अभियानकर्मीहरू भन्छन्: जलगैँडाका दाँतले हात्तीका हस्तिहाड प्रतिस्थापन गर्दै छ

जलगैँडा

तस्बिर स्रोत, Getty Images

    • Author, नवीनसिं खड्का
    • Role, वातावरण सम्वाददाता

हात्तीको हस्तिहाड तस्करीमा प्रतिबन्धहरू थपिएसँगै ''लोप हुने जोखिममा रहेको'' जल गैँडाको दाँतको तस्करी बढ्दो क्रममा रहेको र यसले उक्त प्रजातिमा गम्भीर प्रभाव पार्न सक्ने वन्यजन्तु अभियन्ताहरूले चेतावनी दिएका छन्।

यूकेले गत जुनमा लगभग पूर्ण रूपमा हात्तीको हस्तिहाड कारोबारमा प्रतिबन्ध घोषणा गरेसँगै एक परोपकारी संस्थाले तीन वटा प्रमुख अनलाइन बजारमा कस्तो प्रभाव पर्‍यो भनेर अध्ययन गरेको थियो।

''हात्तीको हस्तिहाड कारोबारमा यूकेमा लगभग पूर्ण प्रतिबन्ध लगाइएको एक महिना भित्रमा हामीले जलगैँडाको दाँत र हाडको व्यापारमा वृद्धि भएको फेला पार्‍यौँ,'' सेप्टेम्बरमा बर्न फ्रीले तयार पारेको प्रतिवेदनका मुख्य लेखक फ्रयाङ्की ओसुचले भनिन्।

यो ''सङ्ख्यात्मक हिसाबले खतरामा रहेको जलगैँडाको हाडको बढ्दो मागबारे निकै चिन्ताजनक तथ्य थियो'' प्रतिवेदनमा उल्लेख छ।

हस्तिहाडजस्तै जलगैँडाका दाँत अनि दाह्रा सजावटका सामग्रीमा प्रयोग गरिन्छ। तर यो प्राप्त गर्न तुलनात्मक रूपमा सहज अनि सस्तो पनि हुन्छ।

कन्भेन्सन अफ इन्टरन्याशनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज (सीआइटीइएस) अन्तर्गत जलगैँडाको अङ्गहरू किनबेच गर्न सकिन्छ। तर अन्तर्राष्ट्रिय कारोबारका लागि भने निर्यात गर्ने अनुमति आवश्यक पर्छ।

सन् १९७५मा सीआइटीइएसले तथ्याङ्क राख्न थालेदेखि सन् २०१७ सम्मको अवस्था हेर्दा जल गैँडाका ७७०,००० केजी दाँत कानुनी रूपमै कारोबार भएको छ। यद्यपि यसको गैरकानुनी कारोबार पनि हुने गर्छ।

जलगैँडाको दाँत सफा गरिँदै

तस्बिर स्रोत, Getty Images

युरोपेली आयोगको प्रतिवेदनका अनुसार सन् २०२०मा युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रमा सबैभन्दा बढी बरामद भएको स्तनधारी प्राणीको अङ्गमा जलगैँडाको दाँत पर्छ।

''आजभोलि अफ्रिकाका विभिन्न विमानस्थलमा तालिम प्राप्त कुकुरहरूले जलगैँडाको दाँत पत्ता लगाउने गरेका छन्। तर यसको अर्थ ती सबै पत्ता लागेका सामग्री बरामद हुन्छ भन्ने होइन,'' अफ्रिका वाइल्डलाइफ फाउन्डेसनका उपाध्यक्ष फिलिप मूरुथीले भने।

इन्टरन्याशनल युनियन फर कन्जरभेसन अफ नेचर (आइयूसीएन)ले सन् २०१६मा गरेको अनुमानका अनुसार 'कमन हिपो'को सङ्ख्या ११५,००० देखि १३०,००० को बीचमा छ जुन सन् १९९४ यताको अवस्थासँग तुलना गर्दा ३० प्रतिशतको गिरावट हो।

चोरी शिकार अनि वासस्थानको कमीका कारण उक्त सङ्ख्या निरन्तर रूपमा घटिरहेको पश्चिम अनि मध्य अफ्रिकाका १० राष्ट्रहरूले जनाएका छन्।

सीआइटीइएसको गत महिना पनामामा भएको बैठकअघि ती राष्ट्रले कारोबारमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन प्रस्ताव गरेका थिए।

जलगैँडाको दाह्रा पनि हात्तीका दाह्राजस्तै सजावटका सामग्री बनाउन प्रयोग गरिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जलगैँडाको दाह्रा पनि हात्तीका दाह्राजस्तै सजावटका सामग्री बनाउन प्रयोग गरिन्छ

