखाउन पनि गसिप गर्छन्।
"मानिसहरू स्वाभाविक अरूसँग प्रतिस्पर्धी हुन्छन् अनि हामीले द्वन्द्वबाट सजिलै मुक्ति पाउँदैनौँ पनि।"

तस्बिर स्रोत, Getty Images
मनोरञ्जन
अधिकांश मानिसहरूलाई गसिप हानिरहित रमाइलोजस्तो लाग्न सक्छ।
"मैले विज्ञता हासिल गरेको त्यस्तै प्रकारको गसिपमा हो," पड्कास्टर मक्किनी भन्छिन्।
उनी एउटा धार्मिक परिवारमा हुर्किएकी हुन्। सानो बेलादेखि नै उनलाई 'गसिप गर्नु पाप हो' भनेर सिकाइएको थियो। गसिपप्रति उनको आकर्षण र कथावाचन उनको यो पृष्ठभूमिसँग जोडिएको छ।
"तपाईँको मुखबाट तत्काल अरूका अगाडि निस्किने कुरा गजबको गसिप हो," उनी भन्छिन्।
गसिपबिनाको संसार कस्तो होला? "निकै पट्यारलाग्दो हुन्छ," उनी भन्छिन्।
"चाहे रमाइलोका लागि होस् वा आफ्नो अस्तित्व रक्षाका लागि वा अरूसँग घनिष्ठता बढाउनका लागि, गसिप हाम्रो जीवनको अङ्ग हो। त्यसलाई बेवास्ता गर्नु हुँदैन," डा हेस भन्छिन्।
"गसिपका असरहरू वास्तविक जीवनमा परेका हुन्छन्," उनी बताउँछिन्। "यदि यो अनियमित, असत्य, अनौपचारिक कुराकानीबाहेक अरू केही नभएको भए यसले मानिसहरूले आफ्नो समुदायका अन्य सदस्यहरूलाई लाभ बाँडफाँटको निर्णय गर्ने तरिकालाई असर गर्ने थिएन।"
बीबीसी विश्व सेवाबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








