हामी किन जेमा पनि नराम्रो देख्छौँ

तस्बिर स्रोत, Getty Images
- Author, कारोलिना मोट्रम
- Role, बीबीसी विश्व सेवा
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
तपाईँलाई यो संसार राम्रो हुँदै गए झैँ लाग्छ कि खराब हुँदै गए झैँ? खराब हुँदै गएको जस्तो लाग्छ भने त्यस्तो अनुभूति गर्ने व्यक्ति तपाईँ मात्र हैन।
विगत दुई दशकमा संसारभरि नकारात्मक भावनामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ। ग्यालप रिसर्च इन्स्टिट्यूटले सन् २०२२ मा गरेको विश्वव्यापी सर्वेक्षणमा १० मध्ये चार वयस्कले आफूलाई प्रशस्त चिन्ता र तनाव हुने गरेको बताएका छन्।
हामीलाई हुने तनाव प्राय: गम्भीर र नकार्न नमिल्ने भएकाले पनि यो सम्भवतः यो आश्चर्यजनक विषय होइन। ठाउँठाउँमा चलिरहेका युद्ध, जलवायु परिवर्तनका असरहरू र जीवनयापन गर्न आवश्यक हुने खर्चमा वृद्धिले पूरा विश्वलाई नै घुँडा टेकाइरहे जस्तो देखिन्छ।
तर सोल पर्ल्मटरका अनुसार यी कुराहरू तनाव र चिन्ताको विषयका एउटा पाटो मात्रै हुन्। सन् २०११ मा नोबेल पुरस्कार जितेका उनी अमेरिकी खगोल-भौतिकशास्त्री हुन्। उनको समूहले द्रुत गतिमा ब्रह्माण्डको विस्तार भइरहेको पत्ता लगाएको थियो।
"मानिसहरूले आफू जीवित रहेको समयमा जीवनका धेरै पक्षमा हामीले सुधार गरेका छौँ भन्ने कुरा पहिचान गरे जस्तो मलाई लाग्दैन," उनी भन्छन्।

तस्बिर स्रोत, Getty Images
एउटा प्रजातिका रूपमा निश्चय नै हामीले धेरै लामो यात्रा तय गरिसकेका छौँ। 'आवर वर्ल्ड इन डेटा एट अक्सफर्ड यूनिभर्सिटी'मा उल्लेख गरिएअनुसार सन् १९०० मा जन्मिएको नवजात शिशुको औसत आयु ३२ वर्षको हुन्थ्यो। सन् २०२१ सम्म आइपुग्दा मानिसको औसत आयु बढेर ७१ वर्ष पुगेको छ। बालमृत्युदर नाटकीय रूपमा घटेको छ भने हामीले गरिबी घटाउने विषयमा पनि उल्लेख्य प्रगति भएको छ।
सङ्क्रामक रोगलाई रोक्नेदेखि साक्षरता बढाउनेसम्मका प्रशस्त तथ्याङ्क संसारमा प्रगति भइरहेको देखाउँछ।
तर अमेरिकाको बर्क्ली यूनिभर्सिटीका लागि आलोचनात्मक चेत विषयक पाठ्यक्रम तयार पारेका पर्ल्मटर " सबै कुरा कुनै न कुनै रूपमा भयानक र खतरनाक बन्दै गएको" भन्ने धारणा प्रचलित हुँदै गएको बताउँछन्।
हामीलाई पत्यार लागे पनि नलागे पनि यसका लागि हाम्रा पुर्खाहरू आंशिक दोषी छन्।
पूर्वाग्रह
हामी आफ्नो जीवनमा हुने राम्रा कामकुराबारे अनभिज्ञ छौँ भन्ने होइन। तर हामी एक किसिमको सङ्ज्ञानात्मक स्थितिसँग जुधिरहेका हुन्छौँ। त्यसलाई 'नकारात्मकता पूर्वाग्रह' भनिन्छ। यसको अर्थ सकारात्मक अनुभूतिको तुलनामा नकारात्मक अनुभूतिले हामीलाई अधिक समयसम्म मनोवैज्ञानिक प्रभाव पारिरहेको हुन्छ भन्ने हो।
यस्तो किन हुन्छ भन्ने थाहा पाउन हामी मानवजाति गुफामा बस्ने युगमा फर्किनुपर्छ। हाम्रा प्राचीनतम पूर्वजका निम्ति नकारात्मक जानकारी आफूसँग राखिराख्नु सम्भवतः जीवनमरणको विषय थियो। एउटा गलत कदमले सिकारी जनावरसँग खतरनाक जम्काभेटको स्थिति निम्तिन सक्थ्यो। अनि गलत खानेकुरा विषाक्त हुन सक्थ्यो र त्यसले ज्यान पनि जान सक्थ्यो।

