डेङ्गी: 'चमत्कारिक' लामखुट्टेले डेङ्गी ७७ प्रतिशतले घटाउँछ

तस्बिर स्रोत, World Mosquito Programme
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य तथा विज्ञान संवाददाता
डेङ्गी रोग फैलाउने लामखुट्टेलाई ब्याक्टेरियाबाट सङ्क्रमित पारेर गरिएको एउटा "अभूतपूर्व" परीक्षणमा डेङ्गी ज्वरोको घटनामा ७७ प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन्।
त्यो परीक्षणमा उनीहरूले "चमत्कारिक" ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टे प्रयोग गरेका थिए।
त्यस्तो सङ्क्रमणले डेङ्गी फैलाउने लामखुट्टेको क्षमतामा ह्रास ल्याउँछ।
इन्डोनेसियाको योगाकार्ता सहरमा उक्त परीक्षण गरिएको थियो।
भाइरस अन्त्य गर्ने आशाका साथ त्यसलाई अन्यत्र पनि विस्तार गरिँदै छ।
वर्ल्ड मस्किटो कार्यक्रम समूहले विश्वभरि फैलिएको उक्त भाइरसका लागि यो एउटा समाधान हुनसक्ने बताएको छ।
आजभन्दा ५० वर्षअघि केही मानिसहरूले मात्र डेङ्गीबारे सुनेका थिए।

तस्बिर स्रोत, World Mosquito Programme
तर अहिले डेङ्गीका घटनाहरू नाटकीय रूपमा बढिरहेका छन् र यो कम गतिमा भएपनि निरन्तर फैलिरहेको महामारी बनिरहेको छ।
सन् १९७० मा ९ वटा देशहरूले मात्र गम्भीरखाले डेङ्गी महामारीको सामना गरेका थिए।
अहिले भने एक वर्षमा ४० करोड सङ्क्रमणसम्म हुने गर्छ।
मांसपेशी र हड्डीमा गम्भीर दुखाइ निम्त्याउने भएकाले डेङ्गीलाई अङ्ग्रेजीमा "ब्रेक-बोन फिभर" भनेर पनि चिनिन्छ।
मेरो शत्रुको शत्रु
उक्त परीक्षणमा वोल्बाकिया नामक ब्याक्टेरियाबाट सङ्क्रमित लामखुट्टेहरू प्रयोग गरिएको थियो।
एकजना अनुसन्धानकर्ता डा. केटी एन्डर्स ती ब्याक्टेरियालाई "प्राकृतिक रूपका चमत्कारिक" भनेर व्याख्या गर्छिन्।
वोल्बाकिया लामखुट्टेलाई हानी गर्दैन तर डेङ्गी भाइरस भित्रिनका लागि लामखुट्टेको जुन हिस्साको आवश्यकता पर्छ त्यहीँ बस्छ।
ब्याक्टेरियाले स्रोत पाउन प्रतिस्पर्धा गर्छ र भाइरसलाई उसलाई परास्त गर्न कठिन बनाइदिन्छ। त्यसले गर्दा उक्त लामखुट्टेले पुन: टोक्दा पनि सङ्क्रमण हुने खतरा कम हुन्छ।
उक्त परीक्षणमा वोल्बाकिया सङ्क्रमित ५० लाख लामखुट्टेका अण्डाहरू प्रयोग गरिएको थियो।
हरेक दुई सातामा सहरको कैयौँ बाल्टी पानीमा अण्डाहरू राखिन्थे र सङ्क्रमित लामखुट्टेहरू बन्ने प्रक्रिया पूरा हुन ९ महिना लाग्थ्यो।
योगाकार्तालाई २४ क्षेत्रमा बाँडिएको थियो र त्यसमध्ये आधा क्षेत्रमा मात्र यस्ता लामखुट्टेहरू छाडिएका थिए।
उक्त परीक्षणको नतिजा न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ।
त्यसमा सङ्क्रमित लामखुट्टे छाडिएपछि डेङ्गी लाग्ने दरमा ७७ प्रतिशत र उपचारका लागि अस्पताल जानुपर्ने दर ८६ प्रतिशतले घटेको उल्लेख छ।
"यो निकै उत्साहजनक छ, यो हामीले आशा गरेको भन्दा निकै राम्रो देखिएको छ," एन्डर्सले बीबीसीसँग भनिन्।
यो उपाय निकै सफल रह्यो। सङ्क्रमित लामखुट्टेहरू पूरै सहरमा छाडिएका थिए।
उक्त आयोजनाले अन्य नजिकैका क्षेत्रहरूलाई पनि समेटेर त्यस क्षेत्रबाट डेङ्गी अन्त्य गर्ने लक्ष्य राखेको छ।
डा. एन्डर्स वर्ल्ड मस्किटो कार्यक्रमकी प्रभाव मूल्याङ्कन निर्देशक पनि हुन्।
उनी भन्छिन्, "यो नतिजा अभूतपूर्व छ। डेङ्गीको ठूलो समस्या भएका विश्वका ठूला सहरहरूमा यसलाई विकास गर्न सकेमा यसको प्रभाव अझ बढी हुन्छ जस्तो मलाई लाग्छ।"
वोल्बाकिया पनि शानदार रूपमा हेरफेरकारी (म्यानुपुलेटिभ) हुन्छ र त्यसले लामखुट्टेको प्रजनन शक्तिलाई परिवर्तित गरेर अर्को पुस्तामा सार्न सक्छ।
त्यसको अर्थ एक पटक उक्त ब्याक्टेरिया लामखुट्टेमा पसेपछि त्यसले दीर्घकालका लागि काम गर्न सक्छ।
यो अन्य नियन्त्रणका उपायभन्दा पूर्णत: फरक छ।
योगाकार्ताकी विपद् निवारण निकायकी प्रमुख डा. युडिरिया अमेलिया भन्छिन्, "हामी यो नतिजाबाट प्रसन्न छौँ। हामी यो तरिकालाई इन्डोनेसियाका अन्य क्षेत्रमा पनि फैलाउन सकिन्छ भन्ने ठान्छौँ।"
बोस्टन विश्वविद्यालयका विश्व स्वास्थ्य तथा उपचारबारेका प्राध्यापक डेभिड ह्यामर यो विधि जिका, एलो फिभर, चिकुनगुनियालगायतका लागि पनि उपयुक्त हुनसक्ने सम्भावना देख्छन्।








