विश्व औलो दिवस: जलवायु परिवर्तन र खोपले मलेरिया रोगविरुद्धको लडाइँलाई कसरी प्रभावित पारिरहेका छन्

A child in Ghana receives a malaria vaccine

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, घानामा एक बालकलाई खोप दिइदैँ

एप्रिल २५ मा वर्ल्ड मलेरिया डे अर्थात् विश्व औलो दिवस मनाइन्छ। यो दिन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औलोमुक्त विश्वबारे चेतना जागरण गर्ने खालका कार्यक्रम गर्दै आएको छ।

डब्ल्यूएचओले स्वीकृति दिएको औलोको पहिलो खोपले विश्वलाई औलोमुक्त पार्ने अभियानलाई सहयोग गर्ने ठानिएको छ।

तर जलवायु परिवर्तन र तापमान वृद्धिको अर्थ यो घातक सङ्क्रमण विगतमा कहिल्यै नदेखिएका नयाँ ठाउँमा पनि फैलिन सक्ने देखिन्छ।

घातक विस्तार

"बढ्दो तापक्रम वृद्धिले लामखुट्टेमा हुने रोग सार्ने औलोको जीवाणुको क्षमता बढाएको छ," परोपकारी संस्था वेलकम ट्रस्टकी प्रविधि व्यवस्थापक डा. इजाबेल फ्लेचर भन्छिन्।

"जलवायु परिवर्तनले लामखुट्टेलाई विश्वका अरू ठाउँमा पनि औलो सङ्क्रमण सार्न सहज बनाइदिएको छ। विश्वमा तापक्रम बढिरहँदा औलो अहिले चिसोका कारण सङ्क्रमण नफैलिरहेको अझ उच्च क्षेत्रहरूमा पुग्न सक्छ।"

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आईपीसीसीका अनुसार यदि विभिन्न देशले सन् २०२० को अन्त्यसम्म सुरु गरेका कार्बन कटौतीसम्बन्धी सबै नीतिहरू कार्यान्वयन भए भने पनि यो शताब्दीमा विश्वको तापक्रम ३.२ सेल्सीअसले वृद्धि हुनेछ।

कार्बन उत्सर्जन कटौती गरेर तापक्रम वृद्धिलाई १.५ सेल्सीअस वा त्यसमुनि सीमित गर्ने विश्वव्यापी लक्ष्य छ।

महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, औलो हुँदा मांसपेशी पनि दुख्छ

अनुसन्धानकर्ताहरूका अनुसार तापक्रम वृद्धिबाहेक बर्खा र आर्द्रता र अझ सुक्खाका कारण विगतमा नदेखिएका ठाउँमा औलोका जीवाणुबाट सङ्क्रमित लामखुट्टे पुगेको छ।

"अध्ययनहरूले क्यारिबीअन देशहरू र ब्रजिलमा सुक्खा लाग्दा बेला मानिसहरूले धेरै पानी भण्डारण गर्ने देखाएका छन्। त्यसले लामखुट्टेलाई राम्रो वासस्थान उपलब्ध गराउँछ। त्यही भएर सुक्खाको अवस्थामा तपाईँले डेङ्गीको बढ्दो सङ्क्रमण देख्न सक्नुहुन्छ," डा. फ्लेचर भन्छिन्।

यदि डेङ्गी ज्वरोमा त्यस्तो भयो भने औलोमा पनि त्यस्तै हुन्छ भन्ने चिन्ता पाइन्छ।

अवस्था उच्चतम बिन्दुमा पुगिसकेका केही क्षेत्रमा भने जलवायु परिवर्तनले औलोको सङ्क्रमणको विस्तारलाई नियन्त्रण पनि गर्न सक्छ। त्यही भएर डा. फ्लेचर तापक्रममा फेरबदल औलोविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने ठान्छिन्।

भविष्यका लागि जोखिमको प्रक्षेपण गरेर जोखिममा रहेका जनसङ्ख्याको पहिचान गर्न सकिने र त्यसैअनुसार हस्तक्षेप गर्न सकिने उनको भनाइ छ।

line

औलोका लक्षण के हुन्?

