रेबिज फैलाउने छाडा कुकुरबिराला नियन्त्रणको सबैभन्दा राम्रो उपाय के होला

तस्बिर स्रोत, Getty Images
- Author, ओनुर एरेम
- Role, बीबीसी विश्व सेवा
चेतावनी : यस लेखमा कुकुरको आक्रमणबाट लागेको चोटबारे वर्णन गरिएको छ।
रेबिज विश्वकै निम्ति खतराको कारणमध्ये एक हो। यसले वर्षेनि साठी हजार मानिसको ज्यान लिन्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार ९९ प्रतिशत रेबिजका घटना कुकुरले टोकेका वा चिथोरेका कारण भएका छन्।
यद्यपि त्यस्ता घटनापछि रेबिजको खोप लिन सकिन्छ। तर अनुहार वा स्नायुनजिकै टोकेको अवस्थामा भने खोपले सधैँ काम नगर्न पनि सक्छ।
ज्यान लिने रोग
जुलाईमा भारतको अराक्कोनमका चार वर्षीय निर्मललाई छाडा कुकुरले आक्रमण गर्दा उनी घरबाहिर खेलिरहेका थिए।
उनका बाबु घरभित्र छिरेको मिनेटभरमै कुकुरले बालकको मुखमा टोकिदिएको थियो।
"म भर्खरै पानी लिन भनेर भित्र छिरेको थिएँ," उनका पिता बालाजीले स्थानीय सञ्चारमाध्यमलाई बताए।
"जब म फर्किएँ, उसको मुखमा चोट लागेको देखेँ। एकदम धेरै रगत बगरिरहेको थियो।"

तस्बिर स्रोत, BALAJI FAMILY
निर्मलको परिवारले उनलाई हतारहतार अस्पताल पुर्यायो, जहाँ उनलाई १५ दिनसम्म सघन उपचार कक्षमा बस्नुपर्यो।
अन्तत: उनको स्थिति स्थिर भयो र उनलाई अस्पतालबाट बिदा गरियो। तर घर आएको धेरै समय नबित्दै उनमा रेबिजका लक्षणहरू देखा पर्न थाले।
परिवारले उनलाई पुन: अस्पताल लग्यो। उनीहरूले त्यसपछि बल्ल भाइरसले निर्मलको स्नायुप्रणालीलाई नै सङ्क्रमित तुल्याएको थाहा पाए। त्यसको दुई वर्षपछि निर्मलको मृत्यु भयो।
कहिलेकाहीँ परिवारका मानिसलाई आफूलाई कुकुरले टोकेको कुरा भन्न केटाकेटीहरू डराउने गर्छन्, जसले गर्दा उनीहरूले समयमै खोप लगाउन पाउँदैनन्।
मुम्बईमा सन् १९९४ देखि २०१५ को अवधिमा १३ लाख मानिसलाई कुकुरले टोकेको छ र ती मध्येरेबिजका कारण ४३४ जनाको ज्यान गएको छ।
तर छाडा कुकुरहरूबाट आक्रमणको मात्रै खतरा छ भन्ने होइन।
विश्वस्तरीय परोपकारी संस्था 'इन्टर्न्याश्नल कम्प्यानिअन एनिमल म्यानिज्मन्ट कोअलिशन' (आईसीएएम)का अनुसार अव्यवस्थित छाडा कुकुरहरूले निम्त्याउने अन्य खतरामा सडक दुर्घटना, घरपालुवा पशुपक्षीका निम्ति खतरा तथा पैदल यात्रुलाई भयभीत पार्नुलगायतका छन्।
टर्कीले अपनाएको विवादास्पद नयाँ तरिका

तस्बिर स्रोत, Getty Images
