नेपाल: अहिले कुन-कुन भाइरस सक्रिय भएर हाम्रो स्वास्थ्यलाई चुनौती दिइरहेका छन्?

तस्बिर स्रोत, RSS
पछिल्ला केही साता कोभिड सङ्क्रमणदर उच्च रहँदा उस्तै लक्षण देखिने अन्य भाइरसबाट हुने सङ्क्रमण पनि बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या कोरोनाभाइरसको सङ्क्रमणका लक्षण हुन् तर पछिल्लो समय धेरै बालबालिका सङ्क्रमित भएको एडिनोभाइरसका लक्षणहरू पनि उस्तै छन्।
सबै उमेर समूहका मानिसहरूलाई लक्षण देखिने कोरोनाभाइरस र बालबालिकालाई सताउने एडिनोभाइरसबाहेक उस्तै लक्षण देखा पर्ने डेङ्गी सङ्क्रमण पनि नेपालका केही जिल्लामा देखिएको छ।
नेपालमा हरेक वर्ष वर्षा याममा फैलने डेङ्गीबाट पनि विगत सात महिनामा ९०० जना सङ्क्रमित भइसकेका छन्।
यस बाहेक मलेरिया, निपा भाइरस र स्क्रब टाफइसको सङ्क्रमण पनि नेपालमा फाट्टफुट्ट देखा पर्ने गरेको छ।
स्वास्थ्य अधिकारीहरूले दक्षिण अफ्रिका युरोप र अमेरिकासम्म फैलिइसकेको र छिमेकी भारतसम्म आइपुगेको मङ्कीपक्स नेपालमा पनि देखा पर्ने जोखिम उच्च रहेको भन्दै सचेत पनि गराएका छन्।
नेपालमा अहिले कुन-कुन भाइरस सक्रिय छन् र तिनको लक्षण के-के हुन्?
कोरोनाभाइरस
नेपालमा सन् २०२० बाट देखिएको कोरोनाभाइरस उत्परिवर्तन हुँदै आएको ओमिक्रोन भेरिअन्ट पछिल्लो एक वर्षयता नेपालमा सक्रिय छ।
यसका विभिन्न उपप्रजाति सक्रिय भएपछि विगत एक महिनायता कोभिड सङक्रमणदर उच्च देखिएको छ।
ओमिक्रोन भेरिअन्टका लक्षणहरूमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने (मध्यम वा गम्भीर), हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता छन्।
“ओमिक्रोन रुघाखोकीसँग मिल्दोजुल्दो लक्षण लिएर आयो। जसकारण यो मौसमी फ्लूसँग अझै बढी झुक्किने किसिमको भइदियो,” टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन भन्छन्।

पछिल्लो समय कोभिड सङ्क्रमणदार १७ प्रतिशत छ भने अहिले पाँच हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार मनाङ, कालिकोट र हुम्ला बाहेकका सबै जिल्लामा कोभिडका सङ्क्रमित छन्।
खोपका कारण नियन्त्रण गर्न सहज हुने भनिए पनि नेपालमा ७१ प्रतिशतले मात्र पूर्ण मात्रामा कोभिड खोप लगाएका छन्।
एडिनोभाइरस
बालबालिकामा देखिने यो भाइरस आफैँ नियन्त्रण हुने सेल्फ लिमिटिङ समूहको भाइरस भएको विशेषज्ञहरू बताउँछन्।
यसको छुट्टै निगरानी गर्ने नेपालमा प्रणाली नभए पनि केही केही साताअघि कान्ति बाल अस्पतालमा यस्तो भाइरसबाट सङ्क्रमित बालबालिकाहरूको ठूलो सङ्ख्या पाइएको थियो।
जुलाईको अन्त्यतिर उक्त अस्पतालमा दैनिक ९०० देखि १,००० जनासम्म उक्त भाइरस सङ्क्रमणको लक्षण देखिएका बिरामीहरू उपचारका लागि आएको अस्पतालले जनाएको थियो।
नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. गणेश राईका भनाइमा एडिनोभाइरस लागेपछि रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ।

