बोरिस जोनसनः प्रधानमन्त्री पदबाट हटेका यी ब्रिटिश नेता लाखौँ कमाउने काम गर्न फर्कलान् कि राजनीतिमा पुनरागमन गर्ने पालो कुर्लान्

बोरिस जोनसन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बोरिस जोनसनलाई रोजगारी खोजिदिने स्थानीय कार्यालयको सेवा निश्चय नै आवश्यक पर्नेछैन
    • Author, साम फ्रान्सिस
    • Role, राजनीतिक संवाददाता, बीबीसी न्यूज

यूकेमा सत्तरूढ कन्जर्भेटिभ पार्टीलाई ३० वर्षयताकै सबैभन्दा ठूलो चुनावी जित दिलाएको तीन वर्षपछि बोरिस जोनसनले प्रधानमन्त्री पद त्याग गरेका छन्। बाल्यकालदेखि नै "विश्वको राजा" बन्ने उद्देश्य बनाएका यी व्यक्ति अब नयाँ पेसाबारे योजना बनाउँदै छन्।

उनका जीवनी लेखक एन्ड्रू गिम्सनका अनुसार उनी "घर फर्किएर स्थानीय गिर्जाघरको लागि राम्रो काम गर्ने वा गुमनाम जीवन बिताउने स्वभावका व्यक्ति होइनन्।"

त्यसो भए उनी अब कुन क्षेत्रमा सक्रिय रहन सक्छन् त?

लेखनमा फर्किने विकल्प

जोनसनले राजनीतिमा प्रवेश गर्नुअघि उनी धेरै पारिश्रमिक लिनेगरी पत्रकारितामा थिए। उनले वेस्टमिन्स्टरको उच्च पदमा रहँदा समेत पत्रिका र म्यागजीनहरूको लागि लेखिरहे। उनले प्रधानमन्त्री बन्नुभन्दा केही दिनअघि मात्रै नियमित लेख्न छोडेका थिए।

डेली टेलिग्राफको लागि साप्ताहिक स्तम्भ लेख्नको लागि उनलाई प्रतिवर्ष २,७५,००० पाउन्ड दिइएको थियो र यी पूर्वप्रधानमन्त्रीको सेवा आफ्नो पक्षमा सुरक्षित गर्नका निम्ति सञ्चारमाध्यमहरूबीच एक किसिमको प्रतिस्पर्धा नै चल्न सक्छ।

उनी आफ्नै संस्मरणहरू लेख्ने प्रस्तावबाट पनि लोभिन सक्छन् जुन भूतपूर्व प्रधानमन्त्रीहरूको निश्चित कमाइको उपाय हो। साहित्यिक एजेन्टहरूले उनी सत्तामा रहँदाको समयको बारेमा लेखिने किताबाका निम्ति "१० लाख पाउन्डभन्दा बढी" पाउन सक्ने आकलन गरेका छन्।

जोनसनले यसअघि नै पत्रिकामा प्रकाशित लेखहरूको सङ्ग्रहसहित आठवटा पुस्तक लेखिसकेका छन्। तीमध्ये उनका आदर्श विन्स्टन चर्चिलको जीवनी र राजनीतिक व्यङ्ग्य सेभेन्टी-टू भर्जिन्स सर्वाधिक विक्री भएका पुस्तक हुन्।

यद्यपि टेन डाउनिङ् स्ट्रिटबाट निस्किएपछिको उनको प्रमुख काम विलियम शेक्सपियरको जीवनी सम्पन्न गर्नु हो। उनले विगत सात वर्ष अघिदेखि उक्त पुस्तक लेख्दै आएका छन्। प्रकाशक होडर एन्ड स्टोटनले सन् २०१५ मा "शेक्सपियर: द रिडल अफ जीनिअस"को अधिकार पाँच लाख पाउन्डमा खरिद गरिसकेको भनिएको छ।

उक्त पुस्तक सन् २०१६ मा सार्वजनिक हुने भनिएको थियो। तर ब्रेक्जिट भोट, विदेशमन्त्रीको पद अनि त्यसपछि प्रधानमन्त्री बनेका जोनसनको लेखन तालिका प्रभावित भयो।

