लिज ट्रसः कन्जर्भेटिभ पार्टीकी नेत्री यूकेमा प्रधानमन्त्री नियुक्त, को हुन् उनी

लिज ट्रस

तस्बिर स्रोत, Reuters

यूकेमा कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन्। उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्।

महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन्।

सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो।

नयाँ प्रधानमन्त्री नियुक्त हुँदा लन्डनस्थित बकिङ्गम राजदरबारमा समारोह आयोजना गर्ने परम्परा यसपालि भङ्ग भएको छ।

मङ्गलवार आफ्नो बिदाइ भाषणमा जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरेका थिए।

त्यसपछि उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

यसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए।

बाल्यकालदेखिको सपना

सात वर्षको उमेरमा विद्यालयमा आयोजित निर्वाचनसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निर्वाह गरेकी थिइन्।

महारानी एलिजाबेथ र लिज ट्रस

तस्बिर स्रोत, PA Media

थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री थिइन् र उनले सन् १९८३ मा व्यापक बहुमत पाएकी थिइन्।

तर लिज ट्रसले विद्यालयको नाटकमा थ्याचरको भूमिका निर्वाह गरेको भए पनि त्यस बेला उक्त नाटकमा उनले सफलता पाइनन्।

धेरै वर्षपछि ट्रसले उक्त घटनाको स्मरण गर्दै भनेकी थिइन्, "म त्यस बेला मैदानमा ओर्लिएँ र चुनावी मञ्चमा मन्तव्य दिएँ तर मैले शून्य भोट पाएँ। म आफैँले पनि आफूलाई भोट हालिनँ।"

उनन्चालीस वर्षपछि सोमवार उनी आइरन लेडी भनेर पनि चिनिने थ्याचरले जसरी नै उक्त पदमा पुग्न वास्तविक रूपमै हाम फालिन् र कन्जर्भेटिभ पार्टीकी नेत्री बनिन्।

सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई भूतपूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए।

तर पार्टीका सदस्यहरूले ट्रसलाई बढी मत दिए। उनले ५७ प्रतिशत मत पाइन् भने सुनकले ४३ प्रतिशत मात्र मत पाए।

उनले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौँ बिताएकी छन्।

ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिएकी थिइन्।

तर विभिन्न हिसाबले उनी परम्परागत सोचाइकी कन्जर्भेटिभ पार्टी सदस्यजस्ती भने होइनन्।

मेरी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन्।

महारानीसमक्ष औपचारिक रूपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए

तस्बिर स्रोत, PA Wire

तस्बिरको क्याप्शन, महारानीसमक्ष औपचारिक रूपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए

उनले आफ्ना पिता गणितका प्राध्यापक र आमा "वाम खेमा"की नर्स भएको बताएकी थिइन्।

बाल्यकालमा उनलाई उनकी आमाले परमाणु निरस्त्रीकरण अभियानका जुलुसहरूमा लिएर जान्थिन्।

त्यस बेला परमाणु निरस्त्रीकरण अभियान चलाउनेहरूले पश्चिमी लन्डनस्थित आरएएफ ग्रीनह्याम कमनमा अमेरिकालाई परमाणु युद्धशीर्ष राख्न दिने थ्याचर सरकारको निर्णयको चर्को विरोध गरेका थिए।

2px presentational grey line

लिज ट्रस: सामान्य परिचय

उमेर: ४७

जन्मस्थान: अक्सफर्ड

घर: लन्डन र नोर्फक

शिक्षा: राउन्डहे स्कूल लीड्स, अक्सफर्ड यूनिभर्सिटी

परिवार: पति ह्यू ओ'लेरी, दुई छोरी

संसदीय निर्वाचन क्षेत्र: दक्षिण-पश्चिम नोर्फक

2px presentational grey line

ट्रस चार वर्षकी हुँदा उनको परिवार ग्लास्गोको पश्चिमतर्फस्थित पेस्ज्लीमा बसाइँ सर्‍यो।

बीबीसी रेडिओ फोरको प्रोफाइल कार्यक्रममा बोल्दै उनका भाइले बताएअनुसार ट्रसको परिवार बोर्डगेमहरू खेल्ने गर्थ्यो।

त्यस क्रममा ट्रस हार्न नचाहने र हार्ने अवस्था आयो भने खेल छाडेर भाग्ने गर्थिन्।

त्यसपछि उनको परिवार लीड्समा सर्‍यो। उनले त्यहाँ एउटा सामुदायिक माध्यमिक विद्यालयमा पढिन्।

विद्यालयमा अध्ययन गर्ने बेलामा आफूले "असफल र न्यून अपेक्षाहरू भएका बालबालिका"लाई देखेको वर्णन गरेकी छन्।

