डेङ्गी नेपाल: कुन उमेर समूहका मानिसको स्वास्थ्यलाई बढी असर गरिरहेको छ?
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा अहिले प्रकोप बनेर फैलिएको डेङ्गी बिस्तारै घट्न थाले पनि सङ्क्रमण देखिएका स्थानका मानिसहरू कार्तिक मसान्त वा मङ्सिरको मध्यसम्म निकै सतर्क रहनु पर्ने अधिकारीहरूले बताएका छन्।
त्यस अवधिसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख गोकर्ण दाहालले बताए।
"डेङ्गी नियन्त्रणका लागि हामीले अपनाउँदै आएको उपायहरूलाई निरन्तरता दिनु पर्छ। साथै निगरानी र सतर्कता बढाउनु पर्ने देखिन्छ," दाहालले बीबीसीसँग भने।
महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज ३१ गतेसम्ममा देशभरि कुल ४१,७४३ जना मानिस डेङ्गी सङ्क्रमित भएका छन्। र, तीमध्ये ४९ जनाको मृत्यु भएको छ।
दुईदेखि तीन वर्षको अन्तरालमा नेपालमा प्रकोपको रूप लिएर फैलिने भनिएको डेङ्गीले हरेक उमेर समूहका मानिसहरूको स्वास्थ्यमा असर पारेको विज्ञहरूले बताएका छन्।
वयस्क बढी प्रभावित
डेङ्गी भएकाहरूमध्ये वयस्कहरूको स्वास्थ्यमा बढी असर देखिएको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन।
"डेङ्गीको लक्षणसहित हरेक उमेर समूहका बिरामीहरू परीक्षण वा उपचारका लागि आउँछन्। उनीहरूमध्ये प्राय ५० भन्दा कम उमेर समूहका मानिसहरू छन्," डा. पुनले भने।
"स्वास्थ्य अवस्था जटिल हुनेमा वयस्कहरू नै बढी छन्।"
धेरै सङ्क्रमित छोटो अवधिको लागि भए पनि अस्पताल आएको उनी बताउँछन्। त्यसका प्रमुख तीन कारण यस्ता छन्:
- शरीर अत्यधिक दुख्नु
- निरन्तर बान्ता हुनु
- र, गिजा, नाकलगायत शरीरको विभिन्न भागबाट उच्च रक्तस्राव हुनु।
महिनावारी अनियमित बनाएको सङ्केत
सङ्क्रमित महिलाहरूमध्ये केहीले भने आफ्नो महिनावारीमा समेत सामान्य अवस्थामाभन्दा बढी रक्तस्राव भएको उल्लेख गरेको डा. पुनले जानकारी दिए।
त्यस्तै केहीले समय अगावै वा केही ढिला महिनावारी भएको जनाएको उनले बताए।
पुनले भने,"यो उपचारका लागि आएका केही महिलाहरूले उल्लेख गर्नु भएको कुरा हो। डेङ्गीले साँच्चै महिनावारीमा असर गर्छ वा गर्दैन भन्नेबारे चाहिँ अध्ययन भएपछि मात्र निर्क्योल गर्न सकिन्छ।"
वृद्ध वृद्धाको अवस्था कस्तो?
डेङ्गी भएका पाका उमेरका मानिसहरूमा पनि गम्भीर प्रकृतिका असरहरू देखिएको चिकित्सकहरू बताउँछन्।
यद्यपि, उपचारका लागि आउने डेङ्गी सङ्क्रमित वृद्ध वृद्धाको सङ्ख्या तुलनात्मक रूपमा केही कम रहेको बताइन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर मिलन बज्राचार्य भने डेङ्गीले प्रभावित गरेकाहरूमध्ये अधिकांश ६० वर्ष उमेर कटेकाहरू छन्।
उनले बीबीसीसँग भने,"रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उमेर धेरै भएकामा असर धेरै देखिएको हुनसक्छ। यद्यपि, सङ्ख्यात्मक हिसाबमा सङ्क्रमित हुनेहरूमा वृद्ध वृद्धाभन्दा युवाहरू बढी छन्।"
त्यस्तै लामो समयदेखि औषधि सेवन गर्दै आएका, मुटु वा कलेजोको समस्या भएका, एचआइभी सङ्क्रमण भएका मानिसहरूमा डेङ्गीले जटिलता निम्त्याउन सक्ने डा. बज्राचार्यको भनाइ छ।
डेङ्गी सङ्क्रमण हुँदा कतिपयको रगतमा प्लेटलेट्स मात्रा घट्ने र त्यसले बिरामीलाई गम्भीर बनाउने उनले बताए।
बालबालिकालाई कति असर गर्छ?
