डेङ्गीः सङ्क्रमण भएपछि लामखुट्टे 'बिरामीतिर अझ बढी आकर्षित हुन्छ', के यो रोगविरुद्ध खोप बनेको छ

डेङ्गीका बिरामी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेपालमा डेङ्गी अहिले प्रकोप बनेर फैलिएको छ

डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ। यसबारे वैज्ञानिक जर्नल 'सेल'मा एउटा शोध प्रकाशित भएको छ।

ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि सङ्क्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन्।

अहिले नेपालमा पनि डेङ्गी भाइरसको प्रकोप फैलिरहेको छ।

देशभरिका ७७ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा यो भाइरस पुगिसकेको सरकारी तथ्याङ्कले देखाउँछ।

काठमाण्डू उपत्यकासहित बागमती प्रदेशमा डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या सर्वाधिक छ। बिहीवार प्रकाशित तथ्याङ्कअनुसार नेपालमा यो वर्ष २८,१०० जनाभन्दा बढीमा डेङ्गी पुष्टि भइसकेको छ।

प्रायः उष्ण प्रदेशमा फैलिने यो रोग नेपालमा भने पहाडी, उच्च पहाडी र हिमाली जिल्लामा पनि पुगेकोमा विज्ञहरू चिन्तित देखिएका छन्।

मानिस र सवारीसाधनको ओहोरदोहोर बढ्नु तथा जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएकाले अस्वाभाविक लाग्ने ती स्थानमा लामखुट्टे पुगेकाले जोखिम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बीबीसी न्यूज नेपालीलाई बताए।

सर्वाधिक प्रभावित जिल्ला

  • काठमाण्डू
  • ललितपुर
  • मकवानपुर
  • दाङ
  • भक्तपुर
  • चितवन
  • रूपन्देही
  • धादिङ
भिडिओ क्याप्शन सुरु हुँदैछ, डेङ्गी भाइरस कसरी सर्छ?

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ?

चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङस्थित चिङ्ख्वा विश्वविद्यालयसहित विभिन्न चिनियाँ प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले मुसालाई डेङ्गी भाइरसबाट सङ्क्रमित गराएर परीक्षण गरेका थिए।

सङ्क्रमित मुसाको छालामा पाइएको एउटा गन्धयुक्त यौगिकका कारण लामखुट्टेले तिनलाई टोक्ने सम्भावना निकै धेरै बढेको पाइयो।

उक्त यौगिक एसिटोफेनन भएको पहिचान भयो। डेङ्गी वा जीका भाइरस सङ्क्रमण भएका मानिसमा त्यो यौगिक बढी उत्पादित हुन्छ।

परीक्षणमा सहभागी स्वयंसेवकहरूका हातमा एसिटोफेनन दल्दा लामखुट्टे आकर्षित भएको पाइयो।

वैज्ञानिकहरू अहिले उक्त यौगिकलाई लक्ष्य बनाउनेगरी उपचारको खोजीमा लागेका छन्।

नेपालमा डेङ्गी. सन् २०१२ देखि डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या. सेप्टेम्बेर २९ सम्मको तथ्याङ्क .
रेखा
रेखा

के डेङ्गी भाइरसविरुद्ध खोप छैन?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सनोफी पाश्चर कम्पनीले उत्पादन गरेको डेङ्भ्याक्सिया नामक खोप अहिले उपलब्ध छ। झन्डै २० देशमा उक्त खोपले प्रयोगका लागि मान्यता पाएको छ।

उक्त खोपले सन् २०१५ मा अनुमतिपत्र प्राप्त गरेको थियो।

तर नेपालमा यो खोप आइसकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले डेङ्गीको खोप नेपाल ल्याउने विषयमा कुनै छलफल नभएको जानकारी दिएका छन्।

अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार डेङ्गी सङ्क्रमण भएको पुष्टि प्रयोगशालामा गरिएका परीक्षणबाट भएका र उक्त रोगको प्रकोप भएका क्षेत्रमा बसोबास गर्ने नौदेखि १६ वर्षसम्मका बालबालिका लागि यो वर्ष एउटा उक्त खोपलाई मान्यता दिइएको छ।

तर बाहिरबाट संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तर डेङ्गीको प्रकोप भएका स्थानमा बसोबास नगर्ने मानिसलाई उक्त खोप दिइँदैन।

डेङ्गीको खोप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही देशमा डेङ्गीविरुद्ध खोप दिन थालिएको छ

डेङ्भ्याक्सियाले डेङ्गीका चारवटै सीरोटाइपविरुद्ध प्रतिरोध क्षमता विकास हुन्छ।

उक्त भाइरसमा दुर्बल पारिएको जीवित भाइरस हुन्छ।

रिकम्बिनन्ट डीएनए प्रविधि प्रयोग गरेर यो भाइरसको निर्माण गरिएको सीडीसीएको वेबसाइटमा उल्लेख गरिएको छ।

रेखा

के हो डेङ्गी?

विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।

प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।

अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।

यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ।

केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।

यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।

तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एक पटक डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन?
रेखा

रोगबाट बच्ने के कस्ता उपाय छन्?

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
  • पानी छोपेर राख्ने
  • शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
  • सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
  • दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
  • लामखुट्टेको टोकाइ जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने
लामखु्ट्टे नियन्त्रण गर्ने प्रयास

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, लामखुट्टेको टोकाइबाट जोगिनु र लामखुट्टे नियन्त्रण नै डेङ्गीबाट जोगिने उपाय हुन्
रेखा

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनको असर: 'मैले पहिलोपटक औलो रोगका बिरामी भेटेँ'