मेकोङ नदीमा भेटियो स्वच्छ पानीमा पाइने 'सबैभन्दा ठूलो माछा'

तस्बिर स्रोत, Wonders of the Mekong
क्याम्बोडियामा मेकोङ नदीमा भेटिएको ३०० केजीको एउटा स्टिङरे अहिलेसम्म स्वच्छ पानीमा फेला परेको सबैभन्दा ठूलो माछा भएको वैज्ञानिकहरूले बताएका छन्।
यसअघि सन् २००५ मा थाईल्यान्डमा भेटिएको मेकोङ जायन्ट क्याटफिशको नाममा उक्त कीर्तिमान थियो। उक्त माछाको तौल २९३ केजी थियो।
यद्यपि स्वच्छ पानीमा पाइने माछाबारे आधिकारिक अभिलेख वा डेटाबेस छैन।
मेकोङ नदी जैविक विविधतामा सम्पन्न छ। तर बढी माछा मार्ने काम, बाँध र प्रदूषणले मेकोङको पारिस्थितिक प्रणाली जोखिममा परेको छ।
तिब्बतबाट उत्पन्न भएको मेकोङ नदी चीन, म्यान्मार, थाईल्यान्ड, क्याम्बोडिया र भियतनाम हुँदै बग्छ।
"छ महादेशका नदी र तालमा भएका ठूला माछाबारे २० वर्ष अनुसन्धान गर्दा हामीले भेटेको यो सबैभन्दा ठूलो माछा हो," वन्डर्स अफ द मेकोङ नामक संरक्षण परियोजनाको नेतृत्व गर्ने जीववैज्ञानिक जेब होगनले भने।
उनका अनुसार उक्त माछा नै अभिलेखमा आएको विश्वभरिकै स्वच्छ पानीमा पाइनेमा सबैभन्दा ठूलो माछा हो।
उक्त परियोजनालाई यूएसएडले आर्थिक सहयोग उपलब्ध गराएको छ।
"यो माछा फेला पर्नु र यसको अभिलेख राखिनु उल्लेखनीय छ। अनि अहिले विभिन्न चुनौती खेपिरहेको मेकोङ नदीमा भेटिनु आशाको एउटा दुर्लभ सकारात्मक सङ्केत हो," यूनिभर्सिटी अफ नेभाडाकी डा. होगनले भने।

तस्बिर स्रोत, Wonders of the Mekong

तस्बिर स्रोत, Wonders of the Mekong
उक्त संरक्षण परियोजनाले क्याम्बोडिया सरकारको मत्स्य प्रशासनसँग मिलेर काम गरिरहेको छ।
भीमकाय वा सङ्कटापन्न माछा फेला पर्दा अनुसन्धानकर्मीहरूलाई सूचित गर्नेगरी उनीहरूले माझीहरूको एउटा सञ्जाल स्थापना गर्न खोजेका छन्।
को प्रेआ द्वीपबाट जुन १३ तारिखमा राति एक स्थानीय माझीले आफूले एउटा "निकै ठूलो" स्टिङरे माछा समातेको सूचना अनुसन्धानकर्ताहरूलाई दिएका थिए।
उक्त माछा ३.९८ मिटर लामो र २.२ मिटर चौडा थियो।
चालचलन निगरानी गर्ने उद्देश्यले उपकरणसहितको ट्याग जडान गरेर उक्त माछालाई पुनः नदीमा छोडियो।
"आकाशमा चन्द्रमा झुल्किएपछि गोधूलितिर त्यो भीमकाय माछा मेकोङ नदीको धमिलो पानीमा हरायो," डा. होगनले भने।
स्थानीय खमेर भाषामा त्यो माछालाई बोरामी भनिन्छ। त्यसको अर्थ पूर्णचन्द्र हुन्छ।
"यो स्टिङरे फेला पर्नु प्रकृतिमा अझै नयाँ र असाधारण कुरा भेटिन सक्छन् अनि धेरै ठूला जलचरहरूबारे निकै कम अध्ययन भएको छ भन्ने प्रमाण हो," उनले भने।
जायन्ट फ्रेशवाटर स्टिङरे सङ्कटापन्न प्रजातिको माछा हो।
यसअघि उक्त टोलीले १८१ केजी तौल भएको सोही प्रजातिको अर्को माछाको पनि परीक्षण गरेको थियो।
"कीर्तिमान राख्ने माछा भेटिनुको अर्थ जलपर्यावरण अझै तुलनात्मक रूपमा राम्रो हुनु हो। यो हामीले याङत्से नदीजस्ता स्थानमा देखेकोभन्दा विपरीत छ, जहाँ वैज्ञानिकहरूले चिनियाँ प्याडलफिश लोप भएको विवरण दिएका छन्," डा. होगनले भने।
"मेकोङको गहिरो पानीमा यस्ता ठूला माछाबाहेक अरू जीव पनि छन्। यस्तो गम्भीर वासस्थानमा फुल पारेर माछाले प्रत्येक वर्ष अर्बौँ भुरा जन्माउँछ। त्यसबाट क्याम्बोडिया र भियतनाममा लाखौँ मानिसको जीविकोपार्जन र खाद्यसुरक्षा सुनिश्चित हुन्छ।"
यो पनि हेर्नुहोस्












