एडिनोभाइरस नेपाल: बालबालिकालाई सिटामोल दिँदा पनि 'ज्वरो नघट्ने' यो कस्तो सङ्क्रमण हो? कसरी जोगिने?

तस्बिर स्रोत, Getty Images
काठमाण्डू उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनोभाइरस सङ्क्रमण फैलिएको देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
उपत्यकास्थित कान्ति बाल अस्पताल गएका केही बिरामी बालबालिकाबाट सङ्कलित नमुनामध्ये अधिकांशमा उक्त भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार उक्त स्वास्थ्य संस्थाबाट सङ्कलन गरी पठाइएका १३ मध्ये १२ बटा नमुनामा एडिनोभाइरस पुष्टि भएको छ।
बालरोग विशेषज्ञले बालबालिकामा लाग्ने उक्त रोगबाट जोगिन "कोरोनाभाइरसबाट बच्न अपनाएका जस्तै" सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।
के छ अहिलेको अवस्था?
कान्ति बाल अस्पतालका निर्देशक डा. बसौलाका अनुसार उक्त अस्पतालमा दुई-तीन सातादेखि ज्वरो भएर आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको थियो।
"ज्वरोका बिरामी बढेका थिए तर सिटामोल खुवाउँदा पनि ज्वरो कम भएको थिएन। बिरामी बढेकाबढ्यै थिए। त्यसैले हामीले उक्त कुरा इपिडिमियोलोजी महाशाखालाई भन्यौँ।"
"उहाँहरूले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन भन्नुभयो। हामीले १३ वटा नमुना पठाएका थियौँ। मङ्गलबार साँझ १३ मध्ये १२ वटामा एडिनोभाइरस पाइएको रिपोर्ट आयो।"

तस्बिर स्रोत, Kanti Hospital
पठाइएका नमुनामध्ये तीनवटामा इन्फ्लूएन्जा पनि देखिएको उनले बताए।
डा. बसौलाका अनुसार अहिले कान्ति बाल अस्पतालमा दैनिक ९०० देखि १,००० जनासम्म उक्त भाइरस सङ्क्रमणको लक्षण देखिएका बिरामीहरू उपचारका लागि आउने गरेका छन्।
तर अधिकांश बिरामीहरू अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका नरहेको उनको भनाइ छ।
के हो एडिनोभाइरस?
विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा सङ्क्रामक विषाणु हो। त्यसले रुघाजस्तो समस्या उत्पन्न गरारउँछ।
यो जुनसुकै उमेर समूहका बालबालिकामा लाग्न सक्ने उनीहरूको भनाइ छ। तर प्राय: शिशु र कम उमेरका बालबालिकालाई यसले सताउँछ।

तस्बिर स्रोत, Getty Images
कतिपय शोधहरूले १० वर्षमुनि प्रत्येक बालबालिकालाई कम्तीमा एक पटक यो भाइरसको सङ्क्रमण भएको हुन सक्ने देखाएका छन्।
एडिनोभाइरसका विभिन्न प्रकार छन्।
त्यसैले एक पटक सङ्क्रमण हुँदा विकसित प्रतिरोध क्षमताले अर्को खालको एडिनोभाइरसले सङ्क्रमण गर्दा काम नगर्न सक्ने बताइन्छ।
नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार यो "धेरै कडा" भाइरस होइन।
तर प्रतिरोध कमजोर भएका बालबालिकालाई यसको असरले निमोनिया, मुटुको समस्यालगायतका अन्य जोखिम निम्त्याउन सक्छ।
कस्ता लक्षण देखिन्छन्?
डा. राईका भनाइमा एडिनोभाइरस लागेपछि रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ।
"यसका अधिकांश लक्षणहरू कोरोनाभाइरससँग मिल्दाजुल्दा छन्। तर यसमा अरूभन्दा फरक लक्षण भनेको बालबालिकाको आँखा पाक्ने हो," उनले भने।
यस्तो सङ्क्रमण भएमा ज्वरो आएको तीनदेखि पाँच-छ दिनमा ज्वरो निको हुन्छ।
त्यस्तै रुघाखोकी आठदेखि १० दिनमा र आँखा पाक्ने १० दिनजतिमा निको हुन्छ।
"यो रुघाखोकीभन्दा कडा तर इन्फ्लूएन्जाभन्दा कमजोर खालको भाइरस हो," उनले भने।

तस्बिर स्रोत, Reuters
तर बिरामीलाई थप समस्या पनि देखिन सक्ने डा. राईले जानकारी दिए।
कतिपयमा निमोनिया हुने र नाक तथा कान पाक्ने पनि हुने गर्छ।
भाइरस सरेको दुई-तीन दिनदेखि एक सातासम्मका लक्षणहरू देखिन थाल्ने चिकित्सकहरूको भनाइ छ।
तर यसको मृत्युदर निकै कम भएकाले धेरै डराउनु नपर्ने डा. राईले बताए।
सावधानी कसरी अपनाउने?
चिकित्सकहरूका भनाइमा "कोभिडबाट जोगिन" अवलम्बन गरिएका जस्तै सुरक्षात्मक उपायले एडिनोभाइरसको सङ्क्रमण हुनबाट जोगाउन सक्छ।
डा. बसौला भन्छन्, "बच्नका लागि रोग लागेकालाई छुट्टै राख्नुपर्छ। मास्क लगाउने र सामाजिक दूरी कामय गर्नुपर्छ।"
"कोभिडका लागि जे सावधानी अपनाइएको थियो त्यो सावधानी अपनाइएमा हामी बालबालिकालाई यो सङ्क्रमणबाट बचाउन सक्छौँ।"
नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. राईका भनाइमा यो भाइरसबाट वयस्कहरूमा पनि आँखा पाक्ने समस्या हुन सक्छ।
सङ्क्रमणबाट बच्न सरसफाइमा ध्यान दिने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, "यो पनि कोरोनाभाइरसजस्तै श्वासप्रश्वासका माध्यमबाट, थुकको छिटाबाट सर्ने गर्छ। त्यसैले कोभिडका लागि अपनाएका सावधानी जारी राख्नु उचित हुन्छ।"
यस्तो सङ्क्रमण भएमा बालबालिकालाई झोल कुराहरू खुवाउने तथा ज्वरो कम गर्ने औषधि दिनुपर्ने उनले बताए।
साथै सङ्क्रमित बालबालिकाको नाक बन्द हुन नदिन
यो पनि हेर्नुहोस्