तस्बिर स्रोत, KANTI HOSPITAL
"यसका अधिकांश लक्षणहरू कोरोनाभाइरससँग मिल्दाजुल्दा छन्। तर यसमा अरूभन्दा फरक लक्षण भनेको बालबालिकाको आँखा पाक्ने हो," उनले भने।
यस्तो सङ्क्रमण भएमा ज्वरो आएको तीनदेखि पाँच-छ दिनमा ज्वरो निको हुन्छ। कतिपयमा निमोनिया हुने र नाक तथा कान पाक्ने पनि हुने गर्छ।
यो भाइरसका कारण देखिने रुघाखोकी आठदेखि १० दिनमा र आँखा पाक्ने १० दिन जतिमा निको हुन्छ।
डेङ्गी
दिउँसो सक्रिय हुने लामखुट्टेबाट फैलने डेङ्गीका लक्षण पनि कोभिडसँग मिल्दोजुल्दो ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान महसुस हुने छन्।
विगत केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा जुलाईबाट सेप्टेम्बरबीचमा डेङ्गीको धेरै सङ्क्रमण हुने गरेको छ। यो पटक कोभिडको सङ्क्रमण पनि यही समयमा उकालो लागेको छ।
यसकारण मानिसहरू झुक्किने जोखिम थप बढेको अधिकारीहरू बताउँछन्।
“अगस्टको सुरुसम्मको विवरण हेर्दा गत वर्षको तुलनामा यो वर्ष अझै बढेको देखिन्छ। पानी पर्ने क्रम जारी रहेकाले अझै बढ्न सक्ने सम्भावना आकलन गर्न सकिन्छ,” इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका गोकर्ण दाहालले भने।
महाशाखाका अनुसार गत ज्यानुअरीयता नेपालमा ६० वटा जिल्लाका ९०४ जनामा डेङ्गी सङ्क्रमण भएको छ। जसमध्ये ७५ प्रतिशत सङ्क्रमित लुम्बिनी र बाग्मती प्रदेशका १० वटा जिल्लामा भएका छन्।
मङ्कीपक्सको जोखिम
कोरोनासँग मिल्ने लक्षण भएका अन्य सङ्क्रमणहरू पनि नेपालमा पाइएका छन्।
एचवन एनवन भाइरसका कारण निम्तिने स्वाइन फ्लूसमेत नेपालमा समय-समयमा देखा पर्ने गरेको छ।
त्यस्तै एक प्रकारको किर्नाको टोकाइबाट सङ्क्रमण फैलने स्क्रब टाइफस र 'फ्रूट ब्याट' भनिने एक प्रकारको चमेरोमा पाइने एनआईभीबाट सर्ने निपा भाइरसको पनि जोखिममा नेपाल छ।
नेपालसँग खुला सिमाना रहेको छिमेकी देश भारतमा समेत आइसकेको मङ्कीपक्स नेपालमा पनि देखा पर्नसक्ने जोखिम उच्च रहेको अधिकारीहरू बताउँछन्।

मङ्कीपक्स रोकथामका लागि खोपहरू पनि विकास नभइसकेको र विदेशबाट आउनेहरूमा पनि परीक्षण गर्न कठिन भएका कारण यसको जोखिम उच्च रहेको जानकारहरू बताउँछन्।
नेपालले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा शङ्का लागेका व्यक्तिहरूमा निगरानी गर्ने व्यवस्था गरे पनि स्थलमार्गबाट आउनेहरूमा निगरानीको समेत व्यवस्था छैन।
“हामीले परीक्षण गर्ने भनेको पनि ज्वरो छ वा छैन भन्ने हो। कसै कसैलाई परीक्षणको बेला ज्वरो नआएको हुनसक्छ। कसैको जीउमा खटिरा छ वा छैन भन्ने कुरा हेर्ने कुरा हुँदैन। कतिपयलाई हेर्न नमिल्ने ठाउँमा पनि खटिरा आएको हुनसक्छ,” इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दास भन्छन्।
मङ्कीपक्सको शङ्का लागे अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण सुरु गरिसकिएको अधिकारीहरू बताउँछन्।
यस्तो सङ्क्रमणको शङ्का लागे छाला तथा चर्म रोग विशेषज्ञहरूसँग परामर्श लिएर परीक्षण गर्न अधिकारीहरू सल्लाह दिन्छन्।
'परीक्षण नगरी थाहा हुन्न'

धेरै भाइरसहरू सक्रिय हुँदा मानिसहरू बिरामी परेको अवस्थामा आफूलाई के भएको अनुमान लगाउन कठिन हुन्छ।
परीक्षण गर्ने बित्तिकै पहिचान, उपचार र रोकथाम सहज हुने विज्ञहरूको धारणा छ।
स्वास्थ्यकर्मीहरूलाई पनि लक्षणका आधारमा रोग पहिचान गर्न मुस्किल हुने भएकाले यसका लागि पहिचान आवश्यक हुने टेकु अस्पतालका डा. पुन बताउँछन्।
“उपचार गर्न पनि के भएको हो थाहा हुनुपर्यो। उपचारसँगै सर्ने सङ्क्रमण भएकाले अरूलाई सर्न नदिने होसियारी पनि अपनाउन सकियो,” पुन भन्छन्।
अनावश्यक औषधि प्रयोग नगर्न पनि परीक्षण आवश्यक रहेको उनको सुझाव छ।
“परीक्षण नगरी औषधी प्रयोग गर्दा यो होला कि त्यो होला भन्दै कहिलेकाहीँ अनावश्यक रूपमा धेरै औषधि लिइन्छ। त्यसले आर्थिक रूपमा पनि राम्रो भएन, शरीरलाई पनि अनावश्यक भार भयो र त्यसको असर पनि हुनसक्ने भयो,” डा. पुन भन्छन्।










