काठमाण्डू उपत्यकामा हजारौँ घरपालुवा र छाडा कुकुर, तिनको मलमूत्र यस्ता रोग फैलिन सक्छन्

तस्बिर स्रोत, Keshav P. Koirala/BBC
बिहान सबेरै प्रभातकालीन भ्रमणमा निस्किएका कैयौँ काठमाण्डूवासीले देख्ने गरेको एउटा दृश्य छ - घरमा पालिएका कुकुरलाई हिँडाउँदै सार्वजनिक स्थलमा शौच गराउने गरिएको।
त्यसबाट धेरैलाई नमिठो अनुभव हुन्छ।
तर अब भने काठमाण्डू महानगरपालिकाले त्यस्तो काम गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको छ।
"जथाभावी त्यसरी कुकुरलाई सार्वजनिक सडक तथा गल्लीमा दिसापिसाब गराउँदा एक त फोहर हुन्छ अर्को त्यसले हानिकारक रोग पनि निम्त्याउँछ," महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्।
उनका अनुसार त्यसैले महानगरपालिकाले आइन्दा त्यस्ता काममा संलग्न हुनेहरूविरुद्ध कारबाही गर्नेछ।
कस्तो कारबाही?
सुरुमा महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबहरूलाई परिचालन गरेर चेतना जगाउने प्रयास गर्ने बताएको छ।
"तर यदि त्यसो गर्दा पनि कुकुरधनीहरू सचेत नभए जरिबाना, कुकुर जफत तथा अन्य कारबाही गर्नेछौँ," डंगोलले बताए।

कस्ता रोग फैलन्छन् कुकुरको मलमूत्रबाट?
केन्द्रीय पशुचिकित्सालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. बलराम थापाका अनुसार कुकुरको मलमूत्रसँग हुन सक्ने लसपसबाट मानिसमा खासगरी परजीवी जुका तथा पाचनप्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिस जस्ता रोग सर्न सक्छन्।
ती रोगमध्ये काठमाण्डूका कुकुरहरूमा धेरैजसो के कस्ता रोग पाइन्छन् त?
पशु चिकित्सकहरूको संस्था नेपाल भेटरिनरी एसोसिएशनका महासचिव डा. ग्रीष्म न्यौपानेका अनुसार खासगरी दुईथरी रोग निकै हानिकारक हुन सक्छन्।
"पहिलो त कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाका अण्डा हुन सक्छन्। कसैगरी मानिसले खानेकुरामा त्यसको लसपस भयो भने त्यसले मानिसका महत्त्वपूर्ण अङ्गहरूमा जस्तै कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित भइदिन्छ। कुनैकुनै अवस्थामा त्यसले जटिल शल्यक्रिया गराउनु पर्ने स्थिति निम्तन्छ," डा. न्यौपानेले बताए।

त्यसबाहेक ह्विपवर्म, हुकवर्म, तथा राउन्डवर्म जस्ता परजीवी पनि सर्न सक्छन्।
"अर्को जोखिमचाहिँ त्यसमा हुन सक्ने ब्याक्टेरियाको सङ्क्रमण पनि हो। त्यसमा पनि सबभन्दा जोखिम चाहिँ लेप्टोस्पाइरोसिसबाट हुन सक्छ। कुकुरको पिसाबबाट यदि खानेपानीको स्रोतमा प्रदूषण हुन पुगेको खण्डमा यसले मानिसलाई गम्भीर असर पुर्याउन सक्छ। यसबाट मिर्गौलामा गम्भीर असरका साथै कसैकसैमा मेनिन्जाइटिस पनि गराउन सक्छ," उनले भने।
छाडा कुकुरलाई के गर्ने?
कसैले नपालेको तर समुदायमा रहने कुकुरको सङ्ख्या काठमाण्डूमा अत्यधिक छ।
महानगरपालिकाका अनुसार यहाँ २६ हजार त्यस्ता भुस्याहा अर्थात् 'सामुदायिक कुकुर' छन्।
तर तिनको दिसापिसाबको व्यवस्थापनबारे भने स्पष्ट नियम अझै पनि छैन।
"तिनको व्यवस्थापनका लागि समुदाय स्वयं र सङ्घसंस्थासँग मिलेर काम गर्ने महानगरको प्रयास छ," महानगरका प्रवक्ता डंगोलले बताए।

तस्बिर स्रोत, Keshav P. Koirala/BBC
त्यस्ता सामुदायिक कुकुरलाई रोगमुक्त गराउने र तिनको सङ्ख्या नियन्त्रण गर्ने अभियान पनि सँगसँगै चलिरहेको उनले बताए।
"महानगरपालिकाले सबै २६ हजार सामुदायिक कुकुरलाई रेबिजको खोप लगाउन तथा तीमध्ये १६ हजार जतिमा बन्ध्याकरण गराउन मनुमित्र नामक संस्थालाई परिचालन गरेर अभियान चलाइराखेको छ," उनले भने।
दीर्घकालीन उपाय के हो?
तर केन्द्रीय पशु चिकित्सालयका प्रमुख डा. बलराम थापा भन्छन् - महानगरपालिका तथा पशु कल्याणमा लागिपरेका सङ्घसंस्थाको अहिलेको प्रयास एकदमै अपर्याप्त छ।

तस्बिर स्रोत, Keshav P. Koirala/BBC
"खालि कुकुरधनीलाई बाटोमा दिसापिसाब नगराइदिनोस् भनेर मात्र पुग्दैन। घरकम्पाउन्डभित्रै पनि जथाभावी दिसापिसाब गराए त्यसले बारीमा भएका सागपातमार्फत् वा अन्य माध्यमबाट फेरि रोग सार्न सक्छ," उनले भने।
यसको दिगो समाधान गर्न मानिसलाई जस्तै यस्ता पशुलाई पनि रोगमुक्त बनाउन व्यापक प्रयास हुनुपर्ने उनले औँल्याए।
"कुकुरमा हुने जुका मार्न नियमित तीनतीन महिनामा औषधि खुवाउने वा अन्य रोगका खोप लगाइदिने जस्ता काम हुन सक्यो भनेमात्र त्यसले दिगो समाधान दिन्छ। हामीवरपर स्वस्थ पशु भएमात्र हामी मानव पनि स्वस्थ रहिरहन सक्छौँ," डा. थापाले बताए।












