मङ्कीपक्स: यसको बारेमा चिन्ता गर्नु पर्छ कि पर्दैन?

मङ्कीपक्स भाइरस

तस्बिर स्रोत, Science Photo Library

कोभिड महामारीको असरबाट अझै मुक्त हुनु भएको छैन भने एउटा नयाँ भाइरसको चर्चा सुरु हुँदा दिक्क लाग्ने अवस्था भएको छ।

यो पटकको भाइरस भने मङ्कीपक्स हो र १४ देशमा यसका ८० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ।

यो भाइरस यसअघि अफ्रिकाबाहिर बिरलै देखिएको थियो।

कोभिड महामारी लगत्तै अर्को महामारीको डर बढेको हो र?

यस्तो सोचिरहनु भएको छ भने एउटा कुरामा स्पष्ट हुन सकिन्छ: मङ्कीपक्स अर्को कोभिड होइन र यसलाई रोक्न लकडाउन जस्तो प्रतिबन्धात्मक व्यवस्था गर्नु पर्दैन।

तर थाहा पाउने पर्ने कुरा के हो भने यो भाइरस यो पटक असामान्य रूपमा देखा परेको छ जसले यो रोगका बारेमा अध्ययन गरिरहेका वैज्ञानिकहरू समेत चकित परेका छन्।

मङ्कीपक्स भाइरस जङ्गली जनावरमा हुन्छ जुन बाँदरभन्दा पनि धेरै मुसामा भएको मानिन्छ।

अफ्रिकामा बढी देखिने भाइरस अहिले यूके र युरोपमा देखिएको छ जहाँ यो एकबाट अर्को व्यक्तिमा सर्न सङ्घर्ष गरिरहेको छ। त्यसैले अहिलेसम्म यो थोरै सङ्ख्यामा देखिएको छ।

यसअघि अफ्रिकासँग स्पष्ट सम्पर्क देखिने व्यक्तिहरूमा मात्रै देखिने मङ्कीपक्स यसपटक भने अन्यमा पनि देखा परेको छ। र यो कसरी भइरहेछ भन्ने स्पष्ट भने छैन।

अहिले देखिएका धेरै सङ्क्रमणमा मङ्कीपक्स यौन सम्पर्कको समयमा सरेको जस्तो देखिन्छ र धेरै जसो सङ्क्रमितहरूको गुप्त अङ्गनजिक डाबर देखिएका छन्।

"हामी नयाँ अवस्थामा छौँ र यो अचम्भित र चिन्तित पार्ने खालको भने छ," अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक सर पिटर होर्बी भन्छन्।

मङ्कीपक्स भएको बालक

तस्बिर स्रोत, SPL

तस्बिरको क्याप्शन, मङ्कीपक्स हुँदा जीउमा डाबर आउँछ (फाइल तस्बिर)

होर्बी यो कोभिड-दुई नभएको तर यसको सङ्क्रमण रोक्न कदम चाल्नु पर्ने अवस्था भएको भने रहेको बताउँछन्।

अहिलेसम्म नेपालमा मङ्कीपक्स देखिएको छैन तर यो फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ।

मङ्कीपक्स के हो?

बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ।

यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन।

यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए।

यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्: मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट।

पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ।

मङ्कीपक्स

तस्बिर स्रोत, Reuters

यसका लक्षणहरू के-के हुन्?

सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्।

केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ।

बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ।

कसरी सर्छ?

मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ।

यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ।

अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ।

सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ।

मङ्कीपक्स

तस्बिर स्रोत, UKHSA

यो कति खतरनाक छ?

धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ।

तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ।

के समलिङ्गी बढी जोखिममा छन्?

यूकेमा सङ्क्रमितमध्ये केही समलिङ्गी भएका कारण यो समलिङ्गीमा बढी हुने रोग हो कि भन्ने प्रश्न उठेका छन्।

तर यो सङ्क्रमित जोकोही व्यक्तिको नजिक सम्पर्कमा हुने जोकोहीलाई पनि सर्न सक्छ।

यूके र युरोपमा अहिलेका सङ्क्रमितहरू बढी समलिङ्गी भएका कारण उनीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

मङ्कीपक्स भाइरस

तस्बिर स्रोत, Science Photo Library

मङ्कीपक्स फैलिनु कति असामान्य हो?

थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ।

सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो।

त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन।

सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए।

मङ्कीपक्स

तस्बिर स्रोत, Getty Images

मङ्कीपक्सको उपचार के हो?

सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ।

बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ।

भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्।

के महामारी बन्ला?

यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्।

नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्: "सङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।"

"यो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप

नेपालको अवस्था के छ?

अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन।

यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ।

नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए।

"सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन," लालले भने।

लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्।

"अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ," उनले भने।