के विमानको मलमूत्र आकाशबाट खस्न सक्छ र हामीले त्यस्तो बेहोर्ने सम्भावना कस्तो छ?

सूर्य अस्ताउँदै गरेको रमणीय दृष्यबीच अवतरण गर्दै गरेको एक विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सूर्य अस्ताउँदै गरेको दृष्यबीच अवतरण गर्दै गरेको एक विमान

संयुक्त अधिराज्यको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो घटना भयो।

उनीमाथि र बगैँचाभर एउटा विमानबाट खसालिएको मानव मलमूत्र 'नरमाइलो तरिकाले छरपस्ट भयो।'

त्यो घटना गत जुलाई महिनाको मध्यतिर भएको थियो। तर अहिले स्थानीय तह- काउन्सिलको बैठकमा छलफल भएपछि बल्ल त्यो घटना चर्चामा आएको छ।

द रोयल बरो अफ विन्सर एन्ड मेडनहेड्स एभिएशन फोरमको बैठकमा बोल्दै काउन्सिलर क्यारन डेभिसले आफूलाई एक जना स्थानीय बासिन्दाले सम्पर्क गरेर कसरी उनको बगैँचा, बगैँचामा राखेको ठूलो छतरी र उनी आफैँ मलमूत्रमा परे भन्ने घटना बारे जानकारी दिएको बताइन्।

त्यस्तो घटना कसरी हुन पुग्यो र के अब हामीले आकाशमा के हुँदैछ भनेर समेत विचार गर्नु पर्ने भएको हो?

के भएको थियो?

हिथ्रो विमानस्थलमा अवतरण गर्ने विमानहरू नियमित रूपमा विन्सर हुँदै जान्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिथ्रो विमानस्थलमा अवतरण गर्ने विमानहरू नियमित रूपमा विन्सर हुँदै जान्छन्

ती व्यक्ति विन्सर भन्ने शहरमा बस्छन्। त्यही बाटो हुँदै विमानहरू लन्डनको पाँचमध्ये सबभन्दा ठूलो विमानस्थल हिथ्रोतर्फ लाग्छन्।

"हरेक वर्ष विमानबाट हिउँ झैँ जमेको मलमूत्र झर्ने घटनाहरू हुने गरेको मलाई थाहा छ," डेभिसले भनिन्, "तर यो घटना त असाध्यै नरमाइलो तरिकाले भएको पाइयो।"

"उनी आफ्नो बगैँचामै भएका बेला त्यस्तो हुनु त असाध्यै नराम्रो अनुभव भयो। शायद त्यस्तो फेरि कसैलाई नहोला।"

अर्का काउन्सिलर जन बाउडेनले त्यसलाई 'एक अर्बमा एक पटक हुनसक्ने सम्भावना भएको' घटना भनेका छन्।

न्यानो मौसमका कारण पनि त्यो मलमूत्र त्यसरी तरल अवस्थामा तल झरेको हुनसक्ने उनी ठान्छन्।

कसरी भयो?

विमानका शौचालयमा जम्मा हुने मलमूत्र विशेष ट्याङ्कमा जम्मा हुन्छ जुन विमान अवतरण गरेपछि खाली पारिन्छ।

तर अन्तर्राष्ट्रिय उडान सम्बन्धी अधिकारीहरू त्यस्ता ट्याङ्की विमान आकाशमै हुँदा कहिलेकाहीँ चुहिने स्विकार्छन्।

बीबीसी रेडियो बर्कशायरले उडान विज्ञ जुलियन ब्रेसँग कसरी त्यस्तो चुहावट हुन सक्छ? भनेर सोधेका थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यस्त राजमार्गमा विमान ओर्लिएपछि...

ब्रेले भने, "आधुनिक विमानमा भ्याक्युम शौचालय हुन्छन् ती निकै सुरक्षित र राम्रोसँग बन्द गरिएका हुन्छन्। शौचालय प्रणाली र जम्मा हुने ट्याङ्कबीचको भ्याक्युम जोर्नीमा भने समस्या आउन सक्छ।"

"विमान चलिरहँदा विभिन्न प्रकारका चाप विकास हुने भएकाले त्यहाँ केही लचक बनाउनुपर्ने हुन्छ जसले गर्दा सील गर्ने ठाउँ कहिलेकाहीँ शत प्रतिशत बन्द नहुन सक्छ।"

"विमान जमिनतर्फ अवतरणका लागि झर्दै गर्दा उदाहरणका लागि ६,००० फीटमा पुग्यो भने हावाको चाप परिवर्तन हुन्छ। त्यसैबेला विमानको मलमूत्र ट्याङ्की चुहिन्छ। दुर्भाग्यवश ती व्यक्ति त्यो बेला बगैँचामा रहेछन्। र उनको बगैँचामा भएका दुई छातासहित सबैमा मलमूत्र पर्यो।"

यस्ता घटना कति हुने गरेका छन?