तर त्यहाँ अध्ययन गरेका उनका समकालीनहरूले ट्रसले भनेकोभन्दा फरक कुरा बताएका छन्। त्यसमा गार्डियनका पत्रकार मार्टिन पेङ्गेली समेत छन्।

उनले लेखेका थिए, "सायद उनी आफ्नो हुर्काइबढाइको केही कुरालाई छनोट गरेर मात्र उजागर गरिरहेकी छन् र साधारण राजनीतिक लाभका लागि उनलाई शिक्षादीक्षा दिने शिक्षकहरू तथा विद्यालयलाई अनौपचारिक रूपमा प्रयोग गरिरहेकी छन्।"

ऋषि सुनक

विद्यालयपछि उनी अक्सफर्ड यूनिभर्सिटी गइन्। त्यहाँ उनले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढिन्।

ट्रस विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् र सुरुमा उनी लिबरल डेमोक्र्याट्सबाट राजनीति गर्थिन्।

सन् १९९४ को पार्टी सम्मेलनमा उनले ब्रिटेनबाट राजतन्त्र अन्त्य गर्नुपर्ने पक्षमा बोलेकी थिइन्।

उनले ब्राइटनमा भनेकी थिइन्, "हामी लिबरल डेमोक्र्याटहरू सबैले अवसर पाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ। हामी मानिसहरू शासन गर्नका लागि जन्मिन्छन् भन्नेमा विश्वास गर्दैनौँ।"

लिज ट्रस

तस्बिर स्रोत, PA Media

वेस्टमिन्स्टरको महत्त्वाकाङ्क्षा

अक्सफर्डमा ट्रस कन्जर्भेटिभ पार्टीतिर ढल्किइन्।

स्नातक गरेपछि उनले शेल र केबल एन्ड वायरलेसजस्ता कम्पनीमा लेखापालको काम गरिन् अनि आफ्नै सहकर्मी ह्यू ओ'लेरीसँग सन् २००० मा विवाह गरिन्। उक्त दम्पतीका दुई सन्तान छन्।

सन् २००१ को निर्वाचनमा उनी वेस्ट योर्कशरको हेम्सवर्थबाट उम्मेदवार बनिन् तर त्यसमा हारिन्। सन् २००५ मा वेस्ट योर्कशरकै काल्डर भ्यालीबाट उनले पुन: चुनाव हारिन्।

तर उनको राजनीतिक महत्त्वाकाङ्क्षा कम भएन र ट्रस सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रीनिचको काउन्सिलर बनिन्।

सन् २००८ देखि उनले एउटा थिङ्कट्याङ्कमा पनि काम गरिन्।

कन्जर्भेटिभ नेता डेभिड क्यामरनले ट्रसको नाम उनको "ए-लिस्ट"मा राख्दै उनलाई प्राथमिकतामा रहेकी उम्मेदवार बनाए।

त्यसका लागि उनलाई जित सुनिश्चित भएको दक्षिणपश्चिम नोर्फकबाट उठाइयो।

रुसी विदेशमन्त्रीसँग ट्रस

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसी विदेशमन्त्रीसँग ट्रस

टोरी सांसद मार्क फील्डसँग केही वर्षअघि उनको प्रेमसम्बन्ध रहेको भन्ने खुलासा भयो। त्यसपछि टोरी दलको एउटा निकायले उनलाई नछान्न खोजेको थियो।

यद्यपि उनलाई उम्मेदवार नबनाउने प्रयास असफल भयो र उनले १३,००० भन्दा बढी मतले उक्त क्षेत्रबाट जितिन्।

उनी ब्रिटानिया अन्चेन्ड पुस्तककी सहलेखिका पनि हुन्। सन् २०१० मा उनी र अन्य चार कन्जर्भेटिभ सांसद मिलेर उक्त पुस्तक लेखेका हुन्।

उक्त पुस्तकले यूकेको आर्थिक हैसियतलाई विश्वभरि पुर्‍याउन सरकारी नियमहरूलाई फिर्ता लिनुपर्ने सुझाव दिएको छ त्यसले उनलाई टोरी बेन्चमा खुला बजार अर्थतन्त्रको प्रभावशाली पक्षधरका रूपमा उभ्यायो।

बीबीसीको 'लिडरशिप डिबेट' मा ट्रसलाई ब्रिटानिका अन्चेन्डमा गरिएको एउटा आलोचनाबारे प्रश्न गरिएको थियो।

उनको पुस्तकमा ब्रिटिश कामदारहरूलाई "विश्वका अल्छीमध्येका" भनिएको विषयमा प्रश्न गरिएको थियो। यद्यपि उनले आफूले त्यस्तो नलेखेकोमा जोड दिइन्।

