कडा नियन्त्रण गर्न खोज्ने अभिभावक हुँदा कस्तो हुन्छ?

कडा नियन्त्रणमा राख्ने आमाबुवा
    • Author, सुनिथ परेरा
    • Role, बीबीसी विश्व सेवा

"मेरो आमाबुवाले मलाई निराश पार्नुभयो - म प्राय: सधैँ रुने गर्थेँ। त्यसैले म उहाँहरूलाई बेवास्ता गर्थेँI"

एउटी छोरीबाट आफ्ना आमाबाबुबारे यस्तो सुन्नु अस्वाभाविक हो, खासगरी त्यो छोरीबाट जो आफैँ आमा बनिसकेकी छन्।

तर सारिका भने आफ्नो आमाबुवाको वर्षौँको “विषाक्त व्यवहार”का कारणले उनीहरूसँगको सम्बन्धको अन्त्यतिर थिइन् जसले उनको मानसिक स्वास्थ्यमै असर गरिरहेको थियो।

“खासगरी म गर्भवती भएका बेला यसले मलाई धेरै नै असर गर्‍यो। मलाई लाग्छ मेरो नजन्मिएको सन्तानले पनि म रोएको सुन्यो होला," ३० वर्षीया उनले मलेसियाबाट बीबीसीसँग भनिन्।

सारिकाले आफ्ना आमाबुवासँगको सम्पर्क पनि सीमित बनाएकी थिइन्, तर आफ्नै अभिभावकसँग दूरी राख्ने निर्णय उनका लागि त्यति सहज थिएन।

"एक किसिमको दोष सधैँ महसुस हुन्थ्यो," उनले भनिन्।

सारिका कुनै पनि तरिकाबाट एक्ली व्यक्ति होइनन् यस्तो भोग्ने।

"म मेरो बुवालाई आत्‍मकेन्द्रित मानिस भनेर व्याख्या गर्छु। उहाँ कहिल्यै पनि मेरो विद्यालयमा कुनै पनि सन्दर्भमा उपस्थित हुनुभएन। उहाँ मैले शिक्षाका कुनै पनि तह पूरा गर्दा आयोजना गरिने कार्यक्रममा पनि आउनुभएन। उहाँसँग सधैँ केही न केही बहाना हुन्थ्यो," केन्यामा रहेकी एस्लीले भनिन्।

यी २५ वर्षीयाका अनुसार उनका बुवा कहिल्यै उपस्थित नभए पनि उनी सधैँ छोरीका प्राय: सबैजसो कुराबारे गुनासो गर्थे।

"उहाँको यस्तो नराम्रो व्यवहारबाट मलाई मेरी आमाले जोगाउनुभएको हो। उहाँले गर्न सक्ने सबै राम्रो काम मेरा लागि गरिदिनुभयो," बीबीसीसँग एस्लीले भनिन्।

"उहाँहरूको विवाह धेरै पहिला नै अन्त्य हुन लागेको थियो, तर मेरी आमाले जोगाउन खोज्नुभयो। किनभने पश्चिमा संस्कृतिको दाँजोमा अफ्रिकी संस्कृतिमा सम्बन्धविच्छेद धेरै फरक कुरा हो।"

"अहिले मेरा बुबाले मलाई मैले जागिर पाएँ कि भन्ने सोध्न फोन गरिरनुहुन्छ ता कि मैले उहाँलाई केही किनिदिन सक्छु।"

तनावमा सन्तान

एस्ली र सारिका हजारौँ किलोमिटर टाढा बसोबास गर्छन् र पनि उनीहरूमा धेरै कुरा समान छन्।

यी दुवै महिलाका अनुसार उनीहरूका आमाबुवा उनीहरूलाई चाहिएका बेला धेरै समय अनुपस्थित थिए तर अझै पनि उनीहरूको जीवन, पेसा, सम्बन्ध, सामाजिक जीवन र विवाहबारेका निर्णयमा हस्तक्षेप गर्न चाहन्छन्।

