बेसहारालाई सहारा दिन के कुराले प्रेरित गरेको छ यी युवतीहरूलाई?

बेसहाराको सहारा

तस्बिर स्रोत, SANJITA GAUTAM

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत, बीबीसी न्यूज नेपाली

सानैदेखि मानव सेवाप्रति असाध्यै रुचि लाग्ने गरेको बताउने लमजुङकी अनिता अधिकारी बेसहारा मानिसहरूको सेवामा कार्यरत रहेको १० वर्ष भयो।

एउटा गैरसरकारी संस्थाको राम्रो जागिर छाडेर स्वयंसेवीका रूपमा बेसहाराको सेवा गर्न लमजुङबाट चितवनमा रहेको मानव सेवा आश्रममा पुगेको उनी बताउँछिन्।

चितवनबाट अहिले आफ्नो गृहजिल्ला फर्किसकेकी उनी लमजुङमै रहेको मानव सेवा आश्रममा रहेर बेसहाराहरूको सेवा गरिरहेकी छन्।

"अरूको सेवा गर्न पाउँदा कुनै पछुतो छैन," उनी भन्छिन्। "बेसहाराहरूको सहारा बन्दा खुसीको अनुभूति हुँदो रहेछ।"

बाँचुञ्जेल मानव सेवामै लागिरहने सोच

बेसहाराको सहारा

तस्बिर स्रोत, SANJITA GAUTAM

अनिता जस्तै काभ्रेकी सञ्चिता गौतम पनि विगत ८ वर्षदेखि बेसहारा मानिसहरूको सेवामा खटिएको बताउँछिन्।

अहिले मानव सेवा आश्रम सुर्खेतमा कार्यरत गौतम भन्छिन्, "दीन दु:खीको सेवा गर्ने सानैदेखिको मेरो इच्छा अहिले पूरा भएको छ।"

सञ्चार माध्यमबाट मानव सेवा आश्रमबारे थाहा पाएपछि आमाबुवालाई पनि थाहा नदिएर सेवा गर्न भन्दै हेटौँडा पुगेको बताउने उनले जीवनभरि मानव सेवामै लागिरहने सोच रहेको बताइन्।

अनिता र सञ्जिताजस्तै चितवनकी उमा भण्डारी पनि ११ वर्षदेखि बेसहाराको सेवामा खट्दै आएकी छन्।

उनले भनिन्, "धेरै मानिसहरू पैसाको पछि दौडिन्छन्। जीवनमा सन्तुष्टि र आनन्द ठूलो कुरा हो। मैले त्यो आनन्द बेसहाराहरूको सेवामा पाइरहेकी छु।"

अनिता, उमा र सञ्जिताजस्तै अहिले १३२ जना महिलाहरूले पारिश्रमिक बिना स्वयंसेवीका रूपमा मानव सेवा आश्रमहरूमा रहेका बेसहारा मानिसहरूको सेवा गरिरहेका छन् ।

आश्रमको संरक्षणमा रहेका बेसहारा साना बालबालिकालाई आमाले जस्तो, युवायुवतीलाई दिदीबहिनीले जस्तो, वृद्धवृद्धालाई छोरीहरूले दिनेजस्तो मामा, स्नेह र स्याहार दिने गरेको उनीहरू बताउँछन्।

उनीहरू सडक पेटीमा भेटिएका मानिसको उद्धार गर्ने, आश्रम ल्याएर सरसफाइ गर्ने, खुवाउने, चौबिसै घण्टा हेरचाहको काम गर्ने गर्छन्।

सडक पेटीमा हुँदा आफ्नै दिसापिसाब खाने, शरीरभरि दल्नेजस्ता मानसिक अवस्था ठिक नभएका मानिसहरू सन्चो भएर घर फर्किँदाको क्षण सबैभन्दा खुसी र उमङ्गको हुने उनीहरू बताउँछन्।

मानव सेवा आश्रम कर्णाली प्रदेशकी संयोजक समेत रहेकी सञ्जिता गौतम भन्छिन्, "सडक पेटीमा भेटिएकाहरूको अवस्था एकदमै नाजुक हुन्छ। आश्रम ल्याएर सरसफाइ गरेपछि रुपरङ्ग नै फेरिन्छ। केही दिनपछि उनीहरू आफ्नो परिवार खोज्न थाल्छन्। निको भएका धेरैजसो घर फर्किन्छन्। कतिपय भने फर्किन मान्दैनन्।"

सेवा गर्ने अवसर

अरूको खुसीमा आफ्नो खुसी भेट्ने गरेको बताउने यी युवतीहरू जसले सक्छ उसले नसक्ने मानिसका लागि सहयोग गरिदिनुपर्ने मान्यता राख्छन्।

बेसहारा भएर सडकमा भौँतारिएका मानिसहरूको स्याहार सुसार गर्दा थुप्रै चुनौतीहरू खेप्नुपर्ने उनीहरू बताउँछन्।

जन्मने बितिक्कैका शिशुहरूलाई हुर्काएको अनुभव पनि उनीहरूसँग छ।

बच्चाहरू बिरामी हुँदा कयौँ रातहरू नसुतेरै बिताएको अनुभव पनि उनीहरूले प्रशस्तै गरेका छन्।

अरूको बच्चालाई बोतलको दूध खुवाएर हुर्काउँदा कत्तिको चुनौतीपूर्ण छ?