बोरिस जोनसन
तस्बिरको क्याप्शन, धेरै वर्षदेखि बोरिस जोनसनका भाषणहरू कन्जर्भेटिभ पार्टी सम्मेलनहरूमा मुख्य आकर्षणको रूपमा रहँदै आएका छन्

बोल्नमा प्रखर

पूर्वप्रधानमन्त्रीहरूले सार्वजनिक भाषणबाट पनि राम्रो कमाइ गर्न सक्छन्। जोनसनकी पूर्ववर्ती टरिजा मेले सन् २०२२ मा मात्रै नौवटा भाषण दिएर ७,१५,००० पाउन्ड कमाएकी छन्।

जोनसनको हास्यव्यङ्ग्य चेतका कारण उनी शक्तिमा आउनुअघि पनि उनलाई रात्रिभोजहरूमा निम्त्याइन्थ्यो। तर अब उनी राम्रो आम्दानी हुने सिर्जनशील कर्मतर्फ मोडिन सक्छन्।

सन् २०१९ को मार्च महिनामा सरकारी जिम्मेवारीहरू फेरिँदा उनलाई एउटा ब्याङ्क र एक भारतीय सञ्चार समूहलाई गरी दुईवटा मन्तव्य दिनका लागि १,६०,००० पाउन्डभन्दा बढी रकम दिइएको थियो।

"निस्सन्देह उनले लेख्ने र बोल्ने काम गर्नेछन्," लामो समयदेखि जोनसनका सल्लाहकार रहेका लर्ड उड्नी-लिस्टरले भने। जोनसन मेयर र प्रधानमन्त्री हुँदा उनको प्रमुख सहयोगी रहेका उड्नी-लिस्टरका अनुसार उनी "आफ्नो हृदयको नजिकका विषयमा बोल्नेछन्।"

"उनले युक्रेनजस्ता मुद्दाहरूमा आवाज उठाउनेछन् जहाँ हाल पश्चिमी गठबन्धन सुस्त हुँदै गएको देख्न सकिन्छ," कन्जर्भेटिभ नेता समेत रहेका उनले भने।

बोरिस जोनसन

तस्बिर स्रोत, PA Media

राजनीतिबाट बाहिर

जोनसन सांसदको रूपमा रहन्छन् वा रहँदैनन् भन्ने बारेमा धेरै अनुमान गरिएको छ। उनलाई नयाँ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद्‌मा स्थानका निम्ति प्रस्ताव आउने सम्भावना कम देखिन्छ। त्यसैले उनी विगतमा पनि राजनीतिमा गतिरोध आएको बेलामा जस्तै संसद्‌मा पछाडिको स्थानमा बस्न जान पनि सक्छन्।

जस्तोसुकै परिस्थितिमा पनि मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिताअनुसार उनले पदत्याग गरेपछि दुई वर्षसम्म सरकारमा प्रत्यक्ष लबिङ गर्न पाउनेछैनन्। लर्ड उड्नी-लिस्टर भन्छन्, "मलाई उनी संसद्‌बाट यति चाँडै निस्किन्छन् जस्तो लाग्दैन।"

"तर संसद्‌मा पछाडिको स्थानमा बसेर आलोचनात्मक अभिव्यक्ति दिएर मात्रै पनि उनी बसिरहन्छन् जस्तो लाग्दैन।"

यदि सांसदहरूको एउटा समितिले डाउनिङ स्ट्रीटमा लकडाउनको समयमा भोज आयोजनाबारे जोनसनले झूटो बोलेको पुष्टि गर्‍यो भने उनी संसद्‌बाट निलम्बित हुन सक्छन्।

परिणामस्वरूप कन्जर्भेटिभ पार्टीले तीव्र आलोचना भोगेको खण्डमा मतदाताको मत परिवर्तन हुँदा ७,१०० मतको अग्रतामा जित हासिल भएको उनको अक्सब्रिज एन्ड साउथ राइस्लिप निर्वाचन क्षेत्रबाट आगामी चुनावमा उनले आफ्नो सीट गुमाउन पनि सक्छन्।