औलो लामखुट्टेले सार्ने गम्भीर सङ्क्रमण हो। राम्रोसँग पहिचान र उपचार भएन भने यसले ज्यान पनि लिन सक्छ।

  • उच्च तापक्रम, पसिना र काम ज्वरो
  • टाउको दुख्ने र अन्योल महसुस गर्नु
  • शरीर एकदमै गलेको जस्तो महसुस गर्नु र निद्रा लाग्नु (विशेषतः बालबालिकामा)
  • बिरामी परे जस्तो महसुस हुनु, पेट दुख्नु र झाडाबान्ता हुनु
  • खाना मन नलाग्नु
  • मांसपेशी दुख्नु
  • छाला र आँखाको सेतो भाग पहेँलो हुनु
  • घाँटी दुख्नु, खोकी लाग्नु र सास फेर्न गाह्रो हुनु

स्रोत: एनएचएस

line

खोपको सफलता

जलवायु परिवर्तनले औलोविरुद्धको लडाइँलाई जटिल बनाउने जोखिम रहँदा उक्त रोगविरुद्ध नयाँ सफलताहरू हासिल भएका छन्।

हालै डब्ल्यूएचओले अहिलेसम्म घाना, केन्या र मलावीका १० लाखभन्दा बढी बालबालिकालाई विश्वकै पहिलो औलोविरुद्धको खोपको पहिलो वा थप मात्रा उपलब्ध गराइसकिएको घोषणा गरेको छ।

उक्त राष्ट्रसङ्घीय निकायले समन्वय गरेको खोप परीक्षण कार्यक्रमअन्तर्गत यो सम्भव भएको हो।

मलावीको सरकारले सन् २०१९ मा खोपको परीक्षण अघि बढाउन दिने निर्णय लिएको थियो।

आरटीएस/एएसजीरोवन (आरटीएस,एस) खोप सुरक्षित रहेको र त्यसको पहुँच विस्तार गर्न सम्भव रहेको अनि उक्त खोपले उल्लेख्य रूपमा गम्भीर प्रकृतिका औलोको जोखिम घटाउने भनिएको छ।

औलोको मध्यमदेखि उच्च जोखिम रहेका सबसहारा अफ्रिका र अरू क्षेत्रहरूमा यो कार्यक्रम प्रारम्भिक अवस्थामा नै रहेका बेला डब्ल्यूएचओले खोपको अनुमति दिएको थियो।

प्रयोगशाला

तस्बिर स्रोत, Getty Images

line

औलो नियन्त्रण गर्ने डब्ल्यूएचओको रणनीति कस्तो छ?

डब्ल्यूएचओले उक्त रोगसँग लड्ने मार्गचित्र निर्धारण गरेको छ।

उक्त संस्थाका लक्ष्य यस्ता छन्:

  • सन् २०३० सम्ममा औलोबाट हुने बिरामी कम्तीमा ९० प्रतिशतले कम गर्नु
  • सन् २०३० सम्ममा औलोका कारण ज्यान गुमाउने दर कम्तीमा ९० प्रतिशतले कम गर्नु
  • सन् २०३० सम्ममा औलोलाई कम्तीमा ३५ वटा देशबाट मुक्त गर्ने
  • औलोमुक्त देशहरूमा फेरि औलो देखा पर्ने अवस्था आउन नदिने

स्रोत: डब्ल्यूएचओ

line
भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनको असर: 'मैले पहिलोपटक औलो रोगका बिरामी भेटेँ'

उक्त संस्थाले खोपले वार्षिक रूपमा ४० देखि ८० हजार अफ्रिकी बालबालिकाको जीवनरक्षा गर्न सक्ने आकलन गरेको छ।

