डेङ्गी: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, निःशुल्क परीक्षण कहाँकहाँ हुन्छ

डेङ्गीका बिरामी

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीबाट नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलवारसम्म मात्रै गत वर्षको तुलनामा ५१ गुना बढी र एक दशकअघिको तुलनामा १५० गुना बढी मानिसहरू डेङ्गीबाट सङ्क्रमित भइसकेका छन्।

नेपालमा पहिलो पटक वि.सं. २०६१ सालमा पहिचान भएको डेङ्गी प्रकोपकै रूपमा फैलिएको र काठमाण्डू उपत्यकामा सबैभन्दा धेरैलाई बिरामी बनाएको अधिकारीहरूले बताएका छन्।

रोग नियन्त्रण महाशाखाको विवरणअनुसार यो वर्ष मात्रै अहिलेसम्म २८,१०९ भन्दा धेरै जनामा डेङ्गी पुष्टि भइसकेको छ। तीमध्ये ३८ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै १२ जनाको मृत्यु काठमाण्डू उपत्यकामा तीन जिल्लामा भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारि दिए। उपत्यका बाहिर दाङमा ४ जना तथा कैलाली र रामेछापमा ३-३ जनाको मृत्यु भएको छ।

तर सामान्य लक्षण देखिएका केही बिरामी परीक्षण गराउन नगएको हुनसक्ने भएकाले सङ्क्रमितको सङ्ख्या अझ उच्च हुनसक्छ।

नेपालमा डेङ्गी. सन् २०१२ देखि डेङ्गी पुष्टि भएका बिरामीको सङ्ख्या. सेप्टेम्बेर २९ सम्मको तथ्याङ्क .

कहाँ भेटिए धेरै सङ्क्रमित?

अधिकांश बिरामी काठमाण्डू उपत्यकासहित बागमती प्रदेशमा फेला परेको अधिकारीहरूले बताएका छन्।

  • काठमाण्डूः ९,५३६
  • ललितपुरः ६,५४८
  • मकवानपुरः २,७६६
  • दाङः १,४७३
  • भक्तपुरः १,११०

डेङ्गी मनाङबाहेक अरू सबै ७६ जिल्लामा पुगिसकेको सरकारी तथ्याङ्कले देखाउँछ।

डेङ्गी परीक्षण गर्न कहाँ जाने?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरका अनुसार देशभरिका प्रमुख सरकारी अस्पताल, जिल्ला अस्पताल र केही स्वास्थ्य चौकीमा डेङ्गी परीक्षण गर्ने सुविधा दिइएको छ।

काठमाण्डू उपत्यकाकाको हकमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका प्रमुख सरकारी अस्पतालमा डेङ्गीको परीक्षण हुँदै आएको छ।

सरकारीबाहेक धेरैजसो निजी अस्पतालले पनि डेङ्गी परीक्षण गरिरहेका छन्। तर निजी अस्पतालले सङ्क्रमितहरूको विवरण सरकारलाई उपलब्ध गराउने प्रचलन नरहेका कारण कति निजी अस्पतालमा यसको परीक्षण हुन्छ भन्ने मन्त्रालयलाई पनि थाहा नभएको रोग नियन्त्रण महाशाखाका अधिकारी गोकर्ण दाहालले बताए।

डेङ्गी परीक्षण गर्न कति खर्च लाग्छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालहरूलाई डेङ्गी परीक्षणका लागि आवश्यक हुने किट निःशुल्क उपलब्ध गराउँदै आएको छ।

त्यस कारण सरकारी अस्पतालमा डेङ्गी परीक्षण गराउँदा शुल्क लाग्दैन।

तर निजी अस्पतालहरूले भने डेङ्गी परीक्षणका लागि १,५०० देखि २,००० रुपैयाँ सम्म लिने गरेका छन्।

यो वर्ष काठमाण्डू उपत्यकामा हजारौँ मानिसमा डेङ्गी पुष्टि भइसकेको छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

के घरमै परीक्षण गर्न सकिन्छ?

