डेङ्गी: चिसोमा यो रोगको जोखिम कति? नेपालमा फैलिरहेको सीरोटाइप थ्री कति घातक?

तस्बिर स्रोत, Getty Images
नेपालमा गत जुलाई महिनादेखि नै डेङ्गीको बिरामीहरूको सङ्ख्या उकालो लाग्न थालेको थियो। अगस्ट महिनाको मध्यदेखि भने सङ्क्रमण ह्वात्तै बढेको सरकारी तथ्याङ्क छ। त्यसको एक महिनामा यो रोगले प्रकोपको रूप लिन थाल्यो।
अवस्था उत्कर्षमा पुग्दा पनि डेङ्गीको कुन प्रकार अर्थात् सीरोटाइप फैलिएको हो भन्नेबारे परीक्षण भएको थिएन।
यसैसाता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना डेङ्गीका बिरामीहरूबाट नमुना सङ्कलन गरी परीक्षण गर्यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालका अनुसार तीमध्ये सातवटा नमुनामा सीरोटाइप वन र पाँच वटामा सीरोटाइप थ्री पुष्टि भयो।
"सानो नमुनामा दुई प्रकारको सङ्क्रमण देखियो। तर देशव्यापी रूपमा यी दुई सीरोटाइप नै फैलिएका हुन् भन्ने प्रमाणित गर्न धेरै नमुनाको परीक्षण आवश्यक पर्छ," उनले भने।
डा. दाहालका अनुसार सातवटै प्रदेशका विभिन्न अस्पतालबाट डेङ्गी प्रकोप उत्कर्षमा रहँदाको नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।
"ती नमुना अध्ययनपछि कुनकुन सीरोटाइप फैलियो भन्ने कुरा पुष्टि हुन्छ।"
यद्यपि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणलाई आधार बनाइ नेपालमा पहिलोपटक डेङ्गीको सीरोटाइप थ्री फैलिएको विवरणहरू सार्वजनिक भएका छन्।
के हो सीरोटाइप?
सीरोटाइप कुनै पनि सूक्ष्मजीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो।
डेङ्गी भाइरस सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यस रोग चार प्रकारका छन्। जसलाई सीरोटाइप वन, सीरोटाइप टू, सीरोटाइप थ्री र सीरोटाइप फोरमा वर्गीकरण गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एकजना मानिसलाई पटकपटक गरी यी चारवटै प्रकारका डेङ्गीले सङ्क्रमण गर्न सक्छ।
प्रत्येक वर्ष विश्वभरि १० देखि ४० करोड मानिसहरूलाई डेङ्गी सङ्क्रमण हुने आकलन गरिएको छ।
तीमध्ये ८० प्रतिशतलाई मध्यम खालको लक्षण देखिने वा लक्षणरहित हुने जनाइएको छ।
सीरोटाइप थ्री पहिलो पटक देखिएको हो त?
यसअघि भएका अध्ययन तथा अनुसन्धानले नेपालमा डेङ्गीको चारवटै सीरोटाइप देखिएको पुष्टि गर्छ।
सन् २००८ मा न्याश्नल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एउटा लेखमा उल्लेख गरिएको छ, "विभिन्न चिकित्सकीय र प्रयोगशालामा गरिएका परीक्षणको परिणामहरूले नेपालमा चारवटै डेङ्गी सीरोटाइपहरूको सङ्क्रमण पुष्टि गरेको छ।"
सन् २००६ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रत्यक्ष संलग्नतामा भएको अनुसन्धानले पनि त्यतिबेलै नेपालमा डेङ्गीको चारवटा सीरोटाइप भएको निष्कर्ष निकालेको थियो।
बाँके, दाङ, काठमाण्डू, नेपालगन्जसहितका ठाउँमा एकै समयमा फरकफरक किसिमका सीरोटाइप फैलिएको जनाइएको छ। तर सबै सीरोटाइप एकैपटक फैलिए पनि तीमध्ये एउटाको प्रभाव बढी हुने बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन।
उदाहरणका लागि, सन् २०१९ मा काठमाण्डूमा सबै प्रकारका डेङ्गी फैलिएको भए पनि सीरोटाइप टूको असर बढी देखिएको उनले बताए।
कस्तो अवस्थामा बढी चनाखो हुने?