तस्बिर स्रोत, Getty Images
अमेरिकास्थित पेन स्टेट यूनिभर्सिटीमा मनोविज्ञान विषय प्राध्यापन गर्न पोल रोजिन भन्छन्, "हाम्रा पूर्वजहरू त्यस्तो संसारमा थिए जहाँ अविच्छिन्न मृत्युको भय हुन्थ्यो। अहिले धेरै कुरामा सुधार भएको छ। तथापि उक्त आदिम चिज अहिले पनि हामीसँगै छ।"
सन् २००१ मा रोजिनले अर्का प्राध्यापक एड्वर्ड रोइज्मनसँग मिलेर लेखेको शोधले "नकारात्मक प्रभावको सकारात्मक प्रभावमाथि हाबी हुने (अझ पूर्ण रूपमा छोपिदिने गरी) प्रवृत्ति रहने गरेको" देखाएको थियो।
रोजिन भन्छन्, "हाम्रो जीवनमा नकारात्मक घटनाहरू तुलनात्मक रूपमा दुर्लभ हुने भएकाले ती यति महत्त्वपूर्ण देखिएका हुन्।"
टीभी र इन्टरनेटजस्ता प्रविधिमा भएको प्रगतिले हामीलाई राम्रा र नराम्रा सबै किसिमका जानकारीमा अत्यधिक पहुँच दिएको हुनाले पनि स्थिति झन् बिग्रिएको उनको तर्क छ। हामीलाई आफूसँग कस्तो सूचना लिइराख्न सजिलो हुन्छ भन्ने थाहा भएको उनी बताउँछन्।
"धेरैजसो समाचारहरू नकारात्मक छन्," उनी भन्छन्।
"आज फिलडेल्फियाबाट ४८० वटा विमानले सुरक्षित उडान गरे भन्ने कुरा समाचारमा आउँदैन। तर एउटा विमान समस्यामा पर्यो भने त्यो तपाईँको कानमा परिहाल्छ। किनकि त्यो दुर्लभ घटना हो। विमान सुरक्षित उडेको कुरा समाचार होइन।"
कतिपय स्थितिमा हाम्रो मस्तिष्कले सम्भावित खतराबारे अधिक प्रतिक्रिया व्यक्त गर्न भन्ने तर्क पनि गर्न सकिन्छ। मान्छेका यस्ता स्वाभाविक प्रवृत्तिहरू भविष्यका पुस्तामा लोप भएर जान सक्ने रोजिनको विश्वास छ। तर सँगसँगै उनी हालैको कोभिड महामारीजस्तो विषय केही मानिसको मन र मस्तिष्कमा रहिरहन सक्ने उनी ठान्छन्।
"म केही त्यस्ता मानिसलाई चिन्छु जो महामारीदेखि अहिलेसम्म पनि राति खान खान बाहिर निस्कँदा मास्क लगाएर हिँड्छन्।"

तस्बिर स्रोत, Getty Images
सोल पर्ल्मटर हामीले यस्ता नकारात्मक अनुभूति फेर्ने प्रयास गर्नुपर्छ भन्ठान्। उनी यसरी नै विश्वको समस्या समाधान गर्न सकिन्छ भन्नेमा आशावादी छन्।
उनी भन्छन्, "यो हामीले केही पनि गर्न नसक्ने निराशाजनक स्थिति होइन।"
उनले हालै सहलेखन गरेको 'थर्ड मिलेनिअम थिङ्किङ : क्रिएटिङ सेन्स इन अ वर्ल्ड अफ ननसेन्स' नामक पुस्तकमा पनि यही कुरामा जोड दिएका छन्।
"स्पष्टत: हामी मात्र त्यस्तो प्रजाति हौँ जो प्रत्येक दुई करोड ६० लाख वर्षमा हुन सक्ने अथवा कुनै ठूलो धूमकेतु वा क्षुद्रग्रह पृथ्वीमा बज्रिँदा हुन सक्ने सामूहिक विलुप्तिलाई रोक्न सक्षम छौँ।"
"हामीले त्यस्तो टेलिस्कोप बनाएका छौँ जसले हामीतर्फ आउँदै गरेको धूमकेतु वा क्षुद्रग्रहलाई पहिला नै पत्ता लगाउन सक्छ। पृथ्वीसम्म आइपुग्न आउन नदिन हामीले अन्तरिक्षयान प्रयोग गरेर त्यसलाई अन्यत्र मोडिदिने अभ्यास पनि गरेका छौँ।"
हामीमध्ये कतिले नराम्रै नराम्रो देख्ने गरेको भए पनि पर्ल्मटरको विचारमा हाम्रो भविष्य हामीले प्राय: सोचेभन्दा निकै उज्ज्वल छ।
उनी भन्छन्, "इतिहासमा सम्भवत: पहिलो पटक हामी सबैका निम्ति गाँस, बास, कपास र शिक्षाको प्रबन्ध गर्न सक्षम भएका छौँ भनियो भने अत्युक्ति हुँदैन।"
प्रत्येक मानिसका निम्ति त्यस्तो व्यवस्था गर्न सम्भव भएको उनको धारणा छ। "यदि मानिसहरूको समान मान्यता र सहकार्य भयो भने यो अद्भुत पुस्ता हुने छ।"
यो सामग्री नोबेल प्राइज आउटरीच र बीबीसीको सहकार्यमा उत्पादन गरिएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








