स्ट्र्याटोलन्च: विश्वको 'सबैभन्दा ठूलो विमान' पहिलो चोटि उड्यो
पखेटाको फैलाइलाई आधार मान्दा संसारको सबैभन्दा ठूलो विमानले पहिलो चोटि उडान गरेको छ।

तस्बिर स्रोत, Reuters
यसको निर्माण स्ट्र्याटोलन्च कम्पनीले गरेको हो र यसबाट उड्दाउड्दै भूउपग्रह प्रक्षेपण गर्न सकिन्छ।
माइक्रोसफ्टका सहसंस्थापक पोल एलनले सन् २०११ मा स्ट्र्याटोलन्चको स्थापना गरेका थिए।
पृथ्वीको अक्षमा भू-उपग्रह प्रक्षेपण गर्नुअघि यो विमानलाई १० किलोमिटर उडाइन्छ।
यसको विङ्स्प्यान अर्थात् एउटा पखेटाबाट अर्को पखेटाबीचको दुरी एक सय १७ मिटर छ। अर्थात् यो दुरी एउटा अमेरिकन फुटबल मैदानको लम्बाइजत्तिकै छ।
यो प्रयोग सफल भयो भने अन्तरिक्षमा भू-उपग्रह पठाउन जमिनबाट रकेट प्रक्षेपण गर्नुभन्दा विमान नै सस्तो पर्नेछ।
आफ्नो पहिलो उडानमा सो ट्विन-फ्युजलाज अर्थात् दुईवटा विमान जोडेर एउटै बनाइएको विमान चार हजार पाँच सय ७२ मिटर उड्यो र यसको गति २७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो।
यसमा छवटा इन्जिन छन्।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters
पहिलो उडानबाट फर्किएपछि विमानचालक एभन टामसले "अद्भुत" अनुभव भएको र अधिकांश समय विमान सोचेजसरी नै उडेको सञ्चारकर्मीहरूलाई बताए।
आफ्नो वेबसाइटमा स्ट्र्याटोलन्चले आफ्नो लक्ष्य "अक्षको पहुँच एउटा व्यावसायिक विमान चढेकोजस्तै सजिलो" बनाउने भएको बताएको छ।
ब्रिटिश अर्बपति रिचर्ड ब्र्यान्सनको कम्पनी भर्जिन गल्याक्टिकले पनि धेरै माथिबाट अक्षमा रकेट प्रक्षेपण गर्न मिल्ने विमान बनाएको छ।
स्ट्र्याटोलन्चले आफ्नो विमानलाई "संसारकै ठूलो विमान" भनेको छ।
तर चुच्चोदेखि पुच्छरसम्मको लम्बाइलाई मान्दा योभन्दा ठूला विमानहरू पनि अस्तित्वमा छन्।











