मङ्कीपक्स नेपाल: जनस्वास्थ्य सङ्कट घोषणा भएपछि यो रोग रोकथाम गर्न के गरिँदै छ

तस्बिर स्रोत, RSS
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्स रोगलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपाल प्रवेश गर्ने बिन्दुहरूमा सतर्कता अपनाउन थालिएको अधिकारीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल तथा विभिन्न सीमानाकामा परिचालित स्वास्थ्यकर्मीलाई यो रोगका लक्षणहरू पहिचान गर्ने र सन्दिग्ध बिरामीलाई अलग्ग राखेर उपचार गर्ने तरिका सिकाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले देशका सबै भेग समेटिनेगरी मुख्य १४ वटा अस्पतालका चर्मरोग विशेषज्ञहरूलाई यस रोगको 'फोकल पर्सन' तोकिएको बताएका छन्।
"आसपासका स्वास्थ्यकर्मीहरूले ती १४ सरकारी अस्पतालका फोकल पर्सनसँग सल्लाह र परामर्शअनुसार काम गर्छन्," निर्देशक डा. दासले भने।
"शङ्कास्पद बिरामीलाई पहिचान, अलग पार्ने, उपचार र आवश्यक पर्दा नमुना सङ्कलन कसरी गर्ने भन्ने वहाँहरूलाई सिकाइएको छ," उनले भने।
विश्वका ७५ देशमा १६,००० जनाभन्दा बढीमा मङ्कीपक्स पुष्टि भइसकेको डब्ल्यूएचओले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
नेपालमा कति जनामा गरियो परीक्षण?
सरकारले ती अस्पतालहरूमा बिरामीको लक्षण विश्लेषण गरेर नमुना परीक्षण गर्न पठाउने संयन्त्र पनि बनाएको छ।
"नेपालमा नमुना परीक्षण गर्ने सुविधा छैन, भारत पठाउनुपर्छ," डा. दास भन्छन्।
"तर अहिलेको अवस्थामा हाम्रो निगरानीको काम मुख्य छ। यसका लक्षणबारे सचेतना र प्रचार गर्ने काम भइरहेको छ।"
पीसीआर उपकरण भएको प्रयोगशालामा मङ्कीपक्सको परीक्षण सम्भव हुन्छ।
तर आवश्यक रसायन अभाव भएकाले बाहिरबाट ल्याउने तयारी थालिसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।
"अहिलेलाई विश्व स्वास्थ्य सङ्गठनका समन्वय केन्द्रहरूमा त्यसको परीक्षण गर्ने प्रावधान छ," सहप्रवक्ता डा. अधिकारी भन्छन्।
"अहिले धेरै आत्तिनुपर्ने अवस्था छैन। तर आफ्नो र आफू आसपासका मानिसहरूमा हुने लक्षणप्रति चनाखो हुनुपर्छ।"
सरकारले १११५ हटलाइन नम्बरमा स्वास्थ्य परामर्श लिने व्यवस्था समेत सुरु गरिसकेको बताइएको छ।
अहिलेसम्म नेपालमा मङ्कीपक्सका मिल्दोजुल्दो लक्षण भएका तीन व्यक्तिमा परीक्षण गरिको भए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको डा. दासले बताए।
नमुना भारत पठाएर नतिजा थाहा हुन दुई सातासम्म लागेको अधिकारीहरूले बताएका छन्।
के छ भारतको स्थिति?
भारतमा यो साता विदेश नगएका एक व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको छ। उनी भारतमा फेला परेका मङ्कीपक्सबाट बिरामी परेका चौथा व्यक्ति हुन्।
सङ्घीय स्वास्थ्य मन्त्रालयले दिल्ली सरकारलाई ३४ वर्षे युवकको सम्पर्कमा आएका अरू व्यक्तिहरूको पहिचान गर्न आग्रह गरेको छ।
ती व्यक्तिको स्वास्थ्य "स्थिर र सुधारोन्मुख रहेको" र आत्तिनुपर्ने अवस्था नरहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।
सरकारले मङ्कीपक्स रोकथामका लागि एउटा निर्देशिका जारी गरेको छ।
यसअघि फेला परेका तीन बिरामी दक्षिण भारतको केरला राज्यका थिए।

तस्बिर स्रोत, Getty Images
खोपबारे के भन्छ सरकार?
बिफरविरुद्ध प्रयोग हुने खोपले मङ्कीपक्स रोकथाम गर्न सक्ने विज्ञहरूको भनाइ छ।
तर मङ्कीपक्स रोगलाई लक्षित गरेर यसविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने कुनै योजना नरहेको महाशाखाका निर्देशक डा. दास बताउँछन्।
नेपालबाट बिफर उन्मूलन भइसकेकाले सरकारसँग बिफरको खोप छैन।
अधिकारीहरूले मङ्कीपक्स कोभिडजस्तो नयाँ सङ्क्रमण नभएकाले यस रोगका लक्षणदेखि रोकथामको विधिबारे विज्ञहरूसँग ज्ञान र अनुभव आफूहरूसँग भएको बताउँछन्।
सहप्रवक्ता डा. अधिकारी भन्छन्, "यो कोभिडजस्तो एकैपटक धेरैलाई हुने सङ्क्रमण होइन। तर अघिपछि नदेखिने भेगमा धेरै देशमा देखिँदा विश्वभरि सजगता अपनाइएको हो।"

तस्बिर स्रोत, Reuters
मङ्कीपक्स के हो?
मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ।
तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्।
केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्।
डब्ल्यूएचओले गत शनिवार यस रोगलाई "विश्वव्यापी जनस्वास्थ्य सङ्कट" घोषणा गरेको थियो।
मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ।
केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ। पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए।
ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ।

लक्षण कस्ता?
मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ।
सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ।
यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ।
लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु नहुने विज्ञहरूको भनाइ छ।

तस्बिर स्रोत, UKHSA