जबाफमा अनिता भन्छिन्, "यसलाई हामीले चुनौती भन्दा पनि सेवा गर्ने अवसरको रूपमा लिने गरेका छौँ।"

बेसहाराको सहारा

तस्बिर स्रोत, NIRAJ KUMAR PATEL

आश्रममा पारिवार जस्तै गरी बसेका यी युवतीहरूको दैनिकीका प्रमुख अंश आश्रममा रहेका व्यक्तिहरूको हेरचाह, सरसफाइ, खानपान, औषधी उपचार, भजनकिर्तन, प्रवचन हो।

तलब खाने कर्मचारीको रूपमा होइन उनीहरू स्वयंसेवीको रूपमा काम गर्छन्।

आश्रममा रहेकाहरूले जे खान्छन्, उनीहरू पनि त्यही खान्छन्। आफूले काम गरे बापत तलब लिँदैनन्।

उनीहरूले अहिलेसम्म घरपरिवारलाई कमाएर दिनु परेको छैन।

परिवारकै साथ र सहयोगबाट आफूहरू पूर्ण रूपमा मानवीय सेवामा जुटेको उनीहरू बताउँछन् ।

"आफ्ना लागि होइन, अरूको लागि पनि बाँच्न सिक्नु पर्छ। अरूको मुख ताक्ने होइन, परिवर्तनको सुरुवात आफैँले गर्नुपर्छ," उनीहरूको साझा धारणा रहेको छ।

खानाको भन्दा प्रेमको भोको मान्छे

सडक पेटीबाट उद्धार गरी आश्रममा ल्याइएकाहरूको स्याहार गरी न्यानो माया र प्रेम दिन्छन्।

आफूले सँगालेका अनुभवहरू बीबीसी न्यूज नेपालीसँग साट्दै उनीहरूले भने, "मान्छे खानाको भन्दा प्रेमको भोको हुँदो रहेछ।"

मानसिक सन्तुलन गुमाएर सडक पेटीमा पुगेका मानिसहरू प्रेम पाएपछि पहिलेकै अवस्थामा फर्किँदा रहेछन् भन्ने उनीहरूले देखेको सुनाए।

सहाराविहीन मानिसलाई निको बनाएर आफन्तसँग भेट गराउँदा जीवनमा बेग्लै खालेको आनन्दको अनुभूति हुने उनीहरूको अनुभव छ।

"गोरखाको एकजना मान्छे १४ वर्षदेखि बेपत्ता हुनु भएको रहेछ। मरिसकेको भनेर घरपरिवारबाट काजकिरियादेखि श्राद्ध गर्ने र पितृ बोलाउने काम समेत गरिएछ," त्यस्तै एउटा अनुभव सुनाउँदै उमा भण्डारीले भनिन्।

"तर मानव सेवा आश्रमबाट ठिक भएर एक्कासि घरमा जाँदा परिवारमा देखिएको खुसीको क्षणलाई शब्दमा वर्णनै गर्न सकिँदैन।"

कैयौँको परिवारसँग पुनर्मिलन

अनिता अधिकारी

तस्बिर स्रोत, ANITA ADHIKARI

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी फरक फरक भूमिकामा रहेर महिलाहरूले असहायहरूलाई प्रेम, स्नेह र सम्मानपूर्वक सेवा गरिरहेको बताउँछन्।

"एक रुपैयाँ पनि नलिईकन निस्स्वार्थ रूपमा असहायहरूको सेवामा समर्पित हुनु सानो मन र सानो त्यागले हुने कुरै होइन," अधिकारीले भने।

मानव सेवा आश्रम सञ्चालनमा आएदेखिको ११ वर्षको अवधिमा सडक पेटीबाट उद्धार गरिएका दश हजारभन्दा बढीलाई सेवा दिइसकिएको आश्रमको भनाइ छ।

उद्धार गरिएका मध्ये चार हजार जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने त्यतिनै सङ्ख्यामा सक्षम र सबल बनाएर आफैँ काम गरी खाने सक्ने भएका छन्।

नेपालका १९ वटा जिल्लाका २४ ठाउँमा रहेका मानव सेवा आश्रमहरूको संरक्षणमा अहिले एक हजार ७ सय जना बेसहारा मानिसहरू रहेको आश्रमले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।