कैयौँले टिकटक लगायत अन्य सामाजिक सञ्जालमा आफ्नो आमाबुवासँग सम्पर्क तोडेकोबारे व्याख्या गरेका छन्। उनीहरूका अनुसार आफ्ना आमाबुवासँगको "टक्सिक अर्थात् विषाक्त व्यवहार" का कारण उनीहरूले त्यसो गरेका हुन् र त्यसले उनीहरूलाई बाल्यकालदेखि नै निरन्तर रूपमा दोष र त्रास दिँदै आएको छ।

"आमाबुवासँगको 'टक्सिक' व्यवहारका कारण पुगेको क्षतिका कारण धेरै मानिसहरूले व्यावसायिक सहायता खोज्नेको सङ्ख्या सामान्य होइन व्यापक छ," ब्रिटिश अशोसियसन फर काउन्सेलिङ एन्ड साइकोथेरापीका साइकोथेरापिस्ट एओ अडिसियोइले भनिन्।

जब "टक्सिक" शब्दको प्रयोग अहिले विगतमा भन्दा धेरै हुने गरेको छ, यसको अर्थ के हो?

'टक्सिक पेरेन्ट' भनेको के हो?

संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय युनिसेफका अनुसार, "सकारात्मक अभिभावकत्व कुनै नियम वा तरिका वा शैली वा जीवन जिउने तरिकामा बाँधिएको हुँदैन। बालबालिकालाई सम्मानसहित व्यवहार गर्नुपर्छ, उनीहरूलाई हिंसाको भय र लज्जाबाट टाढा राख्नुपर्छ र माया र हौसला दिनुपर्छ।"

"टक्सिक प्यारेन्ट" को कुनै आधिकारिक व्याख्या नभए पनि "पोजिटिभ प्यारेन्टिङ" अर्थात् सकारात्मक अभिभावकत्वभन्दा फरक नकारात्मक व्यवहारहरू जनाउने वृहत् अर्थ दिने शब्दका रूपमा यसलाई व्याख्या गरिन्छ।

"कुनै पनि कुरालाई हामी टक्सिक तब भन्छौँ जब कुनै एउटा घटनामा एउटै व्यवहार दोहोरिरहन्छ।"

उदाहारणका लागि, आफ्नो सन्तानलाई उनको प्रेमी छ कि छैन भनेर सोध्नु आफैँमा समस्याकारी होइन।

तर त्यो सोध्ने तरिका नियन्त्रण गर्न वा दुर्व्यवहार गर्ने खालको छ भने त्यो प्रश्नले सन्तानलाई ठूलो अर्थ राख्छ।

"कहिलेकाहीँ आमाबुवाले यसबारे शिक्षा, ज्ञान र आत्मजागरूकताको कमीका कारण आफूले के गरिरहेको हो भन्ने थाहा नपाइ बिना अभिप्राय नै यस्तो गर्छन्," घरेलु दुर्व्यवहारकी विशेषज्ञसमेत रहेकी अडिसियोइले व्याख्या गरिन्।

सन् २०१३ मा गरिएको यूसीएलए अध्ययनले बाल्यकालमा हुने उच्च तहको तनावको असर वयस्क हुँदा देखापर्ने उच्च कोलेस्ट्रोल, रक्तचाप र मधुमेहका रूपमा देखापर्ने सम्भावना धेरै हुने पत्ता लगाएको थियो।

नियन्त्रण गर्ने, आत्मकेन्द्रित र अन्य प्रकार

अडिसियोइले परामर्श दिने स्थलमा आफूले खासगरी दुई प्रकारका नियन्त्रण गर्न चाहने अभिभावक देखेको बताइन्।

पहिलोमा त्यस्ता अभिभावक पर्छन् जो आफ्नो सन्तानको शैक्षिक करिअर, कामकाजी जीवन, सम्बन्धका छनोटबारे आफ्नो अयथार्थवादी अपेक्षा राखेर नियन्त्रण गर्न खोज्छन्।

अर्को भनेको त्यस्ता आत्मकेन्द्रित अभिभावक पर्छन् जसको पहिलो प्राथमिकता आफ्नो सन्तान नभइ उनीहरू स्वयं हुन्। यी दुई प्रकारका अभिभावकको विशेषता एकअर्कासँग जुध्न सक्छ।