तस्बिर स्रोत, Getty Images
सीरोटाइप थ्री देखिनु नौलो कुरा होइन र यो निकै तर्सिनुपर्ने विषय नभएको बताउँछन् डा. पुन।
"तर सरकारी वा निजी अस्पतालहरूले आफूकहाँ परीक्षण गराउन आएका बिरामीहरूको नमुना सङ्कलन गरी कुन सीरोटाइप हो भन्ने चाहिँ परीक्षण गर्नुपर्थ्यो। त्यसले सतर्क रहन मद्दत पुर्याउँछ," उनले भने।
उनका अनुसार कुनै पनि वर्ष यसअघि देखिएको भन्दा फरक सीरोटाइपको डेङ्गी देखिन सक्छ। पहिले सङ्क्रमण भइसकेको मानिसलाई पहिलेको भन्दा भिन्न डेङ्गी सीरोटाइप सङ्क्रमण भए त्यसले कडा असर गर्ने उनले बताए।
उनले भने,"त्यस्तो अवस्थामा अस्पताल जानु पर्ने सम्भावना बढ्छ। प्रकोप हुँदा अस्पतालमा चाप र मृत्युको जोखिम पनि बढ्छ। यस्तो अवस्था आउन नदिने तयारीको निम्ति भए पनि सीरोटाइप परीक्षण हुनुपर्छ।"
के चिसोमा डेङ्गी सर्दैन?
हिउँद लागेसँगै लामखुट्टे कम हुने भए पनि अझै केही साता यो पूर्ण रूपमा नसकिने विज्ञहरूको आकलन छ। यो प्रकोप उत्कर्षबाट ओर्लिँदै गए पनि सङ्क्रमण शून्य हुन समय लाग्ने डा. पुन बताउँछन्।
उनी भन्छन्,"चिसो मौसम सुरु हुँदैमा लामखुट्टे नआउने र डेङ्गी हराउने भन्ने हुँदैन। दशैँतिहारपछि प्रायः गर्मी ठाउँबाट काठमाण्डू आउने मानिसहरूमा यो रोग देखिन्छ। यो विगतको अनुभव हो।"
त्यस्तै इपिडिमियोलोजी अफ डेङ्गी भाइरस इन्फेक्शन इन नेपाल, २००६-२०१९ नामक एक अनुसन्धानको निष्कर्षमा पनि लेखिएको छ,"नेपालमा डेङ्गी सङ्क्रमणको दायरा बढेको छ र यो देशको तल्लो भेगहरूबाट माथिल्लो भेगतर्फ उक्लिरहेको छ।"

तस्बिर स्रोत, Getty Images
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का शोधकर्ता डा. विष्णु मरासिनीका अनुसार परिषद्ले सन् २०१९ को डेङ्गी प्रकोपपछि गरिएको अनुसन्धानमा पनि हिमाली भेगमा डेङ्गी भाइरस सार्ने लामखुट्टे फेला परेको थियो।
साथै दोलखाजस्ता माथिल्लो भेगका मानिसहरूमा डेङ्गी पुष्टि भएको थियो।
"उहाँहरूमा लक्षण देखिएको थिएन तर रगत परीक्षण गर्दा डेङ्गी भाइरसको सङ्क्रमण थियो। यस्ता तथ्यहरूलाई आधार मानेर हामीले पुनः यसको प्रकोप देखिने आकलन गरेका थियौँ," मरासिनीले भने।
तथ्याङ्कले के देखाउँछ?
नेपालमा यो वर्ष अहिलेसम्म झन्डै ४२,००० जना डेङ्गी सङ्क्रमित भएको र तीमध्ये ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
तर डा. शेरबहादुर पुन भने यथार्थमा सार्वजनिक सङ्ख्याको ४-६ प्रतिशत बढी मानिस सङ्क्रमित भएको हुन सक्ने बताउँछन्।
"किनकि केही अस्पतालमा अति गाह्रो भएका मानिसहरू पुगेका छन्। तीबाहेक सहन सक्ने लक्षण देखिएका वा लक्षणरहित सङ्क्रमण भएकाहरूको गन्ती भएको छैन," उनले भने।
के हो डेङ्गी?
विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।
प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।
अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।
यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ।
केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।
यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।
तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK
रोगबाट बच्ने के कस्ता उपाय छन्?
- लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
- खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
- पानी छोपेर राख्ने
- शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
- सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
- दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
- लामखुट्टेको टोकाइ जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने
यो पनि हेर्नुहोस्












