आधा पशुपक्षीको सङ्ख्या 'घट्दो क्रममा'

साइबेरियन बाघ

तस्बिर स्रोत, FREDER

यूकेको एउटा विश्वविद्यालयले गरेको अनुसन्धानमा पृथ्वीमा अहिले भएका पशुपक्षीका आधा प्रजातिहरूको सङ्ख्या निरन्तर घटिरहेको देखिएको छ।

क्वीन्स यूनिभर्सिटी बेल्फास्टले गरेको अध्ययनले ७०,००० भन्दा बढी प्रजातिका पशुपक्षीको घनत्वबारे अध्ययन गरेको थियो। अनुसन्धाताहरूले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अभिलेख भएको बताएका छन्।

उक्त अध्ययनका अनुसार अहिले पशुपक्षीका ४८ प्रतिशत प्रजातिको सङ्ख्या घट्दो क्रममा छ। तीन प्रतिशत प्रजातिको सङ्ख्या भने बढेको देखिएको छ।

अनुसन्धाताहरूले यसो "जैविक विविधतामा विश्वव्यापी क्षय" भएको टड्कारो सङ्केत मानेका छन्।

बायोलजिकल रिभ्यूज जर्नलमा यसबारे एउटा शोध प्रकाशित भएको छ।

यो अनुसन्धानको नेतृत्व विद्यावारिधि शोधार्थी क्याथरीन फिन, स्कूल अफ बायोलोजिकल साइन्सेसका डा. ड्यान्यल पिन्सेरिया-डोनोसो र चेक यूनिभर्सिटी अफ लाइफ साइन्स प्रागकी डा. फ्लोरेन्सिया ग्राटारोलाले गरेका थिए।

आगामी दशकहरूमा सबैभन्दा ठूलो चुनौती

अफ्रिकी गैँडा

तस्बिर स्रोत, Getty Images

यो अनुसन्धानले औद्योगिकीकरणका कारण जैविक विविधतामा भइरहेको हानि पहिला ठानिएकोभन्दा निकै चिन्ताजनक भएको चेतावनी दिएको छ।

जैविक विविधतामा देखा परेको सङ्कट “मानव जातिका लागि आगामी दशकहरूमा सबैभन्दा ठूलो चुनौती" बन्ने यो अनुसन्धानले जनाएको छ।

यसले मानिसहरू आश्रित पर्यावरण चक्र, रोगहरूको फैलावट र वैश्विक अर्थतन्त्रको स्थायित्वमा असर गर्ने चेतावनी दिएको छ।

जीवहरू लोप हुने अवस्थाको चित्रण

समयक्रमसँगै जीवहरूको उद्विकास र लोप हुने क्रम सामान्य भइसकेको छ। कुनै समय अस्तित्वमा रहेकामध्ये ९८ प्रतिशत प्रजातिहरू अहिले विलुप्त भइसकेका छन्।

तर अब जीवहरूको लोप हुने क्रम १०० देखि १००० गुना बढी गतिमा हुनसक्ने वैज्ञानिकहरूले ठानेको न्याचरल हिस्ट्री म्यूजीअमले जनाएको छ।

परिणामस्वरूप प्रजातिहरू छैटौँ पटक सामूहिक लोप हुने स्थितिमा पुगे त्यसको कारक मानिस नै हुनसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

सुरक्षित ठानिएका जीवहरू पनि मासिन सक्छन्

भ्यागुत्ता

तस्बिर स्रोत, Getty Images

लोप हुने सङ्कटको अवस्थालाई परम्परागत रूपमा “थ्रेट कन्जर्भेशन क्याटगोरी" का आधारमा मापन गरिँदै आएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयूसीएनले सन् १९६४ यता खतराको सूचीमा रहेका जनावरहरूको रातो सूची बनाउने गरेको छ।

त्यसमा १,५०,००० भन्दा धेरै सङ्कटापन्न प्रजाति समाविष्ट छन्। आईयूसीएनको विधिअनुसार २८ प्रतिशत प्रजातिलाई लोप हुने खतरामा परेको मानिएको छ।

क्वीन्सले गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्मीहरूले विश्लेषणको फरक विधि प्रयोग गरेका छन्।

उनीहरूले पशुपक्षीको सङ्ख्याको बढ्दो वा घट्दो प्रवृत्तिको अध्ययन गरेर लोप हुने सङ्कटको हद परम्परागत विधिबाट भएका मापनभन्दा अझै खराब रहेको पत्ता लगाएका छन्।

red line
redline

यो विधिबाट अनुसन्धानकर्ताहरूले आईयूसीएनले सुरक्षित भनेका ३३ प्रतिशत प्रजाति पनि लोप हुने दिशामा लागेको निर्क्योल गरेका छन्।

डा. पिन्सेरिया-डोनोसो परम्परागत शैलीले भन्दा यो विधिले स्पष्ट चित्र दिएको दाबी गर्छिन्।

“हाम्रो काम सङ्कटको वर्तमान परिणामको बारेमा कडा चेतावनी हो जसले प्रकृतिको स्थायित्व, मानव स्वास्थ्य र कल्याणमा विनाशकारी प्रभाव पारिसकेको छ,” उनले भनिन्।

जैविक विविधता के हो र किन महत्त्वपूर्ण छ?

जैविक विविधता पृथ्वीमा हुने पशुपक्षी, वनस्पति, ढुसी र सूक्ष्मजीवहरूको विविधता हो।

पशुपक्षी र वनस्पतिले मानिसलाई बाँच्न आवश्यक पर्ने खाना, स्वच्छ पानी र औषधिजस्ता सबै कुरा उपलब्ध गराउँछन्।

यद्यपि यी लाभहरू कुनै एउटा विशेष प्रजातिबाट मात्र प्राप्त हुन सक्दैन। धेरै प्रकारका पशुपक्षी र वनस्पतिले यसका लागि मिलेर काम गरेका हुन्छन्।

वनस्पतिहरू पनि वायु स्वच्छ बनाउन, बढ्दो तापक्रमलाई सीमित गर्न र जलवायु परिवर्तनविरुद्ध सुरक्षा दिने जस्ता पर्यावरणलाई राम्रो बनाउने काममा निकै महत्त्वपूर्ण छन्।