तर उक्त निकायको नियम अनुसार त्यस्तो प्रस्ताव पारित हुन् पछिल्लो १० वर्षमा सङ्ख्या ५० प्रतिशतले घटेको हुनुपर्छ। र आईयूसीएनको विश्लेषणले पनि त्यस्तो परिदृश्य देखाएको थिएन।

त्यसपछि ती १० वटा पश्चिमी अनि मध्य अफ्रिकी राष्ट्रहरूले अर्को प्रस्ताव अघि सारे जसअनुसार व्यावसायिक उद्देश्यका लागि गरिने कारोबारका हकमा शून्य कोटाको व्यवस्था हुने थियो।

तर जलगैँडाको सङ्ख्या त्यति खराब नरहेको भन्दै यो प्रस्तावलाई युरोपेली सङ्घ, पूर्वी अनि दक्षिण अफ्रिकी राष्ट्रहरूले सहयोग गरेनन्।

अनुमानित १३,९०९ जलगैँडाका अङ्ग र उत्पादनहरू सन् २००९ र सन् २०१८ को बीचमा कारोबार भएका थिए। तीमध्ये तीन चौथाइ जलगैँडाको स्रोत केही पूर्वी र दक्षिण अफ्रिकी देश - तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे थिए।

ह्युमन सोसाइटी इन्टरन्याशनलमा पब्लिक अफेर्स वरिष्ठ निर्देशक जोआना स्वाब सन् २०१६ यता जल गैँडाको सङ्ख्या यकिन गर्न निकै कम कार्यहरू गरिएको बताउँछिन्।

जलगैँडाको जन्मदर कम हुन्छ। उसले वर्षमा एउटा मात्रै सन्तान जन्माउँछ र त्यसैले सङ्ख्यामा कमी हुनुको दीर्घकालीन प्रभाव पर्न सक्छ।

जलगैँडाबारे केही तथ्य

  • सबै जलगैँडाको वासस्थान अफ्रिका हो। यसका दुईवटा प्रजाति छन् -- कमन हिपो [(जलगैँडा) जसको सन् २०१६मा सङ्ख्या ११५,००० देखि १३०,००० मापन गरिएको थियो] अनि पिग्मी हिपो जसको सङ्ख्या २,००० देखि ३,०००को बीचमा छ
  • सन् २०१६मा कमन हिपोलाई इन्टरन्याशनल युनियन फर द कन्जर्भेसन अफ नेचर (आईयूसीएन)को 'लोप हुने जोखिम रहेको' रातो सूचीमा वर्गीकृत गरिएको थियो
  • सन् २००९ देखि सन् २०१८मा कानुनी रूपमै कारोबार भएका अन्दाजी १३,९०९ जल गैँडाका अङ्ग अनि सामग्री मध्ये तीन चौथाइ तान्जानिया, युगान्डा, जाम्बियाको र जिम्बाब्वेमा रहेका ती जनावरको रहेको जनाइएको छ
  • सन् १९७५ देखि २०१७ सम्ममा जलगैँडाका ७७०,००० केजी दाँत कानुनी रूपमै कारोबार भएको थियो। गैरकानुनी कारोबारको आँकडा भने यकिन हुन सकेको छैन

वन्यजन्तु विज्ञहरू पनि जलगैँडाका दाँतको वैध तथा अवैध व्यापारलाई नजिकबाट निगरानी गरिनुपर्ने बताउँछन्।

कमन हिपो (जल गैँडा)लाई सीआइटीइएसको परिशिष्ट २ मा सूचीकृत गरिएको छ जसको अर्थ कारोबारलाई नजिकबाट नियन्त्रण नगरेसम्म लोप हुने खतरा रहन सक्छ।

विश्वव्यापी रूपमा कारोबार प्रतिबन्धको माग गरिरहेका १० राष्ट्रले ''वैध र अवैध हाडलाई मिसाइएको'' बलियो तथ्य रहेको बताँउदै चोरी शिकार गरिएको दाँत र हाड ''वैध बजारसम्म पुर्‍याउने गरिएको'' जनाएको छ।

बलियो नियमन नभए जलगैँडाको भविष्य पनि हात्तीकै जस्तो हुनसक्ने अधिकारकर्मीहरू बताउँछन्।

हस्तिहाडकालागि मारिएका कारण हात्तीको सङ्ख्या कम हुँदै गएको छ र अफ्रिकी जङ्गली हात्ती त लोप हुने गम्भीर खतरामा परेको छ।