लाम्खुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको 'मृत्यु'

तस्बिर स्रोत, FAMILY PHOTO
लाम्खुट्टेले टोकेपछि मस्तिष्कसम्म सङ्क्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको उनको मृत्युबारे गरिएको अनुसन्धानमा देखिएको छ।
बेल्जियममा लाम्खुट्टेले टोकेको पाँच दिनपछि सफोकस्थित बरी अफ सेन्ट एडमन्ड्सकी २१ वर्षीया ओरिआना पेपरको गत वर्ष जुलाईमा मृत्यु भएको थियो।
सफोकका वरिष्ठ कोरनर नाइजल पार्स्लीले पेपरको मृत्युलाई "दुर्भाग्यपूर्ण" भनेका छन्। उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष उनले अदालतमा पेस गरेका छन्।
ती युवती अक्सफर्डको ईजीजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको कुरा सफोकको कोरनर कोर्टको सुनुवाइमा बताइएको छ।
लाम्खुट्टेले उनको निधारमा दाहिने आँखानिर टोकेको थियो।
त्यो ठाउँ सुन्निएको र त्यहाँ सङ्क्रमण भएको देखिएपछि उनीलाई जुलाई ७ मा अस्पतालको आकस्मिक कक्षमा गएकी थिइन्।
पेपरलाई एन्टिबायोटिक औषधि दिइएको थियो। तर दुई दिनपछि उनी बेहोस भएपछि उनलाई प्रेमीले अस्पताल लगेका थिए।
उनको तीन दिनपछि जुलाई १२, २०२१ मा अस्पतालमै मृत्यु भयो।
त्यतिबेला मस्तिष्कमा 'सेप्टिक एम्बोली' का कारण उनको मृत्यु भएको भनिएको थियो।
स्ट्याफाइलोकोकस अरियस नामक ब्याक्टेरियाको सङ्क्रमणमा रक्तनलीमा अवरोध हुँदा सेप्टिक एम्बोली हुन्छ। निधारमा कीराको टोक्दा पनि त्यस्तो विषाक्त अवस्था उत्पन्न हुन सक्छ।
मातापिताको भनाइ
पार्स्लीले अनुसन्धानको निष्कर्ष दर्ता गराउँदै पेपरको "निधारमा कीराको टोकाइबाट हुने गम्भीर सङ्क्रमणका कारण" मृत्यु भएको बताए।
"मैले यस्तो घटना पहिले कहिल्यै देखेको थिइनँ," उनले भने।
सुनुवाइका क्रममा एउटा लिखित बयान पढ्दै पेपरका पिता ट्रिस्टनले छोरीले आफू र भाइ ओलिभरसँग विमान उडाउन जान पाउँदा निकै रमाउने गरेको बताए। उनका भाइ पनि प्रशिक्षार्थी विमानचालक हुन्।
"उनले आफूले मन पराउने कसैलाई भेटेकी थिइन्, उनी व्यावसायिक विमानचालक बन्नको लागि तालिममा थिइन् र आफ्नो सपना पूरा गरिरहेकी थिइन्," ट्रिस्टनले भने।
उनकी आमा लुइसाले सुनुवाइपछि "अन्य महिला विमानचालकहरूलाई प्रोत्साहन गर्न सानो छात्रवृत्ति"को स्थापना गरिएको बताएकी छन्।
त्यो ब्रिटिश महिला विमानचालकहरूको सङ्घसँग मिलेर पेपरको सम्झनामा स्थापना गरिएको हो।
यो पनि हेर्नुहोस्