किटको सहायताले परीक्षण गरिने भए पनि यसको परीक्षण कोभिडको जस्तो घरमै गर्न नमिल्ने रोग नियन्त्रण महाशाखाका प्रमुख चुमन लाल दासले बताए।

"डेङ्गी भए नभएको थाहा पाउन एन्टीजन र एन्टीबडी विधिका तीन किसिमका परीक्षण गर्न सकिन्छ। तर रीयाक्टर ल्याबमा मात्र उपलब्ध हुने भएकाले परीक्षणका लागि अस्पताल नै जानुपर्ने हुन्छ," ठाकुरले भने।

कुन अवस्थामा परीक्षण गर्ने?

विशेषज्ञहरूले ज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र कतिपयलाई बान्ता आउने र पखाला लाग्ने जस्ता लक्षण डेङ्गीको सङ्क्रमणमा देखिने गरेको बताउने गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन लक्षण देखिनेबित्तिकै यसको परीक्षण गराउनुपर्ने र रगतमा प्लेटलेट्सको मात्रा पनि जाँच गराउनुपर्ने बताउँछन्।

प्लेटलेट्सको मात्रा अत्यधिक घटेको अवस्थामा डेङ्गी सङ्क्रमितलाई अस्पताल भर्ना हुन चिकित्सकहरूले सल्लाह दिने गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एक पटक डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन?

सङ्क्रमण फैलन नदिन के गर्ने?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने तथा केही दिन बिराएर सरसफाइ गर्ने गर्दा लामखुट्टे नियन्त्रण गर्न र डेङ्गीको सङ्क्रमणबाट बच्न मद्दत पुग्छ।

घरवरपर फालिएका टायर तथा ट्यूबहरू, घरकै छतमा नछोपी राखिएका पानीट्याङ्कीमा पनि लामखुट्टेले फुल पार्ने ठाउँ हुनसक्ने ठाकुरले बताए।

"एउटै लामखुट्टे ३०० देखि ४०० मिटर परसम्म जान सक्छ र उसले एक महिनाको आफ्नो आयुमा ८०० वटासम्म फुल पार्छ तर एक पटकमा एक ठाउँमा १०० देखि १५० मात्र पार्छ," उनले भने।

डेङ्गी सार्ने एडीज जातको लामखुट्टे बिहान सूर्योदयको केहीपछि र साँझ सूर्योदयको समयमा अरू समयभन्दा थप सक्रिय हुने विज्ञहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा डेङ्गी: 'एकदम ज्वरो आयो अनि आँखाको गेडी खस्ला जस्तो भयो'

डेङ्गी नपुगेको एक मात्र जिल्ला

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार उच्चहिमाली जिल्ला मुस्ताङमा मात्र अहिलेसम्म डेङ्गीका बिरामी भेटिएका छैनन्।

यसअघि लामो समयसम्म डेङ्गीमुक्त रहेको हुम्ला जिल्लामा गत साता बिहीवार एक सङ्क्रमित फेला परेका थिए।

"उच्च हिमाली जिल्लाहरूमा पनि सङ्क्रमित भेटिएका छन् तर त्यही जिल्लामा सङ्क्रमित भएका हुन् वा अन्यत्रबाट सङ्क्रमित भएर त्यहाँ पुगेपछि मात्र परीक्षण गराएका हुन् भन्ने खुल्न सकेको छैन," दाहालले भने।

मन्त्रालयका प्रवक्ता ठाकुरले जलवायु परिवर्तनको असरका कारण लामखुट्टेहरू यसअघि भन्दा थप उचाइमा भेटिन थालेको बताए।

उनले मानिसहरूको बाक्लो आवतजावतका कारण पनि लामखुट्टेको टोकाइका बिरामी कतिपय हिमाली जिल्लाहरूमा भेटिएको हुनसक्ने बताएका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, डेङ्गी के हो र कसरी सर्छ?