सांसद बनेको दुई वर्षपछि नै उनी शिक्षामन्त्रीका रूपमा सरकारमा सहभागी भइन् र सन् २०१४ मा उनलाई पर्यावरणमन्त्रीका रूपमा बढुवा गरियो।

सन् २०१५ मा भएको भएको कन्जर्भेटिभ सम्मेलनमा ट्रसलाई उनको एउटा भाषणका लागि खिल्ली उडाइएको थियो।

त्यसमा उनले भावुक स्वरमा भनेकी थिइन्, "हामी हाम्रो चीजको दुईतिहाइ भाग आयात गर्छौँ। त्यो एउटा अपमान हो।"

ब्रेक्जिटको विषयमा ट्रस

एक वर्षभन्दा कम समयपछि सबैभन्दा ठूलो राजनीतिक घटना ईयू जनमतसङ्ग्रहको बेला भयो।

त्यस बेला उनले द सन पत्रिकामा लेख्दै ब्रेक्जिटले "ईयूमा विक्री गर्दा धेरै नियमहरू, धेरै फारमहरू र थप समय लाग्ने भएकाले त्यो तीन किसिमका दु:ख निम्त्याउनु हुने" तर्क गरेकी थिइन्।

यद्यपि उनको पक्ष पराजित भएपछि उनले आफ्नो मनस्थिति परिवर्तन गरिन् र ब्रेक्जिटले "जसरी कुराहरूले काम गर्छन् त्यसमा हलचल ल्याउने" भएकाले त्यो एउटा अवसर भएको बताएकी थिइन्।

लिज ट्रस

तस्बिर स्रोत, Reuters

टरिजा मे प्रधानमन्त्री रहेका बेला उनी न्यायमन्त्री नियुक्त भइन्। पछि उनी अर्थमन्त्री बनिन्।

सन् २०१९ मा बोरिस जोनसन प्रधानमन्त्री बनेपछि उनी अन्तर्राष्ट्रिय व्यापारमन्त्री बनेकी थिइन्।

सन् २०२१ मा ४६ वर्षको उमेरमा उनले सरकारको निकै उच्च पदमध्येमा पर्ने विदेशमन्त्रीको पद पाइन्। डोमिनिक राबपछि उनी विदेशमन्त्री बनेकी थिइन्।

विदेशमन्त्रीका रूपमा उनले उत्तरी आयरल्यान्डमा प्रोटोकलसम्बन्धी समस्यालाई हल गर्न माग गरिन्।

मत

उक्त कदमलाई लिएर युरोपेली सङ्घले उनको व्यापक आलोचना गरेको थियो।

उनले इरानमा गिरफ्तार भएका इरानी मूलका दुई ब्रिटिश इरानी नागरिकको रिहाइ सुनिश्चित गरेकी थिइन्।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनी त्यसविरुद्ध एकदमै कठोर रूपमा प्रस्तुत भइन्।

उनले उक्त देशबाट भ्लादिमिर पुटिनका सबै फौजलाई धपाउनुपर्ने बताएकी थिइन्।

युक्रेनका पक्षमा लड्न त्यहाँ जाने यूकेका नागरिकको समर्थन गर्दा उनको आलोचना पनि भएको थियो।

विवाद

पार्टी नेता बन्नका लागि उनले गरेको अभियान पनि विवादमुक्त छैन।

जीवनयापन गर्न हुने खर्चसम्बन्धी समस्या कसरी समाधान गर्छिन् भन्ने प्रश्नमा ट्रसले करको भारलाई कम गर्ने बताउँदै आएकी छन्।

उनी सार्वजनिक क्षेत्रको तलबलाई क्षेत्रीय जीवनयापन लागतमा जोड्ने योजना हटाउन बाध्य भएकी छन्।

वरिष्ठ टोरी नेताहरूले त्यसले लन्डनबाहिरका लाखौँ कामदारले कम तलब पाउने भन्दै विरोध गरेपछि उनी उक्त कुरा हटाउन बाध्य भएकी हुन्।

उनले स्कटल्यान्डकी प्रधानमन्त्रीलाई "प्रचार खोज्ने व्यक्ति" भन्दै उनलाई बरु "बेवास्ता गर्नु" उचित हुने बताएकी थिइन्।

यद्यपि सर्वेक्षणहरूले प्रतिस्पर्धी सुनकका तुलनामा उनी पार्टीभित्र धेरै लोकप्रिय रहेको देखाएका थिए।

कतिपयले उनको पोसाकलाई हेरेर थ्याचरको अनुकरण गरेको पनि बताउने गरेका छन्। तर उनले उक्त कुरालाई अस्वीकार गर्दै आएकी छन्।