फजिलपुर बदली गाउँमा ठूलो आवाज निकाल्दै १०-१२ किलोको उक्त हिउँ जमेको डल्लो खसेको थियो।

तस्बिर स्रोत, GURGAON POLICE

तस्बिरको क्याप्शन, भारतको फजिलपुर बदली गाउँमा ठूलो आवाज निकाल्दै १०-१२ किलोको उक्त हिउँ जमेको डल्लो खसेको थियो

"यो असाध्यै दुर्लभ घटना हो। पहिले पहिले यस्ता घटना निकै हुन्थे। त्यसलाई 'ब्लु आइस' भन्ने गरिन्थ्यो," ब्रेले भने।

ब्लु आइस खसेको घटना देखेका आइभर नगरका पलले बीबीसी रेडियो बर्कशायरलाई यस्तो बताए:

"म प्रिन्सेस मार्गरेट अस्पतालबाट बाहिर आउँदै थिएँ। हिथ्रोतर्फ गइरहेको एअर क्यानडा जेट निकै तल झरिसकेको थियो। मेरो बाह्र फीट जति अगाडि शौचालयको जमेको मलमूत्र एउटा रुखका हाँगाहरूमा ठक्कर खाँदै खस्यो।"

पल आफू जीवित रहेकोमा भाग्यमानी ठान्छन्। र बर्कशायरका ती व्यक्तिले पनि आफूलाई भाग्यमानी ठान्नुपर्ने बताउँछन्।

"यदि जमेको मलमूत्र खसेको भए त त्यसले उनलाई ठहरै पार्न सक्थ्यो।"

ब्रिटेनको सिभिल एभिएशन अथरिटीले बीबीसीलाई सन् २०१६ मा हरेक वर्ष यूकेमा हुने २५ लाख उडानमध्ये २५ वटा जतिबाट ब्लु आइस झर्ने गरेको बताएको थियो। र यस्तो यूकेमा मात्र नभएर जहाँ पनि भइरहेको हुन्छ।

अन्तर्राष्ट्रिय घटनाहरू

अमेरिकाको पेन्सलभेनियामा पार्टी गरिरहेका मानिसहरूमाथि त्यस्तै मलमूत्र खसेको रिपोर्ट गरिएको थियो।

लेभिटटाउनका जो क्याम्ब्रेले स्थानीय टेलिभिजन स्टेशनलाई आफ्नी झडकेली छोरीको १६ वर्ष पुगेको अवसरमा गरिएको पार्टीमा नराम्रो बस्तुको वर्षा भएपछि पार्टी नै खल्लो भएको बताए।

सन् २०१८ मा भारतको हरियाणा राज्यमा पनि त्यस्तै जमेको मलमूत्रको डल्लो खसेको थियो।

फजिलपुर बदली गाउँमा ठूलो आवाज निकाल्दै १०-१२ किलोको उक्त हिउँ जमेको डल्लो खसेको थियो।

एक जना वरिष्ठ स्थानीय अधिकारीले बीबीसीलाई भने - "यहाँका केही बासिन्दाले त्यसलाई अर्कै लोकको बस्तु भन्ठानेका थिए। त्यसको केही अंश कोट्याएर उनीहरूले घर लगेका थिए भन्ने पनि सुनेको छु।"

टाइम्स अफ इन्डियामा सन् २०१५ को डिसेम्बर महिनामा एक महिलालाई 'ब्लु आइस' खसेर चोट लागेको रिपोर्ट गरिएको थियो।

अर्को घरको छतमा खसेर ती महिलामा ठोक्किन आइपुगेको भएर मात्र उनलाई पाखुरामा गम्भीर चोट लाग्यो नत्र मारिन पनि सक्थिन् भन्ने उक्त समाचारमा उल्लेख छ।

नयाँ खबर

ब्रेका अनुसार अधिकारीहरूले विमानस्थल पुग्ने बाटो फेरिरहेका छन् त्यसैले विन्सरका ती बासिन्दाका लागि त्यो राम्रो समाचार हुन सक्छ। तर अरू कैयौँका लागि भने त्यो खतरा रही नै रहन्छ।

"अहिलेसम्म एउटा विमानले अर्कोलाई पछ्याउने गरी 'लिनियर' प्रणालीमा अवतरण गरिन्थ्यो। तर अब 'फनल सिस्टम' भनेर अर्कै तरिकाले अवतरण गर्ने प्रणाली आउँदैछ। त्यसो हुँदा खतरा एक ठाउँमा केन्द्रित नभएर विभिन्न स्थानमा फैलिएको हुनेछ," ब्रेले भने।

विन्सरका ती व्यक्तिले क्षतिपूर्ति दाबी गर्न सक्ने पनि ब्रेले बताए।

अवतरणका लागि एउटा विमानले अर्कोलाई पछ्याउने गर्छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अवतरणका लागि एउटा विमानले अर्कोलाई पछ्याउने गर्छन्

अहिलेसम्म उक्त विमान सेवाको नाम बीबीसीलाई बताइएको छैन।

तर डेभिसका अनुसार ती बासिन्दाले विमान सेवालाई सम्पर्क गर्दा त्यसबेला आफूहरूको विमान त्यो बाटोमा नभएको बताएको थियो।

ती व्यक्तिले रुट ट्र्याकिङ नक्सामार्फत् विमानबारे बताएपछि विमान सेवा कम्पनीले पनि पुष्टि गरेको थियो।

अर्का बासिन्दा एन्ड्रु हलले ती प्रभावित व्यक्तिले क्षतिपूर्ति पाउनुपर्ने विचार काउन्सिलको भर्चुअल बैठकमा राखे।

"पानी कम्पनीहरूले नदीमा ढल मिसाएको भनेर दशौँ लाख हर्जाना तिराइन्छ। जब एउटा विमान सेवा कम्पनीले मानिसको टाउकोमा खस्ने गरी मलमूत्र फ्याँक्छ, त्यो त झन् नराम्रो काम भयो," उनले भने।

तर डेभिसका अनुसार ती व्यक्तिले कुनै पनि बिमा दाबी गरेका छैनन्। बीबीसीले यूकेको सिभिल एभिएशन अथरिटीसँग प्रतिक्रिया मागेको कैयौँ दिन भए पनि प्रतिक्रिया प्राप्त भएको छैन।