कान्ति बाल अस्पतालका बाल रोग विज्ञ डा. प्रकाश जोशीका अनुसार त्यहाँ दैनिक चारदेखि पाँचजना बालबालिकाहरूमा डेङ्गी पुष्टि भइरहेको छ।
तीमध्ये केहीमा सामान्य लक्षणहरू मात्र देखिए पनि केहीमा चिन्ताजनक स्वास्थ्य समस्या देखिने र केहीको अवस्था जटिल बन्ने उनले बताए।
"अन्य स्वास्थ्य परीक्षण वा उपचारका लागि आएका बालबालिकाहरूमा पनि शङ्कास्पद लक्षण देखिए डेङ्गी जाँच गराउँछौँ। र शङ्कास्पद प्रायमा डेङ्गी देखिन्छ," डा. जोशीले भने।
"डेढ वर्षको बच्चालाई समेत डेङ्गी भएको छ।"

प्राय बालबालिकाहरूमा अत्यधिक टाउने दुख्ने, ज्वरो आउने, पेट दुख्ने र बान्ता हुने लक्षण देखिएको र केहीमा रक्तस्रावको समस्या देखिएको उनले जानकारी दिए।
वयस्क बिरामीहरूले आँखा वरपर दुख्ने, मांसपेशी र हड्डी दुख्नेजस्ता लक्षणहरूबारे बताए पनि बालबालिकाले त्यस्ता समस्याबारे बताउन नसक्ने डा. जोशीले बताए। त्यसैले उनीहरूमा जाँच गर्दा देखिने लक्षणहरूका आधारमा उपचार हुने उनले जिकिर गरे।
डेङ्गीका कारण जटिल अवस्थामा पुगेका बालबालिकाहरूमा शरीरको विभिन्न भागमा पानी जम्ने समस्या देखिन्छ।
"प्लाज्मा लिक" भएको भनिने यस अवस्थामा बालबालिकाको रक्तचाप निकै कम हुन्छ र हातखुट्टा चिसो बन्ने चिकित्सकहरू बताउँछन्।
"रक्तनलीमा हुनु पर्ने पानी तन्तुहरूमा गएर जम्मा हुन्छ। जसले गर्दा डेङ्गी सक सिनड्रोमहरू देखिन्छन्," डा. जोशीले भने।
यसपटक शुक्रराज ट्रपिकलमा समेत उच्च सङ्ख्यामा बालबालिकाहरू ओपीडी जाँचका लागि ल्याइएको डा. शेरबहादुर पुनले बताए।
उनका अनुसार यसअघिका वर्षहरूमा डेङ्गीको आशङ्कामा निकै कम बालबालिकाहरू त्यहाँ परीक्षणका निम्ति आउँथे।
के हो डेङ्गी?
विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।
प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।
अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको आधा जनसङ्ख्या अर्थात् झन्डै चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।

तस्बिर स्रोत, Getty Images
लक्षणहरू कस्ता हुन्छन्?
यो भाइरसको सङ्क्रमण हुँदा मानिसलाई ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, टाउको तथा शरीर अत्यधिक दुख्नेजस्ता लक्षणहरू देखिन्छन्।
केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्ने जानकारहरूले बताएका छन्।
यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।
यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्ध वृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ











