उपचार नपाउँदा नवजात शिशु गुमाएका आमाहरूको वेदना

नवजात शिशु गुमाएकी दुर्गा शाही

तस्बिर स्रोत, Kamala Rawal

तस्बिरको क्याप्शन, दुई नवजात शिशु गुमाएकी दुर्गा शाही त्यो सम्झँदा असह्य पीडा हुने गरेको बताउँछिन्
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

एक्कासि तल्लो पेट र ढाड दुखेपछि वैशाख १२ गते जिल्ला अस्पताल जाँदाजाँदै नलगाड नगरपालिका-१३, जाजरकोटकी दुर्गा शाहीले बीच बाटोमै पहिलो बच्चालाई जन्म दिइन्।

जिल्ला अस्पताल पुगेपछि दोस्रो बच्चा पनि जन्मियो। महिना नपुगेको र कम तौलका भएकाले जुम्ल्याहा बच्चालाई स्पेसल नियोनेटल केअर यूनिट (एसएनसीयू) र एनआईसीयूमा राख्नुपर्ने भयो।

तर अस्पतालमा यी सेवा नभएकाले अस्पताल पुगेपछि पहिलो र अक्सिजनसहित सुर्खेत पठाइएको दोस्रो बच्चाको पनि बीच बाटोमै ज्यान गयो।

अस्पतालमा एसएनसीयू र एनआईसीयूको सुविधा नहुँदा दुवै बच्चा गुमाएकी दुर्गा असह्य पीडा भएको बताउँछिन्।

कसरी व्यक्त गरूँ?

“धेरै दुःख सहेर जन्माएका बच्चा गुमाउनुपरेको पीडा म कसरी व्यक्त गरूँ?” बीबीसीसँग उनले भनिन्।

“एउटा खेर गए पनि अर्को त बाँच्ला भन्ने आशा थियो। दुवै गुमाएपछि भाग्यमै रहेनछ भनेर चित्त बुझाउन बाध्य छु। अस्पतालमा सुविधा हुँदो हो त मेरो काख खाली हुने थिएन।”

आफूले छोराहरू गुमाउनु परे पनि आगामी दिनमा एसएनसीयू र एनआईसीयू सुविधा नभएर अरू आमाहरूले बच्चा गुमाउन नपरोस् भन्ने उनको कामना छ।

शिशुहरू जन्मिँदा धेरै रक्तश्राव भएपछि उनलाई रगत दिइएको थियो। दुईजना प्रहरीले रगत दिएर उनको ज्यान बचाए।

“रगत कम हुँदै गएपछि बेहोस भएर केही थाहा नै पाइनँ,” दुर्गा सम्झन्छिन्। “आफू बाँचे पनि बच्चाहरूलाई बचाउन नसकेकोमा जीवनभरिको पछुतो भयो।”

हुन त दुर्गाका सात वर्षीया छोरी र चार वर्षीय छोरा छन्। तर उनका आँखा वरिपरि गुमाएका बच्चा नै झलझली आइरहन्छन्।

“भएकाभन्दा गुमाएकाको बढी याद आउनेरहेछ। सम्झना नगरूँ भन्दा पनि आमाको मन न हो, सम्झना आइहाल्छ।”

शायद बचाउन सकिन्थ्यो

गर्भवती भएपछि दुर्गाले खाना पकाउने, कपडा धुने र सरसफाइ गर्नेबाहेक घाँस, दाउरा काट्ने, मल बोक्ने जस्ता जोखिमपूर्ण काम पनि गरेकी थिइनन्।

श्रीमान् टोपजङ्ग शाहीका अनुसार आठ महिनाकी गर्भवती उनलाई वैशाख १२ गते एक्कासि पेट र ढाड दुख्ने समस्या भयो।

समस्या देखिनासाथ बिहानै स्वास्थ्य चौकी पुगेकी दुर्गालाई सुत्केरी बेथा शुरू हुन थालेको भनेर ६ घण्टा स्वास्थ्य चौकी राखियो।

तर समस्या घट्नुको साटो झन् बढ्न थालेपछि दिउँसोतिर स्वास्थ्यकर्मीले जिल्ला अस्पताल पठाएका थिए।

दम्पती

तस्बिर स्रोत, Kamala Rawal

तस्बिरको क्याप्शन, गर्भवती भएकी बेला दुर्गा शाहीलाई बोझिलो काम उनका श्रीमान्‌ले गर्न दिएका थिएनन्

समस्या देखिनासाथ कतै नअल्मलिएर सुर्खेत, नेपालगन्जतिर गएको भए बच्चाहरूलाई बचाउन सकिन्थो कि भन्ने कुरा दुर्गाको मनमा खेलिरहन्छ।

बालरोग विशेषज्ञ डा.अनिता दाहाल एसएनसीयू वा एनआईसीयूमा राखेर उपचार गरेको भए दुर्गाका शिशुहरूलाई बचाउन सकिने बताउँछिन्।

उनका अनुसार कम तौल भएका, समय नपुगी जन्मेका, सङ्क्रमण भएका र जन्मजात विकलाङ्ग शिशुलाई एसएनसीयू र एनआईसीयूमा राखेर उपचार गरे बाँच्ने सम्भावना अत्यधिक हुन्छ।

“यो अवस्थाका शिशुको शरीरका अङ्गहरू बने पनि फोक्सोले राम्रोसँग काम नगर्दा श्वासप्रश्वास समस्या हुन्छ,” प्रदेश अस्पतालमा कार्यरत दाहाल भन्छिन्।

“यस्तो बेला फोक्सोलाई प्रेसरवाला अक्सिजन अनि शरीरलाई न्यायो चाहिने भएकोले एसएनसीयू र एनआईसीयूमा राखेर उपचार गरे शिशुलाई बचाउन सकिन्छ। नत्र बचाउन कठिन हुन्छ।”

बजेट र जनशक्ति अभाव

यस्तै समस्या भएर बच्चा गुमाएको बताउने जाजरकोटकै लक्ष्मी खड्का आफूजस्ता थुप्रै आमाहरू धेरै दुःख र पीडा सहेर बाँच्नुपरेको बताउँछिन्।

अस्पताललाई सुविधायुक्त बनाउन जाजरकोटका नेताहरूले खासै चासो नदेखाएको अनुभूति गरेकी उनी भन्छिन्, “आफ्नो परिवारमा समस्या परेको भए शायद नेताहरूको घैँटोमा घाम लाग्थ्यो कि?”

चुनावमा भोट माग्ने बेला सबै पुर्‍याउँछौँ भन्नेहरूले पीरमर्का नदेख्दा उनीहरूको चित्त दुख्ने गरेको उनको गुनासो छ।

एसएनसीयू र एनआईसीयू सुविधा नहुँदा काख रित्तिएकी दुर्गा र लक्ष्मी मात्र कर्णालीका पीडित महिला होइनन्।

विभिन्न स्वास्थ्य असुविधाका कारण उनीहरूजस्ता धेरै महिला रित्तो काख लिएर बाँच्न बाध्य छन्।

यस्तै खालका समस्याका कारण कर्णाली प्रदेशमा गत वर्ष २८ दिनसम्मका २३९ जना र चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १७६ शिशुको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

जाजरकोटमा भने गत वर्ष २६ जना र चालु आर्थिक वर्षको अहिलेसम्म २१ जना शिशुको मृत्यु भएको तथ्याङ्क छ।

दुर्गम जिल्लाका स्वास्थ्य संस्थामा एसएनसीयू र एनआईसीयू सुविधा नहुनु नवजात शिशुको मृत्युको प्रमुख कारणको रूपमा रहेको निर्देशनालयको भनाइ छ।

धेरै जिल्ला सुविधाविहीन

सुर्खेत र जुम्लामा बाहेक कर्णालीका अरू जिल्लामा शिशुका लागि आवश्यक एनआईसीयू सेवा उपलब्ध छैन।

दैलेख, कालिकोट, सल्यानलगायत जिल्लामा एसएनसीयू सेवा उपलब्ध भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन। बाँकी जिल्लामा न एसएनसीयू न त एनआईसीयू सुविधा उपलब्ध छ।

त्यसैले ती अस्पतालहरू एसएनसीयू र एनआईसीयू सेवा चाहिने शिशुलाई तुरुन्तै अन्यत्र रेफर गर्नुबाहेक अरू विकल्प नभएको बताउँछन्।

यी सेवालाई प्रभावकारी बनाउन र विस्तार गर्न बालरोग विशेषज्ञसहित तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी चाहिने प्रदेश स्वास्थ्य निर्देशक डा. रबिन खड्का बताउँछन्।

जाजरकोट अस्पताल

तस्बिर स्रोत, Kamala Rawal

तस्बिरको क्याप्शन, कर्णालीका अधिकांश अस्पतालमा शिशुलाई चाहिने कतिपय सुविधा उपलब्ध छैन

सेवा सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति मागे पनि सरकारले अहिलेसम्म नदिएको उनको गुनासो छ।

खड्का भन्छन्, “एनआईसीयू त परको कुरा हो। कम्तीमा एसएनसीयू सेवा मात्र दिन सकेको भए धेरै शिशुको ज्यान जोगाउन सकिन्थ्यो। दक्ष जनशक्ति अभावमा प्रभावकारी सेवा दिन र विस्तार गर्न सकिएको छैन।”

एसएनसीयू बनाउन पैसाभन्दा पनि दक्ष जनशक्ति चाहिने र १५ देखि २० लाख रुपैयाँमा राम्रो एसएनसीयू बनाउन सकिेने बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन्।

“सेवा दिन तालिमप्राप्त डाक्टर, नर्सहरू चाहिन्छन्,” एसएनसीयू सेवा दिने स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएका उनी भन्छन्।

“उनीहरूलाई (तालिमप्राप्त डाक्टर, नर्स) त्यहाँ टिकाइराख्नु पनि पर्‍यो। सेवा दिने हातहरू नटिक्दा स्थापना गरिएका कतिपय अस्पतालमा समेत यो सेवा प्रभावकारी बन्न सकेको छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।