डब्ल्यूएचओको औलो खोप कार्यान्वयन कार्यक्रमको नेतृत्व गरिरहेकी डा. मेरी आमेल भन्छिन्, "हामीले खोपको प्रभाव र त्यसले दुई सुरक्षा दुई वर्षसम्म हेर्न सक्यौँ। हामीले खोप एकदमै सुरक्षित रहेको र त्यसलाई राम्रोसँग स्वीकार गरिएको पाएका छौँ।"

"खोप लिएको पहिलो दुई वर्षसम्म गम्भीर खालको औलोका कारण अस्पतालमा भर्ना हुने दरमा एकतिहाइ कमी आएको सहित उल्लेख्य प्रभाव देखिएको थियो।"

आरटीएस, एसबाहेक औलोका अरू दाबेदार खोपहरू पनि छन्। आरट्वेन्टीवन/म्याट्रिक्स-एम प्रारम्भिक विकासमा रहेका खोपमध्ये एक हो।

अग्रणी फर्मा कम्पनी बाईअन्टेकले कोभिड-१९ खोप विकास गर्न पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गरिएको एमआरएनए विधि प्रयोग गरेर औलोविरुद्धको खोप तयार गर्ने लक्ष्य लिएको छ।

खोपले कसरी काम गर्छ? के पर्याप्त खोप आपूर्ति भइरहेको छ?

डब्ल्यूएचओ

तस्बिर स्रोत, Getty Images

औलो गराउने जीवाणु यस्तो परजीवी हो जसले शरीरमा प्रवेश गरेर आफ्नो प्रजननका लागि मानवका रक्तकोषहरू नष्ट गर्छ र रगत चुस्ने लामखुट्टेका कारण यो सर्ने गर्छ।

अहिलेको आरटीएस, एस खोपले मुख्यतः बढी घातक र अफ्रिकामा प्रायः देखिने 'प्लाज्मोडीअम फाल्सिप्यारम' परजीवीलाई लक्षित गरेको छ।

लामखुट्टेले टोक्दा उक्त परजीवी रक्तप्रणालीमा प्रवेश गर्छ र त्यसले कलेजोका कोषिकामा सङ्क्रमण गराउँछ।

सो खोपले उक्त परजीवीलाई कलेजोमा सङ्क्रमण गर्नबाट रोक्छ। कलेजोमा सङ्क्रमण गरेपछि सो परजीवीले बलियो भई फैलिने अनि पुन: रक्तप्रणालीमा प्रवेश गरी राता रक्तकोषमा सङ्क्रमण गर्दै औलोका लक्षणहरू निम्त्याउने गर्थ्यो।

उक्त खोप प्रभावकारी हुनका लागि चार मात्रा आवश्यक छ। पहिलो तीन खोप एक महिनाको अन्तर राखेर पाँचौँ, छैटौँ र सातौँ महिनामा दिने गरिन्छ र अन्तिम बूस्टर खोप करिब १८ महिनामा दिइन्छ।

स्वास्थ्यविज्ञहरूले विशेषतः सबसहारा अफ्रिकामा खोपको माग प्रतिवर्ष आठ करोड मात्राभन्दा बढी रहेको जनाएका छन्।

उक्त उच्च माग पूरा गर्न चुनौती छ।

आपूर्तिभन्दा माग बढी रहेकाले उत्पादन क्षमता वृद्धिका लागि निर्माण कम्पनीले काम गरिरहेको अधिकारीहरू बताउँछन्।

अहिले ग्ल्याक्सोस्मिथक्लाइन उक्त खोपको एक मात्र उत्पादक हो।

"प्रत्येक वर्ष जीएसकेले डेढ करोड मात्रासम्मले उत्पादन बढाउने योजना छ," डा. आमेल भन्छिन्।

उनले गम्भीर खालको औलोको जोखिममा रहेका बालबालिकासम्म पर्याप्त खोपको पहुँच सुनिश्चित गर्नका लागि प्रतिबद्धता र राजनीतिक इच्छाशक्ति जुटाउनु आवश्यक रहेको बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, औलो पत्ता लगाउन कुकुर