टर्कीमा छाडा कुकुरको उपस्थिति ठूलो समस्या बनेको छ। त्यहाँको पशुचिकित्सासम्बन्धी एक सङ्गठनले देशभर ६५ लाख छाडा कुकुर रहेको अनुमान गरेको छ।
छाडा कुकुरले टोक्दा वा तिनका कारण सडक दुर्घटना हुँदा टर्कीमा विगत दुई वर्षमा १०० जनाको मृत्यु भएको त्यहाँको 'सेफ स्ट्रीट्स असोसिएशन'ले जनाएको छ।
यो वर्षको जुलाईको अन्त्यमा टर्की सरकारले नगरपालिकाहरूलाई दबाव दिने गरी एउटा कानुन पारित गरेको छ, जसमा सबै छाडा कुकुरहरूलाई चार वर्षका निम्ति आश्रयस्थलमा राख्नुपर्ने र त्यसो गर्न विफल हुने मेयरहरूलाई जेल सजाय हुने चेतावनी सामेल छ।
"तिनीहरूले बालबालिका, वयस्क, वृद्धवृद्धा तथा अन्य जनावरहरूमाथि आक्रमण गर्छन्," टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले उक्त विधेयक संसद्मा गएको भोलिपल्ट भने, "तिनीहरूले सडक दुर्घटना निम्त्याउँछन्।"
सन् २००४ देखि नगरपालिकाहरूले कानुनत: छाडा कुकुरहरूलाई जम्मा गर्ने, खोप लगाउने, बन्ध्याकरण गर्ने र पुन: उनीहरूलाई जहाँबाट ल्याइएको थियो सोही सडकमा छाड्नुपर्थ्यो।
उक्त कार्य 'सीएनभीआर' पद्धतिका नामले चिनिन्छ, जसको अर्थ 'कलेक्ट', 'न्यूटर', 'भ्याक्सिनेट' र 'रिटर्न' हुन्छ। धेरै विज्ञहरूले यसलाई उत्तम उपायका रूपमा हेरे। तर, राष्ट्रपति एर्दोआनले यो उपाय काम नलागेको बताए।
'टर्किश भेटरिनरी मेडिकल सोसाइटी'का डा. गुलाय एर्टर्कका अनुसार उक्त उपाय प्रभावकारी हुन ७० प्रतिशत छाडा कुकुरको बन्ध्याकरण गर्न जरुरी थियो।
नयाँ कानुनअनुसार कुकुरहरूलाई पहिलेजस्तै खोप लगाउने र बन्ध्याकरण गर्ने त गरिन्छ नै, तर त्यसपछि पुन: सडकमा छाड्नुको सट्टा तिनीहरूलाई (नमर्दासम्म वा कसैले नपालेसम्म) आश्रयस्थलमै राखिनेछ।
'दी फेडरेशन अफ प्रोटेक्टिङ एनिमल्स'ले नयाँ पद्धति महँगो हुने चेतावनी दिएको छ। उसका अनुसार ठूल्ठूला खुला आश्रयस्थलमा कुकुरहरूलाई राख्दा बलियाले कमजोरलाई खान नदिने समस्या पैदा हुनुका साथै रोग पनि चाँडै फैलिन सक्छ।
आईसीएएमकी निर्देशक डा. एली हिबी यसलाई "उस्तै तरिकाले विफल हुने सम्भाव्य महँगो तरिका" का रूपमा अर्थ्याउँदै ती आश्रयस्थलहरू पनि छिट्टै भरिने बताउँछिन्।
टर्की तथा अन्य देशमा पनि उक्न नयाँ कानुनको विरोध भएको छ।
हामीले टर्कीका अधिकारीहरूलाई यससम्बन्धमा टिप्पणीका निम्ति सम्पर्क गरेका थियौँ, तर यो सामग्री प्रकाशित हुँदासम्म कुनै जबाफ आएको छैन।
छाडा कुकुरको सङ्ख्या घटाउने सबैभन्दा उत्तम उपाय के हो?

तस्बिर स्रोत, Reuters
आईसीएएमकी निर्देशक हिबी जीवनको प्रारम्भमै बन्ध्याकरण गरिदिनु नै छाडा कुकुरको सङ्ख्या घटाउने मुख्य उपाय भएको बताउँछिन्।
त्यसो गरियो भने ती कुकुरहरू पुन: बच्चा जन्माउन सक्षम हुँदैनन्। घरपालुवा कुकुर हराएमा वा कसैले सडकमै छाडिदिएको अवस्थामा समेत प्रजनन हुने छैन र छाडा कुकुरको सङ्ख्या बढ्ने छैन।
उनका अनुसार 'छाडा कुकुरको दोस्रो पुस्ता पैदा हुन सक्ने स्रोतलाई सम्बोधन नगरीकन तिनलाई सडकबाट हटाइएकाले' अपनाइएका प्रयत्नहरू विफल भएका हुन्।
छाडा कुकुरहरूले बच्चा जन्माएको जन्मायै गर्छन्। एउटा कुकुरले एक वर्षमा २० वटासम्म छाउराछाउरी पाउन सक्छ। त्यसैले केही कुकुरलाई सडकबाट हटाउँदैमा (छानेर मार्दा वा आश्रयस्थलमा राख्दा मात्र) दीर्घकालीन रूपमा तिनको सङ्ख्या घट्न नसकिने उनी बताउँछिन्।
कुकुरलाई छानेर सार्वजनिक रूपमा मार्ने वा आश्रयस्थलमा मर्न दिने काम ('कलिङ')लाई धेरैले क्रूरतापूर्ण मानेका छन्। त्यस्तो कार्यले पशुअधिकारवादीलाई मात्र नभई सडकमा कुकुरलाई मारिएको वा बिष खुवाइएको देख्नेहरूलाई पनि दु:खी बनाउन सक्छ।
साइकोथेरपिस्ट तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित परिचारिका डेबी विल्सन अहिले 'बालअधिकारको सम्मान गर्नुको अर्थ पशुअधिकारको सम्मान पनि हो' शीर्षकमा विद्यावारिधि गर्दै छिन्। इङ्ग्ल्यान्डस्थित हडर्स्फील्ड विश्वविद्यालयकी उनका अनुसार जनावरमाथिको क्रूरता देख्ने बालबालिकाको सहानुभूतिमा कमी आउनुका साथै ठूलो भएर जनावर तथा अन्य व्यक्तिमाथि निर्मम व्यवहार गर्न सक्ने सम्भावना हुन्छ।
बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा बालबालिकालाई जनावरविरुद्ध हुने हिंसाको घटनाको सम्पर्कमा आउनबाट जोगाउनुपर्ने उल्लेख छ।
विश्वका विभिन्न स्थानका सफलताहरू

तस्बिर स्रोत, Getty Images
त्यसो भए कुन उपाय प्रभावकारी हुन्छ त?
बोस्निया–हर्जगोभिना र थाईल्यान्ड हालै 'सीएनभीआर' पद्धति अपनाएर छाडा कुकुरको सङ्ख्या घटाउन सफल भएका छन्।
बोस्नियाको 'डग्स ट्रस्ट वर्ल्डवाइड फाउन्डेशन'का अनुसार जम्मा गर्ने, बन्ध्याकरण गर्ने, खोप लगाउने र छाड्ने कार्यले राजधानी सारायेभोमा सन् २०१२ देखि २०२३ को बीचमा छाडा कुकुरको सङ्ख्या ८५ प्रतिशतले घटेको छ।
राजधानी अवस्थित सारायेभो क्यान्टन नगरपालिकामा ७० प्रतिशतले छाडा कुकुरको सङ्ख्या घटेको छ।
छाडा कुकुरको बन्ध्याकरण दर ७० प्रतिशतभन्दा माथि राख्न त्यहाँ धेरैभन्दा धेरै पशुचिकित्सकहरूलाई प्रशिक्षित गर्नुपरेको थियो।
परोपकारी संस्था 'डग्स ट्रस्ट' ले कुकुरधनीहरूलाई लक्षित गरी बन्ध्याकरणका फाइदाबारे पनि सचेतना अभियान सञ्चालन गरेको थियो।
घरपालुवा र छाडा दुवै प्रकृतिका कुकुरहरूलाई हेर्न सक्ने गरी पशु क्लिनिकहरूको सङ्ख्या दोब्बरभन्दा अधिकले बढाइएको थियो।
सारायेभो सहरमा यो अभियान सफल भएपछि सन् २०१५ मा अन्य क्यान्टनमा पनि यो कार्यक्रम विस्तार गरिएको थियो।
गत वर्ष थाईल्यान्डको 'सोई डग फाउन्डेशन' पछिल्लो २० वर्षमा १० लाख छाडा जनावरलाई खोप लगाउने तथा बन्ध्याकरण गर्ने इतिहासकै ठूलो सङ्गठन बन्यो। पाँच लाखभन्दा धेरै छाडा जनावरहरू राजधानी ब्याङ्ककबाट मात्रै समातिएका थिए।
यो लामो प्रक्रिया सन् २००३ मा अत्यन्तै सानो स्तरमा फुकेट टापुबाट सुरु गरिएको थियो।
"एउटा स्थानीय समुदायको विश्वास आर्जन गर्दै यसको सुरुवात भएको थियो," 'सोई डग फाउन्डेशन'मा जनावरको हितसम्बन्धी अन्तर्राष्ट्रिय निर्देशकका रूपमा कार्यरत डा. अलिच्या इजदोर्जेकले भनिन्।
फुकेटमा उनीहरू छाडा कुकुरको सङ्ख्या ८०,००० बाट ६,००० मा झार्न सफल भए। उक्त सफलतापछि उनीहरूले सो पद्धतिलाई ब्याङ्कक पुर्याए, जहाँ झन् धेरै छाडा कुकुरहरू थिए।
तर त्यहाँ उनीहरूले केही अवरोधको सामना गर्नुपर्यो।
पाँच वर्षअघि थाई सरकारले सबै छाडा कुकुरलाई आश्रयस्थलमा राख्ने कार्यक्रम ल्याएको थियो। यो टर्कीको कार्यक्रमजस्तै थियो। तर त्यो असम्भव साबित भयो र आश्रयस्थलमा भयङ्कर भिड हुन पुग्यो।
थाईल्यान्ड र बोस्नियाका दुवै परियोजनाहरूले छाडा कुकुरको सङ्ख्यामा कमी ल्याउनुका साथै रेबिज र टोकाइका घटनाहरूलाई पनि घटाए। तिनले छाडा कुकुरहरूको जीवनको गुणस्तर समेत बढाएको डा. हिबी बताउँछिन्।
अझै सङ्घर्षरत देशहरू

तस्बिर स्रोत, Getty Images
मोरक्कोका अधिकारीहरूले हालै ठूलो सङ्ख्यामा छाडा कुकुर 'कल' गर्न थालेका छन्।
सरकारले त्यसो गर्नुको कारण नखुलाए पनि धेरैले २०२५ को 'अफ्रिका कप अफ नेशन्स'को आयोजक र सन् २०३० को फिफा विश्वकपको सहआयोजक भएका कारण त्यसो गरिएको हुन सक्ने ठानेका छन्।
'ह्यूमन सोसाइटी अफ मोरक्को'का संस्थापक तथा 'एनिमल प्रोटेक्शन असोसिएशन अफ मोरक्को'का संयोजक अली इज्दिनी सरकारसँग 'टीएनभीआर' कार्यक्रम नभएको बताउँछन्।
'ह्यूमन सोसाइटी अफ मोरक्को'को अनुमान अनुसार देशमा झन्डै तीस लाख छाडा जनावर छन् र प्रत्येक वर्ष पाँच लाखका दरले मारिँदै छ।
तीमध्ये धेरैलाई सार्वजनिक रूपमै गोली हानिन्छ वा विष दिइन्छ।
यो तरिकाले काम नगर्ने इज्दिनी बताउँछन्। "बचेका छाडा कुकुरहरूले अधिक प्रजजन गर्छन् र तिनले मारिएकाको ठाउँ लिन्छन्।"
इज्दिनीको सङ्गठनले सरकारले हालसालै दुई ठूला फुटबल प्रतियोगिताअघि छाडा कुकुर मार्न ३० लाख मात्रा घातक सुई प्रयोग गर्न आदेश दिएको थाहा भएको जनाएको छ। तर यसको कुनै आधिकारिक स्रोतद्वारा पुष्टि वा घोषणा गरिएको छैन।
हामीले प्रतिक्रियाका निम्ति मोरक्को सरकार, कासाब्लान्का नगरपालिका र माराकेश नगरपालिकालाई सम्पर्क गरेका थियौँ, तर यो सामग्री प्रकाशित हुनुअघि कुनै जबाफ प्राप्त भएन।
कुकुरहरूको सङ्ख्या व्यवस्थापन गर्न थप मानवीय विधि अपनाउन मानिसहरूले गरेको मागबाट उत्पन्न दबावका कारण छाडा कुकुरको विश्वव्यापी व्यवस्थापनमा सुधार देखिएको डाक्टर हिबी बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








