मङ्कीपक्स अमेरिकाः सङ्क्रमितको सङ्ख्या बढ्दा खोपको व्यापक अभाव

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकामा स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्सविरुद्ध दिइने खोपको मात्रा ह्वात्तै बढेको तर आफूसँग उक्त खोप पर्याप्त मात्रामा नभएको बताएका छन्।
अमेरिकामा अहिलेसम्म १,८०० जनाभन्दा धेरै व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको छ।
तर निकै कम मानिसले मात्र परीक्षण गराएकाले सङ्क्रमितको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकामा विशेष गरी न्यूयोर्क सहरमा मङ्कीपक्सको प्रकोप फैलिएको देखिन्छ। त्यहाँ सङ्क्रमण फैलिने गतिप्रति चिन्ता व्यक्त गरिएको छ।
सुस्त परीक्षण र रोगको लक्षण देखिन तीन सातासम्म लाग्ने भएकाले अमेरिकामा यो रोग कति फैलिएको छ भने वास्तविक अवस्था स्पष्ट छैन।
यूएस सेन्ट्रर्स फर डिजीज कन्ट्रोलका अनुसार अहिलेसम्म झन्डै ७० देशमा १२,५०० जनाभन्दा बढीमा मङ्कीपक्स सङ्क्रमण भइसकेको छ।

तस्बिर स्रोत, Reuters
छालामा हुने घाउबाट चिनिने यो रोग प्रायः आफैँ निको हुन्छ। तर त्यो प्रक्रिया निकै पीडादायक हुन सक्छ।
मङ्कीपक्सको सङ्क्रमण जसलाई पनि हुन सक्छ। अहिलेसम्म फेला परेका बिरामी पुरुषमध्ये धेरै जना समलैङ्गिक यौन सम्पर्क गर्ने व्यक्ति भएको बताइएको छ।
"यतिबेला हामीलाई चाहिने जति खोप अझै हामीसँग छैन," यूएस सेन्टर्स फर डिजीज कन्ट्रोलकी निर्देशक रोशेल वालेन्स्कीले शुक्रवारको पत्रकार सम्मेलनमा भनिन्।
अमेरिकाले खरिद गरेको कुल ७० लाख मात्रामध्ये अहिलेसम्म तीन लाख ७० हजार हात पारिसकेको छ।
तर दशौँ लाख मात्रा अर्को वर्ष नभईकन आइहाल्ने अवस्था देखिँदैन।
उच्च माग
अमेरिकाको स्वास्थ्य तथा मानवसेवा मन्त्रालयका अनुसार सङ्घीय सरकारले देशभरि एक लाख ५६ हजार मात्रा खोप वितरण गरिसकेको छ र सोमवारबाट थप एक लाख ३० हजार मात्रा खोप वितरणका लागि पठाउँदैछ।
यो साताको सुरुमा हजारौँ मानिसले खोप पाउनका लागि आफ्नो नाम दर्ता गराउन खोज्दा न्यूयोर्क सहरको खोप कार्यक्रमसम्बन्धी वेबसाइटले भार थेग्न सकेको थिएन।।
न्यूयोर्कका स्वास्थ्य आयुक्त आश्विन वसनले अपूर्ण खोप कार्यक्रमका लागि माफी मागेका छन्।
"हामी यसको जिम्मेवारी लिन्छौँ। गल्तीहरू फेरि दोहोरिनु हुँदैन र हामी त्यसलाई सच्याउन र अझ राम्ररी काम गर्न लागि परेका छौँ," उनले पत्रकार सम्मेलनमा भने।
मङ्गलवार बाइडन प्रशासनका अधिकारीहरूसँगको संवादमा न्यूयोर्कका नगरप्रमुख एरिक एडम्सले महानगरलाई थप मात्रा खोप सुनिश्चित गर्न आग्रह गरे।
"कोभिडकै बेलाझैँ समस्या"
एक महिनाअघि अमेरिकामा केलव ४५ जनामा यो रोग देखा परेको थियो।

तस्बिर स्रोत, Getty Images
"हामीसँग अझै परीक्षण सुविधा र खोपको समस्या छ। यस्तो समस्या हामीले कोभिडका बेला सामना गरेका थियौँ," येल स्कूल अफ पब्लिक हेल्थमा एपिडेमिओलजीका सहायक प्राध्यापक ग्रिग गोन्साल्भेसले काइजर हेल्थ न्यूजलाई गत साता भने।
"अहिले नियन्त्रण गर्न सकिने सम्भावना घट्दै गइरहेको छ।"
अमेरिकाले डेनमार्कमा उत्पादित ११ लाख मात्र जेनिओस खोप ल्याएको थियो।
अधिकारीहरूले डेनिश प्लान्टको अनुगमन भइसकेको जनाउँदै लाखौँ मात्रा खोप छिट्टै अमेरिका भित्रिने अपेक्षा व्यक्त गरेका छन्।