यद्यपि, टक्सिक आमाबुबाको सूचि अझै छ भन्छिन् यूकेमा कन्सल्टेन्ट क्लिनिकल मनोविद् एलिसन कर्नर।

तनावमा बालबालिका

युकेको न्याश्नल हेल्थ सर्भिस एनएचएसबाट अवकास पाएपछि उनले myhorridparent.com नामक वेबसाइट खोलिन् जसले नियन्त्रणमा राख्ने अभिभावकका सन्तानलाई सहयोग पुग्ने उपाय उपलब्ध गराउँछ ताकि उनीहरूलाई जीवनमा अगाडि बढ्न मद्दत पुगोस्।

उनका अनुसार अन्य प्रकारमा यी कुराहरू पर्छन्:

  • हैकम जमाउने आमाहरू - बालबालिकालाई नसोधी उनीहरूका लागि निर्णय गरिदिने आमाहरू
  • रिसाहा आमाहरू - बालबालिकाले गर्ने प्राय: प्रत्येक कुरामा गल्ती देख्ने र त्यसबारे बालबालिकालाई थाहा दिने आमा
  • डाहा गर्ने आमाहरू - जीवनमा केही खालीपन भएका तर बालबालिकामार्फत् त्यो चाहने आमा
  • प्रतिस्पर्धी बुवाहरू - बालबालिकाले आफूभन्दा राम्रो गर्‍यो भने जे कुरा पनि आलोचना गर्ने बुवा
  • रिसाहा बुवाहरू - साना कुरामा पनि रिसाएर आक्रामक भइहाल्ने बुवा
  • जे भन्यो त्यही मान्ने बुवा - जो सबै निर्णय र जिम्मेवारी आमालाई गर्न छोडिदिन्छन्

एलिसन कर्नर विश्वभरिबाट आउने यस्ता "हृदयविदारक र वियोगात्मक कथा" सुनेपछि आफूले पीडितहरूका लागि आत्महत्याबाट जोगिनअन्तर्राष्ट्रिय सहायता सेवा दिने हेल्पलाइनहरू पनि आवश्यकता अनुसार उपलब्ध गराउने बताउँछिन्।

"यो यतिसम्म खराब हुन सक्छ," उनले बीबीसीसँग भनिन्।

सामाजिक सञ्जाल

साँस्कृतिक अस्वीकृति

सारिकाले आफ्नो परिवारसँग निकट रहेका तेस्रो व्यक्तिसँग आफ्नो समस्याबारे कुरा गर्ने कोसिस गरिन् - "जसले त्यसबारे कुनै पूर्वाग्रह पीडित धारणा बनाउन्नन् छैन" - तर अन्तत: सबैले उनैलाई दोष लगाएको उनले बताइन्।

"त्यसैले हाम्रो संस्कारले नै बालबालिका गलत र आमाबुवा सधैँ सही हुन्छन् भनेर सोच्ने बनाएको छ। मानिसहरू प्राय: आगो नलागी धुवाँ देखिँदैन भन्छन्," उनले थपिन्।

युनिभर्सिटी अफ हङकङकी समाजशास्त्र विज्ञ तथा प्राध्यापक चेरिस शन-चिङ चानका अनुसार सामाजिक आर्थिक पक्षहरूले पनि यो प्रवृत्तिमा सघाउ पुर्‍याइरहेको हुन्छ।

उदाहरणका लागि चीनको एक सन्तान नीतिले गर्दा धेरै परिवारमा एउटा मात्रै सन्तान हुन्छन् र त्यसले बालक वा बालिकामाथि दबाव पार्न सक्छ किनभने आमाबुवा भर पर्न सक्ने भनेकै तिनीहरूमाथि नै हुन्।

"र त्यो बच्चा खासमा आमाबुवाको अपेक्षा पूरा गर्ने ठूलो दबावमा हुन्छ किनभने आमा बुवाले त्यो बच्चाको लागि धेरै कुरा त्याग गरेका हुन्छन्," उनले बीबीसीसँग भनिन्।

