मार्बर्ग भाइरस : यो कस्तो रोग हो, कसरी जोगिन सकिन्छ

सूक्ष्मदर्शक यन्त्रबाट खिचिएको मार्बर्ग भाइरसको तस्बिर

तस्बिर स्रोत, Getty Images

रुआन्डामा मार्बर्ग भाइरसको प्रकोप फैलिँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ।

यो अतिसङ्क्रामक रोग सरेका बिरामीमा ज्वरो आउने, मांसपेशी दुख्ने अनि पखाला र बान्ता हुने जस्ता लक्षण देखा पर्छन्।

यो रोग अफ्रिकामा प्रत्येक वर्ष देखा परेको छ र बिरामीहरूको मृत्यु भएको छ।

के हो मार्बर्ग भाइरस?

मार्बर्ग भाइरस घातक इबोला भाइरसकै वर्गमा पर्छ।

सन् १९६७ मा जर्मनीको मार्बर्ग र फ्राङ्कफर्ट अनि सर्बियाको बेल्ग्रेडमा एकैपटक ३१ जनामा मार्बर्ग भाइरसको सङ्क्रमण देखिएको र सात जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को भनाइ छ।

अफ्रिकन ग्रीन मङ्की

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मार्बर्ग भाइरस सबैभन्दा पहिला अफ्रिकी ग्रीन मङ्कीमा देखा परेको थियो

युगान्डाबाट ल्याइएको अफ्रिकी बाँदरबाट त्यति बेला सङ्क्रमण फैलिएको पत्ता लागेको थियो। तर यो भाइरस अन्य जनावरबाट पनि सर्ने प्रमाणित भइसकेको छ।

अनि मानिसहरूमा यो भाइरस चमेरा भएको गुफा वा खानीमा लामो समय बिताउने मानिसहरूबाट सर्ने देखिएको छ।

यो रोग अफ्रिकाका यी देश फेला परेको पुष्टि भएको छ -

  • एक्वटोरिअल गिनी
  • घाना
  • डीआर कङ्गो
  • केन्या
  • दक्षिण अफ्रिका
  • युगान्डा
  • जिम्बाब्वे

एङ्गोलामा सन् २००५ मा यो रोग फैलिँदा ३२९ जनाको मृत्यु भएको थियो।

यद्यपि युरोपमा विगत ४० वर्षमा एक जनाको मात्रै मृत्यु भएको छ। त्यस्तै एक अमेरिकी नागरिकको युगान्डाका गुफाहरूको भ्रमणबाट फर्किएपछि मृत्यु भएको थियो।

अधिकांश बिरामी कहाँ फेला परेका हुन्?

स्वास्थ्यविज्ञहरूका अनुसार रुआन्डामा सेप्टेम्बर महिनाको अन्त्यतिर मार्बर्ग भाइरसको प्रकोप देखा परेको हो।

रुआन्डामा पहिलो पटक यो रोग फेला परेको पुष्टि भएको हो। तर यो भाइरसको स्रोत पत्ता लागिसकेको छैन।

त्यहाँ सङ्क्रमित व्यक्तिसँगको सम्पर्कमा पुगेका कम्तीमा ३०० जनालाई निगरानीमा राखिएको अधिकारीहरूले बताएका छन्। सङ्क्रमितमध्ये केही व्यक्ति स्वास्थकर्मी हुन्।

यो रोग रोकथाम गर्न डब्ल्यूएचओले रुआन्डामा विज्ञहरू, परीक्षण किट र निजी सुरक्षाका लागि प्रयोग गरिने उपकरण (पीपीई) पठाउन लागेको छ।

line

मार्बर्ग भाइरसको प्रकोप

  • सन् २०१७: युगान्डा, तीन जनामा सङ्क्रमण, तीन जनाको मृत्यु
  • सन् २०१२: युगान्डा, १५ जनामा सङ्क्रमण, चार जनाको मृत्यु
  • सन् २००५: अङ्गोला, ३७४ जनामा सङ्क्रमण, ३२९ जनाको मृत्यु
  • सन् १९९८-२०००: कङ्गो, १५४ जनामा सङ्क्रमण, १२८ जनाको मृत्यु
  • सन् १९७६: जर्मनी, २९ जनामा सङ्क्रमण, सात जनाको मृत्यु

स्रोतः विश्व स्वास्थ्य सङ्गठन

line

लक्षणहरू के हुन्?

मार्बर्ग भाइरसको सङ्क्रमण भएपछि अचानक निम्नलिखित लक्षणहरू देखा पर्छन् -

  • ज्वरो
  • कडा टाउको दुखाइ
  • मांसपेशी दुखाइ

त्यसको तीन दिनपछि भने यी लक्षण देखा पर्छन् -

  • पातलो पखाला
  • पेट दुखाइ
  • रिँगटा लाग्ने
  • बान्ता

विश्व स्वास्थ्य सङ्गठनका अनुसार केही दिनपछि सङ्क्रमित व्यक्तिमा आँखा गढेको, अनुहार फुस्रो भएको र अत्यधिक आलस्य बढेको देखिन्छ।

धेरै मानिसहरू शरीरको विभिन्न भागबाट रगत बग्ने हुन्छ र सङ्क्रमण भएको आठदेखि नौ दिनमा अत्यधिक रक्तश्रावका कारण बिरामीको मृत्यु हुन सक्छ।

औसतमा सङ्क्रमितमध्ये आधाजतिको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ। तर यो भारइसका खतरनाक प्रकारहरूले ८८ प्रतिशत सङ्क्रमितको ज्यान लिन सक्छन्।

इजिप्शन रूजेट फ्रूट ब्याट यो भाइरसको मुख्य वाहक हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजिप्शन रूजेट फ्रूट ब्याट यो भाइरसको मुख्य वाहक हो

कसरी फैलिन्छ यो भाइरस?

'इजिप्शन रूजेट फ्रूट ब्याट' भनिने एक जातको चमेरोमा यो भाइरस धेरै देखिन्छ।

अफ्रिकन ग्रीन मङ्की भनिने बाँदर र सुँगुर पनि यो भाइरसका वाहक बन्न सक्छन्।

मानिसहरूमा भने यो भाइरस शरीरबाट निस्किने तरल पदार्थ वा ओछ्यानबाट सर्छ।

अनि निको भइसकेका व्यक्तिहरूको रगत वा वीर्यबाट महिनौँ पछिसम्म यो भाइरस सर्न सक्छ।

यो भाइरसको सङ्क्रमण भयो भने उपचार के हो?

यसको निश्चित उपचार वा खोप छैन।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न औषधि र उपचारविधि विकासका क्रममा छन्।

चिकित्सकहरूले बिरामीलाई धेरै झोल पदार्थ सेवन गराएर र रगत दिएर यसका लक्षणहरू कम गर्न सक्छन्।

यो भाइरसलाई कसरी रोक्न सकिन्छ?

अफ्रिकाका मानिसहरूले जङ्गली जनावरका मासु खान वा त्यसको सम्पर्कमा आउने कार्य छोड्नुपर्ने गाभीले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रमण फैलिएका स्थानमा सुँगुरसँग पनि सम्पर्कमा आउनु नहुने बताएको छ।

यो भाइरस सङ्क्रमित भएर निको भएका व्यक्तिहरूले एक वर्षसम्म वा वीर्य परीक्षणमा दुई पटक नेगटिभ नआएसम्म यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्नुपर्ने बताइएको छ।

अनि यो भाइरसका कारण मृत्यु भएका मानिसहरूको शव खाली हातले छुनु हुँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।