लन्डनमा प्रधानमन्त्री निवास

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, प्रधानमन्त्री निवासबाहिर घरको सामान ओसार्ने वाहनहरू देखा परेका थिए

राजनीतिक पुनरागमन

प्रधानमन्त्रीको रूपमा संसद्‌मा आफ्नो अन्तिम सम्बोधनका क्रममा जोनसनले "अहिलेको लागि उद्देश्यहरू धेरै हदसम्म पूरा भएको" घोषणा गरेका थिए।

यदि उनको उत्तराधिकारीले अर्को निर्वाचन हारिन् भने के उनी वास्तवमै विपक्षी नेताको रूपमा फर्किने सम्भावना रहन्छ त?

कन्जर्भेटिभ पार्टीको इतिहास लेखेका प्राध्यापक बेलले उनको पुनरागमन हुन सक्ने सम्भावना नकारेनन्। तर त्यसको लागि उनको पार्टी "निकै निराश परिस्थितिबाट गुज्रिएको" हुनुपर्ने उनको तर्क छ।

"यदि उनीहरूले बोरिस जोनसनलाई फर्काउनुपर्‍यो भने त्यस अवस्थामा म कन्जर्भेटिभ पार्टीको भविष्यको बारेमा अझै चिन्तित बन्नेछु," उनले थप भने।

महारानीसमक्ष औपचारिक रूपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए

तस्बिर स्रोत, PA Wire

तस्बिरको क्याप्शन, महारानीसमक्ष औपचारिक रूपमा राजीनामा दिन बाल्मोरल जानुअघि बोरिस जोनसनले टेन डाउनिङ स्ट्रीटमा बिदाइ भाषण गरेका थिए

लामो समयदेखि जोनसनको सहयोगी रहेका र प्रधानमन्त्रीले राजीनामा दिऊन् भन्ने नचाहने नेता जेकब रीस-मोगले यूकेमा विलियम ग्लाडस्टोनपछि कुनै पनि नेताले पद गुमाएपछि पुनरागमन नगरेको बताएका छन्।

यद्यपि लेखक गिम्सन भने विगतसँगको तुलनालाई लिएर चिन्तित छैनन्।

"उनले जे गरे पनि बोरिस जोनसनको अनुयायीहरूको समूह कायम रहिरहने छ। धेरै व्यक्तिहरू केही समयको अन्तरालमा दुई वा तीन पटक पनि प्रधानमन्त्री भएका छन्।"

आफ्नै बाटो हिँड्लान्?

उनले जे गरे पनि राज्यबाट प्राप्त हुने भत्ताले उनलाई सहयोग पुर्‍याउनेछ।

जोन मेजरले लागु गरेको त्यस्तो योजनाअन्तर्गत पूर्वप्रधानमन्त्रीहरूलाई वार्षिक १,१५,००० ब्रिटिश पाउन्ड कार्यालय र सचिवालयअन्तर्गतका शीर्षकहरूमा खर्च गर्न दिइन्छ।

जोनसनले लामो समयदेखि राजनीतिका नियमहरूको विरोध गर्दै आएका छन्। उनले आफ्ना पूर्ववर्तीहरूकै पथ अनुसरण गर्छन् भन्ने विश्वास गर्न कठिन छ।

"उनी कहिल्यै पनि विकल्पहरूमा रमाउने व्यक्ति होइनन्। उनी विचारमा अडिग छन् र त्यसैमा अडिग रहन्छन्," गिम्सनले भने।

"उनी केही नगरी फुर्सदिलो भएर बस्न सक्दैनन्। त्यसैले उनी आगामी दिनमा जे गर्छन् व्यस्त रहनेगरी गर्छन् भन्ने मेरो अनुमान छ।"

उनको कुरामा सहमति जनाउँदै प्राध्यापक बेल भन्छन्: "उनको लागि शून्य सम्भावनाको स्थिति छैन। उनका लागि राजनीतिक अभियान, पुनरागमन र आम्दानी सँगसँगै हुन सक्छ।"