यसैबीच, धेरै अभिभावकले बालबालिकाबाट भावनात्मक निर्भरता चाहन्छन् जो उनीहरूबारे चिन्ता गरिरहन्छन्।

खासगरी आमाबुवाको सम्बन्ध बिग्रिएको छ वा बुवाको अरू कुनै केटीसँग सम्बन्ध छ भने त्यस्तो हुने प्राध्यापक चान बताउँछिन्।

"मलाई लाग्छ यो पनि एक किसिमको टक्सि प्यारेन्टिङ हो र यसबारे खुल्न बालबालिकालाई झनै कठिन हुन्छ," उनले थपिन्।

"यी परिस्थितिहरूमा केही बालबालिकाहरू आफ्ना आमाका लागि परामर्शदाताजस्तै हुन्छन्।"

आमा र सन्तान

एओ अडिसियोइका अनुसार कडा नियन्त्रण किसिमको अभिभावकत्व पाएका उनका वयस्क बिरामीहरूमा आत्मनिष्ठा, चरमलज्जा, कठोर आत्मालोचना र आत्मकरूणाको कमी देख्न सकिन्छ। त्यस्ता बिरामीहरू निरन्तर रूपमा अरूलाई मनाउन आवश्यक ठान्छन् र मद्दत माग्न गाह्रो मान्छन्। सम्बन्धमा पनि उनीहरू सुरक्षित महसुस गर्न सक्दैनन्।

टक्सिक आमाबुवासँग कसरी व्यवहार गर्ने

सारिकाका अनुसार उनको विवाहपछि आमाबुवासँगको सम्बन्ध एकदमै नराम्रो भएको थियो किनभने उनीहरूले उक्त विवाहलाई स्वीकृति दिएका थिएनन्।

"मेरा आमाबुवाले मेरा लागि सायद सबै कुरा गर्नुभयो। मैले केही पनि गरेको छैन। 'तिमी हाम्रो परिवारका लागि कलङ्क हौ' मेरो बुवाले प्राय: यसै भन्नुहुन्थ्यो। एउटा विन्दुमा मलाई लाग्यो सायद म गलत छु," उनले थपिन्।

यूकेमा बालबालिका र युवाहरूलाई मनोवैज्ञानिक सहायता उपलब्ध गराउने सामाजिक संस्था इनोभेटिङ माइन्डस्‌की संस्थापक तथा क्लिनिकल मनोविद् डाक्टर आशा पटेलका अनुसार आफ्ना आमाबुवा आफूलाई कडा नियन्त्रणमा राख्न खोज्छन् भन्ने स्वीकार्दा दोष अनुभव हुनु सामान्य हो तर आफ्नो स्वास्थ्यलाई ध्यान दिने विषयलाई प्राथमिकतामा राख्न महत्त्वपूर्ण छ।

"तपाईँको मानसिक स्वास्थ्यको ख्याल कसैले पनि गरिरहेको हुँदैन," उनले थपिन्।

"त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्ने भनेको तपाईँले नै हो।"

एओ अडिसियोइले आमाबुवासँग अनावश्यक तर्कमा सहभागी नभएर वयस्क छोराछोरीले अब आफू बच्चा नरहेको स्वीकार्दै एउटा सीमा तय गर्नसक्ने बताएकी छन्।

"मलाई लाग्छ यहीँनेर केही छुट्छ। मकहाँ आइपुग्नेमा कैयौँमा म यस्तै भएको देख्छु। उनीहरूआफू वयस्क भइसकेको बिर्सन्छन् र बच्चै रहन खोज्छ्न्।"

एस्लीले यो सुझाव मानिन् र आफ्नो मानसिक स्वास्थ्यका लागि बुवासँग स्पष्ट सीमा तय गरिन्। सारिका भने अब आफ्नो भर्खरै जन्मिएकी छोरीका लागि राम्रो अभिभावकत्व दिन प्रतिवद्ध छिन्।

"म मेरा आमाबुवा जस्तो हुन चाहन्नँ, म उनका लागि सहयोगी अभिभावक बन्न चाहन्छु र आफूले सकेको गर्छु। उनको जीवनबारे उनलाई नै निर्णय गर्न दिनेछु," उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।